श्मशान एकता

सिउँडी
‘मलाई त यो एकता होला जस्तो लाग्दैन, डाक्टरसाब ।’ क्लिनसेभ्ड अनुहारले फ्रेन्चकटतिर हेरेर भन्यो, ‘सायद यो एकता नहुने खालको एकता हो ।’
विमल निभा

काठमाडौँ — नदी किनारमा थपक्क लास राखिएको थियो ।कुनै ठूलै मनुवाको देहावसान भएको हुनुपर्छ । किनभने श्मशानघाटमा भीआईपीहरूका बाक्लै उपस्थिति थियो । केही परको सिमेन्टीको लम्बोत्तर बेन्चीमा लहरै बसेका भद्र मलामीजनमा सहसा बहसारम्भ । यसले यिनीहरू पक्कै नै बुद्धिजीवी प्रजातिको भएको पुष्टि गर्थ्याे ।

एक फ्रेन्चकट दाह्रीले आकाशतिर हेरेर भन्यो, ‘आज मौसम धुम्म छ ।’ ‘धुमधामले पानी पर्ने छाँटकाँट देखिन्छ, डाक्टरसाब ।’ सँगैको क्लिनसेभ्ड अनुहारले पनि मास्तिर टाउको उचाल्यो ।

‘अचेल मौसमको कुनै ठेगान छैन, मित्रहरू ।’ अर्काे झ्वाम्म दाह्रीजुंगा भएकोले पनि थप्यो ।
‘राजनीतिको पनि के ठेगान छ र कमरेड †’ एकाएक छेउबाट कडा टिप्पणी आयो ।
‘राजनीति कुनै मौसम होइन माटसाब ।’
‘तर मौसमी राजनीति त चलनचल्तीमा छ नि कमरेड ।’
‘तपाई कुराकानीलाई अर्काेतिर नलग्नोस् ।’
‘मैले कुराकानीलाई कहाँ लगेंँ र कमरेड †’

Yamaha

‘माटसाबले भन्नुभएको कुराको म पुरै समर्थन त गर्दिनँ ।’ फ्रेन्चकट दाह्रीले दुवैबीच हाम्फालेर भन्यो, ‘तर अहिलेको राजनीतिको मौसम पनि उतिसारो राम्रो छैन कमरेड ।’

‘जताततै काला–काला बादलहरूका बिगबिगी छ, डाक्टरसाब ।’
‘यो जबर्जस्त आधी पानीको संकेत भएकोमा कुनै शंका छैन ।’
‘होइन, तपाईहरू भन्न खोज्नुभएको के हो ?’
झ्वाम्म दाह्रीजुंगाबाट देखिएको कमरेडको अलिकति अनुहार रातो भएको थियो ।
‘हामी त सामान्य कुराकानी गरिरहेका छौं, कमरेड ।’
‘कस्तो सामान्य कुराकानी ?’
‘यही अहिले मुलुकमा चलिरहेको राजनीतिको कुरा ।’

‘त्यही त, के राजनीतिको कुरा मिठारामजी ?’ कमरेडको क्रोध मत्थर भइसकेको थिएन, ‘तपाईहरू मलाई प्रस्टसँग भन्नोस् ।’

‘तपाईहरूका पार्टी एकताको के भयो कमरेड ?’ अघिदेखि चुपचाप रहेको क्लिनसेभ्ड अनुहारले स्पष्टसँग भन्यो ।
‘तपाईहरू केवल एकता–एकता भन्नुहुन्छ ।’ मिठाराम (टियुका भूपू प्राध्यापक) मुस्कुरायो, ‘खोइ त एकता ?’
‘हाम्रो एकता हुन्छ ।’ कमरेडको संक्षिप्त किन्तु दृढ जवाफ ।

‘कहिले हुन्छ त एकता कमरेड ?’
‘यही एकता हुन्छ भनेको त महिनौं भइसक्यो नि †’
‘भर्खरै वैशाख नौ गते हुन्छ भनेको एकताको मिति पनि टर्‍यो ।’
‘यो त मोबाइल एकता भयो ।’ (पश्चात हाँसोको लहर) ।
‘हेर्नाेस्, तपाईहरू खास राजनीति नै बुझ्नुहुन्न ।’ कमरेडको स्वर विलकुलै शान्त थियो, ‘हाम्रो एकताको वातावरण तयार भइसकेको छ ।’

‘केवल वातावरण कमरेड ?’
‘वातावरण त चुनावअघि नै तयार भइसकेको होइन र ?’
‘यत्रो ठूलो एकताका लागि समय त लाग्छ नि पत्रकारजी ।’
‘कति समय लाग्छ, कमरेड ?’
‘हाम्रा श्रद्धेय दुई अध्यक्ष कमरेडहरूले छिट्टै एकता गर्नुहुनेछ मित्रहरू ।’

यता एकताको तात्तातो बहस चलिरहेको थियो भने उता नदी किनारमा राखिएको लासनेर हलचल सुरु भयो । अर्थात् लास जलाउन अगावैको विधिगत कार्यक्रम । एउटा पण्डितजस्तो लाग्ने श्वेत परिधानधारीले मन्द–मन्द मन्त्रोच्चारण गरेर लास परिक्रमा गर्न थाल्यो । र केही बेरपछि टक्क अडेर शंख ध्वनिले वातावरण गुञ्जायमान गर्‍यो । त्यसपछि थोरै शान्ति । अनि एक्कासी मृतकका आफन्तहरू ‘सुँक्क–सुँक्क’ गर्न थाले र एक–दुई ‘रोदन क्रिया’मा जोड–जोडले सामेल (पत्नी एवं पुत्र हनुुपर्छ) ।

‘तपाईहरूका एकता हुँदैन कि कसो कमरेड ?’ यस पटकको प्रश्न सामुहिक थियो ।

‘हाम्रो एकता जरुर हुन्छ ।’ कमरेडको दृढ उत्तर ।
‘होइन, के चाहिँ कुरा मिलिरहेको छैन कमरेड ?’
‘सबै कुराहरू मिलिसकेका छन्, मित्रहरू ।’
‘पदादिको बाँडफाँड पनि मिलिसकेको हो र ?’
‘आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्षताको
कुरा पनि ?’
‘सबै मिलेकै हो त कमरेड ?’
‘राजदूतको पनि ?’
‘भने नि, सबथोक मिलिसकेका छन्, मित्रहरू ।’
‘तब किन हुँदैन त एकता ?’ फ्रेन्चकट डाक्टरसाबको बोलीमा आश्चर्य थियो, ‘एकता हुन्छ भनेपछि त एकता हुनुपर्‍यो नि ।’

‘मलाई त यो एकता होला जस्तो लाग्दैन, डाक्टरसाब ।’ क्लिनसेभ्ड अनुहारले फ्रेन्चकटतिर हेरेर भन्यो, ‘सायद यो एकता नहुने खालको एकता हो ।’

‘आकाशमा त बादल सफा भयो नि ।’ एकाएक माटसापले आकाशतिर टाउको उचालेर भन्यो ।
‘हो, आकाश पुरै सफा भयो ।’

‘यी बादलहरूका के ठेगान †’ टियुका भूपू प्राध्यापक मिठारामलाई राजनीतिक संवाद मौसममा बदलिएको त्यति मनपरेको थिएन, ‘राजनीति जस्तै मौसम पनि फेरिन बेर लाग्दैन ।’

‘बादलहरू आइजाइ गरिरहन्छन्, मिठारामजी ?’
‘एकता हुने भयो त कमरेड ?’

‘लौ तपाईहरू पनि आउनुपर्‍यो । एक जनाले हतार–हतार आएर जनाउ दियो, ‘सबैले जलार्पण गरिसके ।’
‘त्यसपछि भीषण बहस त्याग गरेर बुद्धिवादीहरू नदी किनारतर्फ तीव्र वेगले लागे । त्यहाँ फूलमालाहरूले ढपक्क ढाकिएको लासको मुखमात्र देखिएको थियो । रातो अबिरले लतपत । त्यसमा सबैले पालैपालो सम्पूर्ण पवित्र भावनाका साथ जलार्पण गरे । अनि श्रद्धापूर्वक ‘अन्तिम प्रणाम’ गरेर सुस्तरी आआफ्ना स्थानमा फर्किए ।
‘साँच्चिकै एकता होला त कमरेड ?’


‘किन हुँदैन एकता ?’
‘कहिले हुन्छ त एकता ?’
‘छिट्टै एकता हुन्छ ।’
‘एकता हुने नै भयो त कमरेड ?’
‘एकता हुन्छ मित्रहरू ।’
नदी किनारमा यावत विधिविधान सक्याएर एकमात्र पुत्रद्वारा मुखाग्नि पाएको लास, आकाश छुनेगरी ह्वारह्वार्ती बलिरहेको थियो ।

प्रकाशित : वैशाख ८, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मोतिहारीको रेल

सिउँडी
विमल निभा

काठमाडौँ — नेपालमा चीनको रेल गुड्ने भनेर चलिरहेको हलुका–हलुका गाइँगुइँको प्रत्युत्तरमा भारत देशले पनि एकथान रेल ल्याइदिने भएको छ । अब हामी नेपाली ‘दुई ढुङ्गा बीचको तरुल’मात्र नभएर ‘दुई रेल बीचको यात्री’ पनि हुने भएका छौं । यद्यपि दुवै मित्रराष्ट्रहरूले हाम्रालागि सप्रेम पठाइदिने रेलहरू आइपुगेका छैनन् । तर म भने अहिलेदेखि नै पुरै अलमलिएको अवस्थामा छु– ‘कुनचाहिँं रेल चढ्ने हँ विमल ?’

वास्तवमा चीनको रेल चढेको छैन मैले । अँ, एकपटक हङकङको रेलमा बस्ने अवसरचाहिँं पाएको थिएँ । तर त्यो मूल भूमि जनगणतन्त्र चीनमा हङकङ नगाभिएको बेलाको कुरा हो । म सपरिवार हङकङको ‘पिकट्राम’मा बसेर मास्तिर डाँडासम्म पुगेको थिएँ । (ट्राम पनि एकखाले विद्युतीय रेल नै) । त, चीनको रेलमा नबसे पनि अर्काे छिमेकी मुलुक भारतको रेलको स्वादचाहिँं उहिल्यै नै मैले चाखिसकेको छु ।

त्यस समय म एक विशुद्ध स्कुले केटो थिएँ । हामी त्रिजुद्ध बहुउद्देशीय हाई इंग्लिस स्कुल, वीरगन्जका केही भर्खरै आेँठमाथि जुंगारेखी आएको चञ्चले किशोरहरू सिनेमा हेर्न असाध्यै पल्किएका थियौं– पिताम्बर, हरेराम, दिनानाथ, अनिल, पूर्णहरि, निरञ्जन, गोपाल, गणेश, दामोदर, रामानन्द, प्रेमचन्द, सुभाष, योगेन्द्र, पशुपति इत्यादि । त्यसताका नेपाली सिनेमा अस्तित्वमा नआइसकेकोले सिमानापारि भारतको हिन्दीभाषी सिनेमा हेर्नुपर्ने एक किसिमको बाध्यता थियो । म हिन्दी सिनेमाको नायक राजकपुरको ठूलो ‘फ्यान’ थिएँ । उनले खेलेको कुनै पनि सिनेमा हेर्न भरसक्य छाड्दिनथेंँ । कहाँसम्म भने एकपटक राजकपुरको नयाँ रिलिज भएको सिनेमा ‘संगम’ हेर्न म विहारको राजधानी पटनासम्म पुगेको थिएँ । उही छुकछुके रेलमा सवार भएर । (हो, रेलको साथै बाटोमा पर्ने विशाल गंगा नदी तर्न सानोखाले पानीजहाज स्टीम्भरको पनि प्रयोग गर्नुपरेको थियो) ।

म नायक राजकपुरको निर्दाेष अभिनयको विछट्टै प्रेमी थिएँ भने मेरो ‘लंगौटिया यार’ अनिलकुमार मानन्धरलाई राजकपुरको साख्खै भाइ हिरो शम्मी कपुरको सिनेमा उत्तिकै मनपथ्र्याे । त्यसबेलाको बहुचर्चित हिरो शम्मी कपुर अभिनित सिनेमा ‘राजकुमार’लाई उसले अठाह्र पटकसम्म हेरेको थियो । यसको अर्काे कारण सिनेमाकी नायिका साधना शिवदासानी थियो । म पनि अनिलसँगै साधनाको अद्वितीय सौन्दर्यको परम ‘दिवाना’ थिएँ । हामी राजकपुर, शम्मी कपुर, साधना, दिलिपकुमार, मधुवाला, माला सिन्हा, देवानन्द, वैजयन्ती माला, नरगिस, राजकुमार, मीनाकुमारी, सुनिल दत्त, राजेन्द्रकुमार, आशा पारेख, नूतन तनुजा आदिको सिनेमा अवलोकन गर्न रेल चढेर मोतिहारीसम्म जाने गथ्र्याैं । (कहिलेकाहीं अर्काे विहारी नगर मुजफ्फरपुरसम्म पनि) । यसो ता मेरो नगर वीरगन्जमा पनि सिनेमा हल नभएको भन्ने होइन । त्यसबेला वीरगन्जको एकमात्र सिनेमा हल थियो– कीर्ति सिनेमा हल । टिनको छानो भएको कच्ची टाइप कीर्ति सिनेमा हलमा पनि उत्तिकै सिनेमा हेर्ने गथ्र्याैं हामी ।

खास गरेर वर्षात्को मौसममा कीर्ति सिनेमा हलमा सिनेमा हेर्ने मजा नै अर्कै हुन्थ्यो । छानो तपतप चुहिने भएकोले हामी साढे पाँच आनाको टिकट लिने दर्शकहरू छाता ओढेर सिनेमा हेर्ने गथ्र्याैं । र गर्मीको बेलामा भने पसिनाले निथ्रुक्क भिजेको गन्जी फुकालेर बेसरी निचोर्दै हेर्नुपथ्र्याे । जे भए पनि ‘कीर्ति सिनेमा हल’ सबै वीरगन्जबासीका लागि प्यारो सिनेमा हल थियो । यसको साथसाथै विकल्पमा दसगजापारि रक्सौलको सिनेमा हल (अहिले सो टाकिजको नाम बिर्सें) पनि थियो । त्यहाँ पनि हामी बरोबर सिनेमा हेर्न पैदलै हिंँडेर पुग्थ्यौं । धेरैजसो रात्रिकालीन ९ देखि १२ बजेको सोमा ।

एक पटक रातिको सो हेरेर फर्कंदा मलाई रमन (राति–राति डुलिरहने पुलिसहरू) ले समातेर नुनगोदाम अगाडिको ठानामा पुर्‍याएको थियो । म सँगसँगै हरेराम, दिनानाथ र दामोदरलाई पनि । (हामीलाई जुंगे ठानेदारसाबले रातभरि डन्डाको सहयोगले नैतिक शिक्षाको पाठ पढाएको बारे मैले छुट्टै लेख लेखेर छपाइसकेको छु) । जे होस्, वीरगन्जको ‘कीर्ति सिनेमा हल’ हुँदाहँुदै पनि हामीलाई पटक–पटक रेल चढेर सिनेमा हेर्न मोतिहारीसम्म किन जानुपथ्र्याे भने यतातिर नयाँ सिनेमा हत्पत्ति आउँदैनथ्यो । बम्बई, कलकत्ता, मद्रास, लखनऊ, बनारस, पटना, मुजफ्फरपुर, मोतिहारी आदि ठाउँमा चल्दाचल्दै पुरानो भइसकेका थोत्रा सिनेरिलहरू मात्र यतातिर आउने गर्थे । त्यसमा पनि अधिकांश दोयम दर्जाका हिरो महिपाल, रञ्जन, चन्द्रशेखर, दारासिंह, आजाद, अजित, रन्धावा आदिका सिनेमाहरू । धार्मिक अथवा तलवारबाजीका स्टन्ट सिनेमा । ढिसुम्–ढिसुम् खाले भनौं । त्यसकारण नयाँ सिनेमा हेर्न हामी अपेक्षाकृत पायक पर्ने नजिकैको मोतिहारी जाने गथ्र्याैं । यही सिलसिलामा एकपटक गजबको घटना घट्न गयो ।

मोतिहारीमा भारतीय सिनेमाको ‘जुब्लीकुमार’ भनिने हिरो राजेन्द्रकुमार र ‘साधनाकट’ सुन्दरी याने हिरोइन साधनाको विलकुलै ताजा ‘इष्टमेनकलर’ सिनेमा ‘आरजु’ धुमधामले चलिरहेको थियो । (हामीलाई नेपाली पढाउने आदरणीय सर हरिबहादुर श्रेष्ठले हेरेर आएका थिए) । त्यसपछि हामीले तुरन्तै ‘आरजु’ हेर्न मोतिहारी जाने सामुहिक निर्णय गर्‍यौं । अर्थात् पिताम्बर, अनिल, हरेराम, दिनानाथ र विमल । र भोलिपल्टै वीरगन्ज–रक्सौलको सुलभ सवारी सग्गडमा सवार भएर हामी रक्सौल रेलवे स्टेसनमा पुग्यौं । त्यहाँ मोतिहारी जाने रेल शानले खडा थियो । भक–भक धुवाँ (वाष्प) छाड्दै रेल अघि बढ्न तयार थियो । हामीले हडबडाएर चढ्न खोज्यौं । तर कुनै पनि रेलको डब्बा खाली थिएन । सबैमा यात्रुहरूका रेलमपेल भएकोले के गर्ने अब ? यसै बखत अनिलको आँखा एउटा खाली डब्बामा गयो । त्यसमा कोही पनि
चढिरहेको थिएन । हामी अचम्म मान्दै त्यसमा चढ्यौं । केही बेरपछि मोतिहारी जाने रेल बेस्सरी सिटी बजाउँदै अघि बढ्यो । तर हामी भने त्यहींका त्यहीं छुटेका थियौं । किनभने रेलको इन्जिनले हाम्रो डब्बालाई काटेर अलग पारेको थियो ।यतिका वर्षपश्चात मलाई त्यो हामीलाई छाडेर मोतिहारी जाने रेलको डब्बाको यतिसारो सम्झना किन भएको हो भने कतै हाम्रो प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीले भारतबाट ल्याउने भनेको रेल उही मोतिहारीको रेल हुने त होइन ? वस्तुत: यो प्रश्न आफैंसँग हो । कुनै दिन कमरेड प्रधानमन्त्री ओलीसँग भेट भएमा चाहिँं सोध्नेछु ।

‘रेलको बाटो रेलिमाई
सरर–सरर.....
आँखाको आँसु रेलिमाई
बरर–बरर....’

प्रकाशित : वैशाख १, २०७५ ०७:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT