१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पूर्वाग्रही श्वेतपत्र

पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले जम्मा २४ प्रतिशत समय सरकारको नेतृत्व गर्‍यो । हाम्रो पालामा भएका सबै कामको जिम्मेवारी लिन हामी तयार छौं ।
उदयशमशेर राणा

काठमाडौँ — अर्थमन्त्री डा. युवराज खतिवडाले एक साताअघि जारी गरेको श्वेतपत्रले यतिबेला देशको अर्थतन्त्रबारे बसह सिर्जना गरेको छ । उनले श्वेतपत्रमार्फत भन्न खोजेका छन्, देशको ढुकुटी रित्तो छ । देशको आर्थिक स्थिति शून्यमा छ ।

पूर्वाग्रही श्वेतपत्र

अर्थमन्त्रीले भनेजस्तै के देश साँच्चिकै आर्थिक रूपमा टाट पल्टिएको स्थितिमा हो ? के हामी असफल राष्ट्रतर्फ उन्मुख भएका हौं ? त्यस्तो स्थिति पक्कै छैन । बरु अर्थमन्त्रीले चलाखीपूर्वक अर्थतन्त्रका सकारात्मक पाटाहरूलाई लुकाएर नकारात्मक पक्षलाई मात्र सार्वजनिक गरेका छन्, ताकि भोलिका दिनमा अर्थतन्त्रमा देखिएका सुधारको सबै जश आफूले लिन सकियोस् ।

उनले अर्थतन्त्रलाई नकारात्मक देखाउनकै लागि तथ्य र तथ्यांकहरूलाई बंग्याएर प्रस्तुत गरेका छन् । कुनै तथ्यांकलाई दुई वर्ष, कुनैलाई पाँच वर्ष अनि कुनैलाई २० वर्षको तथ्यांकसंँग तुलना गरेर श्वेतपत्रलाई अर्थतन्त्रको कालो दस्तावेजका रूपमा चित्रण गर्न खोजेका छन् । मैले यो आलेखमा श्वेतपत्रमा लुकाइएका तर पछिल्लो तीस वर्षमा अर्थतन्त्रमा देखिएका सकारात्मक पक्षलाई समेट्ने प्रयास गरेको छु ।

पहिलो कुरा, अर्थमन्त्रीले ढुकुटीमा पैसा नै छैन भनेर श्वेतपत्रमा भन्नुभएको छ । तर नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टले ‘२०७४ माघ मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम रु. ८४ अर्ब ३५ करोड समेत) रु. ३०१ अर्ब ६४ करोड नगद मौजदात कायम रहेको जनाएको छ । अर्थ मन्त्रालयकै अनुसार पनि दैनिक राजस्व संकलन औसतमा २० अर्बभन्दा माथि छ । यतिमात्र होइन, सरकारको पुँजीगत खर्च पनि योजना अनुरूप हुनसकेको छैन । यस्तो अवस्थामा अर्थमन्त्रीले राज्यकोषमा पैसा नै छैन भन्न सुहाउँदैन ।

दोस्रो, अर्थमन्त्रीले भनेजस्तो देशको अर्थतन्त्र नाजुक छैन । गतवर्ष नेपालको आर्थिक वृद्धिद्धर ६.९ प्रतिशत रहेकोमा यस वर्ष ७.२ प्रतिशतको हुने अनुमान गरिएको थियो । यही सरकरले मध्यावधि पुनर्विचार पश्चात यस वर्ष आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहने दाबी गरेको छ । विगतको तीन दशकमा लगातार दुई वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर देखिएको यो पहिलोपटक हो । यस अर्थमा पछिल्लो तीन दशक यताकै राम्रो र आशाजनक स्थितिमा छ, अर्थतन्त्र ।

हामी सबैलाई थाहा छ, २०४८ सालमा ल्याइएको पहिलो बजेटको आकार करिब १२ अर्बको थियो, जसमा वैदेशिक सहयोग नै करिब ३५ प्रतिशत थियो । तर अहिले करिब त्यसको दोब्बर राजस्व संकलन एकैदिनमा हुन्छ, जसले हाम्रो वार्षिक लक्ष्य सात सय अर्ब रहेकोमा यो सहजै पूरा हुने देखिन्छ । यस्तै अर्थमन्त्रीले व्यापार घाटाबारे श्वेतपत्रमा उल्लेख गरेका छन् कि व्यापार घाटा चुलिँदो छ । यो सत्य हो । उनले २५ वर्षमा ४१ गुणाले व्यापार घाटा बढेको तथ्यांक देखाएका छन् । तर यही समयमा ६२ गुणाले राजस्व बढेको कुरा उल्लेख नै गरेका छैनन् ।

यस्तै श्वेतपत्रमा निजीकरणको विरोध गर्दै त्यो असफल भएको भन्ने तर्क गरिएको छ । निरन्तर घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूका कारण राज्यको ढुकुटीमा आर्थिक भार पर्दै गएका बेला त्यस्ता संस्थानहरूलाई निजीकरण गरिएको विषयलाई अतिरञ्जित बनाएर निजीकरणकै विरोध गर्नु समय–सापेक्ष हुन सक्दैन । निजीकरण भइसकेका संस्थानहरूबारे अहिले बहस गर्नुको औचित्य पनि छैन । सन् १९९० को दशकमा नेपालले आत्मसात गरेको खुल्ला अर्थतन्त्र र आर्थिक उदारवादको नीतिकै कारण अहिले निजी क्षेत्रसँगै अन्तर्राष्ट्रिय व्यापारमा भएको सहजकीकरणलाई नजरअन्दाज गर्न मिल्दैन ।

दस वर्ष लामो सशस्त्र द्वन्द्व र लामो राजनीतिक संक्रमणका कारण देश आर्थिक रूपमा कमजोर बनेको कुरा हामीले बिर्सनुहुन्न । यतिमात्र नभएर दुई दशकअघि नै अरुण तेस्रो जलविद्युत आयोजना निर्माणमा नेकपा एमालेले अवरोध नपुर्‍याएको भए आज देश आर्थिक रूपमा निकै माथि हुन्थ्यो । अरुण तेस्रो आयोजनामा एमालेको अवरोधले निजी क्षेत्रलाई निरुत्साहित बनाएको थियो भने वैदेशिक लगानी पनि अपेक्षित हुनसकेन । नेपालको बढ्दो व्यापार घाटा सन्तुलनमा राख्न अरुण तेस्रो आयोजनाको महत्त्वपूर्ण योगदान हुनसक्थ्यो । उदाहरणका लागि हामीले छिमेकी मुलुक भुटानलाई हेर्न सक्छौं । चुका हाइड्रो प्रोजेक्ट अघि भुटानको व्यापार घाटा नेपालजस्तै थियो । तर यही परियोजनाले व्यापार घाटालाई निकै सन्तुलित बनाउन सघाएको छ । तर आज २५ वर्षपछि आएर हामी यही अरुण तेस्रो परियोजना निर्माणको प्रक्रिया अगाडि बढाउँदै गर्दा देशको आर्थिक विकासमा हाम्रो भागको जश खोज्दैछौं । यसको आत्मालोचना गर्ने कि नगर्ने ?

सेयर बजारलाई कुनै पनि देशको अर्थतन्त्रको ऐना मानिन्छ । तर अर्थमन्त्री खतिवडाले पदभार सम्हाले लगत्तै ओरालो लागेको सेयर बजार अझै तंग्रिन पाएको छैन । सरकारी तथा निजी जलविद्युत कम्पनीहरूले १० प्रतिशतसम्म सेयर स्थानीयलाई बाँड्दै गर्दा त्यसले कैयौं गरिब नेपालीको जीवनमा एउटा नयाँ आयाम थपिदिएको छ । आज त्यस्ता हरेक सेयरधनी आफूलाई गरिबीबाट उठाउन सक्ने अवस्थामा छन् । तर अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर हल्का टिप्पणी गर्नुले उनी निजी क्षेत्रप्रति सकारात्मक नरहेको आशंका जन्माएको छ । निजी क्षेत्रलाई विश्वासमा ल्याएर लगानीको वातावरण बनाउनुको विकल्प हामीसंँग छैन । सरकारले यसका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।

