३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कखगघङ

सिउँडी
‘सर, एकता हुँदैन भनिरहेका छन् नि ।’ एकता हुन्छ ‘एकता हुन्छ भनेपछि एकता भएन त ?’
विमल निभा

काठमाडौँ — (क)
‘स र, समृद्धि कसरी आउनेछ भनी जान्न जनतामा बहुतै खुलदुली छ ।’
‘यो त सिम्पल छ नि !’
‘कसरी सर ?’

कखगघङ

‘हामीकहाँ आधा समृद्धि आइनै सक्यो भनेर जनताले बुझे हुन्छ ।’
‘यस्तो हो र सर ?’
‘हेर, देश भनेको के हो ? लोकतन्त्रमा नेता र जनताको जोड नै त देश हो नि ! र नेताहरू त पहिले नै समृद्ध भइसकेका छैनन् र ?’
‘यो त हो सर ।’
‘अब आधा समृद्धि आइसकेपछि बाँकी कति रहन गयो ?’
‘अर्काे आधा समृद्धि सर ।’
‘त्यो आधा समृद्धि त त्यसै पनि आइहाल्छ नि, कुन ठूलो कुरा हो !’
‘सही भन्नुभयो सर ।’


(ख)
‘सर, समाजवादबारे जान्न पनि जनतामा ठूलो जिज्ञासा छ, त्यो कहिले आउनेछ ?’
‘यो पनि सिम्पल छ ।’
‘कसरी सर ?’
‘अहिले समाजवाद संविधानमा छ, त्यसलाई खुरुक्क बाहिर निकाले त समाजवाद आइहाल्नेछ नि !’
‘यसमा अलिकति संवैधानिक
अप्ठ्यारो छ भन्छन् सर ।’
‘के संवैधानिक अप्ठ्यारो ?’
‘सर, संविधानको समाजवादलाई संविधान बाहिर निकाले भने त्यो असंवैधानिक समाजवाद हुनेछ, भनिन्छ ।’
‘यस्तो हो र ?’
‘अब के गर्ने त सर ?’
‘यो पनि सिम्पल नै छ ।’
‘कसरी सिम्पल छ, सर ?’
‘हामी समाजवाद आयो
भनेर क्याबिनेटबाट पास गरिदिन्छौं ।’
‘यसले के हुन्छ, सर ?’
‘अब संवैधानिक सरकारले नै यसरी भनिदिएपछि संवैधानिक समाजवाद आएन त ?’
‘सही भन्नुभयो, सर ।’


(ग)
‘सर, हाम्रोमा रेल आउनेछ भनी कोही पनि विश्वास गरिरहेका छैनन् ।’
‘किन विश्वास गरिरहेका छैनन् ?’
‘सर, यताको छिमेकी मुलुकबाट आउने रेल उताको छिमेकी मुलुकले रोक्नेछ र उताको छिमेकी मुलुकबाट आउने रेल यताको छिमेकी मुलुकले रोक्नेछ, भन्दैछन् ।’
‘त्यसो भए, यसो गर्नु पर्नेछ ।’
‘कसो गर्नु पर्नेछ, सर ?’
‘हेर, यो धेरै नै सिम्पल छ, त्यस्तो केही गर्नु पर्दैन, अलिकति गरे पुग्छ ।’
‘के गर्नु पर्नेछ, सर ?’
‘हामी यताको रेललाई
सोझै उता लग्नेछौं र
उताको रेललाई यता,
बुझ्यौ त ?’
‘यसले हामीलाई के फाइदा हुनेछ, सर ?’
‘धेरै नै फाइदा हुनेछ ।’
‘कति धेरै फाइदा सर ?’
‘यसले के फाइदा हुनेछ भने हामी मजाले यताको रेलमा चढेर उता र उताको रेलमा चढेर यता गरिरहनेछौं ।’
‘यताउता गरिरहनेछौं, सर ?’
‘हो, यताउता गरिरहनेछौं ।’
‘सही भन्नुभयो, सर ।’


(घ)
‘सर, एकता हुँदैन भनेर भनिरहेका छन् नि ।’
‘कसले भनिरहेका छन् ?’
‘सबैले भनिरहेका छन्, सर ।’
‘एकता हुन्छ ।’
‘कसरी एकता हुन्छ, सर ?’
‘एकता हुन्छ भनेपछि एकता भएन त ?’
‘सर, मैले बुझिन ।’
‘हेर, सिम्पल कुरो छ नि,
हामीले बरोबर एकता हुन्छ भनेर भनिरहेका छौं, के एकता हँुदैन
भनी भन्यौ त ?’
‘हो सर, यही कुरो हो ।’
‘जब एकता हुँदैन भनेर भनिरहेका छैनौं भने यसको एउटै अर्थ हुन्छ ।’
‘के अर्थ हुन्छ, सर ?’
‘एकता हुन्छ ।’
‘हो सर, एकता हुन्छ ।’
‘यति सिम्पल कुरो पनि
किन बुझ्न नसकेको
हो बा !’
‘सही भन्नुभयो, सर ।’


(ङ)
‘सर, हाम्रो कुरालाई लिएर ख्यालठट्टा गरिँदैछ ।’
‘को ख्यालठट्टा गर्दैछ ?’
‘सबै गर्दैछन्, सर ।’
‘यो गलत काम
भइरहेको छ ।’
‘अब के गर्ने त सर ?’
‘यो पनि सिम्पल नै छ ।’
‘सर, मैले बुझ्न सकिन ।’
‘हेर, ख्यालठट्टा, चुटकुला र उखान–टुक्कालाई अब त्यसै
छाडिने छैन ।’
‘के गरिनेछ, सर ?’
‘अबदेखि ख्यालठट्टाहरूलाई केन्द्रमा राखिनेछ, डाइरेक्ट प्रधान कार्यालयमा ।’
‘यसले के हुनेछ, सर ?’
‘यति सिम्पल कुरो पनि बुझेनौ ?’
‘अहँ, बुझिन सर ।’
‘हेर, ख्यालठट्टाहरूलाई सोझै मास्तिर केन्द्रमा राखिदिएपछि तल्तिरका अरूहरूले ख्यालठट्टा
गर्नै पाउने छैनन्, कुरो सिम्पल
छैन त ?’
‘सही भन्नुभयो, सर ।’

प्रकाशित : वैशाख १५, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?