शिक्षामा युद्धको अन्त्य

द्वन्द्वग्रस्त क्षेत्रमा हिंसाका कारण ८ करोड बालबालिकाको शिक्षामा असर परिरहेको छ । अन्तर्राष्ट्रिय समुदायले ‘हरेकका लागि सबै ठाउँमा शिक्षा’ प्रति पुन: प्रतिबद्ध हुनैपर्ने भएको छ ।
डा. अला मुराबिट

काठमाडौँ — मेरी तीन वर्षीया भतिजी ‘असल मानिसहरू’ को शक्तिमा बलियो विश्वास गर्छे । कहिलेकाहीँ म ऊकहाँ पुग्दा मलाई तानेर आफ्नो कोठाको किताब राख्ने दराजतिर पुर्‍याउँछे र एकपछि अर्को पुस्तक निकालेर देखाउँछे । ती सबै पुस्तकको एउटै निष्कर्ष हुन्छ– युद्ध ठूलो होस् वा सानो, सदैव सत्यको जित हुन्छ ।

शिक्षामा युद्धको अन्त्य

तर उसलाई वास्तविक संसारमा सफेद झगडा र सन्तुष्ट परिणामहरू अपवाद हुन् भन्न म सक्दिनँ । आधुनिक युद्धले कुनै नियमहरू पालन गर्दैन र बफादारहरू कहिल्यै श्यामश्वेत छैनन् । मेरा लागि, यो सत्यलाई विद्यालय र शिक्षकहरूमाथि लक्षित बढ्दो हिंसाले जति भयानक कुनै पनि कुराले चित्रण गर्दैन ।

यस वर्षको मे महिनामा शैक्षिक क्षेत्रलाई आक्रमणबाट सुरक्षित राख्ने विश्वव्यापी गठबन्धनले ‘आक्रमणमा शिक्षा’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै छ । उक्त प्रतिवेदनले विगतको कुनै पनि समयमा भन्दा हाल युद्ध र सैन्य संलग्नताले शिक्षालाई बढी प्रभावित पारिरहेको पुष्टि गर्छ । यो तथ्यांक वास्तवमै अपत्यारिलो छ । विश्वभर हिंसाका कारण करिब ८ करोड बालबालिका विद्यालय जान वञ्चित छन् । सन् २०१७ को पहिलो ६ महिनामा २० देशका विद्यालयमा ५ सयभन्दा बढी आक्रमण भए जुन अघिल्लो वर्षको तुलनामा निकै बढी हो । संयुक्त राष्ट्रसंघका अनुसार १५ देशमा सरकारी सैनिक वा विद्रोही समूहले सैन्य प्रयोजनका लागि विद्यालयहरूमा नियन्त्रण कायम गरेका थिए । विद्यालय वा शिक्षकलक्षित आक्रमणमा संलग्न वा सहयोग पुर्‍याउने जुनकुनै सरकारलाई उत्तरदायी बनाउनैपर्छ । हिंसाग्रस्त क्षेत्रमा बस्न बाध्य बालबालिका यसै पनि पीडित छन् । तर जब हिंसाले उनीहरूलाई लेखपढ गर्न बाधा व्यवधान पुर्‍याउँछ, उनीहरू दोहोरो पीडा खेप्न बाध्य हुन्छन् ।

युद्धले बालबालिकाको शिक्षाको जरा कसरी पूर्ण रूपमा उखेलिन्छ भन्ने मनन गर्न सिरियाको उदाहरण हेरौं । हालको द्वन्द्वभन्दा पहिले सिरियामा प्राथमिक विद्यालयमा भर्ना हुने विद्यार्थीको दर ९० प्रतिशतभन्दा बढी थियो तर आज, अधिकांश क्षेत्रमा भइरहेको लडाइँको प्रभावले त्यो ३० प्रतिशतभन्दा तल झरेको छ । यमनमा युद्ध र अनिकाल बढ्दै गएको छ । ६ देखि ९ वर्ष उमेर समूहका २० लाखभन्दा बढी बालबालिका विद्यालय जना वञ्चित छन् । सिरिया, गाजा, वेस्ट बैंक, लेबनान र जोर्डनमा संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित ७ सय विद्यालयमध्ये आधामा कम्तीमा एकपल्ट हालसालै आक्रमण वा बन्द भएका छन् ।

