१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

समृद्धिको वर्गचित्र

समृद्धिको महायात्रा सबैभन्दा पिंधबाट सुरु होस् । किनारमा पर्‍याइएकाहरूले समृद्धिको रहस्य बुझून् र त्यो उत्सवमा सहभागी बनून् ।
केशव दाहाल

काठमाडौँ — केही अगाडि कान्तिपुर कोसेलीमा कवि विनोदविक्रम केसीको शक्तिशाली कविता छापियो । समृद्धि एक कुविचार । कविता पढेपछि मनमा एउटा बीभत्स चित्र बन्यो । खण्डहरजस्तो । जस्तो कि गाउँको पाटाबारीमा समृद्धिको महाउत्सव छ ।

समृद्धिको वर्गचित्र

उस जमानाको विवाह भोजजस्तै । यज्ञ, होम र सामूहिक वैदिक मन्त्रोच्चारण छ । यता सडक शिलन्यास हुँदै छ । उता रेलका पटरी ओछ्याइँदै छन् । कान्लामुन्तिर बडेमानको पानीजहाज अडिएको छ । जहाजको गजुरमा नेपाली झन्डा फहराउँदै छ । माथि केरुङ र तल रक्सौलबाट सुलसुले रेलहरू आउँदै छन् । सुकिला मान्छेहरूको हाँसो, ठट्टा र रसरंग तीव्र छ । जयजयकार छ प्रभुको । एकै छिनपछि प्रसाद वितरण र महाभोज सुरु हुन्छ । उता बारीको पल्लो डिलमा एक हुल नांगाभुतुंगा मान्छेहरू छन् । भोका, सपनाहीन, रोगी र मैला मान्छेहरू । जस्तो कि उस जमानाको विवाह भोजमा गाउँका दलित, गरिब र अपहेलितहरू उभिन्छन् । यो केको उत्सव हो ? अकिञ्चन आँखामा प्रश्नहरू त छन् तर जवाफ छैनन् । एकै छिनपछि भोज सकिन्छ, पानीजहाजहरू हिंड्छन्, सुकिला मान्छेहरू रेलमा चडेर अर्को महायज्ञतिर हानिन्छन् र समृद्धिको महाभोज हेरेर थाकेका निर्धा गरिबहरू चिसो चुलो नजिकै त्यो रात पनि भोकै निदाउँछन् ।

प्रश्न आउँछ माथि उल्लिखित शब्दचित्रको त्यो बारी, त्यो भान्सा, ती भान्से र ती सहभागीहरू को हुन् ? छेउमा उभिएर मुख मिठ्याउनेहरू को हुन् ? खपाखप खाने र रेल चडेर सुइँकुच्चा ठोक्नेहरू को हुन् ? अथवा प्रश्न यो पनि हुन सक्छ कि समृद्धिको माहाउत्सवमा निर्धा मान्छेहरू कहाँ छन् ? एक जमाना थियो । जब चौतारीमा राजा भेटियो को रागमा दरबारमा स्तुतिगानहरू लेखिन्थे । नारायणहिटीको मूल ढोकामा उभिएर महाराजाले भन्थे, ‘अब विकासको मूल फुट्छ’ । तर कसको विकास ? कसैले यो प्रश्न गरेन । भयो के ? उनै मान्छेहरूको विकास भयो जो दरबारको गजुरलाई स्वस्ति गर्थे र तलका मान्छेहरूमाथि कोर्रा बर्साउँथे । अर्को एक दशकपछि महाराजाले फेरि कवितात्मक शैलीमा भने अब एसियाली मापदण्ड छुनुपर्छ । यो कसलाई भनेको प्रभु ? यस्तो प्रश्न कसैले गरेन । आखिर को पुगे एसियाली मापदण्डमा ? उनै साहु, महाजन, आसेपासे र हजुरियाहरू । अनि शान्तिक्षेत्र आयो र हरायो । अनि प्रजातन्त्र आयो र हरायो । अनि आए जनवाद, समाजवाद, लोकतन्त्र, गणतन्त्र र नयाँ नेपाल । ती पनि बिस्तारै शासकहरूलाई सान र निर्धाहरूलाई भुक्तमानजस्ता पो बने ।

शासकहरूले शब्दहरू कसरी उच्चारण गर्छन् र त्यसभित्रका निहित अर्थहरूलाई कसरी धुजाधुजा बनाउँछन्, त्यसको साक्षी हामी आफंै हौं । यस्तो पटक पटक भएको छ र त्यही इतिहासको घोडा चढेर यतिबेला हाम्रा अगाडि समृद्धि हाजिर छ । सरकार भन्छ समृद्धि आउँछ । आसेपासेहरू भन्छन् समृद्धि आउँछ । हजुरिया विद्वान्हरू भन्छन् समृद्धि आउँछ । समृद्धि माने पानीजहाज । समृद्धि माने घरघरमा ग्यासको पाइप । समृद्धि माने केरुङबाट रेल । समृद्धि माने रक्सौलबाट रेल । कतै यो समृद्धि पनि निर्धा मनुवाहरूका लागी बिष्टहरूको महाभोज नहोस् । कतै यो समृद्धि उसबेला नारायणहिटीले दिएको पञ्चायती नाराजस्तै नबनोस् । त्यसैले सोधौं र पटक पटक सोधौं महामहिमज्यू तपार्इं जे भन्दै हुनुहुन्छ कृपया दाहोर्‍याएर भनिदिनुहोस् यो कसको समृद्धि हो ?

तथ्यहरूले कहिलेकाहीं निकै अप्ठ्यारा तर्कहरू बनाउँछन् । जस्तो केही तथ्यहरू हेरौं, लोकतन्त्र स्थापनापछि अनेकौं प्रधानमन्त्रीहरू आए । तीन सयभन्दा धेरै मन्त्री बने । लगभग पाँच सय सल्लाहकार नियुक्त भए । सयौं सभासद बने । केही दर्जन राजदूत बने । केही दर्जनले सरकारी संस्थानको जिम्मेवारी पाए । प्रदेश र स्थानीय तहमा हजारौंले सत्ता समालेका छन् । यही मेसोमा सयौं गाडी आए । प्राडो, पजेरो, स्कोरपियो । विदेश यात्रा । दल र नेताहरूले लोकतन्त्रको खुब मजा लिए । आसेपासेहरूको समेत आर्थिक हैसियत फेरियो । नेताहरूलाई समृद्धि आयो । तर तराईका मुसहरहरू, चमारहरू, खत्वेहरू कता छन् ? राजी, किसान, चेपाङहरू कता छन् ? कर्णालीको भोकमरी के भयो ? वादी महिलाहरूमाथिको यौन अपराध कता पुग्यो ? किन बोक्सीको आरोपमा महिलाहरू कुटिँदै छन् ? किन बलात्कारहरू बढेका छन् ? हलिया, हरुवा, चरुवाहरूको अवस्था के भयो ? भूमिसुधार के भयो ? रोजगारी के भयो ? छुवाछूत के भयो ? नेताहरू उपचारका लागि बैंकक जान्छन् गाउँमा स्वास्थ्यचौकी के भयो ? रेलको कुरा गर्नेहरूलाई रेल पनि ठिकै होला तर सिटामोलको कुरा के भयो ? सायद समृद्धिको संकथन गर्न यी प्रश्नहरूले सघाउलान् ।

तथ्यांकहरूले भन्छन्, नेपालमा ३८.९ प्रतिशत युवाहरू छन् । उनीहरूकै तागतले राजनीतिक परिवर्तन भयो । तर के उनीहरूले परिवर्तनको मजा लिन पाए ? अहिले पनि प्रतिदिन लगभग पन्ध्र सय नेपाली युवा कामको खोजीमा बिदेसिन बाध्य छन् । हरेक वर्ष ९ लाखभन्दा धेरै युवा बालुवाको देश पुग्छन् । भारतमा निकृष्ट श्रम गर्ने युवाको तथ्यांक नै छैन । आँकडाहरूले भन्छन् कि बाहिर जानेहरूमा ८३.७ प्रतिशत पुरुष र १६.३ प्रतिशत महिला छन् । यिनीहरूमध्ये १५ वर्षदेखि २९ वर्ष उमेर समूहका युवाको संख्या ५३.८ रहेको छ । २३.३ प्रतिशत ३० वर्षदेखि ४४ वर्ष उमेर समूहका छन् । यति ठूलो श्रमशक्ति देशबाहिर जान्छ । देशमा रोजगारी छैन । उत्पादन छैन । अवसर छैन । युवा अधिकारकर्मीहरू भन्छन् हप्तामा न्यूनतम एक घण्टा पनि काम नपाउनेहरू ०.६ प्रतिशत छन् । काम गर्नेहरूले पनि थोरै कमाउँछन्, जुन कमाइले साधारण जीवन धान्न पनि पुग्दैन तर २ लाखभन्दा धेरैले राजनीतिलाई पेसा बनाएका छन् । उनीहरू अरू कुनै काम गर्दैनन् । उनीहरू लोकतन्त्र र समृद्धिको भाषण गर्छन् र हरेक वर्ष घर थप्छन् । घडेरी जोड्छन् । गाडी फेर्छन् । यो कस्तो समृद्धि हो ?

यो कसको समृद्धि हो ?
उच्चस्तरीय भूमिसुधार आयोगका प्रतिवेदनहरूले बताउँछन् कि ग्रामीण गरिब किसानहरूमध्ये २९ प्रतिशतसँग जमिन छैन । राष्ट्रिय दलित आयोग भन्छ देशका ५३ प्रतिशत दलित भूमिहीन छन् । विभिन्न कारणले प्रत्येक वर्ष कुल खेतीयोग्य जमिनको २० प्रतिशत बाँझो हुन्छ । जोताहा किसानहरू मंसिरमा धान फलाउँछन् र पुसमा भोकै पर्छन् । किसानका लागि समृद्धि कहाँ छ ? खेतमा हाड घोट्नेहरू भन्छन् ‘कति पानीजहाजको कुरा गर्छौ । चामल, नुन र तेलको पनि कुरा गर न ।’ निश्चय नै सडकको कुरा होस् तर पैदलयात्रुहरूको जीवनरक्षाको पनि कुरा होस् । बाटामा खाल्डाहरू नहुन् र स्कुले बच्चाहरूले सजिलै सडक पार गर्न पाऊन् । यस्तो होस् कि भारतसँग रेलको मात्र कुरा नहोस् बरु रोजगारीका लागि भारत पसेका बहादुरहरूको जीवन बिमा र तलबको कुरा होस् । काठमाडौंमा मनोरेल त आउला तर वाग्मती किनारका झुप्राहरूमा के होला ? यता सहरमा चकाचौंद हुँदा उता दूरदरारका रोग र भोक कसरी निदान होलान् ? समृद्धिको कुरा गर्दा मधेसको कुरा होस् । जनजातिको कुरा होस् । नाना, खाना र छानाको कुरा होस् ।

त्यसो त कुरा गरेर मात्र कतै पुगिँदैन । परिणामबिनाको गफ महत्त्वहीन हुन्छ । जस्तो कि हिजो दरबारले भनेको विकासको मूल कहिल्यै फुटेन । आखिर यो शब्द नै ओजहीन बन्यो । हामी न त एसियाली मापदण्डमा पुग्यौं न त नयाँ नेपालको एक दशकले कुनै नवीन आशाहरू जगायो । आशंका गरौं कि समृद्धिको पछिल्लो सपना पनि त्यसरी नै मर्‍यो भने के होला ? निर्वाचन भएको एक वर्षसम्म पनि स्थानीय निकायहरू अलमलमा छन् । काठमाडौंमा नयाँ सरकार बन्नासाथ आसेपासेहरू जमजमाएका छन् । उनीहरूलाई लाग्छ सत्ता आयो । अब मस्ती गरिन्छ । सुशासन छैन । अर्थमन्त्री भन्छन् पैसा पनि छैन । रेल र पानीजहाजको भाषण गर्नेहरूलाई थाहा छ कि छैन बर्खा लाग्यो अब किसानलाई मल चाहिन्छ, पानी चाहिन्छ, बीउ चाहिन्छ । चाहिने कुराहरूको जोहो नगर्ने तर सस्तो प्रचारका लागि उडन्ते कुरा गर्नेहरूले कसरी परिणाम दिन्छन् ? उनै नेता, कर्मचारी, ठेकेदार, दलाल भएको यो देशमा रातारात कुन बाटोबाट कस्तो समृद्धि आउँछ ? चिन्ता यही हो कि कतै यो मुट्ठीभर आसेपासेहरूको समृद्धि त हुँदैन ? कतै यो नयाँखाले दरबारिया राग त हुँदैन । जसको जनतासँग न त साइनो छ न त प्रेम । हामी जुन समृद्धिको कुरा गर्दै छौं, त्यो जनताको समृद्धि बनोस् । समृद्धिको महायात्रा सबैभन्दा पिंधबाट सुरु होस् । किनारमा पर्‍याइएकाहरूले समृद्धिको रहस्य बुझून् र त्यो उत्सवमा सहभागी बनून् ।

शब्दहरू निर्जीव हुन्छन् । जस्तो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद, नयाँ नेपाल यी सम्पूर्ण निर्जीव शब्दहरू हुन् । शब्दहरूलाई न्याय दिने, जीवन दिने र गतिशील बनाउने मान्छेले हो । राज्यले हो । नेताहरूले हो । त्यसैले त यो प्रश्न जायज हुन्छ कि महाशय तपाईं जुन समृद्धिको कुरा गर्नुहुन्छ, त्यो कसको समृद्धि हो ? समृद्धिको सफलताका लागि शब्दको पवित्रताले मात्र पुग्दैन । हाम्रा नेताहरूको ध्येय पनि पवित्र हुनुपर्छ । मन्दिर पुग्ने हो भने मन्दिरतिरै हिंड्नुपर्छ अन्यथा जति हिंडे पनि मन्दिर पुग्न सकिँदैन । प्रिय नेताज्यू, तपाईंको समृद्धि सुविचार बनोस् । अन्यथा यसले तिनीहरूलाई न्याय गर्दैन, जसले दरबारको गजुर देखेका छैनन् ।

ट्विटर : @dahalkeshab

प्रकाशित : वैशाख ७, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?