हाम्रो संस्कृति, हाम्रो जात्रा

लक्ष्मीकृष्ण श्रेष्ठ

काठमाडौँ — नेपालमा भौगोलिक विविधताको कारण जातजाति, संस्कृति, चाडपर्व एवं जात्रा पनि विविधता छ । यही विविध संस्कृति जात्रामध्ये मध्यपुर थिमीमा पनि आकर्षक जात्रा मनाइन्छ– बिस्का जात्रा । बिस्का नेवारी शब्द हो । यसको अर्थ छुट्टै, अलग वा स्वतन्त्र बसेको भन्ने हुन्छ । त्यसैले बिस्का जात्राको छुट्टै पहिचान र विशेषता छन् । बिस्का जात्राबाटै बिस्केट जात्रा हुनगएको देखिन्छ ।

प्राचीन कालदेखि काठमाडौं उपत्यकाका अधिकांश जनता कृषि क्षेत्रमा निर्भर थिए । प्रत्येक साल गहुँ, आलु लगायतको खेती लगाइसकेपछि फुर्सदको समयमा रमाइलोको लागि हाम्रा पुर्खाले उपत्यकाभित्र विभिन्न ठाउँमा जात्रा चलाउने गरेको पाइन्छ । वसन्त ऋतुको अन्त्य गृष्म ऋतुको सुरुवातताका विभिन्न जात्रा गर्ने चलन छ । चैतको अन्तिम दिनदेखि वैशाख २ गतेसम्म बिस्का मनाइन्छ । यसको सुरुवात जगज्योर्ति मल्लको पालादेखि भएको इतिहासमा उल्लेख पाइन्छ । यो जात्रा सुरु हुनु अगाडि मध्यपुर थिमीस्थित लाय्कु दरबारमा बालकुमारी गुठीका गुठियार, स्थानीय प:माहरू र स्थानीयबासीको रोहवरमा मूल देवता श्री बालकुमारीलाई सरकार एवं जनताले चढाइराखेको विभिन्न बहुमूल्य गहना, आभूषणहरू वितरण गर्ने गरिन्छ । त्यसपछि अन्य देवीदेवतालाई चढाइराखेको गहनाहरू वितरण गरिन्छ । जसलाई नेवारीमा तिसा पिकाय्गु भनिन्छ । जात्राको चार दिनअघि विशेष किसिमको बाजा (जसलाई बालकुमारीको मूल बाजा) बजाई थिमीमा परिक्रमा गरिन्छ, जसलाई नितं काय्गु भनिन्छ । त्यसपछि थिमीको कुनै बासिन्दाको मृत्यु हुँदा मलामी लाँदा बाजा बजाउन नपाइने, बिहे भएका छोरीहरू माइतीमा बस्न नहुने परम्परा छ, जुन अहिलेसम्म
कायमै छ ।

चैत अन्तिम दिन दिउँसो खड्गी थरका गुठीका व्यक्तिले छालाको विशेष भाँडो बोकी टोलटोलमा गई ‘थाहाँ बौ’ माग्ने चलन छ । ‘थाहाँ बौ’लाई बालकुमारी मन्दिर पुर्‍याएपछि साँझ विष्णुवीरको मूर्तिलाई पालो परेको गुठियारको घरबाट ल्याई विष्णुवीर मन्दिरमा प्रवेश गराइन्छ । यस क्रममा एकआपसमा अबिर छ्यापिन्छ । बेलुका टोलटोलका जात्रा गर्ने देवीदेवताको मूर्तिलाई पालो परेको घरबाट जात्रा गरी आआफ्नो मन्दिर प्रवेश गराइन्छ । वैशाख १ गते बिहान उज्यालो हुनुभन्दा अघि विभिन्न देवीदेवताको आराधना पूजा गरी लाय्कु दरबारको बालकुमारी मूर्तिलाई विशेष खालको तामाको बाटामा ल्याई खटमा राखी नायखीं बाजा, धिमेय बाजासहित जात्रा गरी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।

यो जात्रा राति हुनेहुँदा प्रत्येक घरबाट एउटा एउटा चिराग बोकी आउने चलन छ । बिहानको जात्रा आकर्षक हुन्छ । यसलाई बालकुमारी क्वहा: बिज्यागु भनिन्छ । बालकुमारी मन्दिरभित्र प्रवेश भइसकेपछि नायखीं बाजा, धिमेय बाजा, बालेको चिरागसहित दक्षिणबाराही, हरिसिद्धि, अजिमा देवीको पालो परेको घरमा गई देवीदेवताको मूर्तिलाई खटमा राखी जात्रा गरी ल्याइन्छ । थिमीको दक्षिण भेग हनुमन्ते खोलापारि अवस्थित दक्षिणबाराही, हरिसिद्धि देवीको मन्दिर परिक्रमा गराइन्छ । सोही देवीदेवतालाई जात्रा गरी बालकुमारी मन्दिर परिक्रमा गरी आआफ्नो स्थानमा राखिन्छ ।

Yamaha

त्यसपछि श्री बालकुमारी देवी लगायत जात्रा गर्ने देवीदेवताको गहना आभूषण लगायत पूजा गरी चढाइने कार्य सुरु हुन्छ । श्री बालकुमारीमा गहना, आभूषण चढाउने कार्य सम्पन्न भएपछि बालकुमारी मन्दिरभित्र दाँत नझरेका साना–साना ५ जना बालकहरूलाई भोज खुवाइन्छ । जसलाई कुम्हो भ्वय् भनिन्छ । कुम्हो भ्वय् सम्पन्न भइसकेपछि बालकुमारी मन्दिरको पूर्वतिरको पाटीमाथिबाट १ माना चामलको पिठोले बनाएको योमरी हुत्याएर चढाउने चलन छ, जसले योमरी मन्दिरभित्र छिराउन सक्छ, उसको मनोकांक्षा पूरा हुने जनधारणा छ ।

बालकुमारी मन्दिरमा योमरी चढाउने कार्य सम्पन्न भएपछि साँझको जात्रा (बायलिंसिया जात्रा) सुरु हुन्छ । बालकुमारी, दक्षिणबाराही, हरिसिद्धि, अजिमा देवीबाहेक अरू सबै जात्रा गर्ने देवीदेवताको मूर्तिलाई खटमा राखी जात्रा गरिन्छ । विष्णुवीर, सिद्धिकालीको आआफ्नो गणसहित जात्रा गरिन्छ । विष्णुवीरको जात्रा सुरु भएपछि मन्दिरको पूर्वतिर खाल्डोमा विष्णुवीरलाई तर्साउन सक्ने भूतप्रेत रहेको मानिन्छ । सो ठाउँमा जात्रामा आउने सबैले टोपी फुकाली मलामी गएको जस्तो शान्त भई मलामी लाँदा बजाउने सी बाजा बजाई ल्याइन्छ । निश्चित ठाउँ काटिसकेपछि पुन: बाजा बजाई हर्षोल्लासका साथ एकआपसमा अबिर खेली जात्रा सुरु हुन्छ । विष्णुवीर, सिद्धिकालीको आआफ्नो गणसहित विभिन्न देवीदेवतालाई जात्रा गरी थिमी परिक्रमा गरी बेलुका आआफ्नो निश्चित स्थानमा विराजमान गराइसकेपछि सन्ध्याकालीन जात्रा सम्पन्न हुन्छ ।

वैशाख २ गते बिहान उज्यालो हुनुपूर्व बालकुमारीको खटलाई बाहिर निकाली मन्दिर अगाडि राखिन्छ । त्यसपछि सिद्धिकालीको गण र अन्य देवीदेवतालाई जात्रा गरी थिमी परिक्रमा गरी बालकुमारी ल्याई आआफ्नो स्थानमा राखिन्छ । यो समयको जात्रा अति रमणीय, आनन्ददायक, मनमोहक हुन्छ, किनकि जात्रा गर्ने सम्पूर्ण खट बालकुमारी मन्दिर वरिपरि नै हुन्छ । जात्रामा आआफ्नो समूहमा धिमेबाजा बजाई नाचगान गरी एकआपसमा अबिर छ्यापी दली मैत्रीभावना साटासाट गरिन्छ । वंशावली अनुसार पालैपालो खट उठाइन्छ । आआफ्नो गणसहित बालकुमारी मन्दिर परिक्रमा गरिन्छ । बालकुमारीको खट अगाडि चारवटा दीयोको पालासहित चिराग हुन्छ । उक्त चिराग बालेपछि बालकुमारीको खट उठाइन्छ । बालकुमारी मन्दिर परिक्रमा बालकुमारी खटलाई थिमी दिगुटोलस्थित प्रचण्ड भैरवको मन्दिर परिक्रमा गरी ३ चोटी तलमाथि गरी जात्रा गरिन्छ । चारवटा दीयो भएको चिराग लाय्कु दरबारभित्र छिरेपछि बालकुमारीको खटलाई लाय्कुभित्र लगी विराजमान गराइन्छ । त्यसपछि अन्य देवीदेवताको खट जात्रासहित आआफ्नो पालोको घरमा लगी विराजमान गराइन्छ । यसरी सम्पूर्ण देवीदेवताको खट विराजमान भइसकेपछि बिहानको जात्रा समाप्त हुन्छ ।

मध्यपुर थिमीको बिस्का जात्रालाई ३२ खटको जात्रा भनिन्छ । थिमी, नगदेश, बोडे, टिकनीको खटसहित ३२ वटा खट हुन्छ । अहिले नगदेश, बोडे, टिकनीको खट थिमीमा ल्याउने चलन बन्द भइसकेको छ । नगदेशमा सिद्धिगणेश, बोडेमा महालक्ष्मी र अन्य देवीदेवता र टिकनीमा नीलबाराही र अन्य देवीदेवताको जात्रा गरिन्छ । वैशाख २ गते दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ, जुन अद्यापि चल्दैछ । केही वर्ष अघिदेखि थिमीको पश्चिम भेग लोहकिन्थलीमा पनि सिद्धिकालीलाई खटमा राखी जात्रा गर्न सुरु भएको छ ।

यस जात्रामा ठूलो ठूलो धिमाय र काँसको भुस्या बजाइन्छ । धिमाय बाजाको आफ्नै ताल, सुर हुन्छ । सोही ताल, सुरमा नाचेको नाच अति आकर्षण हुन्छ । जात्रा गर्ने खट सबै पागौडा शैलीका छन्, सबै खटमा आकर्षक छत्र घुमिरहेको हुन्छ । जात्रामा आउनेहरूबीच अबिर दली छ्यापी धिमेय बाजोको तालमा नाचगान गरिने र खटसमेत अबिरले रंग्याइने भएकाले यसलाई सिन्दुर जात्रा पनि भनिन्छ । यो मित्रता, सद्भाव, मेलमिलापको जात्रा पनि हो । किनकि यस जात्राले एकअर्काप्रति रहेको पुरानो रिस, राग, द्वेष, घमन्ड हटाएर आपसी प्रेम, माया, हार्दिकता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

-लक्ष्मीकृष्ण श्रेष्ठ
श्रेष्ठ उच्च अदालतका पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : वैशाख १, २०७५ ०७:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश ५ मा गन्तव्य लुम्बिनी

दीपेन्द्र बडुवाल, अमृता अनमोल

काठमाडौँ — संघीयता कार्यान्वयनसँगै लुम्बिनीको चर्चा बढेको छ । बुद्धस्थलबारे काठमाडौं केन्द्रित चर्चा प्रदेशमा स्थानान्तरण भएका छन् । यहाँ प्रत्येक स्थानीय तहले उन्नति/प्रगतिको आधार बताउँदा लुम्बिनी र त्यहाँ आउने पर्यटकलाई जोड्न थालेका छन् ।

लुम्बिनी केन्द्र मानेर गरिने पर्यटन प्रवद्र्धनले प्रदेश कायापलट हुने विश्वास यहाँका सरोकारवाला र जनप्रतिनिधिमा पाइन्छ । विद्यालयमा आधारभूत तहदेखि लुम्बिनी र गौतम बुद्धको महिमा पढाइन्छ । लुम्बिनी घुम्ने धेरै छन् । पछिल्लो समय बौद्ध विश्वविद्यालय स्थापना भएपछि बौद्ध ज्ञान आर्जनको गन्तव्य लुम्बिनी बनेको छ ।

प्रत्येक स्थानीय तहले उन्नति र प्रगतिको आधार बताउँदा लुम्बिनी र यहाँ आउने पर्यटकलाई जोड्न थालेका छन् । लुम्बिनी केन्द्र मानेर गरिने पर्यटन प्रवद्र्धनले प्रदेश कायापलट हुने विश्वास यहाँका सरोकारवाला र जनप्रतिनिधिमा पाइन्छ ।

मुलुकका मुस्लिम धर्मावलम्बी वर्षमा एक पटक हज यात्रामा ‘मक्का मदिना’ पुग्छन् । त्यसैगरी बौद्ध धर्मावलम्बीमा लुम्बिनी नटेके जीवनले सार्थकता प्राप्त नगर्ने विश्वास छ । यस्तो विश्वासमा छोटो र लामो बसाइका लागि विश्वका सयौं श्रद्धालु बौद्धमार्गी यहाँ आउने गरेका छन् । प्रत्येक दिन लुम्बिनीस्थित माया देवी मन्दिर र विभिन्न मुलुकका बौद्ध विहारमा यी श्रद्धालुको समर्पण देख्न सकिन्छ । गेरु वस्त्रधारीले गर्ने पूजापाठ र ध्यानले अन्यलाई समेत शान्ति प्रदान गर्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक इन्द्रप्रसाद काफ्ले बौद्ध परम्पराका पर्व र संस्कृति ब्युँताउनुपर्नेमा जोड दिन्छन् । ‘शान्ति प्रार्थनाले लुम्बिनीलाई गुञ्जायमान बनाउन सक्नुपर्छ,’ उनले भने, ‘असुरक्षा र सरकारी बेवास्ताले बुद्ध परम्पराअनुसारका धेरै चाडपर्व हराएका छन् ।’ उनका अनुसार यहाँबाट हराएका पर्व सहजताका लागि भारतको बोधगया, कुशीनगरमा मनाउन थालिएको छ । ‘पर्व फर्काउनुपर्छ । शान्ति प्रार्थनाले गुञ्जायमान राख्नुपर्छ,’ उनले भने, ‘यसले मात्रै हामीले सोचे र खोजेजस्तो लुम्बिनी बन्न र पर्यटन प्रवद्र्धन सम्भव छ ।’

आस्था र समर्पण भएका मात्र यहाँ आउँदैनन् । दिनहुँ सयौं व्यक्ति घुम्न आउँछन् । विद्यार्थीको धुइरो लाग्छ । तर अडिएर बुद्ध ज्ञान हासिल गर्नेको संख्या न्यून छ । धेरैले यसलाई भ्रमण ‘ट्रान्जिट’ का रूपमा प्रयोग गरेको पाइन्छ । एकछिन घुमेर फर्किनेका कारण यो वास्तविक पर्यटकीय गन्तव्य बाँकी छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख फणीन्द्र शर्मा लुम्बिनीका विशेषताको प्रचारप्रसार गर्न सकेमा यसलाई बौद्ध धर्मावलम्बीको आस्था केन्द्र बनाउन सकिने बताउँछन् । उनका अनुसार जन्म, मृत्यु, ज्ञान प्राप्ति र देशना बुद्धसँग सम्बन्धित ४ वटा महत्त्वपूर्ण घटना हुन् । यसमध्येको महत्त्वपूर्ण जन्मस्थल लुम्बिनी हो । ‘बुद्ध आफंैले सकभर ४ वटै धाममा गएर कुकर्म पखाल्नु नत्र जीवनमा एकपटक मेरो जन्मस्थल पुग्नु भनेका छन्,’ प्रमुख शर्माले सुनाए, ‘यो कुरा प्रचार गर्न र चेतना बढाउन सके साँच्चिकै केन्द्र बन्छ ।’ यसका लागि यहाँ आउने बौद्धमार्गीको बसाइ अवधि बढाउने गरी चेतना र प्रचारमा उनले जोड दिए । नेपाली पथप्रदर्शक हुनुपर्छ । आसपासका बौद्ध क्षेत्रसम्म पुग्ने ‘टुर प्याकेज’ बनाउनुपर्नेमा उनको जोड छ ।

प्रदेश सरकार यी सम्भावनालाई सदुपयोग गर्ने मनसायमा देखिन्छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २०७५ भित्र परीक्षण उडान गर्ने लक्ष्यका साथ काम भइरहेको छ । विमानस्थल पूरा हुनासाथ विश्वका बौद्ध धर्मावलम्बी सीधै लुम्बिनी आउने विश्वास गरिएको छ । त्यही आधारमा पर्यटन पूर्वाधारको विकास भइरहेको छ । काठमाडौं उत्रेर फेरि हवाई अथवा स्थल मार्गको यात्रा गरेर लुम्बिनी आउनुपर्दा धेरैले दु:ख झेल्ने गरेका छन् । भारत हुँदै स्थल नाकाबाट भित्रिनेले अनेक झन्झट बेहोर्नु परिरहेको छ । त्यसैले विमानस्थल बौद्ध धर्मावलम्बीका लागि ‘लुम्बिनी गेट वे’ हुने विश्वास छ । मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो भाषणमा प्रदेश उन्नतिको आधार लुम्बिनीलाई बताउने गरेका छन् । संघीयता कार्यान्वयनपछि यहाँको निजी क्षेत्र पनि हौसिएको छ । लुम्बिनी केन्द्र मानेर पाँचतारे होटल निर्माण बढेको छ । आगामी बुद्ध जयन्ती पारेर लुम्बिनीमा विश्व बौद्ध सम्मेलन हुँदै छ । प्रधानमन्त्री केपी ओलीले सम्मेलन भव्य बनाउन निर्देशन दिएका छन् । सम्मेलनका ३ दिन आफंै लुम्बिनी बस्ने उनको घोषणाले पनि यहाँ उत्साह थपेको छ । सम्मेलनमा मुलुकभित्र र बाहिरका बौद्ध विद्वान् र विभिन्न मुलुकका राष्ट्र प्रमुखको सहभागिता रहनेछ । त्यसले लुम्बिनीलाई केन्द्र बनाउन मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ ।

विश्वमा डेढ अर्व बुद्ध धर्मावलम्बी रहेको अनुमान छ । सन् २०१७ मा ८७ मुलुकका पर्यटक लुम्बिनीमा आएको तथ्यांक छ । लुम्बिनी विकास कोषका अनुसार यहाँ पर्यटक आउने प्रमुख १० मुलुकमा क्रमश: श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन, कोरिया, भियतनाम, भुटान, बेलायत, जर्मनी र अस्ट्ेरलिया छन् । उक्त वर्ष १ लाख ५५ हजार भारतीय र १ लाख ४५ हजार तेस्रो मुलुकका पर्यटक यहाँ आएका थिए । लुम्बिनी आउनेमध्ये २० प्रतिशतमात्र तिलौराकोट र निग्रोधाराम पुग्ने गरेका छन् । यहाँ ५० देशका पर्यटक आउने तथ्यांकले देखाउँछ ।



यस्तो छ आकर्षण
बौद्ध धर्मबाट ओतप्रोत भएर आराधना गर्न र संस्कृतिको अध्ययन गर्न धेरै आउँछन् । लुम्बिनीमा रहेका बौद्ध संस्कृति झल्कने संरचनाले पनि पर्यटकलाई लोभ्याउने गर्छन् । विश्वमा महायान र थेरवाद गरी २ थरी बौद्ध सम्प्रदाय छन् । लुम्बिनीमा दुवै सम्प्रदायका कला र संस्कृति देख्न सकिन्छ । यही कारणले पनि लुम्बिनीमा आकर्षण बढेको संस्कृति विज्ञ विमलबहादुर शाक्य बताउँछन् । लुम्बिनी गुरुयोजनाअनुसार ७ सय ६८ हेक्टरलाई लुम्बिनी क्षेत्र कायम गरिएको छ । यो पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँका रूपमा विकास भएको छ । विहार क्षेत्रमा विभिन्न मुलुकका बौद्ध संस्कृति झल्कने विहार छन् । पूर्वी विहार क्षेत्रमा १३ वटा थेरवाद र पश्चिमी क्षेत्रमा महायान सम्प्रदायका २६ वटा मुलुकले विहार निर्माण गरिरहेका छन् । लुम्बिनी संग्रहालय र अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र थप आकर्षण हुन् । ‘यिनले विश्वभरका बौद्ध कला, संस्कृति र परम्परा देखाउन तथा बुद्ध र लुम्बिनीको महिमा बढाउन सहयोग गरेका छन्,’ शाक्य भन्छन्, ‘बौद्ध कला, संस्कृति जान्न र बुझ्न लुम्बिनी आए पुग्छ ।’

बौद्धमार्गी प्राचीन झल्को दिने गरी लुम्बिनीको विकास भएको देख्न चाहन्छन् । सुन्दर, शान्त र पवित्र स्थलका रूपमा हेर्न चाहन्छन् । लुम्बिनी विकास कोष उपाध्यक्ष अवदेशकुमार त्रिपाठी (भिक्षु मैत्रेय) पवित्र उद्यानमा यही उद्देश्यले काम भएको बताउँछन् । बुद्ध जन्मेको, सात पाइला टेकेको र मायादेवीले नुहाएको पुष्करिणी तलाउ यहाँ छन् । दीप प्रज्वलन केन्द्र र बगैंचा छन् । मायादेवी मन्दिर र परिक्रमा पोखरी निर्माण गरिएको छ । आकर्षक प्रशासनिक भवन र पर्यटक सूचना केन्द्रको निर्माण भएको छ । शान्तिदीप र परिक्रमा पोखरी जोड्ने दुईवटा पोखरी बनेका छन् । बौद्ध परम्पराअनुसार योग अभ्यास र प्रार्थनाका प्रभावलाई विज्ञानले पुष्टि गरेको छ । यसका लागि २ वटा विपश्यना केन्द्र छन् । ऐतिहासिक र पुरातात्त्विक वस्तु राख्न संग्रहालय छ । ‘यसबाट पनि बुद्ध जन्मस्थल आउने पर्यटकले अब विश्वभरका बौद्ध अभ्यास जान्न र बुझ्न सक्ने भएको छ,’ उपाध्यक्ष मैत्रेयले भने ।

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी आसपास ३ सयभन्दा बढी पुरातात्त्विक क्षेत्र छन् । तीमध्ये १२ स्थान धार्मिक र अध्ययनका दृष्टिले बढी महत्त्वपूर्ण छन् । बाल्यकाल बिताएको कपिलवस्तुको तिलौराकोट, मावली रूपन्देहीको देवदह र अस्तिधातु रहेको नवलपरासीको रामग्राम मुख्य स्थल हुन् । कपिलवस्तुमा बुद्धले ज्ञान पाएपछि पहिलो पटक आएर बसेको कुदान, क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, हजारौं बौद्ध अनुयायी अर्थात् शाक्यको वध गरिएको सगरहवा, कनकमणि बुद्धको जन्मस्थान निग्लिहवा, कनकमणि बुद्धको गृहनगर अरौराकोट, शाक्यद्वारा स्थापित प्राचीन स्तूपका भग्नावशेष भएको सिसहनिया बौद्ध धर्मका हिसाबले महत्त्वपूर्ण छन् । लुम्बिनी आउने धेरै धार्मिक पर्यटकको ती क्षेत्रमा जाने बस्ने र अनुसन्धान गर्ने चाहना हुन्छ । ‘सहज सडक सञ्जाल, पूर्वाधार विकास र संरक्षणका काम नहुँदा उनीहरूलाई ती बौद्ध क्षेत्रमा पुर्‍याउन र देखाउन सकिएको छैन,’ सिद्धार्थ होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ महासचिव लीलामणि शर्माले भने, ‘यसले गर्दा लुम्बिनीको पर्यटन व्यवसाय फस्टाएको छैन । धार्मिक र पुरातात्त्विक महत्त्वका अन्य बुद्ध क्षेत्र पनि ओझेलमा परेका छन् ।’ लुम्बिनीमा बास बस्ने पर्यटकलाई मनोरञ्जन र बुद्ध ज्ञान दिन विराह नृत्य देखाउने योजना बनाए पनि सुरु भएको छैन ।

बौद्ध धर्मावलम्बी र भ्रमणका लागि आउनेका कारण लुम्बिनीमा बाह्रै महिना चहलपहल हुन्छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०१७ मा १ लाख ५५ हजार पर्यटक तेस्रो मुलुकबाट आए । तीसमेत १५ लाख ५२ हजार पर्यटकले लुम्बिनी घुमेको संस्थाले जनायो । संख्या धेरै भए पनि लुम्बिनीमा बस्नेको संख्या न्यून छ । करिब ९० प्रतिशत पर्यटक एकैछिन घुमेर फर्किएको कोषले जनायो । संख्या बढे पनि बसोबास अवधि बढेको छैन । सरोकारवालाको मुख्य चिन्ता यही हो । दक्षिण एसियाली मुलुकका पर्यटक भारतीय गाडीमा आउँछन् । घुमेर तत्काल भारत फर्किन्छन् । बौद्ध संस्कृतिका ज्ञाता डा. गितु गिरी लुम्बिनीको महत्त्व बताइदिने, आसपासमा क्षेत्रमा पुर्‍याउने र भुलाउने स्थान नहुँदा पर्यटक आउने र तुरुन्तै फर्किने गरेको बताउँछन् । ‘पर्यटक रोक्न आसपासका सबै बौद्ध क्षेत्र घुम्ने सडक, लुम्बिनीका सबै संरचना बताइदिने पथप्रदर्शक र मनोरञ्जन लिने ठाउँको अभाव छ,’ उनले भने, ‘यिनको विकास नगरी बस मात्र भनेर पर्यटक बस्दैनन् ।’ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि वार्षिक २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । यसका लागि नेपाललाई अन्तर्राष्ट्रिय बुद्धिस्ट हब र लुम्बिनीलाई विश्वको आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने योजना बनाइएको छ । त्यसअनुसार ४ वर्षअघि बुद्ध जन्मस्थल लुम्बिनी, बाल्यकाल बिताएको स्थान तिलौराकोट, मावली क्षेत्र देवदह र अष्टधातु रहेको नवलपरासीको रामग्राम क्षेत्रलाई समेटेर १ सय ५७ किलोमिटर क्षेत्रलाई बृहत्तर लुम्बिनी क्षेत्र कायम गरिएको थियो । बृहत्तर लुम्बिनी क्षेत्र जोड्ने सडक कम्तीमा ४ लेनको पक्की हुनुपर्ने र सडक आसपासमा वर, पीपल, स्वामीलगायतका रूख रोपेर हरित, शान्त र सुन्दर बनाउनुपर्ने उल्लेख छ ।

गुरुयोजना अधुरै
लुम्बिनी विकासका लागि ४० वर्षअघि तयार गुरुयोजना अधुरै छ । जसले गर्दा अपेक्षाअनुसार विकासका काम भएका छैनन् । यस क्षेत्रको एकीकृत विकास गर्न १५ वर्षमा पूरा गर्ने गरी गुरुयोजना सुरु भएको थियो । जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेद्वारा १९७८ मा तयार गुरुयोजना कार्यान्वयनमा ल्याइएको थियो । बजेट, प्रतिबद्धता र जिम्मेवारीबोध अभावमा त्यसअनुसार काम भएन । कोषका सूचना अधिकृत राजन बस्नेतले बाँकी काम २ वर्षभित्रमा सकिने बताए । अहिलेसम्म कति खर्च भयो कोषसँग विवरण छैन । गुरुयोजनाको काम ८५ प्रतिशत सकिएको छ । मुख्य पूर्वाधार निर्माण बाँकी छन् । गुरुयोजनाअनुसार पवित्र उद्यान, मोनास्ट्रिक जोन र न्यु लुम्बिनी भिलेजका रूपमा लुम्बिनीको विकास गरिँदै छ । प्रा. टांगेले डिजाइन गरेका केही भवन आधुनिक प्रविधिका नभएको भन्दै कोषले यसको पुन: मूल्यांकन गर्नुपर्नेे प्रस्ताव ल्याएको छ । पुन: मूल्यांकन गर्नुपर्नेमा सांस्कृतिक भवन, दुई ठूला सभाहल, बैंक, सुरक्षा भवनलगायतका छन् । त्यस्तै सन् २०१२ मा कोरियन प्रोफेसर क्वाक यांगुनले ‘लुम्बिनी शान्ति सहर’ को गुरुयोजना बनाउने जिम्मा पाए । उनले लुम्बिनी शान्ति सहर एउटा ‘स्मार्ट सिटी’ का रूपमा तयार हुने बताएका थिए । कमलको फूलको आकारमा तयार पारिएको उनको गुरुयोजना निकै लोभलाग्दो छ । गत वर्षबाट सुरु योजनाअनुसार अहिले सूचनामैत्री र प्रदूषणरहित लुम्बिनी बनाउन काम थालिएको छ ।

आसपास गन्तव्य
लुम्बिनी केन्द्र मानेर कपिलवस्तुको तिलौराकोट, रूपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्रामलगायत बौद्धस्थल जोडेर विकास गर्न सकिन्छ । यी क्षेत्र जोड्न बुद्ध सर्किट योजनाको चर्चा भइरहेको छ । यीबाहेक प्रदेशमा दुई ठूला निकुञ्ज छन् । बर्दिया निकुञ्ज वन्यजन्तु सफारीका लागि प्रसिद्ध छ । त्यहाँ पर्यटन पूर्वाधार बनेका छन् । बाँके निकुञ्ज कान्छो भए पनि सफारी लगायत पर्यटकीय सेवा सुरु भइसकेका छन् । लुम्बिनी आउने पर्यटकलाई सफारीका लागि निकुञ्ज पुर्‍याउने हो भने बसाइ लम्बिनेछ । नजिकै रमणीय पाल्पा छ । श्रीनगर डाँडाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ ।

प्रकाशित : वैशाख १, २०७५ ०७:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT