१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोमिन्ताङकै बाटोमा कांग्रेस

कांग्रेसलाई हिजोकै संघर्षका गाथा गाउँदै ठिक्क छ । जनता हिजोको इतिहास हैन, भोलिको भविष्य निर्माणकर्ताको खोजीमा छन् ।
सुदर्शन आचार्य

काठमाडौँ — जनमतका माध्यमद्वारा पूर्ण बहुमतको सरकार निर्माणसँगै कांग्रेसलाई निकै पछाडि छाडेर वाम एकताको इतिहासले सम्भावित लामो वेगका साथ पाइला अगाडि बढाउँदैछ ।

कोमिन्ताङकै बाटोमा कांग्रेस

राजनीतिले अचम्मैसँग कोल्टे फेरेको आजको अवस्थामा जनमत र विगतको समीक्षा गर्दै अघि बढ्नुपर्ने कांग्रेस भने पुरानै मनोविज्ञानको बन्दी भएर इतिहासले त्यागेको सानो तत्त्वमा रूपान्तरण हुँदैछ ।

जसका कारण विश्व इतिहास विपरीत नेपालमा जनताको मतबाटै शासन व्यवस्थामा वामपन्थीहरू स्थापित बन्न पुगेका छन् । कांग्रेसलाई भने हिजोकै संघर्षका गाथा गाउँदै ठिक्क छ । जनता हिजोको इतिहास हैन, भोलिको भविष्य निर्माणकर्ताको खोजीमा छन् । जनता अबको २०, ३०, ५० र सय वर्षपछिको नेपाल कस्तो हुने, कुन दल र कुन नेताको भिजनले कस्तो बनाइने त्यसको खोजीमा छन् । तर कांग्रेस नेतृत्व जनमत र इतिहासको समीक्षासँगै भविष्यका बारे गम्भीर बहस र रचनात्मक छलफल गर्न तयार देखिएको छैन । गुण र दोषका आधारमा सबल प्रतिपक्षको भूमिकामा देखा पर्नुपर्ने कांग्रेस पार्टीभित्रको सानो समूह लिएर उल्टै विचारको बहस गर्नेउपर पाखुरा सुर्कंदैछ ।

कांग्रेस निर्वाचन समीक्षासँगै भावी रणनीतिबारे छलफलको नाटक मञ्चन गर्दैछ । छलफलकै क्रममा विशेष महाधिवेशनको माग उठेको छ । महासमिति बैठक बोलाउँदा सोही बैठकको बहुमतले विशेष महाधिवेशनमा जाने निर्णय लिई पो हाल्ने हो कि भन्ने संशय पार्टी नेतृत्वलाई भएको देखिन्छ । नेतृत्वदायी पदमा रहँदा लगभग संसारका धेरै मान्छेले दृष्टि गुमाउँछन् । तर अपवाद पार्टी र लोकतन्त्रका खातिर पदत्यागको इतिहास कांग्रेसमै थियो । २०१५ सालको आमनिर्वाचन पूर्व चुनाव हाँक्न बीपी कोइरालाको आवश्यकता देखेका सुवर्ण शमशेरले २०१२ साल माघमा आफैं निर्वाचित भएको पार्टी सभापति पद २०१४ सालमा विशेष महाधिवेशनद्वारा त्यागेर बीपीलाई सुम्पिए । २०४६ को ऐतिहासिक जनआन्दोलनको नेतृत्व गर्न पुगेका सर्वोच्च कमाण्डर गणेशमान सिंहले प्रधानमन्त्री पदप्रतिको आशक्ति देखाएनन् र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई उक्त पद सुम्पिए । तर आज पार्टी लट्टाइबाट चुँडिएको चङ्गा बन्दा पनि नेतृत्व छाड्न शेरबहादुर देउवा तयार छैनन् । सँगै दुनियाँ पुस्तकका ठेली कण्ठस्थ पार्ने प्रदीप गिरीहरू सभापति देउवालाई सल्लाहै दिंँदैनन् ? या उनीहरूको सल्लाह देउवाले ग्रहण गर्दैनन् ?

पार्टी नेतृत्वमा रहेका देउवा इतर दुइटा समूह कांग्रेसमा क्रियाशील छन् । नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीको एउटा समूह र युवा नेताहरू गगनकुमार थापा, गुरुराज घिमिरे र प्रदीप पौडेलको अर्को समूह छ । पहिलो समूहभित्र देउवाको हातबाट पार्टी फिर्ता ल्याउँदा पुन: आफैंभित्र नेतृत्व कसले लिने भन्ने चालबाजी देखिन्छ । उक्त समूहले रसातलमा पुग्नलागेको पार्टीलाई जोगाउने अभियानलाई प्राथमिकता दिनुपथ्र्यो ।

तर चिन्ता आफ्नो स्थानको देखिन्छ । यो स्थितिको प्रत्यक्ष फाइदा पुग्ने देउवालाई नै हो । दोस्रो समूह जसमा युवा नेताहरू छन्, उनीहरूको चाहना देउवादेखि रामचन्द्र पौडेल हुँदै अर्जुननरसिंह केसीसम्मबाट अब पार्टी चल्दैन भन्ने छ । तर यी सबै नेताबाट नेतृत्व खोसेर आफ्नै हातमा ल्याउने तागत यो समूहले कम्तीमा आजका मितिमा राख्दैन । तसर्थ यी दुबै समूहबीच साझा एजेन्डासहित साझा सहमति खोज्न पर्ने आवश्यकता छ ।

व्यक्तिका कारण आज कांग्रेसको चौतर्फी बदनाम भइरेहको छ । आफैं सम्भ्रान्त परिवारको छोरा भएकाले धनी थिए, कांग्रेस सभापति सुवर्ण शमशेर । उनी बाहेक कांग्रेसका सुशील कोइरालासम्मका सभापतिको कुनै बन्द–व्यापार, उद्योगधन्दादेखि होटल, हाइड्रोसम्म कहीं पनि साझेदारी थिएन । तर आजका सभापतिबारे बजारमा हुने गरेका चर्चाको जवाफ फर्काउने र खण्डन गर्ने उच्च नैतिकता कांग्रेस कार्यकर्तासँग छैन । मुहानै धमिलो भएपछि कार्यकर्ताले पानी सफा छ भन्दा पनि कसले पत्याउने ? कांग्रेसजस्तो ‘मास बेस्ड’ पार्टीमा नेताको हरेक विषयमा जनताको चासो रहनु स्वाभाविक हो ।

प्रतिपक्ष कांग्रेस कमजोर हुँदा सत्तापक्षले बाटो बिराउँछ । सत्तापक्ष आवश्यकताभन्दा बढी बलियो र प्रतिपक्ष नाम मात्रको बन्नपुग्दा मुलुक स्वयं भयानक संकटको भुमरीमा पुग्छ । मुलुकको समृद्धि नत उग्र नाराबाट सम्भव छ, न प्रतिपक्षले जवाफदेहितापूर्ण कर्तव्य छोडेर नै । समृद्धिका लागि प्रतिपक्षबाट रचनात्मक सहयोगको जरुरी छ भने सत्तापक्षबाट कर्तव्यबोधको । पक्ष–प्रतिपक्ष दुबैले धरातल बिर्संदा मुलुक पुन: अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेलमैदान हुनबाट रोक्न सक्ने क्षमता हामीमा रहन्न । यसको बोध सत्तापक्षसँगै मूलत: कांग्रेसका दोस्रो र तेस्रो पुस्तामा हुन जरुरी छ । किनकि पहिलो पुस्ता अर्थात् पार्टी नेतृत्व सुन्न, मान्न र कार्यान्वयन गर्न तयारै छैन ।

कमजोर प्रतिपक्ष हुँदा लोकतन्त्रको भविष्यसम्ममै टड्कारो रूपमा प्रश्न उठ्न सक्छ । तसर्थ सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा सीमित पारेर कांग्रेसले सामूहिक भावनामा चल्ने नयाँ नेतृत्व चयन गर्दै पार्टी रूपान्तरण गर्न जरुरी छ । अन्यथा यथास्थितिमै चलाउन खोज्दा २० औं वर्ष चीनमा शासन गरेको कोमिन्ताङकै हालतमा जानबाट कांग्रेसलाई कसैले रोक्न सक्दैन ।

[email protected]

प्रकाशित : वैशाख ६, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?