१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मान्छे एउटा किताब

आफ्नै परिवेश
राधिकाको स्वच्छ, पवित्र मनले गरेको समाजसेवाको क्रम निरन्तर अगाडि बढिरहोस् । समाज, देशलाई उनीजस्ता व्यक्तिको आवश्यकता छ ।
झमक घिमिरे

काठमाडौँ — जो जीवनको दु:ख र संघर्षबाट माथि उठ्छन्, ती मान्छे जीवनमा साँच्चै सफल हुन्छन् । उनीहरूलाई त्यो दु:खले जीवनलाई नजिकैबाट नियाल्ने मौका दिन्छ, अनि संघर्ष ? प्रत्येक सफल मान्छेको जीवनलाई हेर्दा उनीहरूको पछाडिको पाटो संघर्षमय हुन्छ ।

मान्छे एउटा किताब

यस पंक्तिकारलाई त्यो पाटो पल्टाउँदा निकै आनन्द लाग्छ, कहिलेकाहीं यस्ता मान्छेलाई पढ्दा निकै उत्साहित हुनपुग्छ । किनभने जिन्दगीसँग जस्तै अवस्थामा पनि नहार्ने मान्छे समाजमा बेग्लै छाप बनाएर रहेका हुन्छन् । उनीहरूको जिन्दगीलाई पढ्दा मैले बेग्लै स्वाद पाउने गरेकी छु । त्यसैले कतिपय साथीसँग भन्ने गर्छु– किताब कम, मान्छे धेरै पढ्ने मान्छे हुँ म । उनीहरू खिस्स हाँस्छन् । तर मेरो आफ्नै जिन्दगीको अनुभूतिले मलाई के कुरा सिकाएको छ भने सबै कुरा किताबले लेख्दैन, मान्छेले खोजेका सबै कुरा त्यसमा पाइँदैन । त्यसका लागि त मान्छेले सिंगो समाजको किस्सा–किस्साभित्र पस्नुपर्छ, मान्छे–मान्छेभित्र छिर्नुपर्छ ।

तिनका नियतिहरूलाई केलाउनुको मज्जा बेग्लै हुन्छ । मलाई यसो गर्न बडो आनन्द लाग्छ । कैयांै मान्छेलाई मैले नजिकैबाट पढेकी छु । उनीहरूको जीवनवृत्तलाई नजिकैबाट छामेकी छु । यही जीवनवृत्तलाई नजिकैबाट छाम्ने क्रममा मैले राधिका पोख्रेलको जीवनलाई छामेँ, साँच्चै उनको जीवनबाट धेरै मान्छेले आफ्नो समय, आफ्नो समाज, आफ्नो देशको लागि केही गर्ने ऊर्जा पाउन सक्छन् । बेला–बेलामा उनका विभिन्न क्रियाकलापबारे विभिन्न मिडियाले लेखिरहेकै हुन्छन् । उनका अन्तर्वार्ता प्रसारण गरिरहेकै हुन्छन् । केही समय अगाडि यो पंक्तिकारलाई उनीसँग साक्षात्कार गर्ने मौका मिल्यो । त्यस अवसरमा हाम्रा बीचमा विविध समाज, देश, मान्छेबारे कुराकानी भयो । कुराकानीका क्रममा मैले के चाल पाएँ भने यिनले आफ्नो जन्मभूमि र देशलाई अत्यन्तै माया गर्छिन्, नेपालीलाई पनि धेरै माया गर्छिन् । उनको त्यही गुणबाट प्रभावित भएँ म ।

हुन त उनको जन्म हुँदा छोरीलाई आजको जस्तो शिक्षा दिने चलन थिएन । त्यसमाथि नेपालको पूर्वी दुर्गम जिल्ला तेह्रथुम त्यसबेला यातायातले छोएको थिए । स्वास्थ्य, शिक्षा, चेतनाको विकास भएको थिएन । त्यसमाथि सोल्माको काँडे ठाउँमा कस्तो थियो होला, मान्छेको चेतनाको स्तर ? सहजै अनुमान गर्न सकिन्छ । दाजुभाइ विद्यालय जान थालेको देखेर राधिकालाई पनि ज्ञानको भोक जागेको हो । तर उनलाई पढ्न कसले प्रोत्साहन दिने ? घरमा शैक्षिक वातावरण दाजुभाइलाई मात्र थियो, उनका लागि भने थिएन । तर पनि राधिकामा पढ्ने इच्छा भने अत्यन्तै थियो । उनले आफैंले मिहेनत गरेर एसएलसी गाउँकै विद्यालयबाट दिइन्, अनि काठमाडौं छिरिन् ।

त्यहाँ उनले विभिन्न काम गर्दै पढ्दै गरिन् । मान्छेको जिन्दगीमा कहिले आँधीबेहरी आउँछ, कहिले खुसी, ज्युनलाई सहज बनाउने मार्ग पनि खुल्छ । आखिर राधिका पोख्रेलको जिन्दगीमा पनि यस्तै भयो । उनले अष्ट्रेलिया जाने मौका पाइन् । त्यहाँ उनले काम पनि पाइन्, तर उनको मनमस्तिष्क भने नेपालमै थियो । अझै भन्ने हो भने आफू जन्मेको–खेलेको डाँडाकाँडा, पाखापखेरामै त्यो नाचिरहन्थ्यो, कैयौं मान्छेले विदेशिएपछि आफ्नो जन्मभूमिको सबै यादहरूलाई बिर्सिन्छन् । त्यहाँको भोगविलासी जीवनको स्वाद चाखिसकेपछि आफ्नो देशको नाम पनि बिर्सिन्छन् । तर राधिका पोख्रेलले आफ्नो जन्मभूमि र देशको मायालाई हृदयभरि राखिरहिन् । यही मायाले उनलाई राधिका ट्रष्टको स्थापना गरेर विभिन्न सामाजिक कार्य गर्न अभिप्रेरित गर्‍यो ।

हो, उनले विदेशको कमाइले अहिले गृहजिल्लामा विविध सामाजिक सेवामा सघाउ पुर्‍याइरहेको छ । आफ्नो जिल्लाको शैक्षिक क्रियाकलापमा सहयोग पुगोस् भनेर श्रमको पैसा दान गरेकी थिइन् । अस्पतालका कैयौं बेवारिसे लासको सनाखत तथा विसर्जन गर्न सहयोग गरेकी छन् । कैयौं बिरामीको उपचार गर्न सघाएकी छन् । सबैभन्दा ठूलो कुरा दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन एमाले नेता जीवराज आश्रितको विचल्लित परिवारलाई घर बनाइदिएर व्यवस्थित गर्न सहयोग गरेकी छन् । उनी समाजसेवाको भावना आफ्नी आमा मनमायाबाट जागृत भएको बताउँछिन् । उनको नजरमा आमा मनमाया सबैभन्दा दानी व्यक्ति थिइन् । समाज, देशलाई राधिका पोख्रेलहरूजस्ता व्यक्तिको आवश्यकता छ । धन्य छ, राधिकाको स्वच्छ, पवित्र मनले गरेको समाजसेवाको क्रम निरन्तर अगाडि बढिरहोस् !

प्रकाशित : चैत्र ३०, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?