विश्व शान्तिको सन्देश

चोग डीबी गुरुङ

काठमाडौँ — भगवान् बुद्ध श्वेत केतु बोधिसत्वका अवतार हुन् । उनको जन्म ६२३ ईसापूर्वमा लुम्बिनी शालाबागमा महामाया देवीको कोखबाट भएको थियो । शाक्य संस्कार अनुसार पाँचौं दिनमा उनको नामकरण भयो– ‘सिद्धार्थ’ । आठ वर्षको उमेरमा गुरुकुलमा प्रवेश गरेर उनी वेद, दर्शन, उपनिषद, समाजशास्त्र, अर्थनीति, राजनीति, युद्धनीति, युद्धकला आदिमा पारंगत भए ।

विश्व शान्तिको सन्देश

शाक्य र कोलियबीच रोहिनी नदीको पानीमा विवाद भएपछि छलफल गर्न शाक्य संघको विशेष अधिवेशन बोलाइएको थियो । अधिवेशनले कोलियसँंग युद्ध गर्ने निर्णय गर्‍यो । सिद्धार्थले त्यसको विरोध गरे, तर अल्पमतमा परे । युद्धको विरोध संघविरुद्ध भएकाले उनलाई देशत्याग गर्ने आदेश दिइयो । संघको आदेश अनुसार प्रवर्जित भएर उनी देश त्यागेर मगध गए । मगधको राजधानी राजगृह थियो । महातेजस्वि साधु नगरमा प्रथमपटक देखिएकाले बटुवाहरूले पछ्याउन थाले । राजदरबार अगाडि भिडभाड देखिएकाले मगध नरेशले यसको कारण सोधे । सुरक्षा प्रमुखले सिद्धार्थबारे जानकारी गराएपछि राजा तत्कालै पाण्डव पर्वततिर प्रस्थान गरे ।

पर्वतको शिखरमा सिद्धार्थलाई भेटेर मगध नरेश बिम्विसरले भने, ‘तिम्रो असाधारण प्रतिभाका कारण शाक्य संघ भयभित भएका हुन् । सेनापतिले अधिकारीहरूलाई यति धेरै उत्तेजित गरिदिए कि उनीहरूले सही र गलत छुट्याउन सकेनन् । तिमी यही परिस्थितिको सिकार भएका हौ । यो सत्य हो भने तिम्रा विपक्षहरूलाई मेरो सैनिक बलले तत्कालै कुल्चिन सक्छ । शाक्य कुल विपरीत युद्ध नगर्ने तिम्रो मनासय हो भने मगधको आधा राज्यमा तिम्रो अधिकार दिन्छु ।’ ‘प्रतिकूल अवस्थामा तपाईले मप्रति देखाउनुभएको सहानुभूति एउटा असल मित्रको कर्तव्य ठानेको छु । तर म शान्तिको खोजीमा प्रवर्जित भएको हँ‘ । अब मेरो मन काम, विषय, ऐश्वर्य, भोग र वासनाप्रति कुनै आकर्षण छैन,’ उनको जवाफ थियो ।

सिद्धार्थ ज्ञानको खोजीमा त्यस समयका प्रख्यात सांख्य दार्शनिक आलार कालामको आश्रममा गए । त्यहाँ सांख्य दर्शन, ध्यान र समाधि मार्ग अध्ययन गरे । त्यसपछि राजर्षि नोगरीको आश्रम पुगे । उरुवेलको नेरन्जना नदीको किनारमा रहेको उनको आश्रममा बसेर ध्यान, तपस्या र साधना गरे ।

सिद्धार्थले गृहत्याग गरेपछि ६ वर्षसम्म महातपस्या गरे । धेरै गुरुको आश्रममा गएर सेवा गरे । एकपछि अर्को साधना गर्दै गए । तर अहंकारको तृप्त अर्थात दु:खको संसार समाप्त भएन । एक दिन गुरुले भने, ‘दिन–प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ ।’ सिद्धार्थले त्यही अनुसार गर्दै गए । छ महिनामा एउटा चामलको दानामात्र भोजन भयो । ज्ञान त प्राप्त भएन, तर शरीर पूर्णतया विनाश भयो । हड्डी र छालामात्र बाँकी रह्यो । उरुवेलको नेरन्जना नदी तरेर भिक्षाटनमा जानुपर्ने थियो । नदी तर्न सकेनन्, बाटोमै ढले । हातखुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो, ‘मलाई यो के भयो ? भवसागर तर्ने इरादाले संन्यास लिएको हुँ । तर आज यो सानो नदी पनि तर्न सकिन ?’

एक बिहान नेरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेको खीर भोजन गरे । बाटोमा एकजना घाँसीले दान गरेको घाँसको मुठा ओछ्याएर पीपलको रुखमुनि पद्मासन लगाए । बुद्धत्व प्राप्त नगरी आसनबाट नउठ्ने अठोट गरे । उनको मूल उद्देश्य सत्यको खोजी थियो । तर उनलाई अचानक उकुस–मुकुस भएर असह्य पीडा भयो । शारीरिक पीडाको कारण चित्त एकदमै विलुप्त भयो । किनभने चित्तको मूल उद्देश्य नै यो पाए हुन्थ्यो, त्यो पाए हुन्थ्यो भन्ने हुन्छ । महत्त्वाकांक्षा नै चित्तको आत्मा हो । तर त्यस समय पीडाको कारण उनको मनमा कुनै महत्त्वाकांक्षा थिएन । सम्पूर्ण भावले सबै वासनालाई त्यागिदियो । विलकुलै शून्य अवस्थामा पुग्यो ।

सिद्धार्थको जब आँखा खुल्यो, तब आकाशमा अन्तिम तारा डुब्नेवाला थियो । तारा डुब्दाडुब्दै उनको अन्तरात्माबाट ज्ञानको ज्योति उदय भएर आयो । संसारलाई प्रकाशित गर्न सक्ने ‘पूर्वानुस्मृति, व्युत्पत्ति, प्रतित्यसमुत्पाद’ र ‘बुद्धचक्षु’ सहितको ‘बुद्धत्व’ प्राप्त भयो । यो स्वयं भयो, त्यहाँ कुनै गुरु थिएनन् । गौतमले वैशाख पूर्णिमाको रात पीपलको रुखमुनि ‘बुद्धत्व’ प्राप्त गरेको हुनाले पीपलको रुख ‘बोधिवृक्ष’ नामबाट परिचित भयो । बुद्धले ज्ञान प्राप्त गरेपछि सर्वप्रथम पञ्चवर्गीय भिक्षुहरूलाई धर्मोपदेश दिए । भगवान बुद्धले ४५ वर्षसम्म धर्मोपदेश गरी ८० वर्षको उमेरमा कुशी नगरमा महापरिनिर्वाण प्राप्त गरे । उनले प्रतिपादन गरेको बुद्ध धर्मले विश्वभरि शान्ति र समृद्ध समाजको निर्माणका लागि महत्त्वपूर्ण योगदान गरेको छ । बुद्धको जन्म, बोधि प्राप्त र महापरिनिर्वाण गरी त्रिकालको संयोग भएकाले आजको दिन बौद्ध जगतमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।

[email protected]

प्रकाशित : वैशाख १७, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?