कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

विवादरहित जन्मथलो

प्रो. गितु गिरी

काठमाडौँ — भारतमा बुद्धको जन्मस्थल लुम्बिनीको खोजखबर भइरहेका बेला पाल्पाका तत्कालीन बडाहाकिम खड्गशमशेर जबरा स्थानीय व्यक्तिहरूको सहयोगमा लुम्बिनी (पडेरिया) मा लडेको अशोक स्तम्भ खनाउँदै थिए । यो सन् १८९६ को कुरा हो । भारतको पुरातत्त्व विभागले खटाएका पुरातत्त्वविद् ए. फुहरर त्यही सालको डिसेम्बर १ मा त्यहाँ आइपुगे ।

विवादरहित जन्मथलो

अशोक स्तम्भको अभिलेख प्रकाशमा आएपछि बुद्धको जन्मस्थल लुम्बिनी फेला परेको सनसनी विश्वमा चल्यो । फुहरर फर्केपछि पूर्णचन्द्र मुखर्जी आए र यहाँको विवरण सन् १९०१ मा प्रकाशन गरे । १९३३–३९ मा केशर शमशेरले मायादेवीको आसपास र पुष्करिणी तलाउको उत्खनन गरे । त्यसैगरी एनआर वनर्जी (१९६६–७२), बाबुकृष्ण रिजाल (१९७५–८३), तारानन्द मिश्र (१९८४–८५), जापान बौद्ध संघ, लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग (१९९३–१९९७) तथा युनेस्को समेतको सक्रियतामा यहाँ अन्वेषण तथा उत्खनन कार्य भयो । युनेस्को सहभागितामा निरन्तर सन् २०१६ सम्म भू–भौतिक सर्भेक्षण गर्दा यसको प्राचीनता ईशापूर्व तेह्रौं शताब्दीसम्म हुनसक्ने मानिएको अवस्था छ ।

लुम्बिनी रूपन्देही सदरमुकाम सिद्धार्थनगरदेखि २२ किमि दक्षिण–पश्चिम एवं तेलार नदीको पश्चिमी किनारमा छ । नयाँ लुम्बिनी गाउँमा विश्व शान्ति स्तुप, श्रीलंकन पिलग्रिमेज हाउस लगायत छन् । पर्सा–तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी संग्रहालय छन् । यसरी नेपाल र भारतमात्र नभई विश्वका अन्य मुलुकले प्राज्ञिक अध्ययन तथा विश्लेषण गरी निर्विवाद रूपमा बुद्धको जन्मस्थल पडेरिया गाउँ छेउको लुम्बिनी हो भन्ने तथ्य स्वीकार गरिसकेका छन् । तर बेला–बेला भ्रम सिर्जना गर्ने प्रयत्न भइरहेको देखिन्छ ।

१ अगस्त २००२ को टाइम्स अफ इन्डियामा सन् १९२८ मै प्रकाशित अभिलेखका आधारमा चन्द्रभानु पटेलले लुम्बिनी भारतको उडिसामा पर्छ भनी भ्रम फैलाए । भारतमा लेखिएका नेपालका विश्वविद्यालयहरूमा पढाइने पाठ्य–पुस्तकमा पनि बुद्धको जन्मस्थल भारत भन्ने उल्लेख भएको बेला–बेला चर्चामा आएको छ । सचेत देशभक्त जनसमुदायले यसको विरोधसमेत गर्‍यो । यसै क्रममा ‘चाँदनी चोक टु चाइना’ नामक सिनेमामा पनि यही भ्रम प्रचारमा आयो । यसको विरोध पनि भयो । सन् २०१४ मा नेपाल र भारत सरकारको सहमतिमा लुम्बिनीमा आयोजित पर्यटन सम्बन्धी कार्यक्रममा वितरित सामग्रीमा पनि भ्रमपूर्ण तथ्य समेटिएपछि ठूलो हल्लीखल्ली मच्चियो । हालै श्रीलंकामा बुद्धको जन्मस्थल भारतमा भन्ने लिखित कागजात फेला परेको चर्चा चल्यो । बेला–बेला यस्ता विवादित कुरा आउने गर्छन् ।

भारतीय सम्राट अशोकले लुम्बिनीमा आएर राखेको अभिलेखमा ‘सक्यमुनिति शिलाभिगडभिचा...लुम्बिनीगामे’ भनी शाक्यमुनी बुद्ध र लुम्बिनी गाउँ किटान गरेका छन् । बाह्मी लिपि र पालि भाषामा लेखिएको उक्त अभिलेख अहिले पनि लुम्बिनीमा साक्षीस्वरूप खडा छ । त्यसो त उक्त अभिलेख अन्यत्रबाट ल्याई त्यहाँ फ्याँकिएको भन्ने भ्रमको जाल पनि बुन्न थालिएको थियो । तर उत्खननको सिलसिलामा भारतीय पुरातत्त्वविद्हरूको रोहवरमा स्तम्भको आधार त्यसै ठाउँमा फेला पर्‍यो । बौद्ध साहित्य तथा चिनियाँ यात्रीको वृत्तान्तले पनि कोलिय राज्यको पश्चिम तथा कपिलवस्तुको पूर्वपट्टि बुद्धको जन्मस्थल भएको प्रमाणित गरेका छन् । उत्खननमा फेला परेका स्मारक तथा कलावस्तुले पनि यसलाई प्रमाणित गरेका छन् । मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, पन्ध्रवटा च्याम्बर, मौर्यकालीन इँटा, प्राचीन लुम्बिनी ग्राम, माटाका भाँडाबर्तनका टुक्रा, माटाका मूर्ति, मुद्रा, माटाका छाप, स्तुप तथा विहारका स्मारक आदि सवुत दशीप्रमाणका रूपमा मौजुद छन् । भारतका आधिकारिक पुरातत्त्वविद्हरूले उत्खननको सिलसिलामा होस् वा अन्य प्राज्ञिक छलफलमा, यस तथ्यलाई निर्विवाद रूपमा स्वीकार गरेका छन् ।

विभिन्न राष्ट्र, संघ–संस्था तथा व्यक्तिले समेत बुद्धको जन्मथलो भएको नाताले आ–आफ्नो राष्ट्रिय पहिचानका विहार, स्तुप, पुस्तकालय तथा धर्मशाला निर्माण गरिसकेका छन् । अझ लुम्बिनी विश्व सम्पदा सूचीमा समावेश हुनु नै मूल स्थापित तथ्य हो । सर्वसत्य मूल्यमा स्थापित भएमात्र सम्पदामा समावेश गर्ने मान्यता छ । यो अन्तर्राष्ट्रिय मापनको मूल आधार हो । तर दुराशययुक्त मनस्थिति भएकाहरूले बेला–बेला भ्रम उब्जाउन सक्छन् । त्यसैले बेलैमा सचेत भएर मनगढन्ते तथा दुराशययुक्त हल्लालाई चिरफार गर्नुपर्छ । लुम्बिनी बुद्धको शाश्वत मातृभूमि हो । यसमा कुनै विवाद नै छैन ।

[email protected]

प्रकाशित : वैशाख १७, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?