कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रेल कूटनीति !

बेइजिङ डायरी
समग्रमा ज्ञवालीको भ्रमण रेलमय हुन गयो । रेलबाट सुरु भएर रेलमै टुंगियो ।
चेतनाथ आचार्य

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैशाख ४ देखि ८ सम्म चीन भ्रमण गरे । परराष्ट्रमन्त्री भएपछिको पहिलो विदेश भ्रमणमा उनी आफ्नो उही शालिन शैलीमा प्रस्तुत भए । भ्रमण अवधिका सबै कार्यक्रममा लिखित मन्तव्य राखेर उनले चिनियाँ नेताकै शैली अपनाए ।

रेल कूटनीति !

उनका सबै मन्तव्य चिनियाँ दस्तावेजमा संरक्षित छन् । कूटनीतिमा यस्ता दस्तावेज भविष्यका लागि महत्त्वपूर्ण मानिन्छन् । ट्र्याकमा मात्र बोल्ने मन्त्री ज्ञवालीको चीन भ्रमण मूलत: रेल वरिपरि नै घुमिरह्यो ।

चीन भ्रमणमा आएकै दिन साँझ कान्तिपुरसँगको ज्ञवालीले भनेका थिए, ‘नेपालका लागि चिनियाँ रेल यातायातको साधनमात्र होइन । यो नेपालको विकासलाई नयाँ चरणमा पुर्‍याउने एउटा असाध्य महत्त्वपूर्ण परियोजना पनि हो । यसको सम्भाव्यता अध्ययनका केही प्रारम्भिक कामहरू अगाडि बढेका छन् । अब चाँडै यस सम्बन्धी गहिरो अध्ययन सुरु हुनेछ । नेपालले यसलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउँदैछ । हाम्रो प्रयासमा चीनले पनि सहयोग गर्नेछ । चिनियाँ रेल नेपालको विकासमा गेमचेन्जर हो ।’

वैशाख ५ गते बिहान चिनियाँ उपराष्ट्रपति वाङ छिसानसँग भेटमा उनले चिनियाँ रेललाई नेपाल लाने परियोजनाको कुरा गरे । मूलत: नेपालले चीनसँगको व्यापार घाटा, नेपालमा चिनियाँ लगानी र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे वार्ता गर्दै उनले नेपाली जनता चिनियाँ रेल पर्खिएर बसेको जानकारी दिए । त्यसपछि उनले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेट गरे । दिवाभोजसँगै भएको कुराकानीमा उनले यी समकक्षीसँग एकाध घन्टा नै बिताए । वाङसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्ने क्रममा ज्ञवालीले नेपालबाट रेल चढेर चीन आउने इच्छा व्यक्त गरे ।

दुई वर्ष अगाडि चीन भ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग गरेको सम्झौतामा पहिलोपटक चिनियाँ रेललाई नेपाल पुर्‍याउने उल्लेख भएको हो । त्यसपछि नेपाली समाज चिनियाँ रेलप्रति निकै आशावादी देखिन्छ । सम्झौताको कार्यान्वयनमा त्यति धेरै उपलब्धि भइनसकेको भए पनि चीनले यो विषयमा निकै चासो राखेको छ र प्रारम्भिक अध्ययन पनि गरिसकेको छ । तत्कालीन अवस्थामा नेपालमा म्यादी सरकार र राजनीतिक मुद्दाकै प्रधानता भएकाले चिनियाँ रेलको हल्ला बढी भयो भने काम शून्य ।

सन् २००६ मा चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासामा रेल पुगेको हो । त्यो समयमा ल्हासामा महावाणिज्यदूत लीलामणि पौडेल थिए । ल्हासा पुगेको रेललाई नेपाल पुर्‍याउन सकिन्छ भन्नेमा पौडेल त्यतिबेलादेखि नै लोभिएका हुन् । उनले त्यसपछि नेपाली नेताहरूलाई चिनियाँ नेतासँग रेल र तेलको कुरा उठाउन सुझाव दिँदै आएका छन् । अहिले उनै पौडेल चीनका लागि राजदूत छन् । दुई परराष्ट्रमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ पत्रकारले रेलकै प्रसङ्ग उठाइदिइन् । चिनियाँ केन्द्रीय टेलिभिजनकी पत्रकारले चिनियाँ परराष्ट्रमन्त्री वाङलाई प्रश्न गरिन्, ‘भर्खरै नेपालका प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमणका रूपमा भारत भ्रमण गरेका छन् । उनको भ्रमणको समयमा नेपाल र भारत बीचमा कृषि, रेलमार्ग र जलमार्ग लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ । यस बारेमा चीनको के प्रतिक्रिया छ ?’

यो प्रश्नमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको जवाफले नै ज्ञवालीको चीन भ्रमणलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा ल्यायो । वाङको जवाफलाई अन्तर्राष्ट्रिय मिडियाले स्थान दिए । यो प्रश्नभित्र गतवर्ष चीन र भारतबीच देखिएको दोक्लम विवाद र बीआरआई प्रवेशमा भारतको आनाकानी जोडिएको थियो । चीनले अगाडि सारेको बीआरआईमा अहिलेसम्म भारत प्रवेश गरेको छैन । प्रश्नको उत्तर वाङ यीले तीनवटा बुँदामा दिएका थिए । पहिलो बुँदामा उनले भने ‘चीन, नेपाल र भारत स्वाभाविक रूपमा असल छिमेकी साथी र साझेदार हुन् । नेपालमा राजनीतिक संक्रमण सफलतापूर्व सम्पन्न भएकोमा नेपालका दुवै छिमेकी मुलुक चीन र भारतले स्वाभाविक रूपमा यसलाई सहयोग गर्छन् । हामी नेपालमा बृहत स्थिरता र समृद्धि होस् भन्ने चाहन्छौँ ।’

उनले दोस्रो बुँदामा भने, ‘नेपालको विकासमा सहयोग गर्न चीन र भारतको साझा समझदारी हुनैपर्छ । दुई ठूला आर्थिक मुलुक चीन र भारतले आफ्नो फाइदा छिमेकीलाई पनि बाँड्नुपर्छ । नेपालले भौगोलिक अवसरबाट आफ्नो विकासमा चीन र भारत दुवै मुलुकबाट फाइदा उठाउन सक्छ । मलाई लाग्छ, नेपालको विकासमा चीन र भारत दुवै मुलुकले सहयोग गर्नैपर्छ र न्यायोचित चाहना पनि यही हो ।’

वाङले भनेको तेस्रो बुँदा थियो, ‘चीन र नेपाल दीर्घकालीन बहुआयामिक हिमालय पार अन्तर–सञ्जालको दृष्टिकोणमा सहमत भएका छन् । चीन र नेपालले बीआरआईमा हस्ताक्षर गरिसकेका छन् । बीआरआईभित्र बन्दरगाह, रेलमार्ग, सडकमार्ग, हवाइमार्ग, ऊर्जा, विद्युत र सञ्चार सञ्जालको विकास हुनेछ । हामीलाई विश्वास छ, यस प्रकारको सञ्जाल अझ राम्ररी विकास हुन्छ, यसले चीन, नेपाल र भारत आर्थिक कोरिडरको पनि निर्माण गर्नेछ । यसले तीनवटै मुलुकको विकास र समृद्धिमा योगदान पुर्‍याउनेछ ।’

चिनियाँ परराष्ट्रमन्त्री वाङको जवाफबाट के संकेत मिल्छ भने चीनले नेपालसम्म रेलवे निर्माण अवश्य गर्नेछ । भारतले काठमाडौँसम्मै रेलमार्ग निर्माण गरे पनि चीनले कुनै डाह गर्दैन, बरु त्यसमा आफ्नो रेलमार्ग लगेर जोड्न चीनलाई कुनै हिचकिचाहट छैन । ल्हासाबाट सिगाच्छे पुगेको रेललाई केरुङ हुँदै काठमाडौँ पुर्‍याउने र त्यहाँबाट पोखरा र लुम्बिनी पुर्‍याउने प्रारम्भिक उद्देश्य चीनले राखेको छ । त्यसपछि चीनले यो रेलमार्गलाई भारतसम्म पुर्‍याउनेछ । ढिलो–चाँडो भारत पनि बीआरआईमा प्रवेश गरेपछि यो कार्यले अझ गति लिने चिनियाँ विश्वास छ । त्यसमाथि चीनले प्रस्ताव गरको चीन, नेपाल र भातर त्रिदेशीय आर्थिक कोरिडरले चिनियाँ रेलमार्गलाई नै प्राथमिकतामा राख्नेछ । मन्त्री ज्ञवालीको रेल चढेर चीन आउने इच्छालाई मन्त्री वाङले अझै सशक्त बनाइदिए ।

भ्रमणको तेस्रो दिन बिहीबार चाइना रिफम फोरमले गरेको चीन–नेपाल सम्बन्ध र बीआरआई सेमिनारमा प्रमुख अतिथि रहेका मन्त्री ज्ञवालीले नेपाल र चीनबीच सहकार्यका पाँच क्षेत्र औँल्याए । ती पाँचवटा क्षेत्रमा पनि उनले नेपाल र चीन बीचमा यातायात सञ्जालको विकासलाई पहिलो प्राथमिकतामा राखे । उनले सडकमार्ग, रेलमार्ग र हवाइमार्गमार्फत दुई देशलाई अरु घनिष्ट बनाउनुपर्ने उल्लेख गरे । सेमिनारमा उपस्थित चिनियाँ थिङ्कट्याङ्कहरूले पनि बीआरआईको फ्रेमवर्कमा रहेर नेपालमा चिनियाँ रेल पुर्‍याउनुपर्ने उल्लेख गरे ।

भ्रमणको अन्तिम दिन मन्त्री ज्ञवालीले सिचुवान विश्वविद्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै बीआरआईमार्फत नेपालले चीनसँगको समृद्ध संस्कृति र व्यापारलाई पुनर्जागर गर्ने उल्लेख गरे । चीनसँग मिलेर बृहत शान्ति समृद्धि र सद्भाव विकास गर्दा नेपालले गौरवबोध गरेको भन्दै नेपाल चीनसँग क्रस बोर्डर सडक, रेल, तेल र सूचना राजमार्गसँगै ऊर्जा, हवाई यातायात र ट्रासमिसन लाइनको विकास गर्नेमा मन्त्री ज्ञवालीले जोड दिए । ज्ञवालीको चीन भ्रमणको मुख्य उद्देश्य निर्वाचनपछिको नेपालको अवस्थाको जानकारी गराउँदै उच्चस्तरीय भ्रमण आदान–प्रदानलाई नियमित गराउनु रहेको थियो । यसका साथै नेपालको आर्थिक तथा सामाजिक विकासमा चिनियाँ सद्भाव र सहयोग प्राप्त गर्ने र चीनसँग नेपालले गरेका सम्झौता/समझदारीलाई कार्यान्वयन गर्नु भ्रमणका नियमित विषय थिए । समग्रमा ज्ञवालीको भ्रमणचाहिँ रेलमय हुनगयो । रेलबाट सुरु भएर रेलमै टुङ्गियो । उनले गरेका अनौपचारिक र औपचारिक कुराकानीदेखि लिखित मन्तव्य जहाँसुकै चिनियाँ रेललाई नेपाल भित्र्याउने कुरा प्राथमिकताका साथ समेटिए । रेलको मियोमा घुमेको परराष्ट्रमन्त्रीको भ्रमणले भविष्यमा रेल कूटनीतिको उपमा नपाउला भन्न सकिन्न ।

आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।
[email protected]

प्रकाशित : वैशाख १३, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?