संस्कार बदलौं, अधिकार बढाऔं

समाजका हरेक तह र तप्कामा महिलाहरूको अनिवार्य उपस्थिति भएमा बलात्कारका घटनामा कमी आउन सक्छ ।
उमा भण्डारी

काठमाडौँ — आजकल हरेक दिनजसो बलात्कारका घटनाहरू सार्वजनिक भइरहेका छन् । अखबारका हरेकजसो पानाहरू बलात्कारजन्य घटनाका समाचारहरूले भरिएका हुन्छन् । चार–पाँच वर्षदेखि पचास–साठीकी महिलासमेत बलात्कृत हुनु र बलात्कारजन्य घटनाका कारण मारिनुले स्त्रीहरूमा यौन अंग हुनु नै जीवनभरको लागि महाअभिशाप बोकेर बाँच्नुसरह भएको देखिन्छ ।

यथार्थता

Yamaha

खासगरी बलात्कृत हुने महिलाको उमेर, बलात्कार गरिने स्थान र परिस्थितिलाई हेर्ने हो भने बलात्कारीले त्यस्ता व्यक्तिलाई निसाना बनाएको देखिन्छ, जो कम उमेर, शारीरिक अशक्त, एकान्त स्थान वा दलित हुनुको कारण बलात्कारको प्रतिरोध गर्न सक्दैनन् । विद्यालयमा परीक्षा दिन गएकी किशोरीमाथिको बलात्कार वा शिक्षकले आफ्ना छात्रामाथि गर्ने यौनजन्य हिंसा, सार्वजनिक यातायातमा चढेकी किशोरी वा महिलामाथि यस्तो हिंसा भएका छन् । शारीरिक वा मानसिक रूपले कमजोर बालिका वा युवतीमाथि र आफ्नै बाबु, ससुरा, जेठाजु वा परिवारभित्रकै अन्य पुरुषबाट हुने बलात्कारका घटनाले के देखाउँछ भने बलात्कारीहरूले मनोवैज्ञानिक रूपमै यो केटीलाई बलात्कार गर्दा घटना बाहिर आउन सक्दैन, यसले बोल्न सक्दिन वा प्रहरीले थाहा पाउँदैन भन्ने हिम्मत जुटाइसकेका हुन्छन् ।

बलात्कारका विविध घटनाहरूलाई दृष्टिगत गर्दा धेरैजसो बालिका तथा किशोरीहरूमाथि एक्लै बलात्कारको प्रयास गर्ने र अलिकति उमेर पुगिसकेकी (फेसबुकबाट परिचय भएका) केटी साथीहरूमाथि भने साथीभाइहरू समेत उचालेर सामूहिक बलात्कार गर्ने गरेको पाइन्छ । सबैजसो बलात्कारका घटना भइसकेपछि कित बलात्कृत बालिका, किशोरी वा महिलालाई एकान्तमा लगेर छोडिदिने वा हत्या गर्ने गरेको पाइन्छ ।

वैवाहिक बलात्कार बाहेकका हकमा धेरै पढेका, राम्रो ठाउँमा जागिर खाएका, बलवर्गत भएका, राजनीतिक पहुँच भएका, मौखिक तथा शारीरिक प्रतिकार गर्नसक्ने भन्दा सामाजिक, आर्थिक, शारीरिक, शैक्षिक एवं सांस्कृतिक रूपमा कमजोर वर्गका महिलाहरू बलात्कृत भएको देखिन्छ । परिवारभन्दा बाहिरको बलात्कारीले आफूभन्दा सक्षम, प्रहरी तथा आर्मीमा भएका महिला (आफ्नै सहकर्मी वा उच्च अधिकृतबाट हुने बलात्कारका घटना बाहेक), ठूलठूला नेतागणका छोरीहरूमाथि हत्पति हात हालिहाल्दैन, किनकि उसलाई त्यसको परिणाम र सजायको स्तर के हुन्छ, त्यसको राम्रो जानकारी हुन्छ ।

