कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विद्वानहरूले बिराएको बाटो

अहिलेसम्म नेताजीहरूलाई गाली गर्‍यौं, तर विद्वान्हरूले के गरे, त्यो पनि बुझ्नु जरुरी छ ।
आज आएर विद्यावारिधि र प्राध्यापक पद सामाजिक पुँजीका लागि मात्र आर्जन गर्ने परम्परामा सीमित हुन पुगेको छ ।
हामी पहिले नै पक्षपाती भएर अनुसन्धानका लागि चाहिने प्रश्नको निर्माण गर्छाैं । यसले गर्दा राज्य हाम्रो र राष्ट्र अरूको हुँदै छ ।
चन्द्रदेव भट्ट

काठमाडौँ — हाम्रो समाज दिन–प्रतिदिन झन्–झन् जटिलतातिर उन्मुख भइरहेको छ र सामाजिक मुद्दाहरू पनि विवादास्पद बनिरहेका छन् । कता–कता विभाजनको दिशातिर गइरहेको अनुभूति गर्न सकिन्छ । विभाजनका विभिन्न आधारहरू देख्न सकिन्छ, जस्तै– भाषा, धर्म, संस्कृति, परम्परा, भौगोलिकता, क्षेत्र र राजनीतिक विचारधारा । त्यसैगरी अहिले निर्माण भएको अर्थ–राजनीतिले पनि फरक समस्या उब्जाएको छ । किनकि यसले समाज र परिवार दुवैलाई विभाजित गर्दैछ । यी सबैको प्रतिविम्ब नेपाली राज्य, राजनीति तथा अन्य क्षेत्रहरूमा प्रस्ट देख्न सकिन्छ ।

विद्वानहरूले बिराएको बाटो

प्रजातान्त्रिक राजनीतिलाई सही ठाउँमा ल्याउनका लागि केही वर्षयता हामीलाई निकै धौधौ परिरहेको छ । सिद्धान्तत: यस्तो हुनु नपर्ने हो, किनभने राजनीतिशास्त्रको मान्यता अनुसार जति–जति शिक्षाको स्तर बढ्दै जान्छ, त्यति–त्यति समाज स्थायित्वतिर जान्छ र प्रजातन्त्र बलियो हुन्छ । तर हामी यसको ठिक उल्टो दिशातिर लम्किँदै गएका छौं ।


हुन त यो हाम्रोमात्रै समस्या होइन । अहिले विश्वभरि नै एक किसिमको उथलपुथलकारी परिस्थिति सिर्जना भएको छ । यसले गर्दा नयाँ किसिमको सङ्क्रमणमा विश्व रुमल्लिएको छ । आखिर किन यस्तो भयो त ? अहिलेको हाम्रो पुस्ता सबैभन्दा बढी सुख–सुविधाको उपभोग गर्छ । विकास र सञ्चारदेखि रहन–सहनका हरेक क्षेत्रमा हामीले निकै फड्को मारेका छौं । जीवन जिउने र प्रेम गर्ने तरिकाहरू पनि फेरिएका छन् । तर समाजमा शान्ति र अमनचैन भने हराइरहेको छ । एउटा असमाञ्जस्यपूर्ण परिस्थितिको निर्माण भएको छ । राजनीतिक मात्र होइन, विभिन्न किसिमका सामाजिक आन्दोलनहरूले पनि निकै ठूलो प्रश्रय पाएका छन् । यी सामाजिक आन्दोलनहरूका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । तर यिनले हाम्रा मूल्य, मान्यता, जीवनशैली र सभ्यतामा पनि ठूलो प्रभाव जमाउँदै आएका छन् । हामी यस्तो अवस्थामा कसरी पुग्यौं, त्यो कुरा जान्न जरुरी छ ।

‘आधुनिक विद्वान्’ हरूको अपव्याख्या
विशेषगरी अहिलेको परिस्थिति निर्माण हुनु पछाडिका अनेक कारणहरू मध्येको प्रमुख कारण विगत ६०–७० वर्षयता ‘आधुनिक विद्वान्हरू’ (देशी र विदेशी) ले हाम्रो समाजलाई व्याख्या गर्ने परम्परासँग पनि सम्बन्धित छ । यसलाई पनि फर्केर हेर्नुपर्ने अवस्था आएको छ । समाज अध्ययनको नेपालको यात्रा अर्थात् नेपाल सम्बन्धी देशी–विदेशीहरूले गरेका विभिन्न अध्ययनहरूलाई नियाल्नु जरुरी भएको छ । तर यो आलेखमा यी सबै विषय समेट्न सम्भव छैन । तैपनि सामाजिक विज्ञानले उत्पादन गरेको ज्ञान र त्यसले नेपाली समाज र राजनीतिमा पर्नगएको प्रभावको विषय उठान गर्ने कोसिस यहाँ गरिनेछ । यस परिप्रेक्ष्यमा आलेखको मुख्य तर्क के हो भने धेरै हदसम्म हाम्रो समाजको अपव्याख्या गरिएको छ र यसलाई पुनर्विचार गर्नु जरुरी छ । जसलाई जे मन लाग्यो, त्यसै अनुसार समाजको व्याख्या गर्ने परिपाटीले हाम्रो राजनीति, समाज र राष्ट्रप्रतिको भावना कमजोर हुँदैछ ।


यसो भनिरहँदा हाम्रा ज्ञान उत्पादन गर्ने संस्था र व्यक्तिहरूको समाजप्रतिको भूमिका के रह्यो, त्यतातिर पनि ध्यान दिनु जरुरी छ । अहिलेका सामाजिक वैज्ञानिकहरूले हाम्रो समाज समस्याग्रस्त मात्र देख्छन् र त्यही नै सत्य हो भनेर इतिहासको (कथन) निर्माण गर्ने गरेका छन् । उदाहरणका लागि माथि भनेजस्तै नेपाल सम्बन्धी विगत ३ सय वर्षमा लेखिएका पुस्तक र प्राज्ञिक लेख–रचनाहरूमा कुनै पनि ठाउँमा नेपाल, नेपाली समाज, नेपाली संस्कृति र परम्पराको प्रशंसा गरेको पाइँदैन । अहिले यो समस्या झन् विकराल भएर जाँदैछ । यसको पछिल्लो ज्वलन्त उदाहरण हो– युरोपियन युनियनको निर्वाचन सम्बन्धी प्रतिवेदन र विश्व बैंकले हालै प्रकाशित गरेको नेपालको विकास रणनीति । युरोपियन युनियन र विश्व बैंक दुवैले नेपाली सामाजको संरचनालाई दोषी देख्छ । हामीले कहिलेसम्म यो समस्या झेल्नुपर्ने हो ? त्यसै भन्न सक्ने अवस्था छैन । अर्को वर्गले यसलाई फेरि फरक हिसाबले व्याख्या गर्छ । जहाँसम्म नेपालका परम्परावादी सामाजिक वैज्ञानिकहरू (एन्टोनियो ग्राम्सीको भाषामा) : प्राध्यापक आदि–इत्यादिहरूले यस्ता तर्कहरूको कतै कहीँ खण्डन गरेको पाइँदैन । यसको ठिक विपरीत यिनीहरूले यी तर्कहरूलाई सदर (इन्डोर्स) गरेको मात्र पाइन्छ । हाम्रा विश्वविद्यालयका प्राध्यापकहरूले न ज्ञान उत्पादन गर्ने आवश्यकता देख्छन्, नत फरक विचार राख्छन् । जब विश्वविद्यालयहरू, महाविद्यालयहरू र त्यहाँ अध्यापन गर्नेहरूले ज्ञान उत्पादन गर्दैनन्, निश्चय नै त्यो ठाउँ अरूहरूले लिन्छन् र आफू सुहाउँदो हिसाबले काम गर्छन् । नेपाल जस्तै ‘तेस्रो विश्व’ भनेर न्वारन गरिएका धेरै देशमा सामाजिक समस्या बल्झाउनमा यिनको पनि प्रमुख भूमिका देखिन्छ ।


अर्को समस्या भनेको हामी आफैंले हाम्रो इतिहासलाई छोट्याई केही वर्षमा ल्याएर सीमित गरिदिएका छौं । यो तर्कलाई हाल विद्यालय स्तरमा पढाइने सामाजिक अध्ययनका पुस्तकहरू हेरे सजिलै पुष्टि गर्न सकिन्छ । हामीले के विषय बुझ्नुपर्छ भने हाम्रो समाज र समाजले अँगालेको ज्ञानको पछाडि ठूलो इतिहास छ र यो ज्ञान आधुनिकतासँग सजिलै घुलमिल गर्न सक्छ । यो समाज ऋषिमुनिहरूको भद्र इच्छाले निर्माण भएको हो, नकि पश्चिमी समाजजस्तो शासकहरूको इच्छाका लागि । संसारमा धेरै भाषा, सभ्यता, संस्कृति र ज्ञानका स्रोतहरू मेटिएका छन् । तर यहाँ संसारको सबभन्दा पुरानो ग्रन्थ ऋग्वेद आजसम्म जीवित छ । तर हाम्रा विद्वानहरूले यसलाई धर्मसँग जोडेर पन्छाइदिएका छन् । पछिल्ला वर्षहरूमा गरिएका अध्ययनहरूले नेपालमा सभ्यता छँदै थिएन भन्ने तर्क स्थापित गर्न खोजिएको छ । यहाँ बसोबास गर्ने सबै बाहिरबाट मात्र आएका हुन् भनेर बहस अगाडि बढाइयो । जबकि हाम्रो धर्मशास्त्र र इतिहासका पुस्तकहरूमा नेपालको हजारौं वर्ष पुरानो इतिहास, संस्कृति र परम्पराको व्याख्या गरिएको छ । यिनै कारणले गर्दा आज हामी को हौं भन्ने समस्या आएको छ । हामीलाई पनि न राष्ट्रको दर्शन थाहा छ, नत समाजको । जब राष्ट्रको दर्शन नै हुँदैन भने सामाजिक शिक्षाको दर्शन खोज्नु पनि व्यर्थ हुन जान्छ । हामीले के बुझ्नु जरुरी छ भने प्रत्येक राष्ट्रको आफ्नै मौलिक परम्परा र गौरव हुन्छ । त्यही भएर होला, अमेरिकनहरू अमेरिकन अपवादमा विश्वास गर्छन् । चिनियाँहरू आफूलाई ‘मध्यराष्ट्र’ (स्वर्ग र धर्ती बीचको) भन्छन्, तर हामी आफूलाई ‘सभ्यतामूलक राष्ट्र’ भन्न डराउँछौं । कसैले त्यसो भनिहाले उसलाई परम्परावादी र रुढीवादीको पगरी थमाइदिन्छौं । हामी बुद्ध, जनक र सीताको देश भन्छौं, तर यिनीहरूले दिएको ज्ञानको विषयमा अनभिज्ञ छौं । हामीले हाम्रो बृहत राष्ट्रिय कथनको निर्माण अहिलेसम्म गर्नसकेका छैनौं । हाम्रो समाज विविधतामा देखिएका भिन्नताहरूलाई पनि सँगै लैजानुपर्छ भन्ने संस्कृतिमा विश्वास गर्छ र ऋग्वेदमा यो कुरालाई प्रस्टसँग व्याख्या गरेको पाइन्छ । तर पछिल्ला वर्षहरूमा विविधतालाई हेर्ने दृष्टिकोण बदलिएको छ । अर्थात् ‘विविधता’लाई ‘भिन्नता’को रूपमा हेर्दैछौं । अहिलेसम्म नेताजीहरूलाई गाली गर्‍यौं, तर विद्वानहरूले के गरे, त्यो पनि बुझ्नु जरुरी छ । यो लामो पृष्ठभूमिपछि अब सामाजिक विज्ञानले उब्जाएका प्रमुख समस्याहरूमाथि छलफल गर्न जरुरी छ र यसको सुरुवात ज्ञान उत्पादन गर्ने संस्थाबाट गरौं ।

विश्वविद्यालय र ज्ञान उत्पादन
विश्वविद्यालयहरू ज्ञान उत्पादन गर्ने संस्थाहरूमा अग्ररूपमा आउँछन् । त्यसो त हामीकहाँ विश्वविद्यालयहरूको सुरुआत हुनुभन्दा पहिलेदेखि नै ज्ञान उत्पादन र शिक्षाको लामो परम्परा रहिआएको छ । यो परम्परा औपचारिक र अनौपचारिक दुइटै रूपमा थिए । यहाँसम्म कि पहिले–पहिले ज्ञान र विद्वताको प्राप्तिका लागि गृहत्याग नै गर्ने परम्परा थियो । उदाहरणका लागि विक्रमको सातौं–आठौं शताब्दीतिर पूरा जनसंख्याको ३० प्रतिशत व्यक्ति संन्यासी थिए । यो समाजको निर्माण यस्तै परम्पराहरूबाट भएको हो । तर आज आएर हामी ‘अज्ञानी र अशिक्षित’को रूपमा परिणत भएका छौं र हामी ज्ञानी होइन, ‘बुद्धिजीवी’ बन्ने होडमा छौं । यसको पछाडि धेरै कारण छन् । हाम्रो सबभन्दा ठूलो समस्या अहिलेको सिक्ने–सिकाउने प्रणाली हो । यसले साक्षरता बढाएको छ, तर ज्ञानी बनाएको छैन । जो जति बुद्धिजीवी (विद्वान होइन) छ, त्यो त्यति नै खतरनाक छ । हामीकहाँ विश्वविद्यालयहरू छन्, प्राध्यापकहरू छन्, विद्यार्थीहरू छन्, तर ज्ञान उत्पादन गर्ने परम्परामा भने क्षयीकरण भइरहेको छ । यसले गर्दा हामी सबै क्षेत्रमा पछि पर्नगएका छौं र हाम्रो राष्ट्रको स्वाभिमान कमजोर भइरहेको छ ।
जहाँसम्म हाम्रा प्राज्ञिक संस्थाको सवाल छ, २०४७ सालसम्म हाम्रो विश्वविद्यालय र त्यहाँ काम गर्ने प्राध्यापकहरूले जुन स्तरको ज्ञान उत्पादन गर्थे, त्यो केही हदसम्म राम्रै थियो । धेरै हदसम्म उच्चकोटीको नै मान्नुपर्छ । विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू प्राज्ञिक क्षेत्रमा प्रभावकारी थिए । तर आज आएर प्राज्ञिक क्षेत्र खस्किँदो अवस्थामा छ । अचम्मको विषय– यही बीचमा नेपालमा विद्यावारिधि गर्नेहरूको संख्या ह्वात्तै बढेर गएको छ । विश्वविद्यालय र त्यसभन्दा बाहिर पनि विद्यावारिधि गर्नेको संख्या निकै छ । त्यसो त अबका केही वर्षमा नेपालमा विद्यावारिधि गर्नेहरूको संख्या जनसंख्याको तुलनामा ज्यादै धेरै हुँदैछ । तर धेरैजसो विद्यावारिधि गरेका र ‘प्राध्यापक’को पदवी लिएर बसेकाहरूले अन्तर्राष्ट्रिय स्तरका सहकर्मी समीक्षा (पियर रिभ्यु जर्नल) पत्रिकाहरूमा लेख–रचना छपाउनेभन्दा अरू गोरखधन्दामा तल्लिन छन् । सायद यिनीहरूले प्राज्ञिक योगदान गरेको भए अहिले यस्तो अवस्था झेल्नुपर्ने थिएन । विश्वविद्यालयमा प्राध्यापन गर्ने प्राध्यापकहरूको ‘गुगल स्कलरमा’ नेपाल सम्बन्धी लेख–रचना खोज्यो भने नेपाली प्राज्ञहरूको नाम नगन्य नै हुन्छ, जसको छ, उसले नेपालाई ‘ब्याल्ङ्क स्टेट’को रूपमा हेरेको पाइन्छ । प्राध्यापकहरूको काम पढाउने मात्र होइन, पढाउनलाई चाहिने समय–सापेक्ष ज्ञान उत्पादन पनि गर्ने हो, तर त्यो हुन सकिरहेको छैन । नेपाल सम्बन्धी जान्न पनि विदेशी प्राज्ञहरूको भरपर्ने बेला आएको छ । आज आएर विद्यावारिधि र प्राध्यापक पद सामाजिक पुँजीका लागिमात्र आर्जन गर्ने परम्परामा सीमित हुनपुगेको छ । धेरैजसो प्राध्यापक अङ्ग्रेजी पाठ्यक्रमका पुस्तकहरूलाई नेपालीमा रूपान्तरण गर्ने र परीक्षापयोगी पुस्तक लेख्ने काममा सीमित हुनगएका छन् । जेजति फुटकर लेख–रचनाहरू आए, ती विशुद्ध वृत्ति विकासका लागि प्रकाशनमा ल्याएको देखिन्छ, नकि प्राज्ञिक योगदानका लागि । यो एउटा गम्भीर समस्या हो ।


यस्तो परिस्थितिको सिर्जना हुनुमा मूलत: दुइटा कारण छन् । पहिलो, प्राज्ञिक क्षेत्रमा चरम राजनीति । दोस्रो, नवउदारवादी अर्थव्यवस्था । यसले गर्दा विश्वविद्यालयमा पढाउने सबै प्राध्यापक ४० को दशकपछि विश्वविद्यालय छाडेर अन्यत्र बरालिए । कोही नेताको पछि त कोही विदेशीको पछि । क्षमतावान प्राध्यापकहरू बाहिरिएपछि विश्वविद्यालय राजनीतिक कार्यकर्ता ‘भर्तीकेन्द्र’मा रूपान्तरित हुनपुग्यो । आजका दिनसम्म यसले निरन्तरता पाएको छ । विश्वविद्यालय राजनीतिक पहुँच नभएका व्यक्तिका लागि आकर्षक हुन सकेन । यी सबै कारणले गर्दा हाम्रो ज्ञान उत्पादन गर्ने जिम्मा विदेशी प्राज्ञहरूले लिए र नेपाली प्राज्ञहरू उनीहरूको झोला बोक्नेमा (इन्टिलेक्चुअल सिपाही) रूपान्तरण भए । हुन त यो रोग २०४७ सालभन्दा पनि पुरानो हो, तर २०४७ पछि यत्रतत्र सर्वत्र भएर आयो । जब हाम्रो समाजको अध्ययन र हाम्रालागि चाहिने ज्ञान बाहिरकाले उत्पादनको जिम्मा लिन्छन्, त्यो ज्ञानले समस्याको समाधानभन्दा समस्यालाई झन्–झन् बल्झाउने कोसिस गर्छ ।


‘प्राज्ञिक औपनिवेशीकरण’को चपेटामा हाम्रो समाज परेको छ । प्राज्ञिक क्षेत्रको औपनिवेशीकरणले सर्वसाधारणको मात्र होइन, राष्ट्रकै अपव्याख्या हुनजान्छ । नेपाली समाजलाई विदेशी ‘समाजशास्त्री’हरूले टुक्रा–टुक्रा गरी विभाजन गर्दाखेरी पनि हामी चुप लाग्यौं र त्यसलाई प्रतिवाद गरेर लेख–रचना लेख्ने साहस आएन । उदाहरणका लागि नेपाली समाजलाई ‘आर्य र अनार्य’ भनेर जुन हिसाबले विभाजित गरियो, यो दु:खद हो । ‘आर्य’ शब्दलाई ‘जाति’सँग जोड्यौं, जबकि यसको अर्थ ‘आदरणीय’ मात्र हो । जसको प्रयोग वैदिक कालदेखि हँुदै आएको छ । विदेशीहरूले जसरी भारतलाई आर्य र द्रविड भनेर सामाजिक रेखा कोरे, त्यही हिसाबले नेपालमा पनि ‘खस–आर्य’, ‘पहाडी–मधेसी’ जस्ता जातीय एवं साम्प्रदायिक अवधारणा संविधानमा दर्ता गरियो । यो आउने द्वन्द्वका लागि राम्रो पृष्ठभूमि हो । यो प्रसंगमा प्रसिद्ध अफ्रिकी लेखक चिनुवा आवाचेको भनाइलाई यहाँ जोड्ने कोसिस गर्छु । उनी भन्छन्, ‘यदि सिंहको आफ्नै इतिहास लेख्ने कोही छैन भने सिकारको इतिहासले जहिले पनि सिकारीको बहादुरीको मात्र प्रशंसा गर्नेछ, सिंहको होइन ।’ हामीकहाँ भएको पनि यही हो । पछिल्ला वर्षहरूमा नेपाल सम्बन्धी अध्ययन गर्ने विदेशीहरूको संख्यामा निकै वृद्धि भएको छ र यिनीहरूले आफूले गरेका तथाकथित अनुसन्धानको आधारमा विभिन्न किसिमका लेख–रचना र पुस्तकहरू प्रकाशन गर्दै आएका छन् । तर यिनीहरूको ‘पुनरावलोकन’ गर्ने हाम्रो चलन छैन । सायद आज हामीकहाँ देखिएका विभिन्न सामाजिक र राजनीतिक समस्याको पछाडिको मूल समस्या यो पनि हो, जुन ज्ञान उत्पादनसँग जोडिएको छ, समाज अध्ययनसँग जोडिएको छ । हामी आफंै ज्ञान उत्पादन र समाज अध्ययनमा सरिक भयौं भने अहिले देखिएका धेरै समस्याको समाधान हुने थियो । हाम्रो समाजमा समस्या छ होला, तर ती समस्यालाई हाम्रो ज्ञानले सम्बोधन गर्नु जरुरी छ । पछिल्ला दशकहरूमा देखापरेका ‘प्यारासुट प्राज्ञ’ र गर्मीको छुट्टी मनाउन आएका विद्वानहरूको हातबाट यो कुरा असम्भव छ । किनकि न उसले भाषा बुझ्छ, नत समाज नै । उसको उद्देश्य भनेको ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भनेजस्तै हो ।

हरिकथा कि ह्यारी पोर्टरका कथा ?
प्राज्ञिक क्षेत्र र सामाजिक क्षेत्रमा देखिएका कमजोरीको प्रभाव लोकसंस्कृतिमा पनि पर्नगएको छ । हाम्रो मौलिक ज्ञान उत्पादन गर्ने परम्परामा आएको ह्रासले परम्परादेखि चलन–चल्तीमा आएका लोककथा र लोकायतहरू पनि विलय भएर जाँदैछन् । जबकि यस्ता लोककथा र लोकायतको विकास हामीकहाँ पहिले भएर पछि संसारका अरू भागमा गएका हुन् । ‘पञ्चतन्त्र’ त्यसको सबभन्दा ठूलो उदाहरण हो, जसका ज्ञान वर्धक कथाहरू संसारभर फैलिएका छन् ।


समाज एक किसिमको मूल्य र मान्यतामा विश्वास गर्छ भने सामाजिक विज्ञानले समाजलाई अर्को तरिकाले व्याख्या गर्ने कोसिस गर्छ, जसको समाजसँग खासै तालमेल हुँदैन । यसका पछाडि मूलत: दुई–तीनवटा कारण छन् । पहिलो, हाम्रो एउटा फरक समाज र सभ्यता हो । यसले ५ हजार वर्षदेखि निरन्तरता पाएको छ र ५ हजार वर्षअघि मानिसहरूले जे गर्थे, त्यो आज पनि व्यवहारमा ल्याएका छन् । उदाहरणका लागि धर्तीपूजा गर्ने चलन (लगभग सबै जात–जातिमा) । वास्तुशास्त्रको परम्परा त्यस्तै आजका दिनसम्म पनि जीवित छ ।


संसारका अरू धेरै प्राचीन भाषा, धर्म र परम्पराहरू लोप भएर गए । यस बीचमा शासन पद्धतिहरू फेरिएका छन् । शिक्षा पनि फेरिएको छ, तर समाजका मूल्य र मान्यता ज्युँकात्युँ छन् । यस्तो अवस्था हुने देशहरू संसारमा विरलै छन्, नेपाल बाहेक । यही बीचमा विद्वानहरूले (आधुनिक) समाजलाई व्याख्या गर्ने तौरतरिकामा परिवर्तन आयो, तर यिनको हाम्रो समाजसँग कुनै सम्बन्ध देखिँदैन । यस सन्दर्भमा भारतका पूर्वराष्ट्रपति तथा पूर्वीय संस्कृतिका ज्ञाता एस. राधाकृष्णन् भन्छन्, ‘जबदेखि हामीले हाम्रो समाजका अन्तरवस्तुलाई माक्र्सले बुझेको या देखेको पुँजीवाद, रूसोले प्रतिपादन गरेको सामाजिक सम्झौताको सिद्धान्त, डार्बिनको समाज विकासको सिद्धान्त, पुँजीवादले स्थापना गरेको बजार, म्याक्स वेबरले बुझेको राज्य र पश्चिममा व्याख्या गरिएको इन्लाइटनमेन्ट (प्रबोधन) सिद्धान्तको आधारमा व्याख्या गर्ने अथवा त्यो ढाँचामा ढाल्ने कोसिस गर्‍यौं, त्यही बेलादेखि हाम्रो ज्ञानको परम्परामा ह्रास भएर आयो । यी सबैको जन्म युरोपको विषम परिस्थितिबाट भएको थियो, जसको हाम्रो सभ्यतासँग गोरु बेचेको साइनोसम्म छैन । हाम्रो समस्या भनेको आफ्नो समाजलाई पनि जब यी चस्माहरूबाट हेर्न थाल्यौं र ती मान्यताहरूलाई त्यही रूपमा यहाँ स्थापना गर्ने कोसिस गर्‍यौं, अहिलेको विषम परिस्थितिको निर्माण भयो । यस्तो परम्पराले अर्को के कुरा स्थापित गर्न खोज्यो भने हामीसँग सामाजिक विज्ञानको नाममा केही थिएन, ज्ञान भन्ने चिज छँदै थिएन । यसले गर्दा हामी हाम्रो समाजप्रति गौरव गर्न सक्ने अवस्था नै रहँदैन । हामीकहाँ भएका धर्मशास्त्रका कथाहरू मिथक कथाहरूको रूपमा वर्गीकरण हुनपुगे । ‘हरिकथा’हरूलाई ‘ह्यारी पोर्टर’का कथाहरूले विस्थापन गर्न लागे । जबकि धेरैजसो हरिकथा र देवकथाहरूले समाजलाई नैतिकतामा लैजाने काम गर्थे । त्यसकै लागि यिनीहरूको रचना गरिएको थियो । आज आएर हाम्रो ‘डिप’ कल्चर ‘पप’ कल्चरबाट विस्थापित हुँदैछ । यी देवकथाहरूले न ‘वर्ग सङ्घर्ष’द्वारा समाजलाई खल्बलाउने कोसिस गर्थे, न द्वन्द्वात्मक भौतिकवादको वकालत गर्थे, नत कुनै विचारधारको वकालत नै गर्थे । हामीले बुझ्दै–नबुझी पछिल्ला दिनमा समाजलाई ‘पीडित’को फ्रेमवर्कमा राखेर व्याख्या गर्ने कोसिस गर्‍यौं र क्रूरताको साहित्य (एट्रोसिटी लिटरेचर) को विकास गर्‍यौं ।


माथि प्रसंगमा आएजस्तै अहिले समावेशी, असमावेशी, आर्य, अनआर्य, खस आदि इत्यादिको बहस चर्को रूपमा अगाडि बढाउन यी साहित्यहरूको प्रमुख भूमिका छ । जसको समाधान त्यति सजिलो छैन । त्यसो त नेपाली शासकहरूले पनि समाजका विभिन्न कालखण्डमा व्यवस्था सुहाउँदो सामाजिक विज्ञानको विकास नगरेका होइनन् । जसरी राणाहरूले आफ्नै गाथा गाउन लगाए, शाहवंशीय राजाहरूले पनि योभन्दा केही फरक गरेनन् । त्यसैगरी राजनीतिक दलहरूले पनि । अर्थात् यी सबैले व्यवस्था सुहाउँदो सामाजिक विज्ञान विकास गरेकै हुन् । यही बीचमा धेरै पश्चिमा विद्वानहरूले भूराजनीतिक फ्रेमवर्कबाट नेपालको अध्ययन गरे, जसको पछाडिका उद्देश्य हामीले आज आएर थाहा पाएका छौं । सायद डोरबहादुर विष्ट यसका लागि सबभन्दा बढी प्रयोग भएका देखिन्छन् । मानव विज्ञान (एन्थ्रोपोलोजी) र मातहतको अध्ययन (सवाल्टर्न स्टडिज) यसमा प्रमुख माध्यमहरू थिए र छन् ।

अनुसन्धान विधिको समस्या
सामाजिक विज्ञानसँग सम्बन्धित अर्को समस्या भनेको सामाजिक समस्याको अनुसन्धान र अध्ययन गर्ने विधि हो । अहिले प्रचलनमा आएको सामाजिक शिक्षाको अनुसन्धान विधि पनि समस्यामूलक देखिन्छ । किनकि हामी एउटा निश्चित खाकामा राखेर प्रश्न गर्छाैं र त्यही अनुसारको सन्दर्भ सामग्री र व्यक्तिहरूसँग अन्तर्वार्ता लिएर हामीले चाहेको कुरालाई थेसिसको रूपमा स्थापित गर्छाैं र समाजलाई अनुमिति (डिडक्टिभ) या आगमनात्मक (इन्डक्टिभ) तरिकामा आधारित अनुसन्धान विधिले गलत उत्तरमात्र दिन्छ । पछिल्लो दिनमा धेरैजसो अनुसन्धान यी विधिहरूमा नै आधारित भएर गरिए, जसले समाजलाई जोड्नुको सट्टा तोड्ने कोसिसमात्र गरेको देखिन्छ । हामीले पूर्वपक्ष र उत्तरपक्षको परम्परा (अनुसन्धान गर्दाखेरी) लाई अवलम्बन गर्न छोड्यांै । हामी पहिले नै पक्षपाती भएर अनुसन्धानका लागि चाहिने प्रश्नको निर्माण गर्छाैं । यसले गर्दा राज्य हाम्रो र राष्ट्र अरूको हुँदैछ ।


अनुसन्धानसँगै सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको पछिल्ला दिनमा पश्चिमी विश्वविद्यालयहरूमा प्राज्ञिक पद प्राप्त गर्न चरम प्रतिस्पर्धा हुने गरेको छ । यहाँसम्म कि विद्यावारिधिभन्दा सहकर्मी समीक्षित जर्नलहरूमा प्राज्ञिक लेख प्रकाशित गर्नु अनिवार्यजस्तै भएको छ । तर विडम्बना, त्यस्ता जर्नलमा त्यहीमात्र लेख–रचना प्रकाशित हुन्छन्, जसमा केही नयाँ विचार सूचना/ज्ञान हुन्छ । जुन सम्भव छैन । पश्चिममा यी सबै समाप्तजस्तै भएका छन् । यस सन्दर्भमा सुप्रसिद्ध सद्गुरु जग्गी वासुदेवका भनाइ यहाँ मननीय हुन्छन् । उनको दाबी छ– विविधतालाई नष्ट गरेकाले विगत २ सय वर्षमा पश्चिमी जगतमा कुनै पनि नयाँ ज्ञानको विकास हुन सकिरहेको छैन । त्यस्ता जर्नलहरूमा लेख–रचना प्रकाशित गर्न पश्चिमी प्राज्ञहरू संसारभरि कुदेका छन् र त्यसका लागि उनीहरू जस्तो किसिमको अनुसन्धान पनि गर्न तयार छन् । जसलाई त्यो ज्ञानले समाजलाई जोडोस् कि तोडोस् भन्ने कुरासँग खासै सरोकार छैन । यसको असरचाहिँ समाजमा निश्चय नै पर्न जान्छ । द्वन्द्वग्रस्त तेस्रो विश्वका धेरै देशमा यसले ठूलै समस्या ल्याएको छ । पछिल्ला दिनमा देखिएका द्वन्द्वमा समाज र यसले अङ्गिकार गरेका परम्परा प्रमुख कारकको रूपमा देखाइएका छन् र यिनलाई फिक्स गर्ने जिम्मा सामाजिक वैज्ञानिकहरूले लिएका छन् ।

माक्र्स, मेक्स वेबर र मार्केट
आज आएर जनक र बुद्धको ज्ञानभूमिमा बसोबास गर्ने हामी अज्ञानी भएर बाँच्नुपरेको छ । अरविन्दोले ठिकै भनेका थिए– कुनै पनि समाज त्यतिबेला कमजोर हुन्छ, जब त्यो समाजको सोच्ने शक्तिमा कमी आउँछ र ज्ञान उत्पादनमा परनिर्भर हुनुपर्ने अवस्थाको सिर्जना हुन्छ ।


आज हाम्रो समाज/राष्ट्रका लागि चाहिने ज्ञान र विचारधारा ती व्यक्तिहरूले निर्माण गरिदिएका छन्, जसलाई यो समाजको विषयमा धेरै कम ज्ञान छ । यिनीहरूको तथाकथित विज्ञता र आधिकारिताको आधारमा सत्य स्थापित गर्दैछौं, नकि सत्यको आधारमा आधिकारिकता वा विज्ञताको निर्माण । त्यसैगरी हाम्रो समाजलाई त्यस्ता सामाजिक सिद्धान्तहरूले व्याख्या गर्दैछौं, जसको यो समाजसँग कुनै सरोकार छैन । यी सामाजिक सिद्धान्त सायद हाम्रालागि त्यतिबेला सार्थक हुन्थे, जतिबेला हाम्रा सामाजिक र राजनीतिक विद्वानहरूले पनि यिनमा केही योगदान गर्थे । दुर्भाग्यवश त्यो हुन सकेन । हामीले तिनलाई नै स्थापित गर्ने कोसिस गर्‍यौं र एउटा साधारण नमुना या घटनालाई लिएर सारा समाजलाई चित्रण गर्ने कोसिस गरियो, जसले हाम्रो समाजको नराम्रो इमेज प्रस्तुत भयो । विडम्बना, त्यही नै संस्कृतिको रूपमा स्थापित हुँदैछ ।


हाम्रो समाजको गहिराइ बुझ्न त्यति सजिलो छैन । उदाहरणका लागि राम हाम्रालागि पूजनीय हुन्, किनकि उनी ‘आज्ञाकारी पुत्र’ र मर्यादा पुरुषोत्तम थिए । हामी भक्त प्रह्लादलाई पनि पूजनीय मान्छौं, किनकि उनले आफ्ना बुबाको आज्ञा मानेका थिएनन् । जुन मर्यादाको खिलाफमा थियो । हामी सीतालाई पुज्छौं, किनकि उनको रामप्रतिको आदरले र रामले शासकको रूपमा त्यतिबेलाको समाजलाई दिएको इज्जतले गर्दा । त्यसैगरी हामी मीरालाई पनि पुज्छौं, किनकि उनले आफ्नो पतिको आज्ञापालन नगरेकोले । यी विविधतालाई जबसम्म बुझ्ने कोसिस गर्दैनांै, तबसम्म हाम्रो समाज बुझ्न सकिँदैन । तर अहिलेको समाज विज्ञानको आँखाबाट हेर्‍यौं भने राम र प्रह्लाद, मीरा र सीतालाई हेर्ने दृष्टिकोण फरक हुनजान्छ । यो भारतीय लेखक देवदत्त पट्टनायकले दुशासनलाई सुशासन भनेजस्तै हो । हाम्रा गाउँहरू जो आफैंमा पूर्ण आर्थिक इकाइ थिए, उपभोक्ता र उत्पादक, आर्थिक असमानता निश्चय नै थियो होला (यो कहाँ छैन र ?) यसलाई माक्र्सवादीहरूले प्रिमिटिभ समाज भनेर व्याख्या गरे । त्यसैगरी हाम्रो ‘पञ्च भलाद्मी’मा आधारित राजनीतिक प्रणाली पनि हामीले त्याग्न पुग्यौं । हामीले यसलाई खण्डन गर्न सकेनौं र गाउँलाई (बजार) र गाउँलेलाई श्रमिक बनाएर नवउदारवादी विश्व बजारका उपभोक्ता बनाइदियौं । अहिलेको सामाजिक विज्ञान उसैले बुझ्छ, जो पढेलेखेका छन् र अंग्रेजी बोल्छन् । देशको ठूलो जनसंख्या यो सामाजिक विज्ञान बुझ्दैन, तर ऊ यसबाट अवश्य पनि प्रभावित छ । अहिलेको सामाजिक विज्ञानको सबभन्दा ठूलो समस्या भनेको यसले समाजलाई नियन्त्रण गर्नका लागि टुक्रा–टुक्रा गरेर अध्ययन गर्ने गर्छ । किनकि पश्चिममा राज्य, समाज र विकासवादको विकास नै व्यक्तिवादमा आधारित (इन्डिभिज्युयालिजम) हो । यसलाई समाजशास्त्री मेक्स वेबरको भाषामा ‘मेथोडोलोजिकल इन्डिभिज्युयालिजम’ (व्यक्तिकेन्द्रित पद्धति) भनिन्छ ।

व्यक्तिवादको विकासले समाज र परिवार दुवैलाई गौण बनाइदिन्छ । यो मान्यताको विकासका लागि माक्र्स, मेक्स वेबर र मार्केटको भूमिका बराबर देखिन्छ । यो अर्थमा पुँजीवाद र साम्यवादमा खासै फरक देखिँदैन । किनकि दुवैले समाजलाई कृत्रिम सम्झौतामा रूपान्तरित गर्छन् । त्यसैगरी पछिल्ला दिनमा विश्वव्यापी रूपमा विकास भएको योजनामुखी समाज–विज्ञानका आफ्नै समस्या छन्, यसले समाजलाई १७ औं शताब्दीमा रेनेदे कार्तेले भन्दा झन् टुक्राएर अध्ययन गर्ने गर्छ । साँच्चै भन्ने हो भने यसले समाजको आत्मालाई झन्–झन् टुक्राएको छ । सायद त्यही भएर होला, आज आएर धेरैजसो पूर्वीय र पश्चिमेली दार्शनिकहरूले यो समाज–विज्ञानलाई ज्ञानमुखी विद्या होइन, जीवनमुखी विद्याको संज्ञा दिएका छन् र विश्वास पनि गुमाएका छन् ।


अन्त्यमा, हाम्रो समाजको व्याख्या एउटै दृष्टिले (लिनियर) गर्न सकिँदैन । किनकि हाम्रो समाज अति बहुलतामा आधारित छ र यस्तो समाजको अध्ययन फरक परिस्थितिबाट जन्मिएको फ्रेमवर्कको आधारमा गर्दा परिणाम गलत निस्किन्छ । नीति निर्माणको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । त्यसैगरी हाम्रो सभ्यता न भगवान केन्द्रित, न भूगोल केन्द्रित, नत मानव केन्द्रित नै हो । हाम्रो सभ्यता भनेको स्व:केन्द्रित (आत्मकेन्द्रित, नकि स्वार्थकेन्द्रित) हो । हाम्रो समाजको विविधता नै सबभन्दा ठूलो विश्वविद्यालय हो, जहाँ समाजका विभिन्न किसिमका विभागहरू छन् । यी विभागहरूले हाम्रो समाज होइन, योभन्दा फरक समाजको अध्ययन गर्न सहयोग गर्न सकिन्छ र यसले संसारकै लागि आधार निर्माण गर्न सक्छ । तर विडम्बना, हाम्रो समाज अध्ययन गर्ने व्यक्ति र तिनले अपनाएका विधिहरू अप्रसांगिक छन् । यसलाई सुधार्नु जरुरी छ र यो सुधार विद्यालय स्तरबाट नै सुुरु गर्नु जरुरी छ । विद्यालय स्तरमा र क्याम्पसमा पठनपाठन गराइने सामाजिक विज्ञानको सुधारलाई प्राथमिकतामा राख्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । अहिले विद्यालय र क्याम्पस स्तरमा पढाइने सामाजिक शिक्षामा समाविष्ट पाठ्य–सामग्रीहरू धेरै हदसम्म असान्दर्भिक छन् ।


जर्ज अरवेलको भनाइ राख्दै यो लेखको अन्त्य गर्न चाहन्छु । उनी भन्छन्– जसले विगतलाई नियन्त्रण गर्छ, उसले भविष्य नियन्त्रण गर्न सक्छ र जसले वर्तमानलाई नियन्त्रण गर्छ, उसले विगतलाई नियन्त्रण गर्न सक्छ । हामी कहाँ छौं र हामी के गर्दा सान्दर्भिक हुन्छौं, त्यो छुट्याउने काम हाम्रो आफ्नै हो, अरूको होइन ।


बेलायतस्थित लण्डन स्कुल अफ इकोनोमिक्स र बर्मिङ्घम विश्वविद्यालयमा अध्ययन गरेका राजनीतिशास्त्री भट्ट अमेरिकाको वासिङ्टन युनिभर्सिटी, सेन्टलुइसका रिसर्च फेलो हुन् ।

प्रकाशित : वैशाख १५, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?