यौन दुराचारमा सजाय

यौन दुराचारीलाई मृत्युदण्ड वा आजीवन काराबास सजायको उपयुक्त विकल्प ‘केमिकल क्यास्ट्रेसन’ हुन सक्छ कि ? गम्भीर छलफल आवश्यक छ ।
रञ्जु ठाकुर

काठमाडौँ — महिला र बालिका बलात्कार भएको खबर दिनहुँजसो आइरहेका छन् । हुन त यस्ता घटना विगतमा हुने गरे पनि अहिले बढी आउन थाल्यो । महिलाले भोग्नुपर्ने हिंसामध्ये बलात्कार सबभन्दा अमानवीय हो ।

त्यसमा पनि बालिका बलात्कार र बलात्कारपछिको हत्याको खबरले जीउ नै सिरिङ्ग पार्छ ।

यस्तो घटनाका अपराधीलाई कस्तो कानुनी सजाय दिलाउने भन्ने विषयमा बेला–बेला बहस चलिरहेकै छ । विगतमा संविधानसभा र रूपान्तरित व्यवस्थापिका संसद्मा मृत्युदण्ड नै दिनुपर्ने आवाज पनि उठेको थियो । के यो सम्भव छ ? छैन भन्ने यसका विकल्प के ? तत्कालीन व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पूजा साहको बलात्कार र बलात्कारपछिको हत्या सम्बन्धी घटना अध्ययन गरेको थियो । त्यो घटना कल्पना बाहिरको थियो । समितिको हाम्रो टोलीले कान्तिबाल अस्पताल पुगेर बालिकाको विभत्स दृश्य देखेपछि बलात्कार सम्बन्धी विद्यमान कानुनी सजाय अपर्याप्त रहेको ठहर गरेका थियौं । भएको कानुन पनि कम, त्यसमा पनि अपराधी समात्न नसक्ने, समातिहाले पनि कुनै न कुनै बहानामा छुट्ने विडम्बनापूर्ण अवस्था छ ।

Yamaha

बालिका बलात्कार गर्ने अपराधीलाई नपुंशक बनाउने (केमिकल क्यास्ट्रेसन) सजाय सम्बन्धी कानुनी व्यवस्था कतिपय मुलुकमा छ । डाक्टरहरूका अनुसार यसमा इन्जेक्सनद्वारा एन्ड्रोजेन हार्मोनलाई नष्ट गराइन्छ, जसबाट यौन उत्तेजना निष्क्रिय हुन्छ । हामीले तत्कालीन संसदीय समितिमा बाल यौन दुराचारीलाई अधिकतम कैद सजायका साथै नपुंशकसमेत बनाउने विशेष कानुनी व्यवस्था गर्न छलफल थालेका थियौं । समितिले केही मेडिकल विज्ञ, नागरिक समाजका साथै सरकारका जिम्मेवार निकायसँंग छलफल र सल्लाह गरेपछि केमिकल क्यास्ट्रेसन सम्बन्धी कानुन बनाउन उपयुक्त हुने प्रारम्भिक निष्कर्ष निकालेका थियौं । यस विषयमा अहिले संसद्, नागरिक समाज लगायत देशका जिम्मेवार निकायबीच गहन छलफल र सार्वजनिक बहस हुन जरुरी छ ।

मुलुकी ऐनको जबर्जस्ती करणी सम्बन्धी महलको ३ (१) मा १० वर्षभन्दा मुनिकी बालिकालाई जबर्जस्ती करणी गरेको ठहरिए १० देखि १५ वर्षसम्म, ३ (२) मा १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका पीडित भए ८ देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यस्तै ३ (३) मा १४ वर्ष वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्षसम्म, ३ (४) मा १६ वर्ष देखि २० वर्षसम्म उमेर समूहकी पीडित भए पीडकलाई ५ वर्षदेखि ८ वर्षसम्म, ३ (५) मा २० वर्षदेखि बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरेको ठहरिए ५ देखि ७ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यसका अतिरिक्त हाडनाता करणी र कसैले गर्भवती, अशक्त, अपाङ्गता भएका वा होश ठेगानमा नरहेका वा आफ्नो संरक्षणमा रहेकी महिलालाई जबर्जस्ती करणी गरेको ठहरिए थप सजायको व्यवस्थासमेत गरिएको छ । के हाम्रा कानुनले तोकेको सजाय अधिक हो ? यस्तो सजाय अपराधीले पाइरहेका छन् ? के यस्ता अपराधमा हाम्रा न्यायालय तथा सुरक्षा निकायहरू संवेदनशील छन् ? यावत प्रश्न हामीसामु छन् ।

केही वर्षयता बलात्कार विशेषगरी बालिका बलात्कारको घटना संसारभर जुन किसिमले बढेको छ तथा सार्वजनिक भएका छन्, त्यो सामान्य हुँदै होइन । यस्ता अति घृणित एवं अमानवीय कार्यमा राज्यले सामान्य सजाय गरेर मात्र पीडितको अपुरणीय क्षति र पीडा तथा उनको परिवार र समाजको आक्रोशलाई शान्त गर्न सक्दैन । भारत लगायतका देशमा बालिका बलात्कारीको हकमा मानव अधिकारवादीहरूको विरोधका बाबजुद पनि केमिकल क्यास्ट्रेसनको व्यवस्था कानुनी रूपमै छ ।

पोल्यान्डको संसद्ले सन् २००९ मा केही गम्भीर प्रकृतिका बाल यौन दुराचारीलाई केमिकल क्यास्ट्रेसन सहितको कैद सजाय हुने कानुनी व्यवस्था गरेको छ । त्यहाँ १५ वर्ष मुनिका वा हाडनातामा पर्ने बालबालिकालाई करणी गर्ने यौन दुराचारीलाई कैद सजाय भुक्तान गरेपछि केमिकल क्यास्ट्रेसन गर्नैपर्ने कानुनी प्रावधान छ । पोल्यान्डका तत्कालीन प्रधानमन्त्री डोनाल्ड टस्कले यो कानुनको औचित्यबारे भनेका थिए, ‘यस्ता यौन दुराचारीलाई मानव भन्न पनि नसुहाउने हुँदा उनीहरूको मानवअधिकार संरक्षण गर्ने कुरा उठाउनुको कुनै अर्थ छैन ।’

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बाल यौन दुराचारका घटना अत्यधिक बढेपछि २० वर्षअघि कैदका अतिरिक्त केमिकल क्यास्ट्रेसन समेतको सजाय हुने व्यवस्था गरिएको छ । यस्तै कानुनी व्यवस्था अमेरिकाका अन्य केही राज्यमा समेत छ ।

एसियामा पहिलोपटक दक्षिण कोरियाले सन् २०११ मा १६ वर्ष मुनिका बालबालिकालाई यौन दुराचार गर्नेलाई केमिकल क्यास्ट्रेसन समेतको सजाय हुने कानुनी व्यवस्था गरेको हो । सन् २०१२ मा इस्टोनिया र मोलडोभाको संसद्ले पनि नाबालकसँंग यौन दुराचार गर्ने अपराधीलाई अनिवार्य केमिकल क्यास्ट्रेसनको सजाय गर्ने कानुनी व्यवस्था गरेका छन् । सन् २०१३ मा मेसिडोनियामा पनि नाबालकसंँग यौन दुराचार गर्ने अपराधीलाई केमिकल क्यास्ट्रेसन गर्ने कानुन बनाइयो । रूसको संसद्ले अक्टोबर २०११ मै यो कानुन बनाएको छ । संयुक्त अधिराज्य, इजरायल, अस्ट्रेलिया, अर्जेन्टिना आदि मुलुकमा पनि यस्तो कानुन प्रचलनमा आइसकेका छन् ।

नेपालमा मृत्युदण्डको सजाय दिनेगरी कुनै पनि कानुन बनाउन संसद्लाई २०४७ सालदेखि संवैधानिक बन्देज लागेको छ । हामी जनप्रतिनिधि र अधिकारवादीहरू बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्ने जोडदार माग गरिरहेका छौं । कतैबाट आजीवन काराबासको कुरा उठेको छ । बलात्कारका अपराधीलाई कडा सजाय दिने कानुन बनाउन जनप्रतिनिधिहरूलाई दबाब परिरहेका बेला मृत्युदण्ड वा आजीवन काराबासको उपयुक्त विकल्प के हुनसक्छ भनेर खोज्नुपर्ने बेला आएको छ । यस सन्दर्भमा केमिकल क्यास्ट्रेसनबारे अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दलका भगिनी संगठन, देशका तिनै तहका जनप्रतिनिधि, विषयगत विज्ञ लगायतबीच गम्भीर छलफल आवश्यक छ । देवानी र फौजदारी आचार संहितामै यस सम्बन्धी व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।

ठाकुर संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति थिइन्।

Esewa Pasal

प्रकाशित : चैत्र २६, २०७४ ०७:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुखद अन्त्यको प्रतीक्षा

उपाधि उचालेर यो वर्षलाई बिदा गर्नेछौं : आर्मी
वर्षको पाँचौं उपाधि जित्न चाहन्छौं : थ्री स्टार
माधव घिमिरे, विनोद भण्डारी

विराटनगर — दुई उत्कृष्ट टिम थ्रीस्टार र विभागीय टोली आर्मी पाँचाैं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार साँझ सहिद मैदानमा आमने–सामने हुँदै छन् ।

यी दुई टिमबीचको प्रतिस्पर्धासँगै यस वर्षको घरेलु फुटबलको सिजन सकिँदै छ ।

काठमाडौंबाहिर पहिलोपटक ‘फ्लडलाइट’ मा खेलाइएको विराट गोल्डकपको पाँचौं संस्करणलाई विशेष प्रतियोगिता मानिएको छ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख ७१ हजारसहित दुई तोला पहेंलो धातुले जलप गरिएको ट्रफी हात पार्नेछ । उपविजेताले ५ लाख ५१ हजारमा चित्त बुझाउनुपर्नेछ ।

फाइनलमा आर्मीले शारीरिक खेल र आक्रामक प्रदर्शन तथा थ्री स्टारले चुस्त टिमवर्कमा खेल पस्कने अपेक्षा गरिएको छ । आर्मीले सेमिफाइनलमा झापालाई १–० र थ्री स्टारले संकटालाई ४–० ले पन्छाउँदै उपाधिको दाबेदारी प्रस्तुत गरेका थिए । आर्मीले क्वाटरफाइनलमा पुलिस र थ्री स्टारले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङदीलाई पाखा लगाएको थिए ।

थ्री स्टार सोमबार यस सिजनमा पाँचौं उपाधिको खोजीमा खेल मैदानमा उत्रिँदा आर्मी आठांै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यस वर्ष यी दुई टिमको तीन पटकको भेटमा आर्मीले दुईपल्ट बाजी मारेको थियो । खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीले थ्री स्टारलाई २–१ र सिमरा गोल्डकपको फाइनलमा २–० ले हराएर उपाधि जितेको थियो । त्यसअघि थ्री स्टारले इटहरी गोल्डकपको सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ५–४ ले निराश बनाएको थियो ।

आर्मीले २०७४ वैशाखमा संकटालाई २–० गोलले पन्छाउँदै विशाल मेमोरियल गोल्डकप उपाधि जितेर यो वर्षको विजययात्रा सुरु गरेको थियो । यही वर्षको अन्त्यमा विराट गोल्डकप जितेर २०७४ साललाई बिदाइ गर्ने आर्मीको योजना छ ।

