धरहरा ढलेको छैन–२

दिवाकर बागचन्द

अमेरिका — फल्सिङ्ग कलेज प्वाइन्ट २३ एभिन्यु, ७-११ स्टोरमा म सदा झै काम गर्दै थिएँ । मेरा साहु यु जङ्ग सिक आएर मेरो पिठ्यु थम्थमाउँदै भने "हेप्पी अर्थक्वेक ।" म असामन्जस्यमा परें कहिं नेपालमा फेरी भूकम्प त गएन !

हलिउडमा चलचित्रका सिक्वेल बन्ने क्रम धेरै पहिला शुरु भएको हो। भारतमा सिक्वेल बनाइने लहरै चलेको छ। यसैलाई पछ्याउदै नेपालमा पनि छक्का पन्जा २, नाइँ न भन्नु ल २, इत्यादि फिल्म बनेका छन् बन्ने क्रम जारि छ। सिक्वेल किन बन्छ मलाई थाहा छैन। न त म दिग्दर्शक हुँ, न निर्माता। तर पनि थाहा छ, यी बन्छन् र मान्छेले हेर्छन्। मन पराउँछन, पराउदैनन, त्यो हेर्नेको कुरा भयो। नेपालमा महाभूकम्प गएको दिन मैले एउटा छोटो लेख लेखेको थिएँ, 'धरहरा ढलेको छैन' भनेर। आज एप्रिल २५ महाभूकम्प गएका ३ बर्ष बितिसक्दा मनमा थुप्रै पराकम्पन गई रहेका छन्। मनमा नैराश्यता, आँखामा आँशु र दिमागमा द्वन्द्व थियो। त्यसैले फेरी लेख्न मन लाग्यो, 'धरहरा ढलेको छैन – २।'
.......

Yamaha


२०७२ बैशाख १२ गते म कामबाट फर्किरहेको थिएँ। एक्कासी नेपालमा भूकम्प गएको मेसेज मेरो मोबाइलमा आयो। दिन भरिको थकानले होला मैले यस खबरलाई सामान्य रूपमा लिएँ। केहि बेरपछि फेरी अर्को मेसेज आयो, "धरहरा ढल्यो, सयौं भन्दा बढीको मृत्यु भयो।"

आँखा अगाडी धरहरा ढल्दाका दृश्यहरु सृजना हुँदै गए। नेपालमा पत्रकारिता गरिरहँदा म त्यहाँ नपुगेको कुनै दिन हुन्नथ्यो। मैले कैयौं स्ट्यान्ड अप शट त्यहीबाट दिएको थिएँ। धरहरालाई देखेर इतिहासको गर्भमा पुगेको भान हुन्थ्यो। नेपाली समाजको विषमता, अन्याय र अभावका बीच धरहराले मलाई सधै शीर ठाडो गरेर बाँच्ने प्रेरणा दिईरह्यो। धरहरा ढलेको खबरले आफु पनि ढले झैँ लाग्यो। एउटा रिक्तताले मलाई छोप्यो।

नेपालमा रहेको आफन्तहरुको बारेमा बुझिसकेपछि पनि मन शान्त हुन सकेन। मन बेचैन थियो। एकपछि अर्को गरेर विभत्स दृश्य र खबरहरु आउनथाले। अनलाइनमा खबरहरु हेर्दै गएँ। काठमाडौंलगायत १३ जिल्ला चपेटामा परिसकेका थिए। मलाई कोहि आफन्तलाई भेट्न पाए हुन्थ्यो भन्ने प्रबल इच्छा लागिरहेको थियो।

यसरी पहिलो दिन बित्यो। दोस्रो दिन बित्यो। समय आफ्नो स्वभाव अनुरुप बित्दै गयो। न्यु योर्कमा रहेका नेपालीहरु, संघसंस्था र व्यक्तिहरु भूकम्प पीडितहरुको राहतका लागि सहयोग जुटाउन परिचालित हुन थाले। विपदको समयमा सबै नेपाली नजिक आएको झैँ लाग्यो। तर जति दिन बित्दै गए, सात समुद्र पारीको राहत प्रयासमा पनि राजनीति, जातीयता र क्षेत्रीयता प्रवेश गर्‍यो। राहत तमासामा परिणत हुन थाल्यो।

............

तीन वर्ष बित्यो विनाशकारी भूकम्प गएको। मैले त बिर्सी पनि सकेको थिएँ। फल्सिङ्ग कलेज प्वाइन्ट २३ एभिन्यु, ७-११ स्टोरमा म सदा झै काम गर्दै थिएँ। मेरा साहु यु जङ्ग सिक आएर मेरो पिठ्यु थम्थमाउँदै भने "हेप्पी अर्थक्वेक।" म असामन्जस्यमा परें, कहिं नेपालमा फेरी भूकम्प त गएन ! उनले अलि गम्भीर भएर भने माफ गर, मैले कटाक्ष्य गरेको। म नेपाल र नेपालीलाई धेरै माया गर्छु, 'आइ केर फर देम।' नेपाल कसैको आँखामा नबिझाउने देश हो . भूकम्प गएका तीन वर्ष बितिसक्दा पनि अझै कैयौं परिवार बिचल्लीमा छन्। कतिपयले आफ्नै सिमित साधनले घर बनाए रे। कैयौं कहिले नमेटिने घाउ लिएर हिडेका छन्, "आइ क्यान फील इट ब्रदर।" उनले थपे, 'मैले र मेरा साथीले सानै भएपनि सहयोग गर्न चाहेका थियौं। तर हाम्रो सहयोग वास्तविक पीडितसम्म पुग्ल भन्ने कुरामा हामीलाई सन्देह छ।' उनले हाम्रो आन्द्रा भुँडी सबै केलाई सकेका रहेछन्। उनको भनाईमा कटु सत्य लुकेको थियो।

हुन पनि तीन वर्षमा पुननिर्माण प्राधिकरण कहिले बन्यो, कति जना सिइओ भए मलाई थाहा छैन। किनभने सबैमा राजनीतिक तछाड–मछाड चलिरहन्छ। पुननिर्माण कहाँसम्म पुग्यो त्यसको कुनै बस्तुनिष्ठ मुल्यांकन छैन। कुनै फ्याक्ट सीट सार्वजनिक गरिएको छैन। जुन प्राकृतिक विपद्लाई कमाइ खाने भाडो बनाइए, पद प्राप्ति र व्यक्तिगत हैसियत र अकांक्षाकफ पुरा गर्ने माध्यम बनाइए। त्यसैले यो विपत कसैका लागि महोत्सव बनेको छ।

कतिपय नेपाली भूकम्प पीडितसंगको सेल्फी फेसबुकमा हालेर दंग छन्। कतिपय आफ्नो दक्षता नहुँदा नहुँदै पनि पुननिर्माणको नाममा परियोजना प्रस्ताव लेख्न व्यस्त छन्। भूकम्पका बेला कसरी बच्ने भनेर अंग्रेजीमा लेखिएका ठुलाठुला होर्डिङ बोर्डहरु गाउँमा पुगेका छन्।

मेरो साहुको कटाक्ष पूर्ण सद्भाव सुनेर म अतितमा पुगें। भीमसेन थापाको दर्दनाक मृत्युलाई सम्झें। हामी एक अर्कासंग लडेर समय खर्च गर्छौ, लड्नु हाम्रो जात हो, लालच हाम्रो धर्म। एकले अर्कालाई पीडा दिनु जीवनशैली हो। तीन वर्ष भन्दा बढी बितिसक्यो, आठ हजार भन्दा धेरै को ज्यान गएको। २१ हजार भन्दा बढी घाइते नै भएका थिए। तीन करोड मुटुहरु छिया छिया भएका थिए। तिनका सपनाहरु भत्किए, अझै भत्किंदै छन्।

म अहिले अमेरिकामा बस्छु, अमेरिका प्रकृतिले न्याय गरेको देश होइन। यहाँको जाडोमा हिटिंग सिस्टम नहुने हो भने बाँच्न सकिन्न। यहाँ जो आँधीहुरी आउँछ, त्यस्तो नेपालमा आउने हो भने सबै ध्वस्त हुन्छ। अमेरिकीहरुले प्रकृतिसंग समन्वय र सामना गर्ने क्षमताको विकास गरेका छन्। प्राकृतिक विपत्ती रोक्न सकिन्न। तर, व्यवस्थापन गर्न सकिन्छ। तर हामीले प्रयासै गरेनौं। एक अर्कालाई दोषारोपण गर्न समय बितायौं। ती मृत, घाइते र धरहरा जस्ता अमुल्य धरोहरले हाम्रो लापरवाही र स्वार्थको मूल्य चुकाएको मात्र हो।

हतारहतार काम सिध्याएर घरतर्फ लागें। फोन गरेर एक जना नेपाली भाई जसले महाभूकम्पमा आफन्त गुमाएका थिए उनलाई बोलाएँ। उनको अनुहार मलिन थियो। पीडा भुलाउन ग्लास ठड्याएँ। उनी केहि बोलेनन् र छेउमा राखेको गिटार उठाएर दिपक खरेलको कालजयी गीत गाउन थालें....

पर्खन्छन् कति आत्महरु मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासंग बिपना हो कि भनेर.....

मेरो मन अझै मान्न तयार छैन, धरहरा ढल्यो भनेर !

प्रकाशित : वैशाख १२, २०७५ १३:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किन सताइन्छन् उखु किसान ?

‘चिनी नबिकेको बहाना गर्न मिलले आन्दोलनपछि करोडौं रुपैयाँ कहाँबाट ल्याए’
अमन कोइराला

सर्लाही — चिनी नबिकेको भन्दै उखु बेचेको चार महिनासम्म उद्योगपतिले किसानलाई भुक्तानी दिएनन् । मधेसमा तामझाम सहित मनाइने खर्चिलो चाड होलीमा किसानले चर्काे ब्याजमा ऋण लिनुपर्‍यो ।

घर खर्च चलाउन नसक्ने अवस्था भएपछि भुक्तानीका लागि किसान आमरण अनशन बसे । आमरण अनशनले उद्यमीलाई भुक्तानी गर्न बाध्य बनायो । उद्योगले उखु किसानलाई चैत अन्तिम सातादेखि भुक्तानी दिन थाले । किसानले धमाधम भुक्तानी पाउन थालेका छन् । तर, अहिले पनि चिनी भने बिकेको छैन ।


चिनी नबिकेको बहाना बनाएर करोडौं रुपैयाँ ४ महिनासम्म रोकेका मिलले आन्दोलनपछि अचानक कहाँबाट पैसा ल्याएर भुक्तानी दिए भन्ने प्रश्न किसानले उठाएका छन् । चिनी उद्योगले किसानलाई कहिल्यै पनि सजिलै उचित मूल्य र भुक्तानी नदिने परम्परारलाई यस वर्ष पनि जारी राखेको किसानको आरोप छ । किसान महासंघका अध्यक्ष एवं अगुवा उखु किसान राजकुमार उप्रेती चिनी नबिके पनि आन्दोलनपछि भुक्तानी दिने पैसा उद्यमीसँग अचानक आउनुले उनीहरूको नियत प्रस्ट हुने बताउँछन् ।


‘किसानलाई ४ महिनासम्म भुक्तानी नदिएका उद्योगलाई आन्दोलनले मात्र गलायो,’ उनले भने, ‘अहिले पनि चिनी बिकेको छैन । भुक्तानी दिन सक्दा रहेछन् भन्ने त देखियो । समयमा पैसा नपाउँदा किसानले सयकडा ३६ प्रतिशत ब्याजमा ऋण लिएर गुजारा चलाउनुपर्‍यो । उद्योगपतिले कच्चा पदार्थ आपूर्ति गर्ने किसानलाई सताएको मात्र देखियो ।’ एकपटक रोपेको उखु बिक्री हुन करिब एक वर्ष लाग्छ । बेचेर भुक्तानी पाउने बेलासम्म १६ महिना जान्छ । उद्योगले उखु क्रसिङ गरेकै दिन चिनी तयार गरेर बेच्न सक्छन् । किसानले वर्ष दिनसम्म लगानी गरेर तयार पारेको कच्चा पदार्थमा टिकेको उद्योगले किसानलाई सताउन अवसर भने कहिल्यै छाडेनन् । भन्सार महसुल सस्तो भएकाले विदेशी चिनीको आयात बढेर स्वदेशी बिक्री नभएको भन्दै उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने बताएका थिए । विदेशबाट आएको चिनीले भाउ घटेकाले बिक्री नभएको उद्यमीको भनाइ थियो ।


केही दिनको रिले र आमरण अनशनजस्ता आन्दोलन किसानले गर्न थालेपछि उद्यमी गले । प्रदेश सरकार र संघीय सरकार पनि किसानको आन्दोलनपछि छिटो भुक्तानी दिलाउन सक्रिय भएका थिए ।


उप्रेतीले किसान सताउन हरेक अवसरलाई चिनी उद्यमीले प्रयोग गर्दै आएको बताए । किसानलाई सताएर कमाउने दाउमा उद्यमी लाग्ने गरेको उनले आरोप लगाए ।


‘किसानको पैसा रोकेर रुवावासी मच्चाउने र त्यसको फाइदा उद्यमीले लिने गर्दै आएका छन्,’ उनले भने, ‘विदेशबाट आउने चिनीको भन्सार बढाउन पनि किसानलाई भुक्तानी नदिएर समस्यामा पारे । चिनी नबिकेको होइन । महँगोमा बेच्नका लागि उद्यमीले किसानको भुक्तानी नदिएका हुन् । किसानलाई अचानो बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने दाउमा उद्यमी लागे ।’ चिनी बिक्री नभएर हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको सबै गोदाम भरिएका छन् । भुक्तानी नदिँदाकै जस्तो अवस्थामा अहिले पनि छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले चिनी उत्पादकको सिन्डिकेटले किसानलाई समस्या पर्दै आएको बताए । किसानलाई दु:ख दिएपछि सरकारलाई बाध्य पारेर फाइदा लिन सकिन्छ भन्ने मान्यता उद्यमीमा रहेको उनले उल्लेख गरे ।


‘मूल्य र भुक्तानीको समस्या हरेक वर्ष हुने गर्छ,’ उनले भने, ‘किसानलाई देखाएर फाइदा जति उद्यमीले लिन्छन् ।’


इन्दुशंकर चिनी उद्योगका अधिकृत ठाकुर नेपालले चिनीको बिक्री अहिले पनि फाटफुट मात्र भएको बताए । उनले ऋण लिएर किसानको भुक्तानी भइरहेको उल्लेख गरे ।
गत वर्षसम्म मासिक ३० हजार मेट्रिक टन चिनी बिक्री हुने गरेकोमा विदेशी सस्तो चिनीले बजार ढाक्दा स्वदेशी उत्पादन गोदाममै थन्किएको उद्यमीको भनाइ छ ।

प्रकाशित : वैशाख १२, २०७५ १२:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT