१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जिन्दगी जस्तै रंगमञ्च

‘सखी’, ‘क्लब सेभेन’ र ‘परिबन्द’ तीनवटै नाटक हाम्रो समाज, बजार र राजनीतिले फरक–फरक समयमा हामीमाथि थोपरेको क्रूर चलखेलका कथाहरू हुन् ।
फूलमान वल

काठमाडौँ — ‘अहो, यो त चेपुवामा पर्नेहरूको कथा रहेछ गाँठे’, हालैको साँझ शिल्पी थिएटरबाट निस्किँदै गर्दा डा. अभि सुवेदी भावुक बने, ‘हाम्रै जिन्दगीका कथा ।’ प्राज्ञ रमेश रञ्जन झाको नाटक ‘सखी’ले सुवेदीलाई आहात पारेको थियो सायद । निकट अतीतमा हामीले नै खेपिआएको द्वन्द्वग्रस्त जीवन र समयको मर्मस्पर्शी कथा थियो– मैथिली भाषाको नाटक ‘सखी’मा । यस्तोमा सुवेदीले द्वन्द्वकाल नसम्झिने कुरै भएन । मैले चाहिँ त्यही द्वन्द्वकालमै सुवेदीले लेखेको नाटक ‘अग्निको कथा’ सम्झेंँ । ज्ञान र जीवनका फराकिलो आयाम खोज्न गुम्बा छोडेर निस्किँदै गरेको भिक्षु ज्ञानलाई चिच्याएर बोलाउँदै नाटकमा भिक्षुणी पूर्णिमा भन्छिन्, ‘ज्ञान, फर्क । बाहिर कतै ठाउँ छैन ।’

जिन्दगी जस्तै रंगमञ्च

बाहिर त त्यो समय, बम–बारुद्धकै राज थियो । सर्वत्र सन्त्रासको आगो थियो । राज्य र विद्रोही दुबै पक्षको चेपुवामा थिए, नागरिक । उकालो चढ्नेलाई मोही र ओरालो झर्नेलाई पानी पिलाउँदा पनि घुन पिसिएसरी पीडाको घट्टमा पिसिनुपथ्र्यो, सर्वसाधारण । समय फेरियो, व्यवस्था फेरियो, तैपनि तिनताकको गहिरो पीडाका पत्रहरू अझै उक्किनसकेको छैन, मनमस्तिष्कहरूबाट । घिमिरे युवराजले निर्देशन गरेको नाटक ‘सखी’भित्र त्यस्तै पीडाका पत्रैपत्र थिए ।


चिनियाँ फिल्मकर्मी चाङ यिमुको एउटा फिल्म छ– ‘कमिङ होम’ । अहिलेको समृद्ध चिनियाँ समाज उतिबेलाको सांस्कृतिक क्रान्तिले दिएर गएको पीडाको बेहोसीबाट अझैं ब्यँुझिनसकेको छैन भन्ने सन्दर्भलाई विम्बात्मक रूपमा देखाइएको यो फिल्म हाम्रो सन्दर्भमा पनि उत्तिकै अर्थपूर्ण हुनसक्छ । नाटक ‘सखी’ हाम्रोजस्तो द्वन्द्वोत्तर कालखण्डबाट गुज्रिरहेको समाजका लागि ‘कमिङ होम’ सरहकै अर्थपूर्ण सिर्जना हो । नाटकमा मानिस–मानिसबीच काटमार भइरहेको बेला सानैदेखि सँगसँगै खेल्दै हुर्केको पाठीसँग एउटी किशोरीले गरेको प्रेमको ‘विरोधाभास’ हामीले भोगिरहेको समयप्रतिको क्रूर ठ्ट्टा हो । समाज व्यवस्था र राजनीतिक रंगमञ्चका दृश्यहरू पनि त्यस्तै छन्– समृद्धिका लागि बुद्ध र अंगुलीमाल एउटै बाटोमा हिँड्नु परिरहेको जस्तै विरोधाभास !


यस्तै अर्को विरोधाभास भेटिन्छ, मण्डला थिएटरमा । खुला र उदार बजार व्यवस्थाले हामीलाई कस्तो जटिल, विकृत र विरोधाभासपूर्ण जीवन जिउन बाध्य बनाउँदै लगेको छ भन्ने अब्बल पाठ सिकाउँछ, नाटक ‘क्लब सेभेन’ले । उस्ताउस्तै कामका कारण फिल्मी दुनियाँमा ‘नयाँ राजेश हमाल’को आरोप खेपिरहेका दयाहाङ राई र उनका सखी राजन खतिवडाले निर्देशन गरेको यो नाटक समाजको आधारभूत समस्या समाधान गर्न असफल बन्दै गइरहेको नवउदारवाद माथिको व्यंग्य हो, जुन हाम्रो दैनन्दिन जीवनशैलीसँग जोडिएर आइरहेकै छ ।


भित्र जेसुकै भए पनि बाहिर हैसियतदार देखिनुपरेको छ, हामीलाई, मानौं चमक–धमक गरिएन भने जिन्दगीको अर्थै छैन । सिंगो सामाजिक मनोविज्ञानलाई बजारले त्यसरी नै तय गरिदिएको छ र मानिसहरू हैसियत देखाउनकै लागि जिउँछन्, मर्छन् । यस्तो हैसियत देखाउने क्रममा बैंक एकाउन्ट रित्तिए पनि केही छैन, चेक वाउन्स भए पनि केही छैन । उधारो भए पनि, ऋण काढेर भए पनि हैसियत देखाउनैपर्छ । बिहे होस् या बर्थ डे, घरमा पार्टी गर्दा हैसियत थाहा हुन्छ भनी पार्टी प्यालेसमा आडम्बर देखाउनेहरू हामी नै हौं । यस्तो आडम्बरी संस्कृतिले कतिसम्म हानेको छ भने नाटकको एउटा पात्रले बिहे गरेपछि घरपूजा पार्टी प्यालेसमै गर्छ । घर नबनी बिहे नहुने । बनाउन सक्ने हैसियत उनको हैन । यस्तोमा उनले पार्टी प्यालेसबाटै नक्कली घरको पूजा गर्छन् ।


आजको बजारिया संस्कृतिले हामीलाई आडम्बर र होडबाजीको यस्तो विन्दुमा ल्याई पुर्‍याइदिएको छ कि यस्तो दौडमा आफन्ती र सम्बन्धहरूलाई बिर्सन हामी अभिशप्त छौं । समय दिनुपरेकाहरूलाई दिनसक्ने अवस्थामा छैनौं । सम्बन्धहरूमा दरार पैदा हुँदै गएको छ । मानवीयता विलाउँदै गइरहेको छ । अब मान्छेभन्दा कुकुरसँग मान्छेको मानवीयता गाढा हुने समय आयो । मान्छेलाई टुक्राएर, एक्ल्याएर व्यक्तिवाद प्रबद्र्धन गर्ने अहिलेको बजारमाथि ‘पार्टी प्यालेसमा कुकुरको बर्थ डे मनाउने’ नाटकको दृश्यले ठूलो व्यंग्य गर्छ ।


सोमनाथ खनाल र सिजन दाहालले लेखेको ‘क्लब सेभेन’ सिंगो उपभोक्तावादी समाजमाथिको व्यंग्य हो । जग्गा दलाल, फिल्मकर्मी, कवि, अधिकारवादी, व्यवसायी सबैमाथिको व्यंग्य छ, यसमा । ब्याङक्वेटको बारछेउ वाइनको ग्लाससहित मादक म्युजिकमा कुम हल्लाउँदै ग्रामीण महिलाहरूको अधिकारमाथि बहस गर्ने सहरिया मध्यम र उच्च वर्गीय मनोविज्ञान आफैमा व्यंग्य लाग्छ ।


ब्रान्डिङ र मोडल तयार पारेर वस्तुलाई बढी बिकाउ बनाउनु बजारको विशेषता नै हो । स्रष्टा, साहित्य, सम्मान र पुरस्कार जस्ता क्षेत्रमा समेत हुने गरेका यस्तो प्रयोग र प्रभाव हामीले हेर्दै, भोग्दै आएकै छौं । नाटक ‘क्लब सेभेन’ले त्यस्तो गर्नेहरूको भित्री मनोवृत्तिलाई भने छताछुल्ल पारिदिएको छ । वर्षौंदेखि गुप्तवास जस्तै बसिरहेका एक साहित्यकारलाई ७ लाख रुपैयाँ (त्यही पनि बाउन्स हुनसक्ने चेक) को पुरस्कार दिएर फ्यानहरूबाट शरीरमा हस्ताक्षर गराउने बहानासाथ स्टेजमै नाङ्गो बनाएको दृश्य तिनले हेरुन् र महसुस गरुन्– अहिले यतिमात्रै भन्न सकिन्छ ।


‘क्लब सेभेन’ नामको एउटा ब्याङक्वेट छ, नाटकमा । लाग्छ– यो आफैमा खोक्रो बन्दै गइरहेको विश्व पुँजीवादको प्रतीक हो । यससित जोडिएका हर पात्र असफल छन्, खोक्रो छन्, आडम्बरी छन् । बाहिर जे देखिन्छन्, असलमा तिनीहरू त्यो हैनन् । सायद यही कारण ट्रम्प, सी चिनफिङ, मोदी र ओलीजस्ता राष्ट्रवादी रंगका चरित्रहरूको उदय भएको हुनसक्छ, राजनीतिक रंगमञ्चमा । यसको लेखाजोखा समयले पछि गर्ला । अहिलेलाई सर्वनाम थिएटरतिर लागौं । यहाँ मञ्चनरत ‘परिबन्द’मा अहिले हामीले बाँचिरहेको समयको झनै भिन्न कथा पाइन्छ ।


वैदेशिक रोजगारीका कारण हाम्रो सामाजिक मनोविज्ञानदेखि वैयक्तिक सम्बन्धसम्ममा आइरहेको बदलावका केही पाटा नाटकले उठाएको छ । पहिले–पहिले खुसी पैसामा हैन, सम्बन्धमा हुन्थ्यो, त्यही भएर खुसी खोज्दै मानिसहरू चाडपर्वमा घर आउँथे, रमाउँथे । आजको खुसी सम्बन्धले हैन, पैसाले निर्धारण गर्छ, त्यसैले मानिसहरू बिहे गरेको भोलिपल्टै खुसी खोज्दै अरब पलायन हुन्छन् । विछोडिनुपर्दाको पीडामा पनि खुसी मिल्छ, अचेल । नाटक भने यसपछिको अवस्था, पुरुष नियत र त्यसको खाडलमा पर्नुपर्ने पीडित नारी चरित्र र मनोविज्ञानतिर सोझिन्छ । कसैकी पत्नी मनपराएर पतिलाई विदेश पठाउने मात्रै हैन, छोरीलाई मनपराउने केटा छुटाउन विदेश पठाउने जस्ता खेलहरू पनि नाटकमा छन् । यी हाम्रै जीवन र समाजका चलखेलहरू हुन् । ‘सखी’, ‘क्लब सेभेन’ र ‘परिबन्द’ तीनवटै नाटक हाम्रो समाज, बजार र राजनीतिले फरक–फरक समयमा हामीमाथि थोपरेको क्रूर चलखेलका कथाहरू हुन् ।

प्रकाशित : वैशाख १५, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?