मरेपछि समाज सेवाको भारी

नवीन रायमाझी

काठमाडौँ — केही महिना अघि मेरो एक छिमेकीको निधन भयो । उनको निधन भएको तेह्रौं दिनमा उनको परिवार र आफन्तहरुले एउटा दैनिक पत्रिकामा पुरा पृष्ठ उनको नामको अगाडी बरिष्ठ समाजसेवीको फुर्को जोडेर समवेदना बिज्ञापन छपाएको हेर्न पाइयो ।

मरेपछि समाज सेवाको भारी

कामको नाममा घरबहालमा दिएर जीवन यापन गरेका ती सज्जन पुरुष कसरी समाजसेवी भए, त्यो छुट्टै बहसको बिषय होला । तर, आजकाल आफ्नो जीवनकालमा कुनै बिशेष परिचय बनाउन नसकेका ब्यक्तिहरुलाई मरेपछि उनका सन्तानले मात्र भए पनि जबर्जस्ती समाजसेवी बनाउने क्रम बढ्दो छ । अझ छोराछोरीले कुनै उच्च मुकाम कायम गरेका छन् भने त बाउआमा स्वत ठूला समाजसेवी भइहाल्छन् ।


मेरो बिचारमा समाज सेवा भनेको आफ्नो स्वार्थ भन्दा समाजको स्वार्थलाई प्राथमिकता दिएर गर्ने क्रियाकलापलाई भनिन्छ । बाउआमाको श्राद्धमा उब्रेको खिर र पुरी लगेर पशुपति बृद्धाश्रममा बाँड्नुलाई सामाज सेवाको कुन कोटिमा राख्न सकिन्छ, त्यो पंक्तिकारको बुझाइ भन्दा धेरै टाढाको बिषय हो । विभिन्न धार्मिक कार्यक्रमहरुमा अरुको अगाडि आफुलाई महान देखाउन र क्षणिक भावुकतामा बगेर म यस्तो र उस्तो दान दिन्छु भनेर घोषणा गर्ने तर दिने बेलामा विभिन्न कारणले दिन नसकेर भागीभागी हिड्ने "कस्मेटिक" समाजसेवी हरुलाई पाठकहरुले पनि देखेको वा सुनेको हुनुपर्छ ।


यसको साथै आफ्नो जीवनकालमा अनेकौं कुकर्म गरेर मृत्यु हुनुभन्दा पहिले वा भइसकेपछि खुल्ने फलानो वा ढिस्कानो शैलीका स्मृति प्रतिष्ठान र त्यस्तै संघसंस्थाहरुले दिने पुरस्कार र केही नगदको लोभमा त्यस्ता पुरस्कार स्वीकार गर्ने ब्यक्तिहरुले गर्दा पनि यस्ता नक्कली समाजसेवीहरुको मानप्रतिष्ठा बढ्दो छ । त्यस्तै लुटको धन फुपुको श्राद्ध भन्ने उखान जस्तै अपराधिक क्रियाकलापले आर्जन गरेको धन बाँढ्ने केही ब्यक्तिहरु पनि हाम्रो समाजमा रातारात समाजसेवी नकहालिएका होइनन् ।


प्रसंग अमेरिकाको, पंक्तिकारले भेटेका प्राय सबै जसो ब्यक्तिहरुले देशको लागि केही गर्ने विचार छ वा केही गर्न पाए हुन्थ्यो भन्ने सुनेको छु । यस्तो पवित्र बिचारलाई हार्दिक अभिबादन गर्दै आफुले सकेको वा गच्छे अनुसारको सहयोग सबैले सबैलाई गर्नुपर्छ भन्ने मेरो पनि सोचाइ हो । यदि यो विचार केवल अरुको अगाडि आफुलाई महान देखाउन गरेको अभिनय नभई सत्य हो भने धेरै गर्न सकिन्छ । जस्तो, अमेरिकामा बसेर जस्तो काम गर्नेले पनि दैनिक १ डलर मात्र दिन सक्यो भने एउटा व्यक्तिलाई नेपालमा कलेज पढाउन सकिन्छ र यो कुनै ठुलो कुरा होइन । सबैको घरमा किनमेल गर्दा बचेको र जम्मा गरेर राखेको चानचुन पैसा मात्र जम्मा गर्ने हो भने लाखौँ नेपाली रुपियाँ हुन् जान्छ र त्यो रकम कुनै पुनित कार्यमा खर्च गर्न सकिन्छ । यस्तै सानो सानो कुराले पनि नेपालमा निकै ठुलो कुरा गर्न सकिन्छ । तर त्यसको लागि इच्छा शक्ति चाहिन्छ, केवल कुरा गरेर मात्र पेट भरिने होइन ।


जो तन, मन र धनले समाज सेवामा लागेका छन् उनीहरु सँधै आदरणीय र बन्दनीय छन् । तर एकथरी यस्ता ब्यक्तिहरु पनि छन्, कामको नाममा झिंग मार्दैनन । कुरा ठुलोठुलो गर्छन् अर्थात गुड्डी हाँक्न एक नम्बरमा पर्छन् । समाज सेवा भन्ने शब्द निकै बृहत, ब्यापक र पवित्र शब्द हो । कसैले कसैलाई गरेको सानो तिनो सहयोगलाई यस्तो पवित्र शब्दसँग जोडेर शब्द कै गरिमालाई संकिर्ण गर्न खोज्नु उचित होइन ।

@twitter#naviinr


प्रकाशित : चैत्र २५, २०७४ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?