२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

साहित्यमा राष्ट्रियता विमर्श

संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले किन रोजेको भनेर सदैव हेक्का राख्नु जरुरी छ । अन्यथा यसैको कलेवरमा फासिस्ट चरित्रको राष्ट्रवाद हावी हुने भय रहन्छ ।
कृष्ण खनाल

काठमाडौँ — बाह्र वर्ष पूरा भएछ, २०६२/६३ आन्दोलन सम्पन्न भएको । नेपाली समाज, राष्ट्र र राज्यलाई तलैदेखि धेरै हल्लाएको आन्दोलन हो यो । शताव्दीयौंदेखि स्थापित मिथकहरूलाई प्रश्नको कठघरामा उभ्याएको थियो । ‘राजा बिनाको पनि देश हुन्छ र ?’ भन्ने कतिपय सनातनी मान्यतालाई भत्काएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भयो, त्यो आन्दोलन ।

साहित्यमा राष्ट्रियता विमर्श

त्यसले अत्यन्त चर्कोसँंग उजागर गरेको अर्को पक्ष हो, पहिचानजनित राष्ट्रियता । त्यसका केही कुरा अहिले संविधानमा आबद्ध भएका पनि छन्, केही अझै विकासको क्रममा छन् भने केही इतिहासको पानामा लुप्त भैसके । संविधानले सिद्धान्तत: नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बनोट र विशेषतालाई स्वीकार गरेको छ र त्यसैलाई नेपाली राष्ट्रियताको समष्टिगत आधार मानेको छ । यसमा असहमति जनाउनुपर्ने खासै ठाउँ छैन । संविधान निर्माणको बेला ‘पहिचान’को मुद्दा निकै पेचिलो थियो । मधेसी र जनजातिले यसलाई आफ्नो अस्तित्वको लडाइँसंँग जोडेका थिए । पहिचान राष्ट्रियताको अभिन्न अङ्ग हो, आत्मा नै भने पनि हुन्छ । आज मलाई राष्ट्रियताको त्यो पक्ष साहित्यमा कसरी प्रकट भएको छ, केही विमर्श गर्नु सामयिक लागेको छ ।

साहित्यलाई समाजको ऐना, युगको चेतना भनेर मानिन्छ । साहित्यले प्रवाह गर्ने चेतना धेरै फराकिलो र बहुआयामिक हुन्छ । खासगरी कवितामा अभिव्यक्त भावना अझ प्रगाढ र बहुआयामिक हुन्छन् । कवितामा नै त हुन्छ, पहिचानको चेतना प्रस्फुटन । त्यो चेतना समाज, राष्ट्र, राजनीति हरेक कुरामा हुनसक्छ । राजनीति त्यसबाट टाढा रहने कुरै भएन । यो इतिहाससिद्ध कुरा हो । मोहम्मद अली जिन्हा पाकिस्तानको ‘राष्ट्रपिता’ मानिन्छन् । कवि मोहम्मद इक्बाल जसले पाकिस्तानको विधिवत स्थापना भएको देख्न पाएनन्, तर पाकिस्तान–चेतनाको सर्जक थिए । तसर्थ साहित्य भनेको निरपेक्ष वा स्वैर्य कल्पना होइन, बरु सभ्यता, सामाजिक–राजनीतिक यथार्थको मर्मस्पर्शी एवं सचेत अभिव्यक्ति हो । हो, त्यो अभिव्यक्तिमा बेजोडको कल्पनाशीलता भरिएको हुन्छ ।

नेपालकै कुरा गर्ने हो भने पनि २००७ सालको क्रान्तिपूर्व धरणीधर कोइरालाको ‘जाग, जाग...’ भन्ने कविता, कृष्णलाल अधिकारीको ‘मकैको खेती’ लगायतका साहित्य सिर्जनाले राणाशासन विरुद्ध आन्दोलनको चेतना जगाएको कुरा इतिहासमा स्थापित छ । २०६२/६३ आन्दोलनको पूर्वसन्ध्यामा श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’मा अन्तरनिहित राजनीतिक सन्देशले आन्दोलनको पक्षमा उभिएका मजस्ता प्राय: सबैलाई छोएको थियो । ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ भन्ने गीतले सबैलाई लयबद्ध गरेको थियो । म आफैं संलग्न भएको आन्दोलनको कीर्तिपुरमा संघीय लोकतान्त्रिक गणतन्त्रका भाषणले भन्दा युवा विद्यार्थी कवि मणि काफ्लेका कविताले सबैलाई बेस्सरी हौस्याउँथ्यो ।

पहिचान राष्ट्रियताको आत्मा हो । त्यो कहिले देशव्यापी हुन्छ, कहिले जाति समुदाय विशेष । बहुजाति, बहुभाषा भएको देशमा त्यसका आधारमा निर्मित ससाना पहिचानको समष्टि नै राष्ट्र हो, राष्ट्रियता हो । राजनीतिले यसलाई एउटा भूगोलको घेराभित्र सीमित गर्न खोज्छ, युद्ध र विजय इतिहासको एउटा शक्ति मान्यतामा ढाल्न खोज्छ । त्यसैको वरिपरि बुनिने विजय उत्सव, वीरता, विजय गाथा र देशभक्तिको कथामा राष्ट्रियताको गीत गाउन लगाइन्छ । तर नेपाल विविधताले भरिएको मुलुक हो । त्यो विविधता जाति, भाषा, धर्म, संस्कृति, भूगोल सबैतिर फैलिएको छ । यसलाई नेपाली राष्ट्रियताको निर्माण–तत्त्व भनेर संविधानले समेत स्वीकार गरेको छ । यत्रोविधि विविधता अरू मुलुकमा पाइंँदैन । दक्षिण एसियामै पनि यतिविधि विविधता भारतपछि नेपालमै छ ।

नेपाली साहित्य रचनामा यो विविधता कमै देख्न पाइन्छ । एकल भाषा, धर्म, संस्कृतिको बर्चस्वको यो स्वाभाविक परिणाम हो । यसको अर्थ यो होइन कि नेपाली साहित्यमा कलम चलाउनेहरू सबै त्यही मतृभाषाका थिए । नेवार लगायत जनजाति समुदायका स्रष्टाहरूको निकै ठूलो योगदान छ, यसको विस्तार र विकासमा । तर खट्किने कुरा के हो भने यसले समग्रमा खस–आर्य समाज, संस्कृति, मूल्य, मान्यताको मात्रै प्रस्तुति गर्‍यो । तर गएको एक–डेढ दशकमा लेखिएको साहित्यिक रचनामा खासगरी जनजाति समुदायका सर्जकहरूले त्यो खाडल पुर्न थालेका छन् । नेपाली साहित्यमा जनजातीय पक्ष सबल रूपमा प्रस्तुत हुनथालेको छ ।

यसमा पूर्वका राई, लिम्बु किराती समुदाय अग्रपङ्क्तिमा देखिन्छन् । श्रवण मुकारुङ, विक्रम सुब्बा, राजन मुकारुङ, धर्मेन्द्रविक्रम नेम्बाङ, अज्ञात हाङयुङ, स्वप्निल स्मृति, भूपाल राई, समदर्शी काइंँला, प्रगति राई लगायत स्रष्टाहरूको रचनामा किरात समाज र संस्कृतिसँंग गहिरो आत्मीयता भेटिन्छ । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’, राजन मुकारुङको ‘हेत्छाकुप्पा’ जस्ता कृति पढ्न त्यो समाज र संस्कृतिसंँग हिमचिम नभएकालाई मुस्किल पर्छ । भाषा नेपाली भए पनि नेपाली साहित्यमा खसेतरपन बढ्न थालेको छ । विविधता झल्कने राष्ट्रियपन बाक्लिएको महसुस हुन्छ ।

साहित्यमा देखिएका पहिचानको खोजी र दाबीका केही दृष्टान्त हेरौं, जसलाई मैले राष्ट्रियता विमर्श भन्न उचित ठानेको छु । कवि विक्रम सुब्बा आफ्नो पछिल्लो प्रकाशनमा संग्रहित ‘कबुल–मुन्धुम’ कवितामा भन्छन्–

यो जमिन रोजेको होइन
यही माटोमा हुर्के–बढेपछि
मैले मुलुकलाई धड्कनमा गाँसेको हुँ ।
जाति–संस्कृति मेरो भाषाभेष
छानेर मैले रोजेको होइन
पुर्खाले बनेकै मुन्धुम पहिरेको हुँ ।

यही वर्षारम्भको दिन एउटा राष्ट्रिय दैनिकमा प्रकाशित ‘राष्ट्रिय जनावरको देशमा’ भन्ने कवितामा कवि भूपाल राई बोल्छन्–

ती तमाम जनावरहरूप्रति
म उत्तिकै उदार बन्न सक्छु
सिवाय एउटा खतरनाक शब्द
जसको कारणले ‘अराष्ट्रिय’ भैरहन
म अभिशप्त छु
म त्यही शव्द खारेज गर्न चाहन्छु ।

बादी विज्ञप्तिमा संकलित ‘दैलो’ भन्ने कवितामा प्रगति राई सचेत गर्छिन् : ‘देश † अब तिमी एक्लो हुँदैछौ’ । अर्को कविता ‘बादी विज्ञप्ति’मा प्रश्न गर्छिन्–

‘तिमीले बनाएको अन्तरिम विधानमा
बादी हुनुको स्थान कहाँनेर छ ?
तिमीले बनाएको नयाँ सरकारमा
बादी हुनुको पहिचान कहाँनेर छ ?’

धर्मेन्द्रविक्रम नेम्बाङ ‘रातो बाघ’ नामक आफ्नो कृतिमा लेख्छन्, ‘आँगनको माटो सुमसुमाएपछि कति धेरै कुरो भेटेको जस्तो लाग्छ नाम्सामीलाई । बाबुले भोगचलन गरेको, बाजेले भोगचलन गरेको, जिजुबाजेले भोगचलन गरेको, चेप्चुबाजेले भोगचलन गरेको ठूलो गौरवको पाटा । स्वामित्वपना भेट्टाउँदैछ, ऊ बल्लतल्ल अलिली ।’

उनी फेरि थप्छन्, ‘तिम्रो पनि रगत रातै छ भनेर कसरी भो र ? त्यो भित्रको असमानताको विज्ञानमा छिर्न सक्नुपर्छ । राष्ट्र अहिले पुरै बैठकमा छ ।’ धमेन्द्र नेम्बाङहरूले कवितामा एउटा सशक्त नयाँ प्रयोग चलाएका छन्, ‘बहुरङ्गवाद’को । म त्यसमा अपर्थाइड शासनबाट मुक्तिपछि दक्षिण अफ्रिकाले अभ्यास गरेको ‘इन्द्रेणी राष्ट्र’ (रेन्बो नेसन) को झलक पाउँछु ।
राजन मुकारुङ ‘हेत्छाकुप्पा’ उपन्यासमा लेख्छन्–

यो काठमाडौं निरंकुश शासकजस्तै हिन्दुवादी छ, सामन्ती छ । एकात्मक छ र केन्द्रीकृत सत्ताजस्तै छ । यहाँ रहर भएकाहरूको पनि रहर मर्छ । सपना भएकाहरूको सपना पनि मर्छ । यो त मिठा कल्पना गर्न पनि नपाइने ठाउँ हो ।

काठमाडौंबारे उनको यो कुरा पढ्दा आजभन्दा पाँच दशक पहिले प्रकाशित भुवनलाल जोशी र लियो रोजको ‘डेमोक्र्याटिक इनोभेसन्स इन नेपाल’ पुस्तकलाई सम्झाउँछ । त्यो पुस्तकमा पनि लेखकद्वयले काठमाडौं केन्द्रीयताको कुरा गर्छन् अर्थात् नेपाल भन्नु नै काठमाडौं हो । त्यो पनि त्यसबेलाको काठमाडौं कहाँसम्म पुगेको थियो र ? बानेश्वर र कालिमाटी पनि छोएको थिएन । अहिले हरेक परिवर्तनपछिका शासक वर्गलाई घरघडेरी पुर्‍याउन अलि काँठसम्म पुग्न थालेको छ, सहरको भौतिक रूप । तर सत्ताको रमझम र बागडोर त उही सिंहदरबारको पर्खालभित्रै छ, अलि पर खोज्ने हो भने नेताजीहरू बस्ने घर कम्पाउन्डमै त सीमित छ । तथापि के कटु सत्य बनेको छ भने काठमाडौंमा चाहिँं जे पनि देशभक्तिसंँग जोड्न पाइन्छ, तर आफ्नो स्वत्वको खोजी गर्ने सीमान्तका आवाजलाई विभाजनकारी बनाउने प्रयत्न यहीं काठमाडौंमै हुन्छ ।

कवि श्रवण मुकारुङ ‘पृथ्वीनारायण शाह र वैकल्पिक चेतना’मा लेख्छन्, ‘इतिहासप्रति उसले गर्व गर्छ, जसका कारण ऊ वर्तमानमा सुखी छ र त्यही इतिहास ऊ बारम्बार सम्झिन चाहन्छ, जसका कारण उसको भविष्य अझ सुरक्षित रहोस् । ... त्यसैले इतिहास त्यति महत्त्वपूर्ण नहुन सक्छ, जति यो देशका नयाँ–पुराना शासकहरूका लागि हुनेछ’ ।

उपेन्द्र सुब्बा ‘लाटो पहाड’ उपन्यासमा नसपाते पात्रको मुखबाट बोल्छन्, ‘तिमीहरूले रोपेको हो, यो जङ्गलको रुख ? हाम्रो बाउबाजेले स्याहारेको, हुर्काको । किन काट्न नपाउने ? तिमीहरू मुलाङले आफ्नो बारीको डिलमा एउटा डाले घाँसको रुख रोपेका छौ ? कुरा गर्छौ, वन जोगाउने ?’

पहिचानको खोजी र सशक्त दाबी ती रचनामा छ । अन्तर–सांस्कृतिक द्वन्द्वका अभिव्यक्ति पनि छन् । तर संँगसँगै नेपाली समाजको समग्रता, समष्टिगत राष्ट्रिय बोध, लोकतन्त्रको मूल्य र मान्यता, अनि समकालीन विश्व साहित्यमा आएका नयाँ आयाम र दर्शनको प्रयोग पनि उत्तिकै छ । आधुनिक, उत्तरआधुनिक र डायस्पोरिक आयामले भरिएका पनि छन्, ती सिर्जनाहरू । लाहुरे जीवन नेपालका केही प्रमुख जनजाति समाजको अभिन्न अङ्ग बनेको छ । नेपाल बाहिरको भूमिमा तिनले धेरै युद्ध लडे, विदेशीकै प्रभुत्वका लागि । तर अहिले उनीहरू नेपाली साहित्यमा चम्किला सर्जक भएर आएका छन् । हङकङ, बु्रनाई, लन्डन डायस्पोरिक साहित्यको केन्द्र बनेको छ । त्यो साहित्यमा पनि पहिचानको कुरा सशक्त भएको छ, जसलाई नेपालको समग्र राष्ट्रियताको विमर्शबाट फरक गरेर हेर्न मिल्दैन ।

राष्ट्रियतालाई राज्यको भौगोलिक विस्तार र त्यसको सुदृढीकरणको इतिहाससँंग जोडेर हेर्ने आम चलन छ । त्यसका लागि भएका युद्ध, वीरगाथाले देशभक्ति र राष्ट्रियतालाई ओतप्रोत गर्ने गरिन्छ । तर राष्ट्रियता भनेको विगत इतिहासको दुहाइ र वर्तमान राज्यको भौगोलिक अस्तित्व रक्षामा सीमित कुरा होइन । त्यस भूगोलभित्र बस्दै आएका मानिसहरूको साझा पहिचान र भावना निर्माणको विषय महत्त्वपूर्ण हुन्छ । बीपी कोइराला र राजा महेन्द्रबीच राष्ट्र/राष्ट्रियताबारे लामो द्वन्द्व पाइन्छ । निर्वाचित सरकारलाई अपदस्थ गरी लोकतन्त्र मासेर राजाको सक्रिय शासन चलेको थियो । महेन्द्र भन्थे, ‘राष्ट्र भनेको माटो हो’ । बीपी भन्थे, ‘राष्ट्र भन्नु नै जनता हो । जनताको सम्प्रभुता बिना राष्ट्रको कुनै अर्थ रहन्न’, विनोवा भावेले कतै भनेको मलाई सम्झना छ, ‘जनता जोडिए देश आफैं जोडिन्छ’ । मदनमणि दीक्षितले पनि कतै लेखेको पढेको छु, ‘देश भनेको आज्ञाकारिताको पहाड होइन, निर्णयात्मक आकांक्षाहरूको समुदाय हो’ । यही एउटा वाक्यमा पनि राष्ट्र र राष्ट्रियताको धेरै फराकिलो अर्थ पाउन सकिन्छ ।

लोकतन्त्रमा लेखिएका प्राय: सबैजसो संविधान ‘हामी.... जनता’ भन्ने वाक्यांशबाट प्रारम्भ भएको पाइन्छ । हाम्रो संविधान पनि ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ भनेर नै सुरु भएको छ । संविधानमा लेखिंँदैमा त्यो ‘हामीपन’ बन्दैन । नेपालमा बस्ने सबै जाति, समुदायको अस्तित्व र मान्यतालाई उनीहरू स्वयम्ले अनुभूत गर्न सक्नेगरी अभ्यासमा उतार्नु नै यथार्थमा राष्ट्रियता हो, नेताको भाषणबाजी होइन ।

अहिले नेपालको सत्ता राजनीतिमा ‘राष्ट्रवाद’ हावी भएको बेला छ । प्रधानमन्त्री केपी ओलीले तीनवटा कुरा— समृद्धि, समानता र राष्ट्रियतालाई आफ्नो प्राथमिकता भनेका छन् । एकथरीले उनलाई अब्बल दर्जाको ‘राष्ट्रवादी’ भनेर चिनाउने प्रयत्न गरिराखेका छन् । शासकीय व्यवहारमा प्रयोग गरिने राष्ट्रियता वा राष्ट्रवादसंँग मलाई डर लाग्छ । शासकले प्रचार गर्ने राष्ट्रियता र राष्ट्रवादको कुरा अत्यन्तै सीमित, अल्पकालीन र तत्कालको सत्ता स्वार्थसंँग जोडिएको हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले किन रोजेको भनेर सदैव हेक्का राख्नु जरुरी छ । अन्यथा यसैको कलेवरमा फासिस्ट चरित्रको राष्ट्रवाद हावी हुने भय रहन्छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?