१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लोकनायक सलहेस र नयाँ वर्ष

सलहेसको नाम र सम्मानबारे व्यापक प्रचार–प्रचारको चाँजो राज्य पक्षले मिलाए समाजमा समानता, सम्मान, समरसता र सम्पन्नता बढ्दै जाने निश्चित छ ।

काठमाडौँ — समाज सुधार र लोककल्याणका यावत् पक्षहरूलाई सांस्कृतिक संरक्षण दिँदै आएको मिथिलामा पर्यावरणीय पक्षलाई पनि संस्कृतिद्वारा नै संरक्षण दिइएर होला– विक्रमी नववर्षको शुभकामना पनि प्रकृति स्वयंले नै दिने गर्छ ।

लोकनायक सलहेस र नयाँ वर्ष

नववर्षकै दिन मिथिलामा मनाइने जुडशीतलमा सरसफाइ तथा जीव–वनस्पति सबैलाई संरक्षण दिने सन्देशरूपी क्रियाकलाप सञ्चालन गरिएबाट प्रकृतिले पनि त्यहाँ आफ्नो अलौकिक चरित्र देखाउने गरेको छ । प्रत्येक वर्ष वैशाख १ गतेका दिन मात्र एक ऐतिहासिक वाटिकामा फुल्ने गुच्छा आकारको फूललाई मिथिलावासीले प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको शुभकामनाकै रूपमा लिने गर्छन् । सलहेस फूलबारी नामक उक्त वाटिकामा फुल्ने त्यो फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ । स्थानीय लोकआस्थासँग जोडिएको यस अलौकिक स्थानमा दशकौँदेखि भव्य मेला लाग्ने गर्छ ।

राजा सलहेस मिथिलाका यस्ता विभूति हुन्, जसको नामबाट त्यहाँका जनजन सुपरिचित छन् । अचेलको आधुनिकतातर्फ उन्मुख समाजमा पढेलेखेका मानिस भलै सलहेसको नामबाट अपरिचित होऊन्, तर अशिक्षित वा अल्पशिक्षित समुदायमा राजा सलहेसलाई नचिन्ने र श्रद्धा नगर्ने कोही छैनन् ।

वास्तविक नाम जयवद्र्धन रहेका सलहेसलाई सातौँ–आठौँ शताब्दीका महापुरुषका रूपमा चिन्ने गरिएको छ । मूलत: लोकगाथाका नायकका रूपमा रहेकाले यिनीबारे पर्याप्त अध्ययन हुन सकेको छैन । हालको समयमा सलहेसलाई एक खास जातिमा सीमित पारिएको, उक्त जातिलाई दलितमा दरिएको र दलितहरूको समुचित पहुँच शिक्षा तथा अध्ययन–अनुसन्धानका क्षेत्रमा हुन नसकेकाले पनि यिनीबारे खासै ऐतिहासिक अध्ययन हुन नसकेको हुन सक्छ । तथापि मैथिली लोकगाथाबारे पर्याप्त कार्य गरेका डा. व्रजकिशोर वर्मा मणिपद्म, मतिनाथ झा, डा. पूर्णानन्द दास, राजेश्वर झा आदि इतिहासकारले केही अध्ययन गरेका छन् । मणिपद्मले यिनलाई पाँचौँ–छैटौँ शताब्दीका भने पनि महेन्द्र मलंगियाले विभिन्न तर्कका आधारमा सातौँ–आठौँ शताब्दीका मानेका छन् । तर समस्त भारतीय आर्यभाषामध्येकै पहिलो गद्यग्रन्थ मैथिली भाषाको ‘वर्णरत्नाकर’ मा तत्कालीन मिथिलाका समस्त वैशिष्ट्यहरूको उल्लेख भए पनि सलहेसबारे कुनै जानकारी नपाइनुले कतिपय विद्वान्हरू सलहेसलाई चार–पाँच शताब्दीअघिका मात्र पनि भन्दै छन् ।

सलहेसका नामका सन्दर्भमा विद्वान्हरूको मतानुसार यो ‘शैलेश’बाट अपभं्रश हुँदै सलहेस हुन गएको हो । शैलेश अर्थात् पर्वतका राजा । जातिचाहिँ दुसाध । दुसाध शब्द ‘दोसाँध’बाट अपभ्रंश भएर बनेको हुन सक्ने मान्यता छ । अर्थात् यिनी पहाड र मधेसको दोसाँधमा रहेको राज्य तिरहुत (मिथिला) का राजा थिए । हाल पनि सलहेससँग सम्बद्ध स्थानहरू सिरहा जिल्लाको मानिक दह, सलहेस फूलबारी, पकडियागढ, कमलदह आदि, धनुषाको ननमहरी, उदयपुरको त्रिवेणी आदि ठाउँलाई झन्डै–झन्डै पहाड र मधेसको दोसाँध भनिदिए फरक परोइन ।

मिथिलाको विस्तृत सांस्कृतिक फलकले आफूमा अनेकानेक विशिष्टता सँगालेको पाइन्छ । यसै सांस्कृतिक विशिष्टताअन्तर्गत मिथिलामा पाइने लोकगाथाको प्राचुर्यलाई पनि एक मान्न सकिन्छ । पछिल्ला समयमा श्रव्य–दृश्य सामग्रीका रूपमा यी लोकगाथा प्रस्तुत हुन थालेका छन् । यस्ता लोकगाथाका नायकमा राजा सलहेसको नाम सबैभन्दा पुरानो तथा अग्रगन्य छ । सलहेसको गाथागीत तथा नृत्य हेर्न भनेपछि मिथिलाका नरनारीले दिनभरको थकाइलाई चटक्कै बिर्सेर रात छ्याङ्गै काटिदिन्छन् । सलहेस मिथिलाका आम मानिसको मन–प्राणमा बसेका छन् । त्यसैले तथाकथित तल्लो भनेर चिनिने दुसाध जातिका भएर पनि यिनी मिथिलामा लोकदेवताका रूपमा स्थापित छन् र हरेक वर्ग तथा जातिका मानिसले उत्तिकै श्रद्धा, भक्तिपूर्वक यिनको पूजा गर्छन् ।

मिथिलाको मैदानी भूभाग कृषि उत्पादन र पशुधनका दृष्टिले समृद्ध थियो । मिथिलाको सिमाना तीनतिर कोसी, गण्डक र गंगा नदीले घेरिएको हुनाले सुरक्षाका दृष्टिले यताबाट कुनै समस्या थिएन । तर उत्तरी पर्वतीय क्षेत्रबाट तिब्बत र भुटानको वक्रदृष्टि भने निरन्तर रहने गथ्र्यो । यसमा मिथिला क्षेत्रकै एक खुंखार दस्यु (डाँका) चुहड मलको उनीहरूलाई सहयोग उपलब्ध हुने गथ्र्यो । यस्तो समयमा सलहेसले किरातहरूसँग मिलेर संयुक्त फौज निर्माण गरे र चीनका शानवंशी सम्राटका पालामा मिथिलामा हुन लागेको आक्रमणलाई विफल तुल्याए भन्ने उल्लेख इतिहासकारहरूले गरेका छन् । सलहेसको समयमा मिथिला र किरातबीच राम्रो सम्बन्ध रहेको सलहेसका सेनापति केवल किरात नामक व्यक्ति हुनुले प्रमाणित गर्छ । सोही कालखण्डको अर्का गाथा नायक दिना–भद्रीको अनन्य सहयोगीका रूपमा जोगमल किरात रहेको प्रसंगले पनि यस तथ्यलाई बल प्रदान गर्छ ।

सलहेस मूलत: पराक्रम, पौरख र प्रेमका लागि चिनिन्छन् । जंगली जनावरहरूलाई पनि सजिलै सम्मोहन गर्न सक्ने खुबी भएका व्यक्तित्वका रूपमा सलहेसलाई गाथाहरूमा चित्रण गरिएबाट यिनको समय गौचर र कृषि युगको बीचको थियो भन्ने पनि अनुसन्धाताको भनाइ छ । अहिले पनि मिथिलाञ्चलमा वन–जंगलमा कुनै कुराको डर लाग्दा मान्छे मनमनै सलहेसलाई सम्झन्छन् र यसो गर्दा डर भाग्ने गरेको अनुभव सुनाउँछन् ।

सलहेस आफ्नो समयका अत्यन्त न्यायप्रेमी शासक थिए । जनताको पीरमर्का सुन्न यिनी नियमित जनसभा गर्ने गर्थे, अर्थात् नियमित रूपले जनताको गुहार सुन्थे । न्यायको प्रतिमूर्तिका रूपमा रहेका हुनाले नै यिनीमाथि सबै जातिले विश्वास गरेका थिए र यिनी सबैको प्यारा राजा थिए । प्रखर योद्धासमेत रहेका सलहेसका वंशजहरू कालान्तरमा दलितमा दरिए पनि यिनीप्रति सबैको श्रद्धा र भक्तिभाव भने कायमै छ । र यिनलाई राजाकै रूपमा लोकले स्वीकार गरेको छ । त्यसैले सलहेसलाई ‘राजाजी’ भनेर सम्बोधन गर्ने प्रचलन पनि मिथिलामा पाइन्छ । सलहेस फूलबारीलाई राजा फूलबाइर पनि प्राय: त्यसै कारणले भन्ने गरिएको हो । यिनको राजधानी महिसौथा गढमा थियो । यो ठाउँ हाल सिरहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिकामा पर्छ ।

राजा सलहेससँग सम्बद्ध अधिकांश ऐतिहासिक स्थलहरू पूर्वी नेपालको सिरहा जिल्लामा पर्छन् । सलहेस फूलबारी सिरहाको मुख्य व्यापारिक केन्द्र लहान बजारदेखि तीन किलोमिटरजति पश्चिमतर्फ पूर्वपश्चिम राजमार्ग छेउमा पर्छ । प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ भव्य मेला लाग्ने गर्छ । भारतबाट समेत लाखौं श्रद्धालु तथा रमितालु मेला भर्न र आफ्ना लोकदेवता सलहेसको दर्शन–पूजन गर्न सलहेस फूलबारीमा ओइरिने गर्छन् ।

सो फूलबारी अनेक किसिमका अतिक्रमण सहँदा–सहँदै पनि अहिलेसम्म एउटा सानो जंगलका रूपमा अस्तित्वमै छ । जंगलको मध्यभागतिर एउटा रूखमा बीच हाँगामै कसैले थपक्क लगेर झुन्डयाइदिएजस्तो गरी एउटा सेतो माला आकारको फूल फुलेको हुन्छ । त्यो फूलको आकर्षण र रूप त लोभलाग्दो हुन्छ नै, त्यसका सम्बन्धमा अन्य कुरा पनि कम रोचक र अनौठा छैनन् । वनस्पतिविद्हरूले अर्किडको फूल भन्ने गरेको उक्त फूल फुल्ने रूखलाई भने स्थानीयले हारमको रूख भन्ने गरेका छन् ।

त्यस परिसरका आम–मानिसको भनाइअनुसार त्यो फूल सलहेस फूलबारी मेला लाग्ने दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने गर्छ । एक दिनअघि सो फूल कोपिलाका रूपमा देखिन्छ भने एक दिनपछि चाहिँ ओइलाएको रूपमा देखिन्छ । अन्य कुनै दिन सो फूल कहिल्यै नदेखिएको स्थानीय बताउँछन् र प्रकृतिको यस अनौठोपनालाई उनीहरू दैवीशक्तिको संज्ञा दिन्छन् । उक्त फूलबारे अनुसन्धान गरिनु वाञ्छनीय देखिन्छ । यद्यपि सलहेस गाथाको प्रभावमा रंगिएकाहरू भने सलहेसकी प्रेमिका कुसमा मालिनी सलहेसको दर्शन गर्न भनी फूलका रूपमा उक्त दिन प्रकट हुने गरेको विश्वास व्यक्त गर्छन् । यस मान्यताका आधारमा त्यहाँ गई दर्शन तथा पूजन गरेमा प्रेमी–प्रेमिकाको मनोकामना पूर्ण हुने विश्वास पनि बढ्दै गएको छ । सलहेस फूलबारीकै पन्ध्र किलोमिटर जतिको सेरोफेरोमा सलहेससँग सम्बद्ध अन्य ऐतिहासिक स्थान पनि छन् । उत्तरतर्फ मानिक दह छ भने पूर्वोत्तर कुनामा पकडियागढ छ । यी ठाउँमा पनि क्रमश: वैशाख १ र २ गते भव्य मेला लाग्ने गर्छ । राजा सलहेसको जन्मथलो महिसौथा सिरहाको सदरमुकाम सिरहामै छ । त्यहाँ सलहेसको मन्दिर पनि छ । उक्त स्थानलाई महिसौथागढ भन्ने गरिन्छ ।

सम्भवत: सिंगै देशमा कुनै पनि यस्ता दलित इतिहास–पुरुष छैनन् होला, जसको समाजका सबै वर्ग, जाति, समुदायद्वारा समान श्रद्धा र निष्ठाका साथ यति भव्यतापूर्वक पूजा गरिँदो होस् । नववर्षको रमझमलाई समेत बेवास्ता गरी सलहेसको दर्शन तथा पूजनका निम्ति मानिसले देखाउने व्यग्रता र उत्सुकता मननीय देखिन्छ ।

सरकारी स्तरबाट दलित वर्गलाई सम्मान दिने कार्यका रूपमा मात्र भए पनि सलहेसबारे आधिकारिक अध्ययन/अनुसन्धान गराई उनका पुण्यस्थलहरूमा लाग्ने मेला आदिको विकासतर्फ विशेष ध्यान दिनुपर्छ । सलहेसको नाम र सम्मानबारे आमजनमा व्यापक प्रचार–प्रचारको चाँजो राज्यपक्षले मिलाए समाजमा समानता, सम्मान, समरसता र सम्पन्नता बढ्दै जाने निश्चित छ । अबको समयमा खास गरी मिथिला क्षेत्रको समस्त गौरव विरासतमा पाएको प्रदेश २ ले यस्ता सम्पदाको पहिचान गरी यथोचित स्थान दिनुपर्छ । राष्ट्रिय दलित आयोगजस्ता दलित सम्बद्ध सरकारी तथा गैरसरकारी संघ–संस्थाबाट पनि विशेष पहलको अपेक्षा गर्न सकिन्छ । हाल मिथिलाबासीले मात्र मान्दै आएका सलहेसलाई सम्पूर्ण दलित समुदायले आफ्नो गौरव पुरुषको रूपमा अंगीकार गर्नसके यसबाट देशका विभिन्न समुदायबीच समन्वय बढाउन मद्दत मिल्ने छ । साथै, मिथिलाञ्चलमा दलित वर्गका कुनै व्यक्तिले ऐतिहासिक आधारमा कुन हदसम्मको सम्मान पाएका रहेछन् भन्ने विश्वलाई सन्देश दिन महत्त्वपूर्ण टेवा पुग्न सक्नेछ ।

[email protected]

प्रकाशित : वैशाख २, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?