अति कम विकसित मुलुकको सूचीबाट नेपाल विकासशील राष्ट्रका लागि योग्य हुनु पनि नेपालको समग्र अर्थतन्त्र सकारात्मक बनेको सन्देश दिनु हो । तर नेपालको आर्थिक विकास र समृद्धिको सपनासँग जोडिने विभिन्न अवयवहरू संयुक्त राष्ट्र संघको विकासशील राष्ट्रका लागि योग्यताको मापन गर्ने फर्मुलामा पर्न नसकेको हुँदा आज हतार गरेर विकासशील राष्ट्रको सूचीमा जाँदै गर्दा नेपालले धेरै कुरा गुमाउनुपर्ने हुन्छ । त्यसैले शेरबहादुर देउवा नेतृत्वको सरकारले अझै तीन वर्षसम्म अति कम विकसित मुलुकमै रहने निर्णय गरेको थियो । यसलाई श्वेतपत्रमा स्थान दिइएको छैन ।

अर्थमन्त्री खतिवडाले नयाँ योजनामा स्रोत सुनिश्चितता गरिएको भन्दै आलोचना गरेका छन् । म उहाँलाई सम्झाउन चाहन्छु कि पूर्व अर्थमन्त्री कृष्णबहादुर महरा र विष्णु पौडेलकै पालामा विभिन्न योजनामा एक खर्बभन्दा बढीको स्रोत सुनिश्चितता गरिएको थियो । अर्थमन्त्री विष्णु पौडेल हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वयम् खतिवडा नै थिए । त्यतिबेला यस्ता प्रवृत्तिलाई प्रोत्साहन गर्ने उनी आफै अर्थमन्त्री भएपछि भने यसको आलोचना गरिरहेका छन् । जबकि देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारकै बजेट कार्यान्वयन गरेको सबैलाई अवगत नै छ । पूरक बजेट ल्याउने तयारी देउवा सरकारले गरे पनि तीनै तहको निर्वाचनमा जुट्नुपर्‍यो र निर्वाचन आचारसंहिताका कारण त्यो पूरा हुनसकेन ।

पहिलो संविधानसभा निर्वाचनपछि अहिलेसम्म बनेका दसवटा सरकारमध्ये ८ वटा सरकारको नेतृत्व एमाले र माओवादीले गरेका छन् । दस वर्षको बीचमा दुई तिहाइभन्दा बढी समय सत्ताको नेतृत्व गरेका यी दुई दलले नै अहिले अर्थतन्त्रमा देखिएका सबै सकारात्मक र नकारात्मक पक्षको जिम्मेवारी लिनुपर्छ । कांग्रेसले यस बीचमा जम्मा २४ प्रतिशत समयमात्र सरकारको नेतृत्व गर्‍यो । हाम्रो पालामा भएका सबै कामको जिम्मेवारी लिन हामी तयार छौं ।

अर्थमन्त्रीका सार्वजनिक अभिव्यक्ति र श्वेतपत्रकै आठ नं. बुँदामा नेपालमा विदेशी लगानीको वातावरण नभएको उल्लेख छ । तर पछिल्ला एक वर्षमा मात्र वैदेशिक लगानी बढ्दै गएको छ भने भर्खरै भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री ओलीले भने नेपालमा लगानीको वातावरण रहेको भन्दै भारतीय उद्योगी व्यापारीलाई लगानी गर्न आग्रह गरेका छन् । यसले प्रधानमन्त्री र अर्थमन्त्रीको भनाइबीच विरोधाभाष देखिन्छ ।

समग्रमा श्वेतपत्रले निजी लगानीकर्तालाई तर्साउन र अर्थतन्त्रलाई नियन्त्रण गर्न खोज्ने सरकारी मनसाय देखिन्छ । अर्थतन्त्रका धेरै सकारात्मक पक्षहरूलाई लुकाएर तथ्यलाई बंग्याएर जसरी पनि अर्थतन्त्रलाई नकारात्मक देखाउने मनसायले श्वेतपत्र ल्याइएको स्पष्टै हुन्छ । यसले अर्थतन्त्र बुझेका भनिएका स्वयम् अर्थमन्त्रीको बौद्धिक इमानदारी र उनको विज्ञतामाथि प्रश्न उठेको छ । आफूभन्दा अघिका सबै अर्थमन्त्रीहरूलाई असफल र असक्षम देखाएर आफूलाई अब्बल देखाउनकै लागि यो श्वेतपत्र जारी गरिएको त होइन् भन्ने आशंका उत्पन्न गराएको छ ।

राणा पूर्व अर्थराज्यमन्त्री हुन् ।

प्रकाशित : चैत्र २७, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?