बलात्कार न्यूनीकरणको बाटो

घटना घट्यो भने कहाँ, कसरी उजुरी गर्ने विषयमा जानकार बनाउनुपर्छ । घटना घट्नु उसको कुनै अपराध होइन भन्ने बुझाएर आत्मविश्वास जगाउने खालका कम गर्नुपर्छ ।
राधा पौडेल

काठमाडौँ — नेपालमा बलात्कार आजभोलि बढ्यो भन्ने म मान्दिन, पक्कै पनि समाज परिवर्तन हुदै गर्दा केही अवयव परिवर्तन हुन्छन् र त्यहाँ शक्तिको नयाँ स्वरूप सिर्जना हुन्छ, अनि हिंसा वा अर्को रूप बलात्कार ।

नेपाली समाज बलात्कार स्वीकारेको समाज हो, सुन्दा अप्ठ्यारो लागे पनि वास्तविकता त्यही हो । यसबारे मैले पहिल्यै लेखिसकेकी छु । बलात्कार किन हुन्छ भन्नेतिर नलागी के र कसरी काम गर्‍यो भने बलात्कार न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा यहाँ आफ्नो विचार राख्दैछु ।

सरकारको दायित्व
हरेक नागरिकको सुरक्षा सरकारको हुन्छ, जुन संविधानले ग्यारेन्टी गरेको छ । कानुन कति छैनन् भने कति अपुरा छन्, तथापि गर्न सकिने प्रशस्त बाटा वा माध्यम छन् । सरकारले तुरुन्तै गर्नसक्ने मसिना तर महत्त्वपूर्ण काम यस्ता छन्–पीडितलाइ केन्द्रित गरेर बलात्कार विरुद्ध लड्न छुट्टै डेस्क गृह मन्त्रालय अन्तर्गत खडा गर्ने, २४ घन्टा सेवा लागू गर्ने, जो कसैले फोन वा मेसेज गरेर सूचना दिनसक्ने, सूचना दिनेको जानकारी गोप्य राख्ने, सूचना पाएको एक घन्टामा पुलिस घटनास्थलमा पुग्ने (नेपालभरि नै पुलिसको संरचना भएकाले हिमाली जिल्लामा पनि हिउँ परेका बेलाबाहेक खासै समस्या हुँदैन), सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्ने, निर्धारित समयमा काम फत्ते गर्ने पुलिसलाई पनि पुरस्कृत गर्ने, पीडितको सुरक्षा, मानसिक, शारीरिक उपचारको ग्यारेन्टी गर्ने, पीडितको अभिभावकलाई सुरक्षासहित व्यवसाय गर्न बिना धितो निब्र्याजी ऋण व्यवस्था गर्ने । यस्तै डेस्कले स्थानीय पुलिसलाई परिचालन गरेर २४ घन्टाभित्र नै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सक्छ ।

Yamaha

जुन पुलिसले मिलेमतोमा प्रेरित गर्छ वा तुरुन्तै काम गर्दैन वा नेताको भनसुनपट्टि लाग्छ भने त्यसलाई कारबाही गर्नुपर्छ । भनसुन गर्ने नेताको नाम गोरखापत्र र पुलिसको वेबसाइटमा प्रकाशित गर्नुपर्छ । त्यसैगरी पीडकको नाम र फोटो पुलिसको वेबसाइटमा प्रकाशित गरेर, जेलबाट निस्केपछि पनि पेसागत काम गर्ने, कुनै महिला वा केटी काम गर्ने वा रमाइलो गर्ने कुनै ठाउँमा जान निषेध गर्नुपर्छ । विगतमा पुलिसले केही काम गर्न नखोजेको हैन, तर ती संस्थागत भएनन् । कुनै व्यक्ति विशेषको शक्ति वरपर मात्र घुमे ।

नेता वा स्थानीय सरकारको दायित्व
नेपाली नागरिकको सेवक हुँ भनेर नथाक्ने नेता र तिनै तहमा निर्वाचित जनप्रतिनिधि जवाफदेही हुनु पहिलो न्यायको अनुभूति दिनु हो । उनीहरूले नेतृत्व गरेको ठाउँमा कुनै पनि महिला वा पुरुष बलात्कारको सिकार हुनुहुँदैन । तसर्थ पुलिसमा खबर आउने बित्तिकै पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा नेताले सहजीकरण गर्नुपर्छ । सरकारी संयन्त्रलाई चलायमान गराउन सहयोग गर्नुपर्छ, नकि व्यक्ति विशेष । महिलाको सम्मान नगरिकनै समृद्धि कल्पना पनि गर्न सकिँदैन ।

गैरसरकारी वा निजी क्षेत्रको दायित्व सरकार बलियो हुनुपर्छ । अहिले सरकारमा इच्छाशक्ति नभएको र कतिपय सन्दर्भमा कमजोर भएको अवस्था छ । सरकार बाहेकका सस्थाले खबरदारी गर्ने भूमिका निर्वाह गर्नुपर्छ । केटा वा पुरुषलाई मानव सम्वेदना नियन्त्रण राख्न, समाजमा घटेका घटनाको जवाफदेही हुन सिकाउने वा ससूचित गर्ने, पुरुषहरू नै परिचालन गरेर उनीहरूकै नेतृत्वमा अभियान सञ्चालन गर्न, महिलाको सम्मान हुनेगरी घरायसी काम बाँडफाँड गर्न प्रेरित गर्ने काम पनि गैरसरकारी क्षेत्रले गर्नुपर्छ । पुरुषको अग्रगामी भूमिकामा महिलाको सशक्तीकरण हुनुपर्छ । सँंगसँंगै केटी वा महिलालाई आफ्नो शरीरको बनोट, भूमिका सुसूचित गर्दै, परम्परावादी ढोंगी सस्कृतिलाई वैज्ञानिक दृष्टिकोणले विश्लेषण गर्न प्रोत्साहन गर्नुपर्छ । आत्मरक्षाका लागि मार्सल आर्ट सिकाउन पनि जरुरी छ । घटना घट्यो भने कहाँ, कसरी उजुरी गर्ने विषयमा जानकार बनाउनुपर्छ । घटना घट्नु उसको कुनै अपराध होइन भन्ने बुझाएर आत्मविश्वास जगाउने खालका कम गर्नुपर्छ ।

मिडियाको दायित्व
मिडिया बलात्कार भयो भन्ने अनि हराउने वा बोल्दै नबोल्ने वा यो त मेरो आफ्नो मान्छेसँंग पो जोडिएको रहेछ भनेर भाग्न खोज्ने परिपाटीबाट माथि उठ्नुपर्छ । सरकार, नेता र सरकार बाहेकका संस्थालाई निरन्तर खबरदारी गरेर मिडियाले घटनालाई निष्कर्षमा पुर्‍याउन सक्छ । समाजमा दिनदिनै देखिने, सुनिने बलात्कारका घटनाले यति आक्रान्त भइएको छ कि सिधा आँखाले छोरीहरूको अनुहारमा हेर्ने हिम्मत छैन, अभिभावकामा । कोही, कसैलाई, कतै विश्वास गर्न सकिने अवस्था छैन, अधिकांशको मनमा । बलात्कार विरुद्ध अबको उत्तम बाटो यही हो । बलात्कारको घटना सुन्दा रिस उठ्छ, फाँसी दिन मन लाग्छ । तर यसले समाधान दिँदैन । माथि उल्लेख गरिएका केही कुरा स्थानीय परिवेश अनुसार फरक हुन सक्लान्, तर नसकिने र नहुने भन्ने छैनन् ।

Esewa Pasal

प्रकाशित : वैशाख ६, २०७५ ०८:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फर्कन मानेनन् सिरियाका ‘हाउसमेड’

होम कार्की

काठमाडौँ — हिंसात्मक द्वन्द्वमा फसेको सिरियामा रहेका नेपाली महिला घरेलु कामदार (हाउसमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा सम्पर्कमा आएका उनीहरूले तत्काल स्वदेश फर्कन नचाहेका हुन् ।

सिरियाली द्वन्द्व हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरूको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो । ‘उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं तर उनीहरूले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन्,’ दूतावासका प्रवक्ता सुजन बिडारीले भने, ‘उनीहरू आफ्नो काममा खुसी देखिन्छन् ।’

विभागले सिरियामा कार्यरत अन्जना सुब्बा, ज्योति गुरुङ, सावित्री राजबाहक, केवला केसी, सम्झना तामाङ, दीपा, विनीता तामाङ, दीपा बस्नेत, गीता न्यौपाने, पार्वती चन्द, विमला रानामगर, रेखा शाह, पुनम बडुवाल, रिमा विक, विमला एरी, सुकु थापा, मीना बुढा, शान्ति नेपाली, कल्पना दर्जी र पासाङ डोल्पालाई उद्धार गर्न दूतावासलाई पत्र पठाएको थियो । सिरहाकी ललिता बर्देवाले भने आफू समस्यामा परेको भन्दै उद्धार गर्न दूतावासलाई अनुरोध गरेकी छन् ।

मानव तस्करले दुबई पुगेका नेपाली युवतीलाई सिरिया पठाइरहेका छन् । दूतावासका अनुसार अधिकांश महिला सिरियाबारे अनभिज्ञ छन् । ‘लेबनान र कुवेत भन्दै दलालले सिरिया पुर्‍याइरहेका छन्,’ इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले कान्तिपुरसँग भने, ‘उनीहरूलाई सिरियाबारे थाहै छैन ।’

अर्यालले सिरियामा कम्तीमा पाँच सय नेपाली महिला पुगिसके पनि सबै जना दूतावासको सम्पर्कमा नरहेको जानकारी दिए । ‘हामीले चाहेको बखत महिला र तिनका घरभेटीसँग सम्पर्क स्थापित हुन कठिन छ,’ उनले भने, ‘घरबाट भागेर निस्किएका घरेलु कामदार झन् जोखिममा छन् ।’

तेजीको शव ल्याउन सकिएन
एक महिनाअघि सिरियामा मृत्यु भएकी सिरहाकी तेजी देवीको शव नेपाल ल्याउने प्रयास अझै सफल भएको छैन । देवीको मृत्यु कसरी भयो भन्ने जानकारी दूतावासले पाएको छैन । ‘हामीलाई विस्तृत सूचना दिइएको छैन । तेजीको मृत्युसम्बन्धी फाइल अदालतमा पेस भएको छ,’ अर्यालले भने, ‘उनको शव नेपाल पठाउन सकिएको छैन । सिरियामा सञ्चार सम्पर्क गर्न नै जटिल छ ।’

प्रकाशित : वैशाख ६, २०७५ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT