प्रहरी महानिरीक्षकप्रति एक सर्वसाधारणको अपेक्षा

नवीन रायमाझी

काठमाडौँ — तपाईं प्रहरी प्रमुख हुनसाथ फेसबुकलगायतका सामाजिक सञ्जालमा सकेसम्म तपाईंसँगै बसेको, यदी त्यस्तो फोटो नभएमा तपाईंको मात्र फोटो राखेर बधाई तथा शुभकामनाको ओइरो लागेको छ । सायद मेरो फलानो प्रहरी प्रमुखसँग निकट सम्बन्ध छ भनेर प्रचार गर्न खोजिएको होला ।

प्रहरी महानिरीक्षकप्रति एक सर्वसाधारणको अपेक्षा

नवनियुक्त प्रहरी महनिरीक्षक सर्बेन्द्र खनालज्यू,

नमस्ते ।


सर्बप्रथम नेपाल प्रहरीको प्रमुख जस्तो गरिमामय पदमा पुग्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । प्रहरी प्रमुख भनेको करिब तीन करोड नेपालीलाई सुरक्षाको ग्यारेन्टी दिने निकायको प्रमुख भएकोले र म एउटा सामान्य नागरिकको हैसियतले तपाईंलाई आशाको दृष्टिले हेर्नु असान्दर्भिक नहोला ।


यो चलन नै हो म जस्तो अल्पबुद्धि भएको व्यक्तिले ठहर गर्न सक्ने कुरा भएन, तर बलेको आगो ताप्ने प्रचलन भएको हाम्रो जस्तो समाजमा अब बिभिन्न कोणबाट तपाईंसँग नजिक हुन खोज्ने व्यक्तिको कमि हुने छैन । त्यस्ताहरुले हाम्रो एउटै स्कुल, कलेज, जिल्ला वा टोल अथवा उनको र मेरो मामा घर एउटै गाउँ हो भनेर पनि नजिकिने प्रयास गर्छन् र हाम्रो समाजमा त्यस्तै बोक्रे गफ दिने व्यक्ति नै जान्ने सुन्ने हुन्छ, जो बोल्दैन त्यसलाई नजानेको र हैसियत नभएको रुपमा हेर्ने गरिन्छ छ, केहि अपबादलाई छाडेर ।


एउटा ब्यवसायिक र सक्षम प्रहरी अधिकृत भएको कारण तपाईं आफ्नो "ड्युटी" को बारेमा स्पष्ट नै हुनुहुन्छ । तैपनि एउटा सामान्य नागरिकले प्रहरीसँग के अपेक्षा राखेको हुन्छ भनेर मैले केहि सुझाब दिने दुस्साहास गरेको छु, आशा गर्छु तपाईंले यसलाई नकारात्मक रुपमा लिनु हुने छैन र कुनै किसिमको गल्ति हुन गएमा क्षमा गरिदिनु हुनेछ । तपाईं एउटा यस्तो अपजसे पेशामा हुनुहुन्छ कि तपाईंहरुले जति गरे पनि नागरिकको अपेक्षा पुरा गर्न सक्नुहुन्न, त्यसमा पनि प्रबिधि र जनशक्तिको कमिको साथै राजनीतिक दबावको बीचमा पनि तपाईंहरुले जुन कुशलतापूर्वक आफ्नो कार्य गरिरहनु भएको छ त्यसको जति प्रशंसा गरे पनि कमै हुन्छ । तपाईंहरुले रातदिन र आफ्नो परिवार, चाडपर्व केहि नभनी खटेको कारण हामी सम्पुर्ण नागरिकहरु ढुक्कसँग सुत्न पाएको कुरालाई नकार्न सकिंदैन ।


सबैभन्दा पहिले राजनीतिक छत्रछायाँमा पालिएर बसेका र बिना पत्ता डन र माफिया बनेका दुई पैसे गुण्डाहरुलाई कुनै आग्रह/पुर्वाग्रह नराखेर निर्मुल गराउने काम गर्नु होला । यस्ता मान्छेहरुलाई डन र माफिया भन्नु त्यो शब्द कै अपमान हो, यद्यपि ती दुवै शब्द नराम्रो र समाज बिरोधि तत्व हुन् । तपाईंहरुको वडा स्तरका प्रहरीले मात्र त्यस्ता गुण्डाहरुलाई समर्थन नगर्ने र त्यस्ता समाज बिरोधी तत्वहरुले बुझाउने "हप्ता" मा लोभ नगर्ने हो भने त्यस्तो प्रवृतिलाई निर्मुल गर्न नेपाल प्रहरीलाई कुनै आइतबार कुर्नु पर्दैन, तर भित्रैका मान्छेको नियत खराब भए भने कसको के लाग्छ? त्यसैले पहिले भित्रैबाट सफा गर्दा उचित हुन्छ । यसको लागि तपाईंले वडा प्रहरी कार्यलयको छड्के जाँच गर्नुहोला, एउटा सामान्य नागरिकलाई कुनै काम पर्दा भित्र छिर्नसम्म कठिन हुने प्रहरी कार्यलयमा टोले गुण्डाहरु तास खेल्ने, मदिरा सेवन गर्ने र सोफामा लमतन्न सुतेका हुन्छन्, सबै कार्यालयमा यस्तो नहोला तर कुनै कुनै कार्यालयमा यस्तो पनि भएको पंक्तिकारले देखेको छ ।