मानवीय संकटले अक्सर राजनीतिक इच्छाशक्तिमा वृद्धि गराउँछ । अरूको, खासगरी बालबालिकामाथिको अनावश्यक पीडाले अन्तर्राष्ट्रिय समुदायलाई त्यसको अन्त्यका लागि पहल गर्न पैसा र ऊर्जा समर्पण गर्न बल पुर्‍याउँछ । दुर्भाग्यवश, त्यस्तो उदारता युद्धग्रस्त क्षेत्रमा शिक्षाको समर्थनका लागि कमै हुने गरेको छ । संसारभर विद्यालयमा पठनपाठन गर्ने करोडौं बच्चामध्ये हरेक ४ मा एक जना संकट प्रभावित देशमा छन् । यद्यपि, मानवीय सहयोगको ३८ प्रतिशत शैक्षिक क्षेत्रको आपत्कालीन सहायताका लागि अनुरोध गरिएको त्यसको निकै कम अर्थात् २ प्रतिशत मात्र प्राप्त हुने गरेको तथ्यांक छ । सन् २००० को अप्रिलमा जब ‘डकार फ्रेमवर्क फर एक्सन’ अपनाइयो, तब संयुक्त राष्ट्रसंघको दिगो विकासमध्ये एक ‘सबैका लागि शिक्षा’ को लक्ष्य प्राप्त गर्न द्वन्द्व मुख्य बाधक भएको निष्कर्षमा हस्ताक्षरकर्ताहरू पुगे । प्रतिवेदनले सम्भव भएसम्म सरकार तथा नागरिक समाजका समूहहरूले विनाशकारी वा क्षतिग्रस्त शिक्षा प्रणाली पुनर्निर्माण गर्न जुट्ने सहमति पनि गर्‍यो तर सहमतिमा हस्ताक्षर भएको झन्डै दुई दशक हुँदा पनि पुनर्निर्माणको प्रतिबद्धता किन निरन्तर बेवास्ता भइरहेको छ त ?

द्वन्द्वका कारण प्रभावित परिवार तथा देशको पुन:उत्थानका लागि एक मात्र महत्त्वपूर्ण क्षेत्र नै शिक्षा हो । प्रत्येक वर्षको अतिरिक्त शिक्षाले हरेक व्यक्तिको आम्दानी औसतमा १० प्रतिशतले बढ्ने देखिन्छ जसका कारण उनीहरूको दीर्घकालीन वित्तीय स्थिरतामा सुधार हुन्छ र हिंसामा फर्किने जोखिम कम गर्न मद्दत पुग्छ । अर्को शब्दमा भन्नुपर्दा, शिक्षामाथिका आक्रमणहरू वास्तवमै हाम्रो सामूहिक भविष्यमाथिकै आक्रमण हुन् ।

द्वन्द्व प्रभावित क्षेत्रमा छात्रको तुलनामा छात्राहरूले साढे दुई गुणा बढीले विद्यालय शिक्षा छाड्ने गरेको देखिन्छ । छात्राहरूमा लगानी गर्नु लामो समयसम्मका लागि फाइदाजनक छ किनकि उनीहरूले नै समुदायलाई बदल्न तथा गरिबी निर्मूल पार्न सक्छन् । शिक्षित केटीहरूले युवाअवस्थामै विवाह गर्ने सम्भावना कम हुन्छ अनि उनीहरूका थोरै र स्वस्थ छोराछोरी हुने सम्भावना निकै बढी हुन्छ । यसबाहेक, महिलाले आफ्नो आम्दानीको ९० प्रतिशत समुदायकै लागि खर्चन्छन् ।

हिंसाग्रस्त तथा भर्खरै हिंसा अन्त्य भएका देशहरूले पुनर्निर्माणका लागि खर्च गर्दैगर्दा विद्यालय निर्माणका लागि आर्थिक क्षमता नहुन सक्छ । त्यसकारण पनि अन्तर्राष्ट्रिय सहयोग धेरै महत्त्वपूर्ण छ । विश्व समुदायले युद्धग्रस्त क्षेत्रमा शिक्षाको पहँुच सुधार गर्न चाहिने २ खर्ब ३ अर्ब अमेरिकी डलर तत्काल जुटाउन आवश्यक छ । साथसाथै, दाताहरूले द्वन्द्वको मनोवैज्ञानिक त्रासमा परेका बच्चालाई मद्दत पुर्‍याउने संस्थाहरूको स्थापनामा पनि जोड दिनुपर्छ । द्वन्द्वग्रस्त क्षेत्रमा धेरै बच्चाका लागि मनोवैज्ञानिक र भावनात्मक समर्थन पनि शैक्षिक अवसरका रूपमा उत्तिकै महत्त्वपूर्ण छ ।

हरेक संघर्ष २० पानामा संक्षेपीकरण गरिएका र सुखद अन्त्य भएका मेरी भतिजीका चित्र पुस्तकहरूको संसारजस्तो वास्तविकता हुँदैन । तर, ईश्वरीय माता वा परीको अनुपस्थितिमा संसारलाई व्यावहारिक समाधान आवश्यक हुन्छ, जुन असल मानिसले पूरा गर्न सक्छन् । हरेक बच्चालाई शिक्षित बनाएर हामी संसारलाई कम आततायी बनाउन सक्छौं । (प्रोजेक्ट सिन्डिकेट) डा. मुराबिट संयुक्त राष्ट्रसंघका महासचिवद्वारा नियुक्त विश्वव्यापी दिगो विकास लक्ष्यका वकालतकर्ता, राष्ट्रसंघीय स्वास्थ्य रोजगार र आर्थिक वृद्धि उच्चायुक्त हुन् ।

प्रकाशित : चैत्र २५, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?