१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिरिया : शक्ति राष्ट्रहरुको प्रोक्सी युद्धस्थल 

काठमाडौँ — सिरियाको गृहयुद्धका कारण विश्वका शक्ति सम्पन्न राष्ट्रहरु उक्त युद्धमा प्रत्यक्ष रुपमा मिसिन पुग्दा कतै विश्वयुद्ध नै हुने त होइन भन्ने आशंकाहरु सुरु भएको छ । पेट्रोलीयम पदार्थको प्रचुर भण्डार मात्र होइन, रणनीतिक भौगोलिक अवस्थाका कारण सिरिया विश्व शक्ति राष्ट्रहरुको लागि निकै महत्वपूर्ण छ ।

सिरिया : शक्ति राष्ट्रहरुको प्रोक्सी युद्धस्थल 

केही दिन पहिला अमेरिका, बेलायत र फ्रान्सले सिरियाका निश्चित सैनिक अखडाहरुमा आक्रमण गरेर आफुहरुलाई प्रत्यक्ष रुपमा सिरियाको युद्धमा संलग्न गराएका छन् । तर अप्रत्यक्ष रुपमा भने यी देशहरु सिरियाको युद्धमा धेरै पहिले देखि नै संलग्न थिए । अर्कोतर्फ रसिया र ईरानले सुरु देखि नै राष्ट्रपति बशर अल आसादलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरि नै रहेका छन् । अहिले बिकसित नयाँ घटनाक्रमहरुले विश्व जगतलाई फेरी सिरियातर्फ आकर्षण गरेको छ र सम्भावित खतरानाक युद्धको संकेतसमेत दिएको छ ।


सन २०११ मा ट्युनिसियाबाट सुरुभएको आन्दोलन मध्यपुर्व र उत्तरी अफ्रिकी देशहरु लिबिया, इजिप्ट, यमन, सिरिया र बहराइनलगायत धेरै देशहरुमा फैलिन पुग्यो । अरव स्प्रिङ्गको नामले चिनिने उक्त आन्दोलनको फलस्वरुप लिबिया, इजिप्ट र यमनका तानाशाहहरु ढल्न पुगे भने बहराइन, कुबेत, मोरक्को, अल्जेरिया, लेबनन, जोर्डनलगायतका देशहरुको आन्दोलन दबाइयो र मत्थर हुन पुग्यो । सिरिया र यमनमा सोही आन्दोलन परिवर्तन हुँदै गृहयुद्धमा परिणत भयो र आजसम्म यी देशहरुमा युद्ध जारी छ । सिरियाको गृहयुद्ध अव गृहयुद्ध मात्र रहेन, विश्व शक्ति राष्ट्रहरु सामेल भएर डरलाग्दो युद्धको रुप लिन सक्ने अवस्थामा पुगेको छ । यमनको युद्ध पनि सिया र सुन्नी मुस्लिमहरुको लडाईंको केन्द्र बनिरहेको छ ।


सन १९७१ मा हाफेज अल आसादले राष्ट्रपतिको पद हत्याए र उनी आफु नमरुन्जेल सन २००० सम्म शासन गरिरहे । उनको निधन पछि उनैका छोरा बशर अल आसाद राष्ट्रपति चुनिए । सिरियामा लगभग १३ प्रतिशत जनसंख्या रहेको अलवाइटे समुहबाट (सिया समुह) आएका हाफेज अल आसादले सन १९७३ मा सिरियाको संबिधानमा परिवर्तन गर्दै पूर्ण धार्मिक निरिपेक्षता लागु गर्दै राष्ट्रपति हुनलाई मुस्लिम हुनुपर्ने कानुन खारेज गरेपछि नै बहुसंख्यक सुन्नी अरब मुस्लिम (जसको जनसंख्या ७५ प्रतिशतको हराहारीमा छ) हरुले आसादको बिरुद्धमा जिहाद छाडेका थिए । पटक पटक हाफेज अल आसादको सत्ता पलट गर्ने प्रयासहरु नभएका होइनन तर सुरक्षा अंगहरुमा अलवाइटे जातिको पकड रहेको हुनाले त्यो सम्भव भएन । आसाद परिवार धर्मिक मामिलामा नरम हुनु नै सुन्नी अरब मुस्लिमहरुको मुख्य दुश्मनको रुपमा दर्ज भएका थिए ।


मुस्लिम ब्रदहुडलगायत अन्य सुन्नी समुदायहरुले निरन्तर आसाद्को बिरुद्धमा संघर्ष गरि नै रहे । तर आसाद परिवार अन्य मामिलामा भने निकै क्रुर थिए, जनतालाई कुनै राजनीतिक स्वतन्त्रता थिएन र छैन, कुर्द समुहहरुको आवाज कहिलै सुनिएन, बहुसंख्यक सुन्नी अरव मुस्लिमलाई पेल्ने नीति नै थियो । त्यो अर्थमा आसाद परिवारले एक कडा तानाशाहको रुपमा राज्य चलाइरहेको थियो र छ पनि । त्यसैको परिणाम स्वरुप सिया बाहुल्य राष्ट्र ईरान र लेबननी हेजबुल्लाह समुहहरुले सिरियाका राष्ट्रपति बशर अल आसादको पक्षमा खुलेर लागेका छन् भने र टर्कीलगयत अन्य सुन्नी बाहुल्य राष्ट्रहरु आसादलाई सत्ता च्युत गर्न प्रयास गरिरहेका छन् ।


सन् २०११ को मार्चबाट सुरु भएको आसादबिरुद्धको आन्दोलन केही हप्ता शान्तिपूर्ण नै थियो । आन्दोलनकारीको माग पूर्ण प्रजातान्त्रिक ब्यवस्था मात्र थियो । राजाधानी लगायत देशका प्रमुख शहरहरुमा तिब्र रुपमा फैलिएको उक्त आन्दोलन बिस्तारै हिंसात्मक हुँदै गयो । आन्दोलनको माग पनि परिवर्तन हुँदै आसादको बहिर्गमनको माग सुरु हुन पुग्यो । केही हप्तामा नै सिरिया सरकारको दमन बाट एक हजार भन्दा धेरै आन्दोलनकरीको मृत्‍यु हुन पुग्यो भने १ सय ५० हाराहरी सुरक्षाकर्मीको हत्या आन्दोलनकारीबाट हुन पुग्यो । बिस्तारै केही सैनिक टुकडीहरु सत्ता बिद्रोह गर्दै आन्दोलनकारीको समर्थनमा आसाद सरकारको विपक्षमा मिल्न पुगे । बिद्रोह गरेका सैनिकहरुले फ्री सिरियन आर्मी भन्ने समुह गठन गर्दै अन्य छरिएर रहेका बिद्रोही समुहहरुलाई एकीकृत गर्दै ठुलो समुह गठन गरेर सरकार बिरुद्ध हिंसात्मक कारवाही सुरु गरे । हतियारसहितका बिद्रोहीहरुको समुहले छिट्टै केही ठुला शहरहरु कब्जा जमाएपछि सिरियाको आन्दोलनले गृहयुद्धको रुप लियो । अहिले फ्री सिरियन आर्मीमा २६ को हाराहारीमा बिद्रोही समुहहरु समाहित छन् । अर्को तिर कुर्द, आइसिस र अलकाइदा समर्थित नुस्रा फ्रन्ट छुट्टाछुट्टै लडाईं लडिरहेका छन् ।


सन २०१४ मा आइएसएसको सिरिया र इराकमा तिब्र उदय पछि सिरियाको धेरै भुभागमा उनीहरुको कब्जा थियो । टर्कीले फ्री सिरियन आर्मीमा रहेका केही टर्क मुस्लिम समुहहरुलाई हतियारसहित सहयोग गरिरहेको थियो र छ । अमेरिका, बेलायत र अन्य पश्चिमा देशहरुले आइएसएस बिरुद्ध लडनको लागि भन्दै तुलनात्मक रुपमा नरमपन्थी सुन्नी बिद्रोही समुहहरुलाई हतियार आपुर्ती गरिरहेका छन् । टर्की, सिरिया र इराकको सिमानामा बाहुल्यता रहेका कुर्दिश बिद्रोहीहरु पनि छुट्टै कुर्दिस्तान राज्य स्थापित गर्ने भनेर लामो समयदेखि हतियारसहित लडिरहेका छन् । कुर्दहरुलाई टर्कीले आफ्नो देशमा रहेका बिद्रोही पिकेके गुरिल्लासँग साठगाठ रहेको भन्दै उनीहरुबिरुद्ध टर्क मुस्लिमहरुलाई भिडाइरहेको छ । यसरी सिरियामा अहिले बहुपक्षीय लडाईं जारी छ । ईरान, रसिया र लेबनानी हजबुल्लाह समुहको समर्थनमा सिरियन सरकार, कडा मुस्लिम शासन लागु गर्ने लक्ष्यका साथ लडिरहेको आइएसएस, राष्ट्रपति आसादलाई सत्ताच्युत गरेर आफ्नो सरकार ल्याउन खोज्ने फ्री सिरियन आर्मी समुह जो मुख्य बिद्रोही समुह हो, अल काइदा समर्थित नुस्रा फ्रन्ट र उसका सहयोगी समुहहरु र छुट्टै राज्य स्थापनाको लागि लडिरहेका कुर्दहरु एक आपसमा लडाईं लडिरहेका छन् । कुन समुह कुन ठाउँमा कतिखेर कोसँग लडाईं लडिरहेको हुन्छ छुट्ट्याउन नै गाह्रो पर्ने अवस्था छ सिरियामा अहिले । आइएसएस बिरुद्ध भने सबै समुहहरु एकजुट जस्तै छन् र अव सिरियामा आइसिस लगभग पराजित अवस्थामा पुगेको छ ।


यसरी बिभिन्न समुहहरुसँग लडनु पर्दा पहिला पनि सिरियन सरकारले रसायनिक हतियार र सामुहिक हत्या पटक पटक गरेको आरोप लाग्ने गरेको थियो । सरकारले पनि बिद्रोही समुह फ्री सिरियन आर्मीले रसायनिक हतियार प्रयोग गरेको आरोप लगाउने गरेको छ । संयुक्त राष्ट्र संघको अग्रसरतामा सन् २०१२ र २०१५ मा शान्ति बार्ता गराउने प्रयास स्वरुप सरकार र बिद्रोही पक्षबीच युद्ध बिराम नभएको पनि होइन । तर, त्यो केही दिन भन्दा टिक्न सकेन । दुबै पटक सिरियन सरकारले बिद्रोहीहरुले कब्जा जमाएका क्षेत्रमा नरसंहार गरेको आरोपसहित ती युद्ध बिरामहरु तोडिएका थिए । सुरुको केही बर्ष बिद्रोही समुह फ्री सिरियन आर्मी (जसलाई आइएसएसबिरुद्ध लड्नको लागि भन्दै अमेरिका र पश्चिमी देशहरुले हतियार सहयोग गरिरहेका छन्) ले लगातार एक माथि अर्को जित हासिल गर्दै सिरियाको धेरै शहरहरुमा कब्जा जमाउन सफल पनि भएका थिए ।


राष्ट्रपति आसादले बिद्रोहीहरुले कब्जा गरेका शहरहरुमा रसिया, ईरान र लेबननी हेज्बुल्लाहको सहयोगमा भीषण आक्रमण जारी राख्दै बर्बरता पूर्वक हत्या गर्ने क्रम जारी राखेका छन् । आइएसएसको उदयसंगै सन् २०१३ को सेप्टेम्बर देखि फ्री सिरियन आर्मीले कब्जा गरेका धेरै शहर तथा गाउँहरु आइएसएसको कब्जामा पुगेका थिए । अर्कोतर्फ कुर्दहरु आफ्नो भुभागको रक्षा र थप भु–भागमा कब्जा गर्ने प्रयास स्वरुप आइएसएससँग लगातार लडाईं जारी नै राखेका छन् । त्यो क्रममा आइएसएसलाई टर्की सरकारको भित्री रुपमा सहयोग रहेको थियो भनिन्छ । यसै क्रममा राष्ट्रपति आसादले सन् २०१४ मा राष्ट्रपतिको चुनाव घोषणा गर्दै आफु पुन: उक्त चुनावमा उम्मेदवार बने । नाम मात्रको उक्त चुनाव सबै बिद्रोहीले बहिष्कार गरे भने ८८ प्रतिशत मतसहित आसाद पुन: राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरियो । यो चुनावले आसादलाई बिद्रोही माथि थप आक्रमक रुपमा प्रस्तुत हुन बल मिल्यो । आसादका सेनाले बिद्रोहीहरुका कब्जामा रहेको शहरहरुमा लगातार हवाइ र जमिनबाट भीषण आक्रमण गर्दा लाखौं निर्दोष जनताले ज्यान गुमाउन पुगे भने करोड भन्दा धेरै जनताले आफ्नो थलो छाडेर शरणार्थी बन्न वाध्य बने । अहिलेसम्म सिरिया युद्धमा चार लाख सत्तरी हजारभन्दा धेरैले ज्यान गुमाइ सकेका छन् भने १ कारोड १० लाख जनता आन्तरिक र बाह्य शरणार्थी बनेका छ्न् ।


यसअघि पनि राष्ट्रपति आसादका सेनाले रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको थियो । तर, यो पटक भएको भनिएको रासायनिक हतियारको असर निकै घातक रहेको र सिरियाको सरकारले यस्ता हतियार पुन: प्रयोग गर्न सक्ने सम्भावना जीवीत रहेको भन्दै अमेरिका, बेलायत र फ्रान्सले संयुक्तरुपमा सिरियाका निश्चित निशानाहरुमा आक्रमण गरे । उनीहरुका अनुसार आसाद सरकारले अब फेरी रासायनिक हतियार निर्माण गर्न केही वर्ष लाग्ने गरी त्यस्ता संरचनाहरु ध्वस्त पारिएका छन् । आसाद्लाई सत्ताच्युत गर्ने मनसायका साथ यो आक्रमण नगरिएको तर अन्तर्राष्ट्रिय रुपमै प्रतिबन्धित रासायनिक हतियारको प्रयोग रोक्न आफ्नो कर्तब्य रहेको कुरा यी देशहरुले बताएका छन् । अर्को तिर सिरिया, ईरान र रसियाले यो आरोपको खण्डन गरेको छ । रसियाले भनेको छ, 'यो आक्रमण अबैधानिक छ र गठबन्धनले त्यसको मुल्य चुकाउनु पर्ने छ ।' यसरी प्रमुख शक्ति राष्ट्रको चेपुवामा सिरियाली जनता पिसिएका छन् । निर्दोष जनताले महंगो मुल्य चुकाउनु परिरहेको छ । अहिले यसरी प्रमुख शक्ति राष्ट्रहरु एकआपसमा आमुन्ने सामुन्ने हुने अवस्था सिर्जना हुँदा विश्वमा त्रास फैलिएको छ । आशा गरौं, युद्ध फैलिने अवस्था आउने छैन ।

प्रकाशित : वैशाख ३, २०७५ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?