कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सर्वेन्द्रका सपना

साताका व्यक्ति
घनश्याम खड्का

काठमाडौँ — कुनै खास मितिले खास मानिसको जीवनमा बेग्लै महत्त्व राख्छ । समयका हिसाबले दिनहरू सबै उत्तिकै लम्बाइका हुन् । तर महत्त्वका हिसाबले सबभन्दा महत्त्वपूर्ण दिन हरेक मानिसको जीवनमा कहिले–कहिलेमात्रै अभिलेखमा आउँछन् । जस्तो कि भर्खरै प्रहरी महानिरीक्षक भएका सर्वेन्द्र खनालका लागि गएको २७ गते बेग्लै महत्त्वका साथ आइदियो ।

सर्वेन्द्रका सपना

अक्सर निर्णयहरू यो देशमा रात पर्न लागेपछि हुन्छन् । गएको २७ गते पनि त्यस्तै भयो । ओली सरकारले रात छिप्पिन लागेपछि निर्णय गर्‍यो, खनाल महानिरीक्षकमा बढुवा । त्यसै क्षणबाट उनी अब आउने २ वर्षसम्म नेपाल प्रहरीको मुख्य मानिस भएर रहने भए ।

नियुक्त भए लगत्तै उनले काठमाडौंका प्रहरी अफिसरहरूलाई मुख्यालयमा बोलाए । अब संगठन बदलिनुपर्छ’ उनले निर्देशन दिए, ‘कर्तव्य निर्वाह गर्नबाट कोही चुक्ने छैन ।’ ओली सरकारले सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा ल्याएको छ । र आफ्ना सारा काम यही नारालाई सार्थक पार्न केन्द्रित गर्ने जनाउ पनि दिएको छ । सर्वेन्द्रको आउने दिनहरू पनि सरकारको यही कामलाई सघाउनुमा केन्द्रित हुनेछ । ‘गृह मन्त्रालयले प्रशासन सुधारका ८२ बुँदे कार्यक्रम ल्याएको छ, जसका केही बुँदा सिधै प्रहरी प्रशासनसँग सम्बन्धित छन्’, भेटघाट गर्ने, निर्देशन दिने र कार्यक्रमहरू तय गर्ने हतारोबीच बिहीबार साँझ थोरै फुर्सद निकालेर अन्तर्वार्ताका लागि तयार भएका खनाल भन्दै थिए, ‘त्यसलाई पालना गर्नुका साथै नेपाल प्रहरीले छुट्टै एक रणनीति पनि बनाएर अघि बढ्नेछ ।’ पहिलेका कमजोरीहरूलाई बदल्ने, नयाँ चुनौतीलाई सामना गर्ने क्षमता बढाउने अनि प्रहरीका आधारभूत आवश्यकतालाई तुरुन्त सम्बोधन गर्ने जस्ता काम तत्काल अघि बढाउने सोचमा उनी छन् ।

प्रहरी नै यस्तो संगठन हो, जसको जिम्मामा देशको दैनन्दिनको शान्ति सुरक्षा सम्हाल्ने अभिभारा छ । नागरिकको जीवनका हरेक घुम्तीमा भेटिने बर्दिवाल सरकारी मानिस भनेका प्रहरी नै हुन् । हजारभन्दा बढी काम प्रहरीको जिम्मेवारीमा छन् । फौजदारी न्यायप्राणलीको सारा अनुसन्धान प्रहरीको जिम्मामा छ । त्यसैले हो, तिनको छातीमा नाम टाँसिएको ताकि कसले काम गर्दैछ भन्ने नागरिकले चिनुन् । तर त्यही जिम्मेवारी ठिक उल्टो तरिकाले पूरा गरेका घटनाहरू बारम्बार सार्वजनिक हुँदा प्रहरीको समग्र छवि धुमिल भएको छ भन्ने तथ्यसँग उनी जानकार छन् । जस्तो कि केही अघिमात्र राजधानीमै बलात्कारका घटनाहरूमा पैसा लिएर प्रहरी अधिकारीहरूले पीडकलाई बलात्कारीसितै मिलाएका तथ्यहरू सार्वजनिक भए । र दूरदराजका बस्ती जहाँ मिडियाको पहुँच छैन, यस्ता काण्डहरू हुँदा हुन् ।

खनाल आफू भने जीवनभर एक आसलाग्दा प्रहरी अधिकारीका रूपमै चर्चामा रहे । कार्यसम्पादनका आधारमा डीआईजीहरू मध्येमा एक नम्बरमा रहेका उनी त्यही छविका कारण आज प्रहरीको सर्वाेच्च पदमा आसिन छन् । तर त्यो पद त्यस्तो हो, जहाँ बसिसकेका आधा दर्जन मानिसलाई भ्रष्टाचार मुद्दा लाग्यो । ३ जना त अहिले जेलमै छन् । उनले आफूलाई त्यस लहरबाट सदा मुक्त राखिरहनु एक चुनौती हुनेछ । न्यायालयदेखि शिक्षलयसम्म बिचौलियाहरूको बिगबिगी भएको यो देशमा प्रहरी संगठनमा पनि त्यो प्रकोप छ । यस्तोमा संगठनलाई बेदाग बनाउनु उनको अर्काे चुनौती हुनेछ ।

‘नचाहिने काम गर्नेलाई जेल हाल्ने निकायकै मानिसबाट जेल जाने काम हुनु त लज्जास्पद विषय हो । तर यति भन्दैमा संगठन भ्रष्ट हुँदैन’ आफ्ना पूर्ववर्ति हाकिमहरूबारे उनको प्रस्टोक्ति छ, ‘केही अपवाद बाहेक संगठनमा सबै आफ्नो घरपरिवार नभनी निष्ठासाथ काम गर्ने मानिसको बाहुल्य छ । संगठन प्रमुख आफू भ्रष्टाचार गर्दैन र गर्न दिँदैन भने उसले अरूलाई कमाण्ड गर्न सक्छ ।’ उनको रणनीति समाजमा कसैलाई अपराध गर्न नदिने र गर्नेलाई नछाड्ने भन्ने नै छ । ‘म आफू भ्रष्टाचार गर्ने छैन’, भन्छन्, ‘अरू कसैलाई पनि गर्न दिने छैन ।’ उनले प्रहरी संगठनमा २८ वर्ष बिताएका छन् ।

अहिलेसम्म उनको जिम्मेवारी आफूलाई दिएको काम गर्नु हुन्थ्यो । काम गर्दा जहिल्यै उनलाई हाकिमहरूले यस्तो गरिदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । आज उनीसामु हजारौं जवान र तिनका अफिसरहरूको कमान सम्हाल्न पुगेका छन् । अब तिनको मनको कुराचाहिँ उनी कसरी सुन्नेछन् ? ‘मलाई थाहा छ, प्रहरी संगठनमा सामेल हरेकको चाहना के हो’, उनी भन्छन्, ‘किनभने मैले पनि त्यो अवस्था पार गर्दै–गर्दै आएको छु । ती चाहना जो पूरा हुन् भन्ने म चाहन्थेंँ, अरूहरू पनि चाहन्छन् । त्यो अब म पूरा गर्नेछु ।’

त्यो चाहना के हो ? ‘काम गर्ने वातावरण’ उनी भन्छन्, ‘प्रहरी संगठनमा आएको दिनदेखि नै देशप्रति समर्पित हुन्छु भन्ने धारणाले मानिस आएका हुन्छन् । कतिपय अवस्थामा यो चाहना प्रतिविम्बित हुन नपाउँदा काम गर्न चाहनेले अघि बढ्न पाएको हुँदैन । म त्यो अवस्था रहन दिने छैन ।’जवानहरूको नैतिक बल, तिनलाई कमाण्ड गर्नेहरूको चरित्र, तिनका आवश्यकता, भौतिक पूर्वाधारजस्ता पक्षमा अब उनले ध्यान दिनेछन् । कतिपय ठाउँमा प्रहरी चौकीसमेत गतिलो नभएको, बर्दी र आवश्यक सरसामान पनि राम्रोसँग उपलब्ध हुन नसकेको अवस्थासँग उनी परिचित छन् । ‘सत्य, सेवा सुरक्षणम्’ भन्ने मन्त्रलाई पालना गरेर काम गरे त्यस अनुसारको फल पनि पाइन्छ भन्ने प्रत्याभूति संगठनमा हुनछाडेको पनि उनलाई लाग्दोरहेछ । ‘पहिले यस्तो गर्दा यस्तो हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो, अहिले त्यो क्षीण हुँदै गएको छ’, भन्छन्, ‘म त्यसलाई फेरि फर्काउन चाहन्छु, योग्यको कदर हुन्छ भन्ने विश्वास भएन भने काम गराउन र गर्न मुस्किल हुन्छ भन्ने मलाई थाहा छ ।’

कुनै समय सर्वेन्द्र सिनेमाको नायक बन्ने सपना देख्ने गर्थे । एक दिन सन्तोष पन्तले उनलाई केही ड्राइभर वा पियन त्यस्तै कुनै भूमिकाका लागि अफर पनि गरे । तर उनले त्यो मानेनन् । बरु नेपाल प्रहरीमा प्रवेश गरे, इन्स्पेक्टरका रूपमा । यो थियो, २०४६ माघ २९ को कुरो । नायक बन्ने सपना बोकेको मान्छे गुन्डाहरू ठिक गर्ने पेसामा प्रवेश गरेको त्यो दिन पनि सर्वेन्द्रका लागि एक विशेष दिन थियो । ‘म केही गर्न चाहन्थेँ, समाज केही बदल्न चाहन्थेँ’, उनी भन्छन्, ‘प्रहरीमा मेरो प्रवेश त्यही एक चाहनाको प्रतिविम्ब मात्र थियो ।’करिअरको सुरुवाती दिनहरूमा सर्वेन्द्र बारा, धनुषा लगायत तराईका जिल्लाहरूमा खटाइए, जहाँ उनले सिनेमाको पर्दामा झैं पेस्तोल ताक्दै गुन्डाको पछिपछि कुद्ने काम गरे । २०४९ तिर वीरगन्जमा ८ जनालाई मार्ने एक खुंखार हत्याराले सबको सातो लिएको थियो । सर्वेन्द्र त्यहीँ थिए । उनी गए र हत्याराहरूलाई ठिक पारे । त्यो देखेपछि वीरगन्जबासीको मनमा उनले गहिरो ठाउँ पाए । एसपी भएपछि उनको सरुवा फेरि तराईमा भयो, जहाँ एम्बुलेन्समा हालेर गाँजा तस्करी गर्नेलाई समाउनेदेखि सीमापार पुगेका कुख्यात अपराधीहरूलाई पक्राउ गर्नेसम्मको काममा उनी आफैं खटिए ।

काठमाडौंमा आएपछि पनि उनको कामले उस्तै वाहवाही पायो । फुटबलमा ‘म्याच फिक्सिङ’ गर्ने खेलाडीदेखि तेलको परिमाण कम गराएर ठग्ने व्यापारीसम्मलाई उनले पक्राउ गरी मुद्दा चलाए । ‘घैंटे’को विगविगी समाप्त पार्ने कार्यमा होस् कि कन्सलट्यान्सीका नाममा मानव तस्करी गर्नेको कठालो समात्ने काममा होस्, उनी सक्रियतापूर्वक काममा लागिरहे । पछिल्लो समय ट्राफिक व्यवस्थापन गर्ने कमाण्ड सम्हालेपछि उनले धुवाँ फाल्ने ट्रक, गाडी र यस्ता गाडीलाई हरियो स्टिकर दिने अधिकारीलाई कारबाही गर्ने अभियान पनि थाले । जहाँ खटिए पनि उम्दा काम गर्ने परिचय बनाएका खनाल अब अरूलाई खटाएर काम लिने ठाउँमा खटिएका छन् । जहाँ उनले अपराधरहित समाज र बेदाग प्रहरी संगठन बनाउने सपना देखेका छन् । यही सपनाको सेरोफेरोमा आउने २ वर्षमा उनको समग्र नेतृत्वको मूल्याङ्कन हुनेछ ।

प्रकाशित : वैशाख १, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?