सीमा, ढुङ्गा र मुक्तिबोध

समय रेखा
हामीले आफैंलाई सोध्नुपर्छ— चीन र भारतबीचमा रहेका हाम्रो चेतनालाई कुनै उत्पादनशील, सिर्जनशील मोडमा लगेर हामीले प्रयोग गर्न सक्यौं कि सकेनौं ?
अभि सुवेदी

काठमाडौँ — हिजोआज नेपालमा अघि कहिल्यै अनुभव नगरिएको भूपरिवेष्टित चेतनाले हामीलाई हल्लाउन थालेको भान हुँदै छ । अस्ति पनि केही शब्द लेखेका हौं तर यस बीचमा झन् जोडदार किसिमले नेपाल दुई ठूला देश, अथवा दुई शक्ति, दुई अब्बल आर्थिक उन्नति गरेका मुलुकहरूका बीचमा चेपिएको अनुभव भएका अभिव्यक्ति आएका छन् ।

सीमा, ढुङ्गा र मुक्तिबोध

एक जना राम्रा राजनीतिज्ञ र राम्रा प्रबन्धहरूका लेखक विदेशमन्त्री प्रदीप ज्ञवाली भर्खरै चीन पुग्नेबित्तिकै भने, ‘मेरो त यो देशमा हरर हिमालवारि रेल चढेर आउने रहर पो थियो त ।’ उनले उही अहिलेको बाहिर निस्किने लबज दोहोर्‍याए । राम्रै अभिव्यक्ति हो । यता भारततिर खुला सिमाना छ । लाखौं मानिस दैनिक ज्यालादारी गर्न जान्छन् र आउँछन् ।

भारतीयहरू पनि त्यसै गर्छन् । यति धेरै वर्षसम्म पनि त्यो एउटा मानक हुन खोजेको पद्धति अनौठो छ । तर पनि भारतका अदृश्य बन्धनहरू छन् भन्ने अनुभवका कुरा हुन् । लाग्छ, दुइटा ठूलाहरूको बीचमा छौं । देशभित्र धेरै बेथिति भएका कुरा, समानान्तर अदृश्य सरकारजस्ता शक्तिहरूले काम गरेका कुरा बाहिर आइसकेका छन् । बाहिर पठाउने उत्पादन खासै छैनन् । मेरो तेह्रथुम जिल्ला र उता इलामतिरका किसानहरूले यसो बनाएका अलैंची, अदुवा र फलफूलसम्म पनि बाहिर पठाउन नसकेको अवस्था बुझेको मानिस हुँ । आर्थिक अवस्था हेर्दा, बाहिर पठाउने उत्पादनहरू लगभग शून्य हुन लागेको बेला दुई देशबाट रेलमार्ग जोडिने हतारका कुरा हतास मनोग्रन्थि त होइनन् भन्ने कुरा पनि आउन लागेका छन् ।

म यो छोटो लेखमा केही एकाध ऐतिहासिक वाक्यहरू, दमित तर साकार चिन्ताहरू यसो उजागर गर्न मात्र लागिरहेको छु । पहिला अलिकता इतिहास र राज्य–रेखाका कुरा गर्छु ।

इतिहासमा एउटा कुरा अति बलियो भए पनि त्यति चर्चामा आइबस्तैन, त्यो हो रेखा वा नक्सा । नक्सा भनेको कागतमा कोरिने भूमिका चित्र हुन्, देशका चित्र हुन्, मानिसका चित्र हुन् अनि मानिस कुन बाटो कसरी हिंडे र हिंड्दै छन् भन्ने कुरा बुझाउन कोरिने बाटाका डोबचित्र हुन् । प्रत्यूष वन्त भाइका गुरु, नेपालमा आइबस्ने अमेरिकी प्राध्यापक डेभिड लुडेनले एसियाली नक्सा चेतनाबारे जोडदार लेखेका छन् । नक्सा यसरी कोरिने कथा राष्ट्रसँग जोडिएको विषय रहेछ । अहिले नेपालमा अठारौं शताब्दीका साना राज्यहरू जितेर ठूलो राज्य पार्ने योजना गर्ने पृथ्वीनारायण शाहको ऐतिहासिक भूत वा ‘स्पेक्टर’ लाई पटकपटक बल्झाउने अनि तिनलाई विनिर्माण पनि गर्ने किसिमका छलफल र बहसहरू भइरहेका कुराले मलाई यो कुरा उठाउन मन लागेको हो । पृथ्वीनारायण शाहले आधुनिक राज्यका तत्त्व सीमा, सैनिक, जनता इत्यादिको प्रयोग गरेको कुरा अहिलेसम्म घुमीफिरी बल्झिएको कुरा चाखलाग्दो छ ।

युरोपेली ‘नेसन्’ पण्डित युर्गेन् हेबरमास, अर्नेस्ट गेल्नर, बेनेडिक्ट एन्डरसनले भनेका राज्यरचनाका कुराहरू देखिएको यो नेपाल देशमा त्यो बेलादेखि नै निरन्तर भइरहेको कथा अहिले यिनै ठूला छिमेकीहरूसँग रेल, पानीका बाटा खोलेर झ्वाम्म पहुँच गर्न सक्ने काल्पनिकीले गर्दा फेरि गतिलो गरी बल्झेको छ । पुरानो र निरन्तर राज्य रहेछौं, बुझिएको छ । योर्गेन हेबरमासले ‘युरोपेली नेसन्–स्टेट्का उपलब्धि र सीमा’ भन्ने ऐतिहासिक लेखमा भनेका एकाध कुराले मलाई प्रभाव पारेका हुन् । राज्यको प्रजातान्त्रिक परिवर्तन भन्नु नै तथाकथित कुलीनतन्त्रका मानिसको राज्य वा ‘एडल्स्नेसन्’ मा गहिरो मानसिक परिवर्तन गरेर ‘भोक्स्नेसन्’ वा जनताको राज्य बनाउनु हो । यो परिवर्तन त्यहाँका बुद्धिजीवीहरूले मिथक, इतिहास, साहित्यिक परम्परालाई आमसञ्चार र अरू उपलब्ध स्रोतहरूबाट सम्पन्न गर्छन्, तिनले भने । हेबरमासले अर्को कुरा पनि भने, सबै समाजहरू सङ्कटलाई साझा भोग्नको निम्ति साझा राजनीतिक काम गर्नुपर्ने चुनौतीका रूपमा लिन्छन् । साहित्यकारहरूमाझ पनि हेबरमास प्रिय भएकाले मैले पनि यिनका कुरा पढ्ने गरेको हुँ ।

ठूलासाना र जातजातिका विभेदले बनिएको राजतन्त्रात्मक नेपाली सामन्ती राज्य अहिले गणतन्त्रको अवस्थामा आइसकेपछि हेबरमासले भनेजस्तो बुद्धिजीवीहरूका प्रयासले यसलाई जनताको प्रजातान्त्रिक परिवर्तनतिर लानुपर्ने हो भन्ने मान्नुपर्छ । तर, त्यो काम, खासै बलियो बुद्धिजीवी वा चिन्तकहरूको सञ्जाल, विश्वविद्यालय र नागरिक समाजबाट हुन सकेको अवस्था होइन समकालीन नेपालको । बरु यस्तो परिवर्तनका बहस र विचार राजनीतिक दलहरूले र तिनका नाराहरूले नै गरिआएको कुरा मान्नैपर्छ । हेबरमासले भनेजस्तो परिवर्तन ल्याउनेमा यिनै दलहरूले नै महत्त्वपूर्ण भूमिका खेलेका कुरा नमान्नु अन्याय हुन्छ । अर्को कुरा, स्वतन्त्र बुद्धिजीवी र चिन्तकहरूका बलियो सञ्जाल नभएको कारणले र भएकाहरूले पनि दलहरूका अगाडि धनुष्टङ्कार गर्ने सहजवृत्ति अँगालेकाले गर्दा तिनको सामन्ती सत्ताबाट जनताको सत्तामा राज्य परिवर्तन गर्ने काममा त्यति हल्लाउने भूमिका देखिएन । ‘तिनका’ भन्ने वर्गमा म आफैं र मेरा कतिपय मित्रहरू पनि पर्छाैं ।

स्वतन्त्र चिन्तकहरू र शिक्षित समाजको भूमिका कमजोर भएकाले गर्दा एकाध अलिक गम्भीर परिणामहरू देखिँदै छन् । राजनेताहरूले जब त्यो बुद्धिजीवी वर्ग बलियो र हल्लाउने छैन र भएका पनि केही छोडेर हाम्रा धनुष्टङ्कारी गर्छन् चाहे तिनीहरू एकेडेमिक हुन्, कानुनी संगठनका मानिस हुन्, सर्जकहरू हुन्, विद्यार्थी वर्ग हुन्, वैज्ञानिक हुन् भन्ने कुरा राम्ररी बुझ्छन् ती शिक्षितहरूलाई होच्याउने, तीबिना पनि समाज चल्छ भन्नेजस्ता गम्भीर कुराहरू गर्न थाल्छन् ।

त्यसैले अहिलेका ठूलाठूला नेताहरूका मुखबाट पटकपटक शिक्षितविरोधी, लेखकविरोधी वाणीहरू आइरहेका हुन् । यो गम्भीर कुरा हो । अहिलेको अवस्थामा आएका संकथनहरू पढ्दा, सुन्दा लाग्छ, पुरानो प्रजातान्त्रिक दल कांग्रेसका नेताहरूले ‘लौ लोकतन्त्र खतरामा छ’ भनिहिँडेका कुराको अर्थ छैन । त्यसैगरी कम्युनिस्ट नेताहरूले भौतिक र सपनाका बाटा खोलेर ह्वात्तै देशलाई विकास गरिहाल्छौं अब भनेको कुरामा पनि अर्थ छैन । नफर्कने भुमरीमा पर्न लागको अवस्थाबाट यो देशलाई सबै मिलेर कसरी हतारहतार बाहिर निकाल्नु भन्ने चिन्ताको मात्र अर्थ छ ।

म राजनीतिज्ञ र सरकारले गर्न चाहेका कुराहरूको सकारात्मक पक्षको प्रशंसा नै गर्छु । तर, यो भूराजनीतिका कुराको समाधान इतिहाससँग नजोडिएका काल्पनिकीले गर्न सक्तैन । एउटा वाचाल ऐतिहासिक प्रसङ्ग जोड्छु । सन् १९६० मा चीनको ह्वाङचाउमा नेपाली प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओजेदुङ्लाई मध्यरातमा भेटेर गरेको वार्ताले अहिले हाम्रो सीमा चिर्ने दुई शक्तिबीचको अस्तित्ववादी चेतनाबाट मुक्त हुन चाहने कुरासँग केही सम्बन्ध राख्छ कि राख्दैन त्यो हेर्नु उचित हुन्छ भन्ने मेरो विश्वास छ । माओले बीपीलाई भनेका छन्, ‘अहिले हाम्रो भारतसँग केही समस्या छन्... तर त्यो समाधान भइहाल्छ । हामी दुवै अविकशित देश हौं । हाम्रा चाख समान छन् ।... ख्वै हामीले नेपालमाथि हमला गरेका छौं त ? लौ हामी सीमास्तम्भ राखेर सम्झौता गरौं, हुन्न र ?’ त्यसमा बीपीले भने, ‘हो, हामीलाई एउटा राज्यस्तरमा गरिने सीमा सम्झौता चाहिन्छ ।’

त्यो कुराकानीमा अहिले सम्झिने अर्को कुरा छ । बीपीलाई माओले सोधे, ‘हाम्रो देशसँग जोड्ने बाटो बनाउन लाग्नुभएको हो ?’ त्यसमा माओले भने, ‘दुई वर्षअघि नै बनाउन चाहेका हौं तर पैसा नभएकाले गर्दा सकिएन ।’ बीपीले थपे, ‘मैले जवाहरलाल नेहरू र जाउ एन्लाईलाई हाम्रो राजधानीमा आएर कुरा गर्नाेस् भनें तर नेहरू आउन सक्नुभएन ।’ यो वार्तापछिको भारत– चीनको सम्बन्ध खराब भयो । युद्ध भए । तर, बीपीमा हामी अर्थपूर्ण बीचमा छौं भनेको कुरा यथार्थ भयो र अहिले पनि छ । तर, अहिले हामीले आपैंmलाई सोध्नुपर्छ, चीन र भारतबीचमा रहेका हाम्रो चेतनालाई कुनै उत्पादनशील, सिर्जनशील मोडमा लगेर हामीले प्रयोग गर्न सक्यौं कि सकेनौ ? यो गम्भीर प्रश्न छ ।

अहिले हामीले हरर रेल चढ्ने र बाहिर निस्किने, हरर दक्षिण जाने, हरर उत्तर जाने कुरा गर्दा रमाइलो लाग्छ । हुन सक्छ यसले महान् ‘ब्रेक् थु्र’ हुन सक्छ । यदाकदा चीनलाई पनि लिएर तीनदेशीय सम्बन्ध गर्न पनि खोजेका हौं कि त । राम्रो कुरा । तर बुझेका छौं, शक्तिशाली मित्रहरूका आफ्ना–आफ्नै समस्या र चिन्ता छन् । उनीहरू महान् आर्थिक उन्नति गर्ने मुलुक भएका छन् । हामीले अहिले आपैंmलाई सोध्नुपर्छ, यसरी बीचमा अवस्थित हाम्रो यथार्थ कति परिवर्तन भयो बीपी र माओको त्यो मध्यरातको वार्तादेखि यहाँसम्म ? हामीले त्यसो त धेरै गरेका छौं । यो समाजमा राजनीतिक दल र जनता मिलेर ठूला काम गरेका छौं । गणतन्त्र भयौं, धेरै ठूला सामाजिक चेतना, समानताका चेतना ल्यायौं, संविधान बनायौं, संघीय व्यवस्था कायम गर्‍यौं । यो छोटो समयमा नेपालीले गरेको महान् उपलब्धि हो ।

तर, हाम्रो समस्या आन्तरिक धेरै रहेछ । निकै बिग्रिसकेछन् व्यवस्थाहरू । छिमेकीसँगका सम्बन्धका भौगोलिक मनोविज्ञान, अस्तित्ववाद र ढुङ्गामा च्यापिएका ‘न्यारेटिभ्’ तिनै छन् । हाम्रो नक्साचेतना शाश्वत् छ, हुनेछ । हेबरमासले भनेजस्तो यहाँका बुद्धिजीवी, शिक्षित र चेतनशील वर्गले स्वतन्त्र भएर जनताका राज्यको सामथ्र्यलाई बल दिऊन् । अहिले हामीलाई चाहिएको ऊर्जावान् मुक्तिबोध हो ।

प्रकाशित : वैशाख १०, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?