त्यस्तै, ट्राफिक प्रहरीलाई काम गर्न निकै अफ्ठ्यारो छ, रात-दिन, धुलो-धुँवा नभनी सडकमा खट्ने ट्राफिक प्रहरी बास्तबमै धन्यबादका पात्र छन् । उनीहरुलाई प्यास लाग्दा दुई घुट्को पानि पिउने र शौचालय जाने ब्यबस्था पनि छैन, झन् महिला प्रहरीको हकमा यो समस्या अझै बढी हुन्छ, यस्तो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ? नगरपालिकासँग समन्वय गरेर निराकरण गर्न सकिन्छ । यद्यपि यस्ता समस्याहरुका बारे म भन्दा तपाईं नै बढि जानिफकार हुनुहुन्छ । यसको साथै सडक अनुशासन पालन नगर्ने सवारी चालकहरुको क्रियाकलापको कारण सडकमा खटिएका ट्राफिक प्रहरीहरुको ज्यान नै जाने खतरा पनि छ, यसको लागि यस्ता अनुशासनहीन सवारी चालकलाई कडा भन्दा कडा कारबाही गर्ने र जसको दबाब आए पनि नछोड्ने पद्दति सुरु गर्नु उचित हुन्छ । यदि त्यस्तै दबाब कसैले दिन्छ भने त्यस्ता व्यक्तिको नाम सार्बजनिक गरिदिने हो भने भोलिदेखि उसले त्यस्ता अनुचित दबाब दिन छोड्छ, तर यसको लागि इच्छाशक्ति हुनुपर्छ ।


केहि जिम्मेवार र माथिल्लो ओहदामा पुगेका प्रहरी अधिकृतहरु नै तस्कर र अपराधीहरुसँग मिलेर उनीहरुलाई सहयोग गरिरहेको समाचार आउँदा सम्पूर्ण प्रहरी बल कै इज्जत जाने गर्छ, हरेक मान्छेको नियत कस्तो हुन्छ त्यो बाहिरबाटै तपाईंले थाहा पाउने कुरा त भएन । तर त्यस्ता गतिबिधिमा संलग्न भएको प्रमाणित भएका प्रहरीलाई आफ्नो स्तरबाट कडा भन्दा कडा कारबाही गर्नु हुनेछ भन्ने आशा गर्न सकिन्छ । यसको साथै नेपाल प्रहरीले मुस्कानसहितको सेवा सुरु गरेको समाचारमा आएको थियो तर ब्यबहारमा अहिले पनि लठ्ठीसहितकै सेवा छ भनेर भुक्तभोगीहरुले भन्ने गरेका छन्, त्यस्ता गुनासोहरुलाई पनि तपाईंले सम्बोधन गर्नु हुनेछ ।


एउटा रमाइलो प्रसंग, पाकिस्तानी च्यानलमा एउटा हाँस्य टेली सिरियल हेरेको थिएँ, कथा अनुसार एकपटक बेलायतको महारानी पाकिस्तान आउँदा उनको कुकुर हराउँछ, बिशिष्ट अतिथिको कुकुर हराए पछि चारैतर्फ प्रहरी परिचालन गरिन्छ । केहि समय पछि प्रहरीले एउटा हात्ती समातेर ल्याउँछन् र महारानी समक्ष त्यो हात्तीलाई तपाईंको कुकुर भनेर पेश गर्छन् । त्यत्रो हात्ती देखेर महारानी अच्चमभित हुन्छिन् र त्यो हात्ती फिर्ता लैजानु भन्छिन्, त्यसपछि हात्ती रुँदै महारानीसँग भन्छ, कृपया मेरो कुकुर यही हो भनिदिनुस्, मलाई फिर्ता नगर्नुस् । यो व्यंगको अर्थ के हो भने पाकिस्तानी प्रहरीले कुटपिट गरेर जे जस्तो पनि प्रमाणित गरिदिन्छ । नेपाल प्रहरी पनि मोटामोटी रुपमा यस्तै भएको कारणले जनविश्वास आर्जन गर्नु पनि अर्को चुनौती हो ।


अन्तमा, एउटै स्कुल र एउटै कक्षामा पढेको मित्र प्रहरी महनिरीक्षक पदमा पुगेको अवसरमा मलगायत सबै हर्षित छौं, तपाईंले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु हुनेछ र नेपाल प्रहरीप्रति जनविश्वास बढाउन प्रमुख भूमिका खेल्नु हुनेछ भन्ने आशासहित नयाँ वर्षको हार्दिक तथा मंगलमय शुभकामना ।

#twitter@naviinr

प्रकाशित : चैत्र २९, २०७४ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?