‘हामीले वर्षको सुरुवातमा उपाधि जितेर जितको सुरुवात गरेका थियौं,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘यो वर्षको अन्तिम महिना विराट गोल्डकप जितेर वर्षलाई सुखद रूपमा बिदाइ गर्ने तयारीमा छौं ।’ आर्मीले यो वर्ष ११ पटक फाइनलमा खेलिसकेको छ । त्यसमा उसले सात उपाधि जित्यो भने चार प्रतियोगितामा उपविजेतामा रोकिएको थियो ।

‘थ्री स्टार उत्कृष्ट टिम हो, उसलाई कमजोर आँक्न मिल्दैन,’ न्यौपानेले । रात्रिकालीन म्याच खेलाइएका कारण दर्शकको उल्लेख्य उपस्थितिले यसपालि विराटनगर फुटबलमय छ । विगतका प्रतियोगितामा यहाँ दर्शकको उपस्थिति न्यून हुन्थ्यो ।

आर्मीका स्टार खेलाडी नवयुग श्रेष्ठ र दिनेश हेमरन चोटग्रस्त हुँदा क्वाटरफाइनल र सेमिफाइनलका उनीहरूले गुमाउनुपरेको न्यौपानेले बताए । उनीहरू फाइनल खेलका लागि फिट भएको उल्लेख गर्दै उनले भने, ‘यसले टिममा उत्साह बढेको छ ।’ उनले थ्रीस्टारका विदेशी खेलाडीलाई निगरानीमा राखेर खेल्ने रणनीति बनाएका छन् ।

आर्मीले यस वर्ष वीरगन्जको विशाल मेमोरियल, झापामा सताक्षी, काँकडभिट्टा गोल्डकप, झापा गोल्डकप तथा धनगढीमा खप्तड, बारामा सिमरा, हेटौंडामा सुमन भोम्जन स्मृतिको उपाधि कब्जा गरिसकेको छ ।

यसपाली १० प्रतियोगिता खेलेको थ्री स्टारले आठ वटामा फाइनल पुगेर चार उपाधि हात पारेको छ । उसले इटहरीको मदन भण्डारी स्मृति, धरानको बुढासुब्बा, बुटवलमा तिलोत्तमा र मदन भण्डारी स्मृति गोल्डकपको उपाधि हात पारेको थियो ।

थ्री स्टार सोमबार आर्मीलाई हराएर वर्षको पाँचौ उपाधि हात पार्दै यस वर्ष भोगेको दुई पराजयको बदला लिने दाउमा छ । थ्री स्टारका प्रशिक्षक मेघराज केसी दुवै टिम घरेलु फुटबलमा उपाधि जित्न सक्षम र अब्बल रहेको बताउँछन् । यस्तोमा दुवै टिमलाई जित निकाल्न सहज नभएको उल्लेख गर्दै आर्मीका पूर्वप्रशिक्षकसमेत रहेका केसीले भने, ‘आर्मीविरुद्ध अवसर सिर्जना गरेर मौका पाउनासाथ गोल गर्ने हाम्रो रणनीति छ ।’ दुवै टिमबीचको खेल उस्तै स्तरको रहेकाले सुरुमा गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने उनको विश्वास छ ।

आर्मीका पूर्वप्रशिक्षक भएका कारण पनि उक्त टिमले प्रदर्शनमा अपनाउने रणनीतिबारे केसी जानकार छन् । निराजन खड्काको कप्तानीमा मैदानमा उत्रिने थ्री स्टारको टिममा जापानी खेलाडी ताकायुसहित विमल घर्तीमगर, बुद्ध चेम्जोङ र अफ्रिकी मूलका अजयी मार्टिन र पिटरले खेलमा प्रभाव जमाउन सक्छन् ।

प्रकाशित : चैत्र २६, २०७४ ०७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT