कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्वास्थ्य स्वयंसेविकाको भूमिका

डा. सरिता पाण्डे

काठमाडौँ — एउटा राष्ट्रको भविष्यका लागि नागरिकहरूको स्वास्थ्य बलियो हुनुपर्छ । नागरिकमा पनि महिला र बालबालिकाको स्वास्थ्य विशेष राम्रो हुनुपर्छ । गर्भवती महिला र नवजात शिशुले समयमा चाहिएको सेवा पाएनन् भने उनीहरूको स्वास्थ्य कमजोर हुनेमात्र नभई ज्यानैसमेत जान सक्छ ।

स्वास्थ्य स्वयंसेविकाको भूमिका

गर्भवती हुँदा आमाको रगतमा फलाम तत्त्व कमी भएमा बच्चा जन्मिँदा धेरै रगत गएर आमाको ज्यानै जान सक्छ । त्यसैगरी खोपबारे सामान्य ज्ञान नहुँदा सजिलै बच्न सकिने सामान्य रोगबाटै बच्चाको ज्यान जान सक्छ ।

महिला र बालबालिकाको स्वास्थ्य सुधार भनेको समुन्नत राष्ट्रको जग हो । अध्ययनका क्रममा मैले आमा र बच्चाको स्वास्थ्य प्रबद्र्धनमा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेख्य भूमिका रहेको पाएँ । यी स्वयंसेविकाले हरेक वडालाई प्रतिनिधित्व गर्छन् । यिनीहरू आफै आमा हुन् भने र प्रायश: पढेलेखेका र आफ्नो गाउँलाई सेवा दिने भावनाले प्रेरित छन् । यी स्वयंसेविकाले सेवा दिँदा यसलाई काममात्र नबुझिकन घर, परिवार, छिमेक र समुदायप्रतिको आफ्नो कर्तव्यको रूपमा लिएको मैले पाएँ । सरकारी तलब पाउने कर्मचारीको तुलनामा यी स्वयंसेवकको भूमिका साह्रै नै उल्लेखनीय छ ।

वर्षेनि हजारौं बालबालिकाले झाडापखाला र सामान्य रूघाखोकीका कारण ज्यान गुमाइरहेका छन् । घरमै बच्चा जन्माउँदा हुने खतराका कारण धेरै आमाको समयमै उपचार नपाएरै ज्यान जाने गरेको छ । तर पहिलेको तुलनामा आमा र बच्चाको मृत्युदरमा निकै कमी आएको छ । गरिबीको बाबजुद आमा र बच्चाको स्वास्थ्यमा भएको उल्लेख्य सुधारको लागि नेपालले अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको छ । यसका लागि नेपालमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई धेरैले प्रशंसा गरेका छन् ।

यी स्वयंसेविकाको उपस्थिति गाउँघरमा जहाँ समस्या छ, त्यहीँ हुने भएकोले गाउँलेले चाहेको बेलामा सेवा लिन सक्छन् । यिनीहरूले आफ्नो सेवा तुरुन्तमात्र होइन, सेवाग्राहीको आवश्यकता अनुरूप पनि दिन सक्छन् । कतिपय अवस्थामा भाषा, संस्कृति अनुरुप पनि सेवा दिन सक्छन् । यही काम बाहिरबाट आएका स्वास्थ्यकर्मीलाई अप्ठ्यारोमात्र नभइकन असम्भव पनि हुनसक्छ । यदि गाउँलेले स्वास्थ्यको महत्त्व बुझेका छैनन् भने त्यहाँ भएको सेवा लिन आउनेको संख्या धेरै कम हुन्छ । यस अवस्थामा स्थानीय महिलाको सहभागिताको धेरै महत्त्व हुन्छ ।

यस्ता स्वयंसेविकाको काम भनेको आमा र बच्चाको स्वास्थ्य प्रबद्र्धनका निम्ति स्वास्थ्य शिक्षा दिनु हो । त्यस बाहेक महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती महिला वा भर्खर शिशु जन्माएका आमामा हुनसक्ने खतराका लक्षण पहिचान गरी उनीहरूलाई नजिकको स्वास्थ्य संस्था जान सल्लाह दिन्छन् । त्यसैगरी परिवार नियोजनका निम्ति अस्थायी साधन कन्डम र पिल्स बाँड्छन्, अनि ठाउँ हेरेर आपत्कालीन परिवार नियोजनका साधन र सुरक्षित गर्भपतन सेवाबारे जानकारी दिन्छन् । नेपाली समाजमा यी सेवाको अति नै महत्त्व छ, किनकि महिलाहरू अझ पनि यो विषयमा खुलेर कुरा गर्न रूचाउँदैनन्, अनि समाजले पनि यसलाई राम्रो दृष्टिले हेर्दैन । जबकि गर्भपतन आमाको मृत्युको एउटा प्रमुख कारण हो ।

कतिपयले अब महिला स्वास्थ्य स्वयंसेविकाको खासै महत्त्व नभएको बताउँछन् । सरसर्ती हेर्दा नेपालको स्वास्थ्य क्षेत्रमा निकै नै सुधार भएको देखिए तापनि हामीले के बुझ्न जरुरी छ भने नेपाल भनेको काठमाडौंजस्ता ठूला सहर वा सदरमुकाम मात्र होइनन्, जहाँ प्रशस्त अस्पताल र स्वास्थ्यकर्मीहरू छन् । नेपाल भनेको ताल्ती, केरौंजा लगायत दुर्गम गाउँ पनि हुन्, जहाँ मान्छेहरू सामान्य उपचार नपाएर ज्यान गुमाउँछन् र उनीहरूलाई स्वास्थ्यसेवा लिनुपर्छ भन्ने सामान्य ज्ञान पनि छैन । धेरैजसो ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्यको अवस्था अझै नाजुक छ । त्यसमा पनि आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गरेको देखिँदैन । यो समस्या विशुद्ध पिछडिएका तथा सिमान्तकृत वर्गहरूमा धेरै छ । यस्तो अवस्थामा उनीहरू मध्येकै एक महिलाले स्वास्थ्य सम्बन्धी जानकारी पाएर अन्यलाई ज्ञान दिनु भनेको एउटा महिलाको मात्र सशक्तीकरण नभएर गाउँकै स्वास्थ्यमा सुधार ल्याउनु हो ।

सकेसम्म देशका कुनाकन्दरामा दक्ष जनशक्ति पुग्नुपर्छ । तर स्रोत र साधनको अभावका साथै भौगोलिक रूपमा अति नै विकट हाम्रो देशमा तुरुन्तै सबै किसिमको विकसित स्वास्थ्यसेवा पुर्‍याउन असम्भवप्राय: छ । यस अर्थमा महिला स्वास्थ्य स्वयंसेविकाको रूपमै भए पनि एउटा नारी शिक्षित हुनु अनि उनले त्यो ज्ञान बाँड्नु भनेको महिला स्वास्थ्य तथा विकासमा ठोस कदम चाल्नु हो । तसर्थ सरकारी तथा गैरसरकारी संस्थाले स्वास्थ्य स्वयंसेविकाका लागि राम्रो तालिम र व्यवस्थापन गर्नसके आमा र बच्चाको स्वास्थ्य सुधारमात्र नभई सम्पूर्ण देशकै विकास एक कदम अगाडि बढ्नेमा कुनै सन्देह छैन ।

प्रकाशित : वैशाख १४, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?