वैवाहिक वा पारिवारिक बलात्कार
मानवशास्त्रीहरू भन्छन्, सबै कुराको जरो भनेको कल्चर अर्थात् संस्कार हो । संस्कार सिक्ने पहिलो संस्था भनेको घरपरिवार हो । त्यसपछि नातागोता, समाज र राज्य स्वयं पनि संस्कार सिकाउने, त्यसलाई अवलम्बन गर्न लगाउने र निरन्तरता दिन लगाउने संस्थाहरू हुन् । यी अवधारणालाई मध्यनजर गर्ने हो भने एउटा पुरुष बालकलाई बलात्कार कार्यप्रति अभिप्रेरित गर्ने पहिलो संस्था घरपरिवार हो भन्नुपर्ने हुन्छ ।

सूक्ष्म रूपमा हेर्ने हो भने एउटा परिवार हजुरबा—हजुरआमा, बा—आमा, काका—काकी तथा दाजुभाइ एवं दिदीबहिनीहरूको समूह मिलेर बनेको हुन्छ । एउटा बालकले आफ्नो परिवारमा हजुरबा र हजुरआमा, बाबु र आमा बीचको लैंगिक सम्बन्ध केलाएको हुन्छ । म नै भोलिको बाबु हुँ र मैले पनि स्वास्नीमाथि यस्तै व्यवहार दोहोर्‍याउन पाउँछु– एउटा पुरुष बालकको मनोविज्ञान यसरी बनेको हुन्छ । यही परिवारबाट एउटी छोरीले छोराको भन्दा ठिक विपरीत सिक्छे ।

बिभिन्न अनुसन्धानले देखाए अनुसार अधिकांश बालिकाले आफ्ना आश्रयदाता बाबुआमा र आफू जन्मेको घर छोड्नुपर्ने डरले सानो उमेरमा म कहिल्यै बिहे गर्दिन भन्ने गरेका हुन्छन् । उसको त्रास उसले लाग्नेको घरमा दिनुपर्ने बिना ज्यालाको श्रमसंँग जोडिएको हुन्छ, जबकि एउटा पुरुष बालक भनिरहेको हुन्छ, म त राम्री केटी बिहे गरेर ल्याउँछु । उसलाई थाहा छ, विवाहपश्चात् बाबुआमाको घर छोड्नु पर्दैन ।

परिवार बाहिर हुने बलात्कार
परिवार बाहिर हुने बलात्कारका घटना खासगरी आफ्नो परिवार र समाजबाट टाढा भएका व्यक्तिहरूबाट वा त्यो समाजमा टाढाबाट आएका र स्थायी बसोबास नभएका व्यक्तिबाट हुने गर्छ । यस्ता घटनाहरू एक्ली बालिका, असहाय वा अपांग महिला, कामविशेषले घरबाट रातसाँंझ एक्लै बाहिर हिँडेकी महिला, फेसबुक, सामाजिक सञ्जाल वा साथीभाइमार्फत परिचय भएकी केटी, पुरुषहरूले साथ नदिएका महिलामाथि हुने गरेको पाइन्छ । यस्ता घटनामा संलग्न बलात्कारी बिभिन्न आपराधिक घटनामा संलग्न भएको, पटक–पटक जेल गएको, राजनीतिक संरक्षण प्राप्त भएको, प्रहरी प्रशासनलाई बुझेको वा प्रहरीहरू नै साथी भएको वा आफै सुरक्षाकर्मी भएको, बसाइँ सरेर आएको र घटनापछि भाग्ने स्थान भएको व्यक्तिहरू पर्छन् । यिनीहरूलाई पद र पैसाको भरमा कानुन हातमा लिन सकिन्छ भन्ने धेरथोर ज्ञान हुन्छ र सोही अनुसार बलात्कारका घटनाहरूलाई मिलाउने कार्य गर्ने गर्छन् । यसले गर्दा बलात्कारीलाई पटक–पटक बलात्कारका प्रयासहरू दोहोर्‍याउने आत्मबल बढ्छ ।

आम प्रवृत्ति
सबैभन्दा डरलाग्दो कुरा के हो भने पितृप्रधान समाजमा बलात्कारजन्य घटनालाई पुरुषको प्राकृतिक कामेच्छा अनुरुप घटेका घटनाहरू हुन् भन्ने खालको मान्यता राखेको पाइन्छ । अपवाद बाहेक बलात्कार सम्बन्धी समस्याको चर्चा गर्न खोज्यो भने घरभित्रको पुरुषहरू तर्किने, सकेसम्म महिला हिंसा तथा बलात्कारका समाचारहरू महिलाहरूले नदेखे हुन्थ्यो वा त्यसमाथि कुरा नउठाए हुन्थ्यो जस्तो गर्ने, यदि महिलाहरूले यो कुरालाई छलफलमा ल्याउन खोजे भने एकाध घटना त भइहाल्छ नि भनेर तर्किने, छोरीहरूको सुरक्षा संवेदनशीलतालाई मतलब नगर्ने, महिला हिंसाको प्रतिकार गर्नुको सट्टा निरपेक्ष बसिदिने, छोरीलाई अंश दिनुपर्ने कुरालाई पन्छाउने प्रवृत्ति पाइन्छ । दिनानुदिन बढिरहेका बलात्कारका घटनाले जति आमा वर्गलाई पिरोलेको छ, त्यति बाबु वर्गलाई पिरोलेको देखिँदैन । पत्रपत्रिकामा बलात्कार वा महिला हिंसाविरुद्ध छापिने लेखहरूको संख्या सर्वेक्षण गर्ने हो भने यो कुरा सहजै पुष्टि हुन्छ ।

समाधानका उपाय
माथि उल्लेख गरिएका दुई प्रकारका बलात्कारका घटनामध्ये वैवाहिक तथा पारिवारिक बलात्कारका घटना न्यून गर्न घरमा भएका आमा, श्रीमती, छोरी तथा बुहारीहरूको इज्जत गर्नुपर्छ । छोरीलाई पनि छोरासरह सम्पत्ति तथा शिक्षाको अधिकार प्रदान गर्नसके बलात्कारका घटनामा कमी आउँछ । छोरालाई पनि छोरीलाई सरह काम लगाउने, घरायसी काममा उत्तरदायी हुन सिकाउने गर्नुपर्छ । हिजोका आमा–सासु पुस्ताका तुलनामा आजका छोरी–बुहारी पुस्ताको महिला पढाइ तथा जागिर खाने हिसाबले आकाश र जमिनको फरक भेट्न सकिन्छ । तर हिजोका बाबु–ससुरा पुस्ताका तुलनामा आजका छोरा–ज्वाइँ पुस्ता घरायसी काममा कति लाग्ने भएका छन्, श्रीमती र छोरीको कति ख्याल गर्ने भएका छन्, त्यो अझै खोजीकै विषय होला ।

परिवार बाहिर हुने बलात्कारका घटनालाई न्यून गर्ने उपाय भनेको महिलाहरूको आर्थिक, सामाजिक रूपान्तरण नै हो । समाजका हरेक तह र तप्कामा महिलाहरूको अनिवार्य उपस्थिति भएमा बलात्कारका घटनामा कमी आउन सक्छ । उदाहरणका लागि पुरुष ड्राइभरको सट्टामा महिला ड्राइभर भए धेरै युवतीहरू सामूहिक बलात्कारको सिकार हुनुपर्दैन थियो होला । यसैगरी पुरुष प्रहरी अधिकारीको सट्टा महिला प्रहरी अधिकारीहरू हुन्थे भने गाउँमा बलात्कारको घटना घट्दा प्रहरी चौकीमा खसी काटिने थिएन कि ।

यसैगरी इँटाभट्टामा काम गर्ने महिला यदि मन्त्री वा सचिव हुन्थिन् भने उनकी सुस्त मनस्थितिकी छोरी बलात्कृत हुन्नथिइन् कि ? एउटी महिलाको आफ्नै घर, मान र प्रतिष्ठा हुन्छ भने उनीमाथिको वैवाहिक बलात्कारमा पनि कमी आउला कि ? एउटी किशोरीको घर परीक्षा दिने विद्यालय नजिकै हुन्थ्यो भने उनले बलात्कृत भएर मारिन पर्दैनथ्यो कि ? वैवाहिक बसाइँ–सराइले महिलाहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपले परनिर्भर पार्छ । यदि छोरीहरूले सम्पत्ति पाउने हो भने वैवाहिक बसाइँ–सराइको प्रवृत्तिमा पनि परिवर्तन आउन सक्ला कि ?

माथिका अवधारणालाई मनन गर्दा हाम्रो समाजमा बढिरहेको यौनजन्य अपराधको जरो भनेको पितृप्रधान सामाजिक, आर्थिक तथा राजनीतिक व्यवस्था हो, जहांँ महिला अझै सम्पत्ति तथा आर्थिक एवं शैक्षिक अधिकारबाट बञ्चित हुन्छन् । महिलाको बेचबिखनसँंग जोडिएका बलात्कारजन्य घटना तथा नक्कली विवाहमार्फत हुने बलात्कारले पनि महिलाको कमजोर स्थितिलाई इगित गर्छ । हुन त कतिपय जानकारहरूको जिकिर छ, देशमा गणतन्त्र आइसक्यो, राष्ट्रपति महिला बने, सभामुख महिला बने, प्रधानन्यायाधीश महिला बने, अब पितृप्रधान सामाजिक संरचनाले विभेद गर्‍यो भनेर राग अलाप्नुको कुनै तुक छैन । यो कुरा पूर्णरूपमा सही होइनन् । जुन–जुन महिला सक्षम भए, उनीहरू बलात्कार हुनबाट पनि
केही जोगिएकै होलान् । तर सक्षम नहुनेको हविगत त जस्ताको तस्तै छ नि ।

umabhandaree@gmail.com

Esewa Pasal

प्रकाशित : चैत्र २९, २०७४ ०७:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बार्सिलोनालाई सुधार्न दबाब

एएफपी

बार्सिलोना — च्याम्पियन्स लिग फुटबलमा मंगलबार एएस रोमासँग स्तब्ध भएको बार्सिलोनालाई सम्भवत् दुई उपाधिले छुट दिने छैन । तर हारले अब के हुनसक्छ भन्नेमा उसलाई सचेत भने गराएको छ ।

घरेलु मैदानमा बार्सिलोनालाई हराएपछि एएस रोमा खेलाडी । तस्बिर : एएफपी

ओलम्पिक स्टेडियममा ३–० को जित हात पारेपछि रोमा ‘अवे’ गोलका आधारमा सेमिफाइनल प्रवेश गर्‍यो । यसमा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले जिम्मेवारीको मूल्य त चुकायो नै यसले उनका खेलाडीलाई पनि उत्तिकै निरास पारेको छ ।

‘हाम्रो उही टिमले एक साताअघि चार गोल गरेको थियो,’ भाल्भेर्डेले भने, ‘हामीले उसको खेलको सामना गरेर आफ्नै खेल खेलेका थियौं । त्यो सही थियो । यस बेला भने त्यस्तो भएन ।’ तर त्यो खेलकै एक समस्याका रूपमा थियो । बार्सिलोनाले नोउ क्याम्पमा ४–१ ले जितेको थियो तर त्यसमा प्रदर्शन नतिजाअनुसार थिएन ।

कमजोर खेललाई दुई आत्मघाती गोल र अन्त्यतिर लुइस स्वारेजको प्रहारले छोपेको थियो । तल्लो स्तरको आत्मविश्वास, अत्यधिक गल्तीमा पनि त्यस बेला मूल्य चुकाउनुपरेको थिएन । पछाडि परेका सबै टिम क्वाटरफाइनलको दोस्रो लेगतर्फ अघि बढेका थिए । रोमाले अन्तिम चार प्रवेशको खुसीयाली मनाउने थोरैले मात्र अनुमान गरेका थिए । तर त्यसमा खबर थियो र भाल्भेर्डे चुके ।

बार्सिलोना पछिल्लो सातादेखि चिप्लिरहेको छ । चेल्सीसामु निरीह भए पनि उसले स्टामफोर्ड ब्रिजमा १–१ को बराबरी गरेको थियो । घरेलु मैदानमा एट्लेटिको म्याड्रिडविरुद्ध १–० को जित हात पारेको थियो, जसले उसको घरेलु लिगको उपाधि लगभग सुरक्षित गरेको थियो । संगठित प्रदर्शनभन्दा पनि दबाबमा परेको खेलमा लियोनल मेसीको फ्रि–किकमात्र निर्णायक बनेको थियो । दुई साताअघि सेभियासँग ८७ मिनेटसम्म २–० ले पछाडि परेको बार्सिलोनालाई स्वारेज र सब्स्टिच्युट मेसीले नाटकीय रूपमा हार टारिदिएका थिए ।

‘व्यक्तित्वबिना, राम्रो नखेली, मेसीबिना र बिनाकारणको असहमतिबिना ओलम्पिक स्टेडियममा बार्सिलोना प्वाल परेको पानी जहाजजस्तै थियो । आफूभन्दा राम्रो टिमविरुद्ध बार्सिलोना हारेको थियो र उसका खेलाडी कृत्रिम तहमा जस्तै देखिएका थिए,’ म्याड्रिडको दैनिक पत्रिका एएसले लेखेको छ । तर त्यो धेरै नै बलियो थियो । बार्सिलोना घरेलु लिगमा अझै अपराजित छ । अहिले जे भइरहे पनि घरेलु मैदानमा भ्यालेन्सियाविरुद्ध अझै कठिन खेल शनिबार हुँदै छ ।

बार्सिलोना लिगमा ११ अंकले अगाडि छ । फेरि राम्रो लयमा फर्कन सके उसले अर्को महिना सेभियालाई हराएर कोपा डेल रेको उपाधि जित्न सक्छ र घरेलृु प्रतियोगितामा दोहोरो उपाधि जित्ने क्रममा ला लिगाको सिजन अपराजित रूपमा बिताउने पहिलो टिम बन्न सक्छ । तर रोमाको यात्राले बार्सिलोनालाई लगातार तेस्रोपल्ट युरोपमा क्वाटरफाइनलबाट बाहिर्‍याएको छ । यसले उसलाई ‘समर’ मा परिवर्तन हुँदै पुन: बलियो बन्न, ब्युँतिनलाई दबाब दिएको छ । आन्द्रेस इनिस्टाको चीनतर्फ जानुअघि च्याम्पियन्स लिगमा यो नै अन्तिम खेल हुनसक्छ । उनको स्थान पूर्ति गर्नु आवश्यक छ वा फिलिप कौटिन्होलाई अझ राम्रो उत्तराधिकारी बनाउनुपर्छ ।

सर्जियो बुस्केटले बूढी औंलाको चोट बोकेरै खेलेका थिए । यसले बार्सिलोनामा पर्याप्त खेलाडी नभएको देखाउँछ । खेलको लयले प्रभावित अनुबन्धको कुराले सामुइल उमिटीको भविष्य अनिश्चित बनेको छ । राइट–ब्याकमा सुधार आवश्यक छ । सर्जियो रोबर्टोसँग सन्तुष्ट हुने अवस्था छैन । तर भाल्भेर्डे आफैंमा पनि लचकताको अभाव छ । उनी आफ्नै ट्याक्टिसभन्दा बाहिर छन् ।

यस बेला उत्कृष्ट गोलकिपर मार्क–आन्द्रे टेर स्टेगेन र मेसीले बार्सिलोनालाई पुनर्जागृत गराएको हो । तर बार्सिलोना रोमासँग आवश्यक परेको बेला चाहेजस्तो परिपक्व भएन । ‘उनीहरूले आफ्ना खेल खेले र कसरी प्रतिक्रिया जनाउने हामीलाई थाह भएन,’ बुस्केटले भने, ‘कसरी अवसर सिर्जना गर्ने भन्ने हामीले थाह पाएनौं । हामी सही अवस्थामा थिएनौं । अन्त्यमा उनीहरूले नतिजा हात पारे ।’

‘तपाईले पीडाबोध गर्नुपर्छ । केही कठिन दिनमा त्यस्तो हुन्छ,’ भाल्भेर्डेले भने, ‘हामी दुई प्रतियोगिता जित्ने प्रयास गर्नेछौं । यस्तो किसिमको हारले पीडा दिन्छ तर अगाडि बढ्नै पर्छ ।’

प्रकाशित : चैत्र २९, २०७४ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT