प्रतिभाशाली पराग

साताका व्यक्ति
प्रतिष्ठित पुरस्कार ‘जन बेट्स क्लार्क मेडल, २०१८’ द्वारा सम्मानित पराग पाठकले अर्थशास्त्रभित्र पनि गणित र तथ्यांकलाई सामाजिक अध्ययन र सार्वजनिक नीतिसँग जोडेर अनुसन्धान गर्दै आएका छन् ।
मैना धिताल

काठमाडौँ — न्युयोर्क सिटीबाट लगभग ५ घन्टाको ड्राइभिङपछि पुगिने एउटा ऐतिहासिक तर सानो ठाउँ छ– कोर्निङ । सोही ठाउँमा ३७ वर्षअघि नेपाली जोडीको तेस्रो सन्तानको रूपमा एउटा बालक जन्मियो । ऊ सानैदेखि ‘जिनियस’ थियो । गणितमा विशेष लगाव थियो । आमा र दिदीहरूसँग पुस्तकालय जान मनपराउँथ्यो । स्कुल छँदा शिक्षकले उनलाई पराग भन्न नजानेर ‘फरग’ भन्थे । उनी भने मेरो नाम ‘फरग’ हैन भन्दै सच्याउँथे । नाम शुद्धसँग उच्चारण नगरेसम्म अड्डी कस्ने उनको बानीले शिक्षिकालाई कायल बनाउँथ्यो । तैपनि उनलाई माया गर्थे । शिक्षकका ती प्रिय ‘फरग’ले सानैदेखि आफूलाई ‘फरक’ रूपमा उभ्याए । र त्यही उभ्याइले उनलाई परिचय दिलायो– स्टार अर्थशास्त्री पराग पाठकको रूपमा ।

प्रतिभाशाली पराग

म्यासाचुसेट्स इन्ष्टिच्युट अफ टेक्नलजीका प्रोफेसर उनले हालै पाएको प्रतिष्ठित पुरस्कार ‘जन बेट्स क्लार्क मेडल, २०१८’ ले यतिबेला संसारभरिका नेपालीभाषी र नेपाली माटोसँग साइनो गाँसिएकाहरूलाई विशेष गौरवान्वित बनाइरहेको छ । अमेरिकन एक्नमिक असोसिएसनले आर्थिक विचार र ज्ञान निर्माणमा योगदान पुर्‍याउने ४० वर्ष मुनिका अर्थशास्त्रीलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्छ । अनुसन्धानको माध्यमबाट बजार डिजाइन र शिक्षा नीति सम्बन्धी क्षेत्रमा योगदान गरेबापत उनले यो पुरस्कार पाएका हुन् ।


यो खुसी साट्न कहिल्यै नभेटेका र चिनजान नभएका नेपालीहरूले समेत उनलाई फोन र अन्य माध्यमबाट बधाई दिइरहेका छन् । अर्थशास्त्रमा नेपाली–अमेरिकनले पाएको सम्भवत: अहिलेसम्मकै उच्च सम्मान जो थियो । ‘यति धेरै शुभचिन्तक नेपालीहरू छन् भन्ने जान्न पाएकोमा निकै खुसी लागेको छ,’ उनले भने, ‘यो अवार्डले नेपालमा पनि सकारात्मक सन्देश गएकोमा म गौरवान्वित छु ।’ ‘मिनी नोबल प्राइज’ भनेर चिनिने यो अवार्डसँगै उनले नोबल पुरस्कार पाउने ढोका खोलेको छ । विगतमा क्लार्क मेडल पाउने अधिकांश अर्थशास्त्रीहरू नोबल पुरस्कारबाट सम्मानित भइसकेका छन् । यसलाई पुरस्कार दिने संस्थाले पनि उल्लेख गरेको छ– परागका दुवैजना मेन्टर एल्भिन रथ र जिन टाइरोलले क्रमश: सन् २०१२ र २०१४ मा नोबल पुरस्कार पाइसकेका छन् ।


चिकित्सक बाबु डा. कमल पाठक र क्युलनरी आर्ट तथा होमसाइन्स विज्ञ (टेस्ट अफ नेपाल पुस्तकका लेखकसमेत) ज्योति पाण्डेय–पाठकका कान्छा सन्तान हुन् उनी । पाठक परिवार सन् सत्तरीको दशकमा अमेरिका आएको हो । उनले कोर्निङबाट हाइस्कुल सके । कलेज पढ्नलाई सबै नाम चलेका आइभिलिग युनिभर्सिटीहरूले उनलाई सजिलै भर्ना दिए । ती मध्येको उत्कृष्ट हावर्ड युनिभर्सिटी रोजाइमा पर्‍यो । हार्वडबाटै उनले स्नातकदेखि पीएचडीसम्म गरे । उनी स्नातकमा अप्लाइड म्याथमेटिक्समा हार्वड ‘सुमा कुम लाउडे’ (सर्वोत्कृष्ट डिस्टिङ्सन) पनि हुन् । उनको हार्वड यात्रासँग जोडिएको एउटा संयोग छ । पराग हजुरआमाका लाड्ला थिए । हार्वड युनिभर्सिटीबारे खास जानकार नभए पनि नाम सुनेका भरमा हजुरआमा पुलपुल्याउँदै भन्थिन्, ‘मेरो नाति ‘हार्वड’ पढ्न जान्छ, ठूलो मान्छे बन्छ ।’ हजुरआमाको त्यो बोली पूरा भयो । देख्न नपाए पनि । पराग विश्वकै नामी विश्वविद्यालय हार्वडका उत्कृष्ट उत्पादन भएर निस्के ।


परागले सन् २००७ मा बिजनेस एक्नमिक्समा पीचएडी गरे, जतिबेला उनी २७ वर्षका मात्रै थिए । सन् २००८ देखि एमआईटी प्रवेश गरेका उनी दुई वर्षभित्रै स्थायी (टेन्युर फ्याकल्टी) भए । दुई वर्षभित्रै ‘टेन्युर फ्याकल्टी’ पाउँदा उनीभन्दा धेरै अगाडिदेखि काम गरेका तर स्थायी हुन नसकेका प्रोफेसरहरूलाई पाच्य थिएन । समयमै उनको प्रतिभालाई चिनिसकेको एमआईटीको एक्नमिक डिपार्टमेन्टले उनलाई फुत्काउन चाहँदैन्थ्यो, आईभी लिग लगायत टप युनिभर्सिटीहरूको रोजाइमा जो परिसकेका थिए ।


उनको घर र मावली दुवैतिर उच्च शिक्षित पारिवारिक पृष्ठभूमि थियो । अभिभावकले उचित संस्कार सिकाए । पढ्नलाई उक्साए । ‘हामी यहाँ आप्रवासी हौं र यदि जीवनमा राम्रो गर्न चाहन्छौं भने अहिलेदेखि मिहेनत गरेर पढ्नुपर्छ भनेर बुझायौंैं,’ आमा ज्योति भन्छिन्, ‘उनीहरूले त्यसलाई सही रूपमा समाते । कोर्निङ सानो ठाउँ भएकाले पनि ठूलो सहरमा झंै डिस्ट्रयाक्सन भएन ।’ सपिङ मलतिर जाँदा उनलाई कपडा, खेलौना लगायतका चिजमा भन्दा किताबतिरै ध्यान जान्थ्यो । ‘हामी किनमेलमा व्यस्त हँुदा पराग सुटुक्क बुकस्टोर छिथ्र्यो र किताब किनेर पढिरहेको हुन्थ्यो,’ उनले सम्झिइन्, ‘पढुन्जेल ए र ए प्लस बाहेक कहिल्यै कम ल्याएन ।’ आमा र दिदीहरू उनलाई लिएर नियमित रूपमा पुस्तकालय जान्थिन् । परिवारको कान्छा उनले दिदीहरू (सपना र रचना) को गतिविधि हेरेर पनि धेरै सिक्ने अवसर पाएको ज्योतिको अनुभव छ । सपना चिकित्सक हुन्, जो नेपालका ग्रामीण विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य, पोषण र शिक्षा सम्बन्धी परियोजनामा पनि सम्बद्ध छिन् । रचना न्युयोर्क सिटीमा वकिलका रूपमा कार्यरत छिन् ।


परागले अर्थशास्त्रभित्र पनि गणित र तथ्यांकलाई सामाजिक अध्ययन र सार्वजनिक नीतिसँग जोडेर अनुसन्धान गर्दै आएका छन् । उनका तीन दर्जनभन्दा बढी अनुसन्धान तथा शोधमूलक लेखहरू क्वाटर्ली जर्नल अफ एक्नमिक्स, जर्नल अफ फाइनन्सल एक्नमिक्स, अमेरिकन इक्नमिक रिभ्यु लगायत उत्कृष्ट जर्नलहरूमा छापिएका छन् । यस्तै कार्यपत्र र आउने क्रममा रहेका शोधपत्रहरू झन्डै डेढ दर्जन छन् ।


उनको हाइस्कुल शिक्षा सुधार सम्बन्धी अनुसन्धानहरूले विद्यालयको सही छनोटले विद्यार्थीको कार्यसम्पादनमा सुधार ल्याउन सकिने सुझाव दिन्छन् । सोही सुझावका आधारमा ‘बस्टन स्कुल कमिटी’ले विद्यार्थी भर्ना सम्बन्धी नयाँ संयन्त्र अपनाएको छ । अर्थशास्त्रको जटिल ‘गेम थिअरी’मा आधारित यो प्रणालीले विद्यार्थीहरूलाई आफ्नै मूल्याङ्कन अनुसार कुन विद्यालयमा पढ्न ठिक भन्ने विषयमा सिधा निर्णय लिन मद्दत गर्छ । परागले सिकागो, डेनवर, न्युवर्क, न्युओर्लिन्ज, न्युयोर्क र वासिङ्गटन डिसीमा विद्यालय छनोट प्रणाली सम्बन्धी डिजाइनमा पनि मद्दत गरेका छन् ।


‘पराग पाठकको अनुसन्धानले सार्वजनिक विद्यालयका विद्यार्थीको भर्नामा महत्त्वपूर्ण सुधार ल्याएको छ’, उनलाई अवार्ड प्रदान गर्नुको कारणबारे खुलाउँदै असोसिएसनले विज्ञप्तिमा भनेको छ, ‘उनले माध्यमिक तहको शिक्षा सुधारका लागि डिजाइन गरिएका विभिन्न नीतिहरूको विश्वासिलो ढंगले विश्लेषण गरेका छन् ।’ उनका नीतिगत सुझावले सार्वजनिक विद्यालयका १० लाखभन्दा बढी विद्यार्थीको जीवनमा परिवर्तन ल्याइसकेको पनि असोसिएसनले जनाएको छ ।


हाल आफूले गरेका शिक्षालाई केन्द्रित गरी भएका आर्थिक अनुसन्धान प्रत्यक्ष रूपमा नेपालको शिक्षा क्षेत्रलाई प्रभाव पार्ने खालको नभए पनि भविष्यमा आफ्ना अनुसन्धान योजना नेपाल लगायतका अन्य मुलुकलाई पनि प्रभाव पार्ने उनको भनाइ छ । किनकि उनी अल्प र मध्यकालमा यही मुद्दामा रहेर अनुसन्धानलाई निरन्तरता दिन चाहन्छन् । नेपाल जस्ता अति कम विकसित मुलुकहरूले आफ्नो कमजोर आर्थिक अवस्थामा कसरी सुधार ल्याउन सक्छन् भन्ने प्रश्नमा यी प्रोफेसर आफ्नो अर्थशास्त्रीय दृष्टिकोण दिन्छन्, ‘अर्थशास्त्रमा शिक्षाको महत्त्व सम्बन्धी थुप्रै प्रमाणहरू हामीसँग उपलब्ध छन् । आर्थिक वृद्धिका लागि मानव पुँजी ठूलो कुरा हो । त्यसैले नेपालजस्तो मुलुकको आर्थिक विकासका लागि शिक्षाको प्रबद्र्धन र पहुँच विस्तार महत्त्वपूर्ण हुन्छ ।’


हजुरआमा भइन्जेल उनले नेपाली पनि फरर्र बोल्थे । हजुरआमा बितेपछि नेपाली बोल्न पातलिँदै गयो । अझै आधारभूत नेपाली बोल्न सक्छन् । उनले पाटनकी रूमा राजभण्डारीसँग बिहे गरे, जो पेसाले चिकित्सक हुन् । उनी म्यासाचुसेट्स जेनरल अस्पतालमा काम गर्छिन् । उनीहरूका अभिषेक र पृथ्वी नामका दुई छोरा छन् ।


सानोमा नेपाल आउँदा उनीसँग जोडिएका केही रमाइला घटना छन् । काठमाडौं गएका बेला बार्गेनिङ गर्न रमाइलो लाग्थ्यो उनलाई । फिक्स मूल्यमा सामान खरिद गर्ने अमेरिकी संस्कृतिमा हुर्केका उनलाई कसैले सुनाइदिएको थियो– नेपालमा हरेक चिज किन्दा बार्गेनिङ गर्नुपर्छ । सामान्यत: बार्गेनिङ नहुने औषधीको मूल्यसमेत उनले घटाएरै छाडेछन्, त्यो पनि १० वर्षको उमेरमा । ‘मामाघरको हजुरआमाले घर नजिकैको मेडिकल हलमा प्रेस्क्रिप्सनको औषधी किन्न पठाउँदा बार्गेनिङ गरेर घटाएछ’, आमा ज्योति सम्झन्छिन्, ‘औषधी पसले चिनेका मान्छे थिए । उनले नै पछि हाँस्दै सुनाएपछि पो थाहा पायौं ।’ उनको अर्थशास्त्रीय चेत त्यतिबेलादेखि नै उम्रिसकेको थियो । सोही बेलातिर पैसा फोहोर भयो भनेर धोएको अर्को किस्सा पनि आमा ज्योतिले सुनाइन् । ‘उसलाई पकेट खर्चका लागि भनेर पैसा दिने गथ्र्यांै,’ उनले थपिन्, ‘एक दिन त फोहोर भयो भनेर सबै नोटहरू साबुन–पानीले धोएर कोठामा सुकाउँदै रहेछ ।’ त्यो बेलाका उट्पट्याङ पराग अहिले विलकुलै फरक छन् । सादा, शालिन र सहयोगी पाराका ।


करिअरको छोटो समयमै परागले दर्जनभन्दा बढी महत्त्वपूर्ण सम्मान तथा पुरस्कार पाइसकेका छन् । सन् २०१६ मा उनले सोसल च्वाइस एन्ड वेलफेयर प्राइज पाए । सोही वर्ष इक्नमेट्रिक सोसाइटीको फेलोको रूपमा पनि छानिए । यस्तै सन् २०१४ मा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को ४५ वर्ष मुनिका विश्वका उत्कृष्ट २५ अर्थशास्त्रीको सूचीमा उनलाई पनि छानेको थियो । मार्केट डिजाइन र शिक्षा सम्बन्धी योगदानको कदर गर्दै ह्वाइट हाउस अफिस अफ साइन्स एन्ड टेक्नलजी पलिसीले सन् २०१२ मा उनलाई प्रेजिडेन्सल अर्ली करिअर फर साइन्टिस्ट्स एन्ड इन्जिनियर सम्मान प्रदान गरेको थियो ।

प्रकाशित : वैशाख १५, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?