राष्ट्रिय सुरक्षा सल्लाहकार किन ?

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको नेतृत्व गर्ने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार चयन गर्दा बढी व्यावहारिक हुनेछ ।
केशरबहादुर भण्डारी

काठमाडौँ — सरकारबाट राम्रो पहल भइरहेको एउटा विषय हो, राष्ट्रिय सुरक्षा सल्लाहकार वा समूहको नियुक्ति । नेपाल सरकारका लागि यो नियुक्ति आफैमा नौलो विषय हो । उपयुक्त व्यक्तिको छनोट नै यस पदको सफलता र गरिमा निर्भर हुनेछ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार (रासुस) को काम र दायित्व भनेकै एक वरिष्ठ पदाधिकारीका हैसियतमा देशको कार्यकारी प्रमुख राष्ट्रपति/प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा सल्लाह/सुझाव दिनु हो । विशेषत: देशको बाह्य र आन्तरिक सुरक्षा, इन्टेलिजेन्स तथा परराष्ट्रसंँग सम्बन्धित सुरक्षाका विषय रासुसका मुख्य कार्यक्षेत्र हुन् । अन्य मुलुकमा रासुसको नियुक्ति राष्ट्रपति/प्रधानमन्त्रीले नै गर्छन् । रासुस राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सहभागीसमेत हुन्छन् । साधारणत: रासुसले राष्ट्रिय सुरक्षा मूल समिति वा यस्तै समितिको अध्यक्षता गर्ने चलन छ । यसैले राष्ट्रिय सुरक्षा सल्लाहकारका विषयमा केही देशमा विद्यमान व्यवस्था र नियुक्तिबारे चर्चा गर्नु यहाँ सान्दर्भिक हुनेछ ।


संयुक्त राज्य अमेरिकामा राष्ट्रिय सुरक्षा ऐन– १९४७ अन्तर्गत रक्षा, परराष्ट्र, अन्तर्राष्ट्रिय आर्थिक नीति तथा इन्टेलिजेन्स आदि कार्य समन्वय गर्न राष्ट्रिय सुरक्षा परिषदको गठन भएको थियो । सन् १९५३ मा रोबर्ट कटलर पहिलोपटक राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भए । राष्ट्रपति जोन अफ केनेडीको पालादेखि यो पद एकदम शक्तिशाली हुनपुग्यो । अमेरिकामा रासुस बनेका २६ जनामध्ये परराष्ट्र तथा कूटनीति क्षेत्रका, आर्थिक मामिलामा दख्खल भएका तथा इन्टेलिजेन्स क्षेत्रसँंग सम्बन्धित व्यक्ति अत्यधिक छन् । यसमा २ जना महिला पनि परेका छन् । सेनाका लेफ्टिनेन्ट कर्णेलदेखि चारतारे जनरलसम्म गरी ८ जना रासुस बनेका छन् । रासुस भएकामा कोलिन पावल (सैनिक क्षेत्रबाट) र हेनरी किसिन्जर (कूटनीति क्षेत्रबाट) लगायतका केही विशिष्ट व्यक्तिसमेत छन् ।


संयुक्त अधिराज्यमा राष्ट्रिय सुरक्षा परिषद गठनसँंगै सन् २०१० मा मात्र रासुस पद सिर्जना भएको हो । अहिलेसम्म बनेका ४ जना रासुस सबै नै परराष्ट्र मामिला तथा कूटनीतिक पृष्ठभूमिका हुन् ।


चीनमा राष्ट्रिय सुरक्षा सल्लाहकारको ठाउंँ नभए पनि चिनियांँ कम्युनिस्ट पार्टीको केन्द्रीय सैनिक आयोगमा राष्ट्रिय सुरक्षा सल्लाहकार समूहको व्यवस्था छ । पार्टी महासचिवले अध्यक्षता गर्ने केन्द्रीय सैनिक आयोग अन्तर्गत राष्ट्रिय सुरक्षा सल्लाहकार समूहले चीनको राष्ट्रिय सुरक्षाको संरक्षणार्थ कानुन तथा शान्ति सुरक्षा, सैनिक, अर्ध–सैनिक, सरकारी तथा इन्टेलिजेन्स निकायहरूबीच समन्वय गर्छ ।


भारतमा राष्ट्रिय सुरक्षा सल्लाहकार नै राष्ट्रिय सुरक्षा परिषदको कार्यकारी प्रमुख हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका रूपमा रहने गरेको पाइन्छ । यसैले कर्मचारीतन्त्रमा यो अति विशिष्ट पदका रूपमा छ । भारतमा सन् १९९८ नोभेम्बर १९ मा तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीका पालामा रासुस पद सिर्जना भई ब्रजेश मिश्राले पहिलो नियुक्ति पाए । अहिलेसम्म नियुक्त भएका ५ जना रासुसमा २ जना प्रहरी सेवाका र अन्य ३ जना परराष्ट्र सेवाका छन् । अहिलेका रासुस अजित डोभल शान्ति सुरक्षा तथा इन्टेलिजेन्स क्षेत्रमा धेरै खारिएका अधिकृत हुन् । भारतीय रासुसले इन्टेलिजेन्स रिपोर्टहरूको समन्वय गर्नुका साथै चीनसंँगको सीमा विषयमा प्रधानमन्त्रीको विशेष वार्ताकारको भूमिकासमेत निर्वाह गर्ने गरेको पाइन्छ ।


पाकिस्तानको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा तथा सामरिक विषयमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका रूपमा रहने
गरेको पाइन्छ । त्यहाँ सन् १९६९ मा राष्ट्रपति यायाह खानले रासुस पद सिर्जना गरी मेजर जनरल गुलाम ओमारलाई नियुक्त गरेका थिए । अहिलेसम्म रासुसमा नियुक्ति भएका ७ जनामध्ये २ जना उच्च तहका निजामती कर्मचारी छन् भने अरू सेनाका । अहिलेका रासुस सरताज अजिज योजना आयोग तथा परराष्ट्र सेवाका हुन् ।


बंगलादेशमा प्रधानमन्त्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा तथा इन्टेलिजेन्स क्षेत्रमा समन्वय गरी राष्ट्रिय सुरक्षाका विषयमा सल्लाह दिन राष्ट्रिय सुरक्षा समूह जस्तै ‘नेसनल कमिटी फर इन्टेलिजेन्स कोअर्डिनेसन’को व्यवस्था छ । यो ८ सदस्यीय संरचनाले इन्टेलिजेन्स, परराष्ट्र, रक्षा, तथा आन्तरिक सुरक्षाका विषयमा प्रधानमन्त्री कार्यालयको मुख्य अंग भई समन्वय गर्छ । यो समितिको समन्वय अहिले प्रधानमन्त्रीका रक्षा तथा सुरक्षा सल्लाहकार अवकाश प्राप्त मेजर जनरल तारिक अहमद सिद्धिकीले गर्दैछन् । श्रीलंङ्कामा राष्ट्रिय सुरक्षा परिषदले नै राष्ट्रिय सुरक्षा सल्लाहकार समूहले झैं काम गर्ने गरेको पाइन्छ । राष्ट्रिय सुरक्षा परिषदले सरकारी कार्यकारी अंगका रूपमा सेना तथा प्रहरीलाई निर्देशन दिने अधिकारसहित राष्ट्रिय सुरक्षा संरक्षणको काम गर्छ ।


नेपालको संविधानमै राष्ट्रिय सुरक्षा परिषद गठन तथा राष्ट्रिय सुरक्षा परिषद सचिवालय समेतको व्यवस्था छ । यसबाट दक्षिण एसियाली साना मुलुकमध्ये नेपाल तुलनात्मक हिसाबमा बढी पाको देखिन्छ । अब यसलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकार/समूहमा नियुक्ति गर्दा यसको गरिमा थेग्न सक्ने व्यक्ति चयन हुनु अपरिहार्य छ ।

रासुस कस्तो हुनुपर्छ ?
देशको भू–राजनीतिक अवस्थिति, भू–राजनीतिक परिवेश र विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीका आधारमा परिस्थिति सम्हाल्न र व्यवस्थापन गर्नका लागि सामरिक सल्लाह, सुझाव दिनसक्ने योग्य व्यक्ति नै राष्ट्रिय सुरक्षा सल्लाहकारमा उपयुक्त हुनसक्छ । रासुस बन्ने व्यक्ति विशेषत: सुरक्षा वा परराष्ट्र सेवामा अनुभवी, परिपक्व, विश्लेषणात्मक क्षमतासहित सन्तुलित सोच भएको व्यावहारिक हुनुपर्छ । हाम्रो लागि रासुसमा सुरक्षा, परराष्ट्र, इन्टेलिजेन्स तथा कर्मचारीतन्त्र र व्यवस्था देखे–बुझेका, स्वदेशी तथा विदेशी समकक्षी तथा सरोकारवालासंँग ठोस व्यवहार गर्नसक्ने अनुभवी र चौतर्फी सन्तुलित व्यक्ति चाहिन्छ । सरकारको नीति र योजनालाई बुझी राष्ट्रिय हित र चासो अनुकूल बृहत राष्ट्रिय सुरक्षाका विषयहरू संरक्षण, सम्बद्र्धन तथा व्यावहारिक व्यवस्थापन गर्न–गराउन सही सल्लाह–सुझाव दिनसक्नु नै रासुसको क्षमताको कसी हो । रासुस दलीय राजनीतिमा असंलग्न, सरकारको नीतिप्रति बफादार हुनुपर्छ । उसले देशी–विदेशी परिवेश तथा परिस्थिति मूल्याङ्कन गरी राष्ट्रिय सुरक्षा परिषद र विशेषत: प्रधानमन्त्रीलाई चुनौती र अवसरलाई आफ्नो राष्ट्रिय हित अनुकूल बनाउने उपाय सहितको सल्लाह–सुझाव दिन सक्नुपर्छ ।


हाम्रो परिवेशमा राष्ट्रिय सुरक्षा परिषद सचिवालयको नेतृत्व गर्नेगरी रासुस चयन गर्दा बढी व्यावहारिक हुने देखिन्छ । सचिवालयभित्रै ‘केन्द्रीय सूचना समन्वय समिति’ तथा मुख्य विषयका ‘थिंकट्यांक’ स्थापना गरी अध्ययन, अनुसन्धान क्षमता विकास गर्दै सशक्तीकरण गर्नु पनि जरुरी हुन्छ । अहिलेको भू–राजनीतिक परिवेश र विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीका आधारमा सुरक्षा वा परराष्ट्र क्षेत्रमा सेवा गरी खारिएका माथिल्लो तहमा कर्मचारी वा सेना/प्रहरी, विशेषत: इन्टेलिजेन्स सेवाका क्षमतवान अधिकृतलाई रासुस चयन गर्नु उपयुक्त हुनेछ । निष्कलङ्क नैतिक आचरणचाहिँ रासुसमा चयन हुने व्यक्तिको अनिवार्य सर्त हो ।


उच्च डिग्री भनेर सुरक्षा वा परराष्ट्र सेवा क्षेत्रमा नखारिएका अपरिपक्व तथा आलाकांँचा राजनीतिक नेतालाई कहीं न कहीं पुरस्कृत गर्ने हिसाबमा रासुसजस्तो गहन जिम्मेवारीमा चयन गर्नुचाहिँं संगीन गल्ती हुनेछ ।
भण्डारी नेपाली सेनाका पूर्वसहायक रथी तथा नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका सचिव हुन् ।
kesharbh@gmail.com

प्रकाशित : वैशाख ३, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

आमाको खुसीका लागि

सन्दर्भ : मातातीर्थ औंसी
सरकारले निवृत्त आवास गृह बनाउने हो भने आमाहरू एक्लोपन, उदासी, अस्वस्थता तथा अन्य झमेलाबाट मुक्त भएर हाँसीखुसी आनन्दमयी जीवन जिउने वातावरण बन्न सक्छ ।
साधना प्रतीक्षा

काठमाडौँ — जगत्माता पार्वतीले आफ्नो शक्ति पहिचान गरेर महाकाली अवतार धारण गरी अशूरहरूसँगको युद्ध जितेपछि अनियन्त्रित भएको उनको ऊर्जा नियन्त्रणमा नआएपछि महादेव भूमिशयन भए र महादेवको छातीमा पाउ परेपछि मात्र महाकाली शान्त भइन् । ग्लानि गर्दै पार्वतीले महादेवबाट आइन्दा त्यसो नगर्ने वचन लिइन् ।

महाकाली र अशूरहरूको युद्ध त त्यसपछि पनि भयो । उनले अत्यन्त उग्र रूप लिएकी हुनाले विजयपश्चात् पनि उनको ऊर्जा शान्त नभई प्रलयकारी बन्न पुग्यो । देवताहरू सम्भावित विनाशको चिन्ताले भयभित बन्न थाले । स्थितिको गम्भीरता बुझेर महादेव बालकको रूप धारण गरेर उनको मार्गमा उभिए । पाइला–पाइलामा आगोको ज्वाला दन्कउँदै हिँडेकी उग्र महाकाली बालकको ‘आमा’ भन्ने पुकार सुनेर रोकिइन् । रोइरहेको त्यस बालकलाई अँगालो हालेर स्वयम् आँसु झारेपछि बल्ल उनी शान्त सौम्य पार्वतीका रूपमा फर्किइन् । आहा ! मातृत्व कति महान ! कति बलवान ! त्यही बालक अर्थात् बटुक भैरवको स्पर्शले उनलाई आमा बन्ने प्रबल चाहना जगाइदिन्छ ।

कामदेव पत्नी रतिको श्रापले बन्ध्या भएकी पार्वती सन्तानको चाहनाले अत्यन्त पीडित बन्न पुग्छिन् । आमा बन्ने चाहनामात्र पनि कति शक्तिशाली ! नुहाउँदा घसेको बुकुवाको मयलले बनाएको बाल आकृति सजीव भएर उनको पुत्र विनायकका रूपमा उभिए । त्यतिबेला पार्वतीले गरेको सुखानुभूति अकल्पनीय छ । यति मात्र होइन, परिस्थितिवश महादेवले विनायकको शिर छेदन गर्दा पार्वती पुन: उग्र महाकाली बनेर सृष्टिकै विनाशतर्फ अग्रसर भइन् । महादेवले गजाशुर नामक हात्तीको शिर जोडेर विनायकलाई पुनर्जीवित नगराएको भए प्रलय निश्चित थियो । सर्वशक्ति सम्पन्न ईश्वरलाई त मातृत्वले यति प्रभाव पार्छ भने सामान्य मान्छेको अवस्था कस्तो होला ? साँच्ची ! मातृत्व अनि ममताको महिमा अपार छ । यसले उग्र नारी शक्तिलाई शान्त पार्न सक्छ भने शान्त–सौम्य र कल्याणकारी मातालाई पुन: उग्र र विनाशकारी शक्तिमा रूपान्तरित गर्न पनि सक्छ । सृष्टिको सर्वाधिक सुन्दर र शक्तिशाली तत्त्व नै मातृत्व हो भन्ने कुरा उक्त पौराणिक प्रसङ्गले देखाउँछ ।


मातृ महिमा अनि सन्तानप्रति आमाको त्याग र समर्पणको गुणगान जति गरे पनि सकिँदैन । मातृत्वले नारीलाई सर्वाधिक कमजोर पनि बनाउँछ भने यसैले उसलाई सर्वाधिक शक्तिशाली पनि बनाउँछ । अत: आज एक दिनमात्र होइन, प्रत्येक दिन पुजिनुपर्छ, आमाहरू ! सन्तानले आमालाई खुसी पार्न आजको दिन कुरिरहनु पर्दैन, पलपल खुसी राख्नुपर्छ, आमालाई । तबमात्र उनको त्याग र समर्पणको थोरै भए पनि मान रहनेछ । आजका सन्तानले आमालाई कति खुसी राख्नसकेका छन्, अनि आमाहरू आफ्ना सन्तानसँग कति सुखद जीवन व्यतित गरिरहेका छन् भन्ने विषय अब परिवारको मात्र नभएर समाज अनि राष्ट्रकै सरोकार बन्नुपर्छ । केही समय अघि राष्ट्रपति विद्यादेवी भण्डारी आमा भेट्न वृद्धाश्रम जाँदाको प्रसङ्ग आम जनमानसका लागि टिकाटिप्पणीको विषय बनेको थियो । राष्ट्रपतिकी आमा पनि वृद्धाश्रम ? भन्ने प्रश्नले नै यस्तो टिकाटिप्पणी उब्जाएको थियो । टिप्पणीकर्ताहरू उनकी आमाको अधरको मुस्कान र मुहारको खुसीसम्म पुग्नसकेको भए उनीहरूले भन्थे होला, ‘सबै आमा यसरी नै खुसी रहन पाएको भए !’ किनभने आमा कहाँ बस्छिन् भन्दा पनि आमा कति खुसी छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । सुख र खुसी एउटैजस्तो लागे पनि त्यसमा भिन्नता हुन्छ । मानिस भौतिक रूपले सुखी भए पनि मानसिक रूपमा दु:खी हुनसक्छ । यस्तो अवस्थामा ऊ सुखी त होला, तर खुसी हुन सक्दैन । त्यसैले आज देशको उच्च ओहदामा रहेका अनि सम्पन्न वर्गका आमाहरू भौतिक रूपमा सुखी भए पनि मानसिक रूपले सुखी र सन्तुष्ट छन् या छैनन्, त्यो खोजीको विषय बनेको छ । किनकि आजका सन्तानसँग त्यसको लेखाजोखा गर्ने समय नै कहाँ छ र ?


सहरिया र सम्पन्न वर्गका आमाहरू सन्तानको अति व्यस्तता, पुस्तान्तरका समस्या, फरक जीवनशैली आदि कारणले परिवारमै रहेर पनि एक्लो अनुभूति गरिरहेका हुन्छन् । यी मध्ये कतिपय त नजानिँदो किसिमले मानसिक रोगी पनि बनिरहेका हुन्छन् । किनभने आजको भागदौडमय सहरिया परिवेशमा दिनभर संघर्ष गरेर बेलुकी थकित र तनावग्रस्त भएर फर्केका छोराछोरीसँग आमाको सुख–दु:ख बुझ्ने सामथ्र्य हुँदैन । उज्यालो भएदेखि अँध्यारो हुन्जेलसम्म पढाइमा घोटिनुपर्ने नाति–नातिनीसँग हजुरआमाका कथा सुन्ने समय हँुदैन । अनि त बूढी आमा एक्लाको एक्लै ! गाउँघरमा जस्तो वल्लो घर– पल्लो घर, नाता सम्बन्धीको आउजाउ पनि नहुने । त्यसैले आमाहरू अव्यक्त पीडामा रहन बाध्य हुन्छन् । सुविधा सम्पन्नहरूको यस प्रकारको मानसिक पीडा हुन्छ भने सुविधाविहीनहरूका भौतिक तथा मानसिक दुबै खाले पीडा हुन्छन् । अभावले सिर्जेको पारिवारिक कलह एकातिर हुन्छ भने आयआर्जन तथा घरेलु कामकाज सघाउन नसकी बोझ बनेकी बूढी आमालाई कुन सन्तानले स्याहार्ने भन्ने समस्या अर्कातिर देखिन्छ । हरेक सन्तानका लागि उनी बोझमात्र बन्छिन् । आफ्नै सन्तानको हेला र दुव्र्यवहारका कारण जीवनको उत्तरार्धमा आफ्नो रगत–पसिना अनि प्रेम र आस्थाले उभ्याएको घरको परित्याग गरेर बलिन्द्रधारा आँसु झार्दै उनी मठ–मन्दिर अनि वृद्धाश्रमको शरणमा पुग्छिन् । पतिसँगको प्रणयप्रेम र सन्तानसँगको बात्सल्य प्रेम सबैको सम्झनालाई मक्किएको फरियामा पोको पारेर ती एकल आमा रातारात गन्तव्यविहीन यात्रामा लाग्दा सम्पूर्ण सृष्टि नै रुने गर्छ, शीतका आँसु झारेर । तर विडम्बना ! तिनका सन्तानको मन भने पटक्कै रुँदैन ।


चाहे यसरी आँसु बगाउँदै भौंतारिइरहेका विपन्न वर्गका आमाहरू हुन्, चाहे आँसु पिएर बनावटी खुसीमा बाँचेका सम्पन्न वर्गका आमा हुन्, दुबैको पीडा एउटै हुन्छ, दुबैथरी खुसी हुनसकेका हुँदैनन् । सामाजिक सुरक्षाका नाममा राज्यले दिने भत्ता तथा मातृऔंशीको एकदिन सन्तानले दिने सम्मान उनीहरूका लागि पर्याप्त हुनसक्दैन । त्यसैले उनीहरूको पीडाको सम्बोधन अब राज्यको दायित्वभित्र पर्नुपर्छ । यसका लागि सस्तो लोकप्रियताका नाममा वितरण गरिने भत्ताभन्दा दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयन गरिनुपर्छ । प्रत्येक स्थानीय तहमा एक–एक सुविधा सम्पन्न ज्येष्ठ नागरिक आवास क्षेत्रको व्यवस्था गरिनुपर्छ । सम्पन्न र विपन्न वर्ग पहिचान गरी सशुल्क र निशुल्क रूपमा बस्ने व्यवस्था गरिनुपर्छ । शुल्क अनुसार विशेष सुविधाहरू पनि उपलब्ध हुने त्यस्ता आवासहरूमा स्वेच्छाले जाने आमाहरू आफूजस्तै अन्य आमाहरूसँग रमाएर रहन सक्नेछन् भने बाध्यताले जाने विपन्न वर्गका आमाहरूलाई भोक र रोगको सम्स्याबाट पिरोलिनुपर्ने छैन । यस्तो भए आमाहरू जीवनको उत्तरार्धमा मानसिक पीडा अनि सांसारिक माया–मोहबाट मुक्त भएर आफू आफ्नै सन्तानका लागि बोझ बनेको यथार्थबोध नगरी बाँच्न पाउनेछन् ।


अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहँु बाहिरिने युवायुवतीको संख्याले पनि यहाँका आमाबाबुको पट्यारलाग्लो बुढ्यौलीको चित्र कोरिरहेको देखिन्छ । रेमिटेन्सले अर्थतन्त्रको ठूलो भाग थेगिरहेको यस मुलुकमा बुढ्यौलीप्रतिको दायित्व वहनमा राज्यको चासो भने हालसम्म देखिएको छैन । अघिल्लो पुस्ताका आमाहरूको व्यक्त र अव्यक्त पीडाको अनुभूति गरिरहेकी म आफ्नो जीवनको उत्तरार्धमा विश्वविद्यालय सेवाबाट निवृत्त भएपछि सन्तानको बोझ बन्न चाहन्न । सायद मेरो समवयी धेरै आमा पनि यस्तै सोचिरहेका होलान् । सरकारले निवृत्त आवास गृह (ओल्ड हाउस) सम्बन्धी अवधारणा ल्याएर त्यसलाई कार्यान्वयन गर्ने हो भने विविध कार्यक्षेत्रबाट निवृत्त भएका र अझै देश र समाजका लागि योगदान गर्नसक्ने आमाहरू एक्लोपन, उदासी, अस्वस्थता तथा यस्तै अन्य झमेलाबाट मुक्त भएर हाँसीखुसी आनन्दमयी जीवन जिउने वातावरण बन्न सक्छ । आफू जस्तै धेरैको समूहमा रहेर उनीहरूले पाएको खुसी एकदिन सन्तानले गर्ने सम्मान तथा प्रत्येक महिना राज्यले प्रदान गर्ने केही रुपैयाँका तुलनामा कैयौँ गुणा बढी हुनेछ । अत: अब सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि आमाको खुसीका लागि यस्ता योजना बनाउनु नै मातृ सम्मानको उत्तम नमुना बन्नेछ ।
pratikshagunjan@gmail.com

प्रकाशित : वैशाख ३, २०७५ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT