यशोधरा र बुद्धत्व

डा. साधना प्रतीक्षा

काठमाडौँ — कुनै दु:ख–कष्ट अनुभूति नगरी दरबारिया सुखशयलमा हुर्केका एक राजकुमार संयोगवश वृद्ध, रोगी तथा मृतकलाई देखेपछि जीवन–जगत, बुढ्यौली, रोग तथा मृत्यु आदि दु:खले जेलिएको रहेछ भन्ने थाहा पाएपछि त्यस दु:खबाट छुटकारा पाउने उपायबारे चिन्तन गर्न थाल्छन् ।

सांसारिक मोह–माया नै ज्ञानको खोजीमा बाधक भएको ठानेर प्रसूति अवस्थाकी पत्नी, नवजात पुत्र तथा राजसी सुख त्यागेर उनी ज्ञानको खोजीमा निस्कन्छन् । राजकुमार सिद्धार्थ त्यसरी दरबारबाट निस्केर कठोर तपस्या गर्न गएको थाहा पाएपछि उनकी पत्नी यशोधरालाई माइत बोलाइन्छ, तर उनी माइत जान मान्दिनन् । उनी दरबारमै तपस्विनी बनेर साधनारत हुन्छिन् । संयोगवश, बोधीवृक्षमुनि साधनारत बुद्ध तथा दरबारमा साधनारत यशोधरालाई एकै समयमा ज्ञान प्राप्त भएको मानिन्छ । मानव कल्याणका लागि सर्वस्व त्यागेर हिँडेका पतिको लक्ष्यमा बाधा उत्पन्न होला, उनको महत्त्व घट्न जाला भनेर यशोधराले आफूले प्राप्त गरेको ज्ञानबारे कसैलाई बताइनन् । बुद्धत्व दुबैले प्राप्त गरे तर प्राप्तिको मार्ग भने दुबैको भिन्न थियो । बुद्धले घर–गृहस्थी त्यागेर, पारिवारिक दायित्वबाट विमुख भएर, परिवारजन तथा स्वयम्लाई कष्ट दिँदै रन–वन भौंतारिएर ज्ञान प्राप्त गरेका थिए भने यशोधरा पारिवारिक दायित्व र मातृधर्मको निर्वाह गर्दै गृहस्थ जीवनमै ज्ञान प्राप्त गर्न सफल भएकी थिइन् । बुद्धको भूमि भनेर गर्व गर्ने हामी नेपालीले नारी बुद्ध अर्थात् यशोधराका लागि पनि गर्व गर्नुपर्छ । अत: आज बुद्धका साथसाथै ती महान नारी यशोधराको पनि स्मरण गर्नु आवश्यक छ ।

Yamaha

ज्ञान प्राप्त गरिसकेपछि त्यसको प्रचारका क्रममा एकदिन बुद्ध आफ्नै दरबारमा पुगेपछि यशोधराले राखेका प्रश्नहरूबाट उनले घरैमा बसेर ज्ञान पाएको कुरा बुद्धले पनि स्वीकारेको भनाइ पाइन्छ । त्यतिबेला उनले बुद्धसमक्ष राखेका प्रश्नहरू थिए— सत्यको खोजीका लागि संसारै त्यागेर जानुपथ्र्यो ? गृहस्थले सदाचारका साथ घरैमा बसेर खोजी गर्दा तत्त्वज्ञान प्राप्त हुँदैन ? भिक्षुलाई आफ्नो समाज र समूह चाहिँदैन ? आदि । उनका विचारदेखि बुद्ध प्रभावित भएर नै उनले ज्ञान पाएको स्वीकार गरेको बुझिन्छ । बुद्ध र यशोधराको ज्ञान एकै भए पनि त्यसको मार्ग भिन्न देखिन्छ । बुद्धमार्ग अनुसार व्यक्ति गृहस्थ जीवनको मायाजाल र कर्तव्य–दायित्वबाट मुक्त संन्यासी भएपछि मात्र ज्ञान प्राप्त हुन्छ । सांसारिक विधि–व्यवहार यस मार्गका बाधक हुन् । यशोधरा मार्ग अनुसार भने मानिसले गृहस्थ जीवनमा रहेर त्यसमा निहित कर्तव्य–दायित्व पूरा गरेर पनि त्यागी र सदाचारी हुने हो भने ज्ञान प्राप्त गर्न सक्छ । यसबाट ऊ आफू सुखी रहेर अरुलाई पनि सुखी राख्न सक्छ । पतिको त्याग–तपस्याबाट प्राप्त ज्ञानको प्रचार र स्थापनामा बाधा आउन नदिन आफू ओझेलमा रहेकी ती महान नारी यशोधरा वन्दनीय त छँदैछिन्, अब उनी निर्देशित बुद्धत्व प्राप्तिको मार्गबारे पनि प्रचार आवश्यक भएको छ ।

समाजमा यस्ता असंख्य यशोधरा छन्, जसले आफू ओझेलमा रहेर असंख्य बुद्धहरूलाई प्रकाशित गराइरहेका छन् । त्यसैले त ओझेलमा परेकी यशोधरालाई प्रकाशित गर्नका लागि कवि कालीप्रसाद रिजालले ‘यशोधरा’ गीति नाटक रचना गरे । कपिलवस्तु भ्रमण गर्दा जताततै बुद्धमात्र भएको तर कहीँ कतै यशोधराको उपस्थिति नदेख्दा दु:खी भएर नियात्राकार रामप्रसाद पन्तले ‘अविरल यात्रा’मा ‘कतै भेटिइनन्, यशोधरा’ भन्ने नियात्रा लेख्दै बौद्धमार्गी र मानवतावादीले यशोधराको मानवता, उदारता र महानताको चर्चा नगरेको, बौद्ध धर्मग्रन्थहरूमा यशोधरा अट्न नसकेकामा उनीप्रति अन्याय भएको भन्छन् । उनी जस्ती महान र त्यागी नारीरत्न पनि बौद्ध परम्परामा प्रकाशमा नआएको हुनाले साहित्यमा उनलाई प्रकाशित पार्न ‘यशोधरा×’ लेख्ने क्रममा उनका बारेमा लेखिएका सामग्री नभेटिँदा बल्लतल्ल भारतको तत्कालीन कुचविहार स्टेटकी दोबागर महारानी सुनीतिदेवी सीएलद्वारा अंग्रेजीमा लेखिएको ‘द लाइफ अफ प्रिन्सेस यशोधरा’ फेला पारेको कुरा कालीप्रसादले उल्लेख गरेका छन् ।

बुद्ध हुन् वा यशोधरा दुबैले प्राप्त गरेको ज्ञान समस्त मानव कल्याणका लागि हो । सत्य, अहिंसा, सदाचार, सत्कर्म, आत्ममन्थन र आत्मदर्शन आदि नै यस अन्तर्गत पर्छन् । मानिसले सत्कर्मले आफूमात्र होइन, अरुलाई समेत सुखी राख्न सक्छ । अहिंसावादी नीतिले संसारमा सबैको बाँच्न पाउने अधिकार सुनिश्चित हुनाका साथै मानवतावाद र शान्ति स्थापित हुन्छ । आत्ममन्थन र आत्मदर्शन ध्यानका माध्यमबाट सम्भव हुन्छ । जब मानिस आफूभित्र डुबेर आफूलाई चिन्न सक्छ, तब उसले हरेकलाई आफूजस्तै देख्न थाल्छ । आफ्नो जस्तै अर्काको पनि अस्तित्वबोध गर्ने मान्छेले आफूलाई मन नपर्ने र पीडा हुने कार्य अरुमाथि गर्दैन । ऊ सदैव परोपकारी हुन्छ । यो नै मानव कल्याणको मार्ग हो ।

अंगुलीमाल जस्तो क्रूर हत्यारालाई त जीवन र अहिंसाको महत्त्वबोध गराउन सक्ने बुद्धको ज्ञानमार्गले के आजका हामीलाई कल्याणकारी बनाउन सक्दैन र ? आफ्नो कर्मको फल स्वयम्ले नै भोग्नुपर्छ, किनकि जे रोप्यो, त्यही काट्नु प्रकृतिको नियम हो । अमृत रोपेको स्थानमा विष कदापि फल्दैन भने विष छरेर अमृत टिप्ने आशा गर्नु पनि मुर्खता बाहेक केही हुन सक्दैन । अत: जीवनमा यस्तो कर्म गरियोस्, जसले जीवनको उत्तरार्धमा आफैलाई नपोलोस् π आज हामीले जीवनको क्षणभङ्गुरतालाई बिर्सेर, जीवनमा आर्जन गरेको भौतिक सुख तथा वैभव यसै संसारमा छाडेर रित्तै जानुपर्छ भन्ने शाश्वततालाई आत्मसात् गर्न नसक्दा हामी तृष्णा र मोहको भंँगालोमा भासिएका छौं । समाजमा भ्रष्टाचार तथा अनेक विसङ्गति व्याप्त छन् । व्यक्तिले गर्ने भ्रष्टाचारले आरम्भमा समाजलाई नकारात्मक असर पार्ने गर्छ भने अन्त्यमा त्यसको रापमा ऊ स्वयम् पिल्सिनुपर्ने हुन्छ । मानसिक समस्याका कारण सम्पन्न वर्गका घरमा पनि सुख–शान्ति देखिँदैन । यी सबैबाट मुक्ति पाउने एकमात्र मार्ग हो– बुद्धमार्ग !

बुद्धमार्ग र ध्यानको प्रसङ्ग आउनासाथ मानिसको प्रतिक्रिया हुन्छ, ‘यस्तो सुखशयल छाडेर जोगी भएर हिँड्नु ? त्यो पनि दिन–उमेरमै ?’ यही गलत धारणाको अन्त्य हो, नारीबुद्ध यशोधराको बुद्धमार्ग अर्थात् गृहस्थ र सामाजिक जीवनमै रहेर पनि बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने मान्यता । उनको मान्यतालाई स्वयम् बुद्धले पनि अस्वीकार गर्न सकेनन्, किनकि उनले पनि अन्न–जल ग्रहण नगरी शरीरलाई कष्ट दिएर तप गर्दासम्म ज्ञान प्राप्त गरेका थिएनन् । सुजाताले श्रद्धापूर्वक अर्पण गरेको खीर ग्रहण गरेका बुद्धले नै ज्ञान पाएका हुन् । भिक्षुहरूलाई पनि समूह र समाज चाहिने हुनाले नै विहार, भिक्षाटन र दानको परम्परा स्थापित भएको हो । त्यसैले समाज र गृहस्थी त्यागेर होइन, यसैभित्र आबद्ध भएर ज्ञान प्राप्त गर्नु महत्त्वपूर्ण उपलब्धि हो । ध्यानका माध्यमबाटै यस्तो ज्ञानको प्राप्ति हुन्छ । यसका लागि गुरु पनि आवश्यक पर्छ ।

गुरुदीक्षाका माध्यमबाट जब साधनाको मार्गमा प्रवेश गरिन्छ, त्यसपछि जीवनमा आनन्द नै आनन्द π मानिस आफूभित्र डुबेर जब ईश्वरमा लीन हुन्छ, आफैभित्र अनहद नाद सुन्छ, बन्द आँखाले दिव्य ज्योतिको अनुभूति गर्छ, अनि श्वास–श्वासले परमेश्वरको शब्दहीन सुमिरण गर्छ, त्यो नै परमानन्दको क्षण हो, बुद्धत्व हो र सम्पूर्ण मनोविकारको अन्त्य पनि हो । यस्ता ज्ञानीहरू सांसारिक भोग–विलास अनि मान–अपमानभन्दा पर रहेर केवल कल्याणकारी चिन्तन गर्छन् ।

हो, बुद्धत्व प्राप्तिका लागि गृहत्याग, पारिवारिक वियोग गर्न र तन–मनलाई कष्ट दिनु पर्दैन । समाज छाडी जङ्गलतर्फ लाग्नु पनि पर्दैन । गृहस्थ जीवनका कर्तव्य, पारिवारिक र सामाजिक दायित्व पूरा गर्दै पनि मनको चञ्चलता नियन्त्रण गरी सत्कर्म र सदाचारलाई आत्मसात् गरी साधनारत हुने हो भने हामी सबैले बुद्धत्व प्राप्त गर्न सक्छौँ π यसै यथार्थकी साक्षी हुन्– यशोधरा, यसैका समर्थक हुन्– बुद्ध π त्यसैले बुद्धका साथसाथै यशोधराको पनि ससम्मान स्मरण गरौं ।

pratikshagunjan@gmail.com

Esewa Pasal

प्रकाशित : वैशाख १७, २०७५ ०८:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विवादरहित जन्मथलो

प्रो. गितु गिरी

काठमाडौँ — भारतमा बुद्धको जन्मस्थल लुम्बिनीको खोजखबर भइरहेका बेला पाल्पाका तत्कालीन बडाहाकिम खड्गशमशेर जबरा स्थानीय व्यक्तिहरूको सहयोगमा लुम्बिनी (पडेरिया) मा लडेको अशोक स्तम्भ खनाउँदै थिए । यो सन् १८९६ को कुरा हो । भारतको पुरातत्त्व विभागले खटाएका पुरातत्त्वविद् ए. फुहरर त्यही सालको डिसेम्बर १ मा त्यहाँ आइपुगे ।

अशोक स्तम्भको अभिलेख प्रकाशमा आएपछि बुद्धको जन्मस्थल लुम्बिनी फेला परेको सनसनी विश्वमा चल्यो । फुहरर फर्केपछि पूर्णचन्द्र मुखर्जी आए र यहाँको विवरण सन् १९०१ मा प्रकाशन गरे । १९३३–३९ मा केशर शमशेरले मायादेवीको आसपास र पुष्करिणी तलाउको उत्खनन गरे । त्यसैगरी एनआर वनर्जी (१९६६–७२), बाबुकृष्ण रिजाल (१९७५–८३), तारानन्द मिश्र (१९८४–८५), जापान बौद्ध संघ, लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग (१९९३–१९९७) तथा युनेस्को समेतको सक्रियतामा यहाँ अन्वेषण तथा उत्खनन कार्य भयो । युनेस्को सहभागितामा निरन्तर सन् २०१६ सम्म भू–भौतिक सर्भेक्षण गर्दा यसको प्राचीनता ईशापूर्व तेह्रौं शताब्दीसम्म हुनसक्ने मानिएको अवस्था छ ।

लुम्बिनी रूपन्देही सदरमुकाम सिद्धार्थनगरदेखि २२ किमि दक्षिण–पश्चिम एवं तेलार नदीको पश्चिमी किनारमा छ । नयाँ लुम्बिनी गाउँमा विश्व शान्ति स्तुप, श्रीलंकन पिलग्रिमेज हाउस लगायत छन् । पर्सा–तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी संग्रहालय छन् । यसरी नेपाल र भारतमात्र नभई विश्वका अन्य मुलुकले प्राज्ञिक अध्ययन तथा विश्लेषण गरी निर्विवाद रूपमा बुद्धको जन्मस्थल पडेरिया गाउँ छेउको लुम्बिनी हो भन्ने तथ्य स्वीकार गरिसकेका छन् । तर बेला–बेला भ्रम सिर्जना गर्ने प्रयत्न भइरहेको देखिन्छ ।

१ अगस्त २००२ को टाइम्स अफ इन्डियामा सन् १९२८ मै प्रकाशित अभिलेखका आधारमा चन्द्रभानु पटेलले लुम्बिनी भारतको उडिसामा पर्छ भनी भ्रम फैलाए । भारतमा लेखिएका नेपालका विश्वविद्यालयहरूमा पढाइने पाठ्य–पुस्तकमा पनि बुद्धको जन्मस्थल भारत भन्ने उल्लेख भएको बेला–बेला चर्चामा आएको छ । सचेत देशभक्त जनसमुदायले यसको विरोधसमेत गर्‍यो । यसै क्रममा ‘चाँदनी चोक टु चाइना’ नामक सिनेमामा पनि यही भ्रम प्रचारमा आयो । यसको विरोध पनि भयो । सन् २०१४ मा नेपाल र भारत सरकारको सहमतिमा लुम्बिनीमा आयोजित पर्यटन सम्बन्धी कार्यक्रममा वितरित सामग्रीमा पनि भ्रमपूर्ण तथ्य समेटिएपछि ठूलो हल्लीखल्ली मच्चियो । हालै श्रीलंकामा बुद्धको जन्मस्थल भारतमा भन्ने लिखित कागजात फेला परेको चर्चा चल्यो । बेला–बेला यस्ता विवादित कुरा आउने गर्छन् ।

भारतीय सम्राट अशोकले लुम्बिनीमा आएर राखेको अभिलेखमा ‘सक्यमुनिति शिलाभिगडभिचा...लुम्बिनीगामे’ भनी शाक्यमुनी बुद्ध र लुम्बिनी गाउँ किटान गरेका छन् । बाह्मी लिपि र पालि भाषामा लेखिएको उक्त अभिलेख अहिले पनि लुम्बिनीमा साक्षीस्वरूप खडा छ । त्यसो त उक्त अभिलेख अन्यत्रबाट ल्याई त्यहाँ फ्याँकिएको भन्ने भ्रमको जाल पनि बुन्न थालिएको थियो । तर उत्खननको सिलसिलामा भारतीय पुरातत्त्वविद्हरूको रोहवरमा स्तम्भको आधार त्यसै ठाउँमा फेला पर्‍यो । बौद्ध साहित्य तथा चिनियाँ यात्रीको वृत्तान्तले पनि कोलिय राज्यको पश्चिम तथा कपिलवस्तुको पूर्वपट्टि बुद्धको जन्मस्थल भएको प्रमाणित गरेका छन् । उत्खननमा फेला परेका स्मारक तथा कलावस्तुले पनि यसलाई प्रमाणित गरेका छन् । मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, पन्ध्रवटा च्याम्बर, मौर्यकालीन इँटा, प्राचीन लुम्बिनी ग्राम, माटाका भाँडाबर्तनका टुक्रा, माटाका मूर्ति, मुद्रा, माटाका छाप, स्तुप तथा विहारका स्मारक आदि सवुत दशीप्रमाणका रूपमा मौजुद छन् । भारतका आधिकारिक पुरातत्त्वविद्हरूले उत्खननको सिलसिलामा होस् वा अन्य प्राज्ञिक छलफलमा, यस तथ्यलाई निर्विवाद रूपमा स्वीकार गरेका छन् ।

विभिन्न राष्ट्र, संघ–संस्था तथा व्यक्तिले समेत बुद्धको जन्मथलो भएको नाताले आ–आफ्नो राष्ट्रिय पहिचानका विहार, स्तुप, पुस्तकालय तथा धर्मशाला निर्माण गरिसकेका छन् । अझ लुम्बिनी विश्व सम्पदा सूचीमा समावेश हुनु नै मूल स्थापित तथ्य हो । सर्वसत्य मूल्यमा स्थापित भएमात्र सम्पदामा समावेश गर्ने मान्यता छ । यो अन्तर्राष्ट्रिय मापनको मूल आधार हो । तर दुराशययुक्त मनस्थिति भएकाहरूले बेला–बेला भ्रम उब्जाउन सक्छन् । त्यसैले बेलैमा सचेत भएर मनगढन्ते तथा दुराशययुक्त हल्लालाई चिरफार गर्नुपर्छ । लुम्बिनी बुद्धको शाश्वत मातृभूमि हो । यसमा कुनै विवाद नै छैन ।

gitug2001@gmail.com

प्रकाशित : वैशाख १७, २०७५ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT