१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एउटा भाषै सकियो

गणेश राई

काठमाडौँ — कुसुन्डा नेपालको सूचीकृत ५९ आदिवासी जनजातिमध्ये एक जाति हो । राष्ट्रिय जनगणना २०५८ मा १०१ जातिमध्ये कुसुन्डाको १ जना पुरुषमात्र उल्लेख गरिएको थियो । उनी थिए– राजा मामा कुसुन्डा । कुसुन्डाका एकमात्र जीवित पात्रका रूपमा चर्चित बनेका थिए ।

एउटा भाषै सकियो

तिनै राजा मामाको २०७५ वैशाख ५ गते तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँस्थित निवासमा ७० वर्षको उमेरमा निधन भएको छ । राजा मामालाई एकमात्र कुसुन्डा र एकमात्र कुसुन्डा भाषाका वक्ता भनेर मिडियामा ‘सेलेब्रिटी’का रूपमा चर्चा गरिएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोका विषय बनेका थिए । जंगली युगबाट अघि बढेको मानव समुदाय आफूलाई जंगलको राजा ठान्ने जातिमध्ये कुसुन्डा पनि एक हुन् । त्यसैले फिरन्ते जिन्दगी गुजार्दै आएका राजा मामालाई मिडियाले चर्चामा ल्याएपछि उनले नागरिक भएर बाँच्ने आधार पाए ।

उनलाई समाजले कुसुन्डा कान्छा भनेर चिन्थे । कुसुन्डा आफूलाई वनका राजा भन्ने गर्छन् । बाबु बितेपछि पनि आमासँगै जंगलमा बस्थे । कन्दमूलले सास धान्थे । अरूले मामा भनेर नाता जोडेर बोल्थे । पछि राजा मामा भनेर बोलाउन थाले । किंवदन्तीको पात्रजस्तो लाग्ने नामकै कारण पनि राजा मामा परिचित हुनपुगे ।

सरकार मातहतको तत्कालीन राष्ट्रिय जनजाति विकास समिति र हालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले राजा मामालाई संरक्षण प्रदान गर्‍यो । आदिवासी जनजाति महिला मञ्चको पहलमा उनलाई राजधानी काठमाडौं ल्याइएको थियो । कुसुन्डा भाषाका एकमात्र वक्ता भनेर चर्चा गरिएपछि भाषाशास्त्रीहरूको ध्यानाकर्षण भएको थियो । ‘हामीले राजा मामालाई सरकारको तर्फबाट खाने, बस्ने, लुगाफाटाको व्यवस्था गरिदियौं,’ प्रतिष्ठानका तत्कालीन सदस्य सचिव ताम्ला उक्याब भन्छन्, ‘उनलाई रामेछापकी इन्द्रमाया तामाङसित बिहेसमेत गराएर घरजम व्यवस्थापन गरिदियौं ।’ प्रतिष्ठानका अधिकृत जगत गुरुङका अनुसार कुसुन्डा संरक्षणका निम्ति १ लाख रुपैयाँ अक्षयकोष स्थापना गरिदिएको थियो । पछि त्यही रकममा थप गरी तनहुँको व्यास नगरपालिकामा घरघडेरी राजा मामाकै नाममा जोडिदिएको छ । राजा माकाकी श्रीमती इन्द्रमाया र एक छोरी सीमान्तसहित त्यहीं बसोबास गर्दैआएका छन् । अन्यत्र समेत कुसुन्डा फेला परेपछि राजा मामा तथा परिवारलाई नियमित अनुदान टुटाइएको थियो ।

भाषाशास्त्री माधवप्रसाद पोखरेलका अनुसार संसारमा बोलिने भाषामध्ये २० वटाजति भाषा अन्य भाषाको फेदसँग जोडिँदैनन् अर्थात् कुनै भाषासँग नजिक छैनन् । त्यसमध्ये नेपालको कुसुन्डा भाषा पनि एक हो । त्यसैले मुलुकमा बोलिने ५ परिवार भाषामध्ये कुसुन्डा भाषाको भाषा परिवार अहिलेसम्म पहिचान भएको छैन । तथ्यांक अनुसार मुलुकमा १२३ भाषा छन् । त्यसमा कुसुन्डा भाषा पनि पर्छ । नेपालमा बोलिने भाषाहरू भोट–बर्मेली, भारोपेली, आग्नेय, द्रविड परिवारका रहेका र कुसुन्डा भाषालाई भाषा परिवार नखुलेको भनेर उल्लेख गर्ने गरिन्छ ।

सुरुमा भाषाशास्त्रीहरू रायन हार्ट, सुएयोसी तोबा, चूडामणि बन्धुले कुसुन्डा भाषाको खोजी गरेका थिए । राजा मामा कुसुन्डा चर्चामा आएपछि भाषाशास्त्रीहरू डेभिड वाटर्स, माधवप्रसाद पोखरेल, योगेन्द्र यादव, बलराम प्रसाईंको टोलीले अध्ययन, अनुसन्धान गरेका थिए । त्यही टोलीले ‘अ नोट्स अन कुसुन्डा’ पुस्तक लेखेर कुसुन्डा भाषालाई परिवार पहिचान नभएको छुट्टै अनौठो भाषाका रूपमा राखेको भाषाशास्त्री पोखरेल उल्लेख गर्छन् ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले कुसुन्डा जातिको जनसंख्या २७३ र कुसुन्डा भाषा बोल्नेको संख्या २८ जना रहेको देखाएको छ । ‘हाम्रो निरन्तर खोजी र अध्ययन अनुसार अहिले कुसुन्डा भाषा बोल्न जान्ने स्वजातिका दुई र अनुसन्धाता एक गरी तीनजना मात्र छन्,’ भाषाशास्त्री पोखरेल भन्छन् । जसमा कुसुन्डा परिवार दाजुभाइका छोरीद्वय दाङकी ज्ञानीमैया कुसुन्डा र रोल्पाकी कमला खत्रीमात्र कुसुन्डा भाषा बोल्न जान्दछन् भने भाषाशास्त्री पोखरेलको निर्देशनमा कुसुन्डा भाषा अध्ययन गर्दै आएका भोजराज गौतमले कुसुन्डा भाषा बोल्न जान्दछन् ।

भाषाशास्त्री चूडामणि बन्धुका अनुसार राजा मामा कुसुन्डा भाषाको शब्द जान्दथे । सायद दोहोरो सञ्चार गर्ने व्यक्ति नहुँदा बोल्दैनथे । ‘उनकी आमालाई मात्र कुसुन्डा भाषा आउँथ्यो । उनी जीवित छँदै दमौलीमा गई भाषा टिपोट गरेको छु,’ राजा मामालाई चिनाउने काम जनजाति प्रतिष्ठानको प्रतिनिधित्व गरेका अनुुसन्धाता बीके रानाले गरेको उल्लेख गर्दै बन्धु भन्छन्, ‘राजा मामालाई कुसुन्डा भाषाका केही शब्दमात्र आउँथ्यो । तैपनि राजा मामा चर्चाका पात्र बनेपछि कुसुन्डा जातिप्रति सबैको ध्यान खिचिएको हो ।’ त्यसपछि खोजी हुँदा दाङ, रोल्पा, प्युठान लगायतका ठाउँमा कुसुन्डा जाति फेला परेका थिए ।

कुसुन्डा भाषालाई लिएर जनजाति प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभाग लगायत निकायले खोज अनुसन्धान गरे । अहिले भाषा आयोगले नेपाल संस्कृत विश्वविद्यालयसित सहकार्य गर्दै कुसुन्डा भाषाको अभिलेखीकरण कार्य अघि बढाएको आयोगका अध्यक्ष डा. लवदेव अवस्थी बताउँछन् । ‘कुसुन्डा भाषाका पहलु राजा मामाको निधनप्रति दु:ख लागेको छ । बाँचिरहेका स्रोत व्यक्तिसित कुसुन्डा भाषाको अभिलेखीकरण कार्य जारी छ ।’

कुसुन्डा समुदायको विकासका निम्ति २०६६ मंसिरमा नेपाल कुसुन्डा विकास समाज स्थापना गरिएको अध्यक्ष धनबहादुर कुसुन्डा बताउँछन् । यसको कार्यालय दाङको घोराही नगरपालिकामा रहेको छ । कुसुन्डाले आफ्नो थर सेन, शाही, ठकुरी लेखाउँछन् । सरकारले लोपोन्मुख कुसुन्डा जातिलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । ‘हामी वनका राजा कुसुन्डा हौं । रिस उठ्ने भएकोले हामीलाई कुसुन्डा भने । म र राजा मामा कुसुन्डाका चिनिएको मान्छेमा पर्छौं,’ दाङ निवासी अध्यक्ष धनबहादुरले भने, ‘सबभन्दा पहिले कुसुन्डालाई चिनाउने हाम्रो अग्रज राजा मामाको निधनप्रति दु:खित छौं ।’ कुसुन्डा परिवारका हरेकले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

[email protected]

प्रकाशित : वैशाख ८, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?