ट्राफिक व्यवस्थापनमा नागरिक दायित्व

कसैको ओठमा मुस्कान नहराऊन्, खुसी नलुटिऊन्, अभिभावकका सपना अन्धकारमा परिणत नहोऊन् ।
मुकुन्द मरासिनी

काठमाडौँ — सडक विकासको प्रमुख पूर्वाधार हो । कुनै पनि सहरको सुन्दरता व्यवस्थित ट्राफिक व्यवस्थापनले मात्र देखाउँछ । सडक संकटकालीन अवस्थाको निकास र राष्ट्रिय एकताको विकास पनि हो । सडकमा आतंक कुनै एकजना मूर्ख व्यक्तिका कारणले हुने हैन, उनान्सयजना असल व्यक्तिको मौनताले हुने गर्छ ।

ट्राफिक व्यवस्थापनमा नागरिक दायित्व

राष्ट्रिय जनगणना २०६८ अनुसार काठमाडौं उपत्यकाको जनसंख्या करिब २५ लाख छ । राजधानीमा रोजगार, व्यापार–व्यवसाय लगायत विभिन्न सिलसिलामा अस्थायी बसोबास गर्नेको जनसंख्या ४० लाखभन्दा बढी छ । यहाँको सडकको लम्बाइ भने १ हजार ५ सय किमिमात्र छ । दैनिक साना–ठूला गरी ९ लाखभन्दा बढी सवारी साधन उपत्यकाको सडकमा गुड्ने गर्छन् । दैनिक करिब २० देखि ३० लाखसम्म मानिसले उपत्यकाको सडक प्रयोग गर्छन् । उपत्यकाको सडक फुटपाथमा माग्नेदेखि करोडको सवारी साधन चढ्नेसम्मका लागि साझा थलो हो । तर जिम्मेवारीमा कुनै फरक छैन ।

पार्किङ स्थलसम्म जाने वा राख्ने फुर्सद छैन, सडकमै गाडी तेस्र्याउँछन् । बालुवा, गिट्टी, छड, रड, इँट्टा, मोटर ग्यारेज अस्तव्यस्तसंँग सडक छेउमै । जुलुस, धर्ना सडकमै । २०७४/७५ को फागुन मसान्तसम्म मात्र सडक अवरोध हुनेगरी १ सय ९४ पटक सडकमा जुलुस निस्कियो । १० मिनेट सडकमा सवारी रोकिँंदा कहाँसम्म प्रभाव पर्छ, कसैले सोचेका छौं ? चौडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुने हैन । हामीले सडक प्रयोग गर्ने संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म यस्ता समस्या भइनै रहन्छन् । सडक संस्कृति विकास भएमात्र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्न सक्छ ।

सडकको सर्वमान्य नियम भनेकै आफूभन्दा अगाडिकालाई पहिला जानदिने र आफू पछि जाने हो । तर हामीमा बाटोमा कुनै सानो ठाउँ छ भने पनि अगाडि नै जाने प्रवृत्ति छ । अझ बायाँबाट लेन मिचेर उछिन्दा त सर्वश्रेष्ठ नै भएको सम्झिन्छौं । सबैभन्दा बढी सडकमा गल्ती गर्नेमा मोटरसाइकल चालकहरू पर्छन् । आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्ममा मात्र १ लाख ३ हजार ९ सय २८ मोटरसाइकल चालक सवारी नियम पालना नगरेको कसुरमा कारबाहीको दायरामा परेका छन् । त्यही अवधिमा २ हजार ५ सय ८५ वटा मोटरसाइकलका चालकले सवारी दुर्घटना घटाएका छन् । मृत्यु हुने चालक १ सय २७ मध्ये ६७ जना मोटरसाइकलका चालक हुन् । नेपालमा सडक दुर्घटनाका कारण वार्षिक २ हजारभन्दा बढी मानिसको ज्यान जान्छ । यसमा ८० प्रतिशत युवा हुन्छन् ।

ट्राफिक व्यवस्थापन गर्न तीन मुख्य कुरामा विशेष जोड दिइन्छ– १) बाटोको वैज्ञानिक रेखाङ्कन २) कानुनको कडा कार्यान्वयन ३) सडक सचेतना । मुख्य विषय सडक सुरक्षा सम्बन्धी जनचेतना वृद्धि नै हो । यसमा कसैको मुख ताक्नु पर्दैन । तर चेतना भएर पनि पालना नगर्नु हाम्रो कमजोरी हो । अहिलेको मुख्य समस्या पनि यही हो । एक–एक व्यक्तिबाट निर्मित समाज पनि एक–एक जनाबाटै सुधार गर्नुपर्छ । त्यसैले सडक नियमको पूर्ण पालनाका लागि हामीले प्रण गर्न जरुरी छ । आफ्नो कारणले अरूलाई समस्या हुनुहुँदैन भन्ने बुझ्नुपर्छ । प्रहरी देख्दामात्र सडक नियम अनुशासन पालना गर्ने प्रवृत्ति हटाउनु आवश्यक छ । दुर्घटना जहाँ पनि हुनसक्छ । कामना गरौं, बिनाकरण कसैको ओँठमा मुस्कान नहराउन्, खुसी नलुटिउन्, अभिभावकका सपना अन्धकारमा परिणत नहोउन् ।

पैदल यात्रीले उपलब्ध जेब्राक्रसिङ तथा आकाशे पुलबाट मात्र बाटो काट्ने, सडकमा राखिएका संकेतहरूको चालक तथा परिचालकले पूर्ण पालना गर्ने, पहिला आउनेलाई जानदिने र आफू जाने, जथाभावी सडकपेटी तथा सडक छेउमा पार्किङ भुलेर पनि नगर्ने, बायाँतर्फको लेन हमेसा खुल्ला राख्ने, बायाँतर्फबाट बाटोमा ओभरटेक नगर्ने पद्धति बसाउनुपर्छ । कसैले सडक नियमको पालना गरेको छैन भने सवारी नम्बरसहित टोल फ्रि नम्बर १०३ मा जानकारी गराइदिने जिम्मेवारी सम्पूर्ण नागरिकबाट निर्वाह गरे सवारी आवागमनमा सहजता र सुविधाको महसुस हुनेछ । त्यसले एक जिम्मेवार नागरिक भएको गर्व पनि दिलाउनेछ । उल्लिखित कार्य गर्न कसैले कसैको मुख ताक्न, समय कुर्न र लगानी गर्नु पर्दैन ।

मरासिनी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक हुन् ।

प्रकाशित : वैशाख ७, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?