शिक्षाको मुहान लुम्बिनी

बुद्धले बोधगयामा ज्ञान हासिल, बनारसमा प्रसार, कुशिनगरमा महापरिनिर्वाण प्राप्त गरे पनि बुद्ध शिक्षाको उद्गमस्थल लुम्बिनी हो ।

काठमाडौँ — ईशापूर्व ६२३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ राजकुमारले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरे । बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने बनारसमा ज्ञान बाँडेका थिए । महापरिनिर्वाण भने कुशिनगरमा प्राप्त गरेका थिए ।

शिक्षाको मुहान लुम्बिनी

जन्मस्थल बाहेक बुद्धसँंग सम्बन्धित बोधगया, बनारस, कुशिनगर तीनवटै स्थान भारतमा परेकाले भारतलाई नै बुद्धज्ञानको भूमि भनेर प्रचार गर्ने गरिएको पाइन्छ । तर नेपाल नै बुद्धको ज्ञानको स्थल पनि हो ।

बुद्धकालीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु, कोलिय वंशीय राजाहरूको राजधानी रामग्राम तथा शाक्य र कोलियहरूको आधिपत्य भएको लुम्बिनी वन हुन् । यी तीनै क्षेत्र बुद्धकालीन समयमा उनको ज्ञानको उद्गम, विकास र विस्तारका निम्ति अत्यन्त महत्त्वपूर्ण भूमि बनेकाले नेपाललाई बुद्ध शिक्षाको मुहान अथवा उद्गमस्थल भन्न सकिन्छ ।

पालि साहित्यमा व्याख्या भए अनुसार चार असंख्य तथा एक लाख कल्पपूर्व भगवान् बुद्ध सुमेध नाम गरेका ऋषिका रूपमा जन्मिएका थिए । त्यस समयमा दिपंकर सम्यक् सम्बुद्धबाट प्रभावित भई उनी आफू पनि भविष्यमा सम्यक् सम्बुद्ध बन्न आवश्यक पर्ने गुण (३० पारमिता) पूर्ण गरी अन्तिम जन्ममा सिद्धार्थ गौतमका रूपमा जन्मिए ।

बोधिसत्व सिद्धार्थले मातापिता शाक्य गणराज्यका महाराजा शुद्धोदन एवं महारानी मायादेवीको कोख र जन्मभूमि लुम्बिनी वन रोजेका थिए । पूर्वजीवनहरूमा वैराग्य एवं समाधिको प्रबल संस्कार विकास भैसकेकाले शिशु अवस्थादेखि नै उनमा तपस्वीका लक्षणहरू देखिन थालेका थिए । चार वर्षको उमेरमा आफूलाई रेखदेख गर्ने सुसारेहरू राजा शुद्धोदनले हलो जोतेको उत्सवमा मस्त भएको अवस्थामा खुला जम्बु वृक्षको फेदमा सिद्धार्थ गहिरो समाधिमा गएको प्रसंग पालि साहित्यमा उल्लेख भएको पाइन्छ । सिद्धार्थले घरबार त्यागी (महाभिनिष्क्रमण) ६ वर्षसम्म देहदण्डनद्वारा तपस्या गर्दा पनि ज्ञान लाभ भएको थिएन । त्यसपछि चार वर्षको उमेरमा उनले अभ्यास गरेको श्वास–प्रश्वासप्रतिको सजगता (समाधि) को सहारा लिई अगाडि बढेपछि ज्ञान लाभ भयो । बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरे पनि उक्त साधनाको आधार भने वाल्यकालमा कपिलवस्तुमा गरेको तपस्या नै थियो । यस प्रकार बोधगयाको ज्ञान वास्तवमा कपिलवस्तुमा गरिएको साधनाकै विकसित रूप थियो, जसले उनलाई सम्यक् सम्बुद्ध बनायो ।

बुद्धको महाभिनिष्क्रमणमा उनीसंँगै ज्ञानको खोजीमा लाग्ने पाँचजना तपस्वी कौण्डन्य, अस्सजी, महानाम, वप्प र भद्दिय वर्तमान नेपालमा पर्ने कपिलवस्तुकै ब्राह्मण थिए । उनीहरूलाई पञ्चवर्गीय भिक्षु भनेर चिनिन्छ । बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि सर्वप्रथम यिनै पञ्चवर्गीय भिक्षुलाई बनारसस्थित मृगदा वनमा जीवन र जगत्को शाश्वत ज्ञान बाँडेका थिए ।

सार्वजनीन एवं सर्वकालिक सत्य जस्तै– दु:ख, दु:खको कारण, दु:खको निवारण र दु:ख निवारणको उपायको ज्ञानलाई चार आर्यसत्य भनिन्छ, जुन बुद्धज्ञानको चुरो कुरा हो । पञ्चवर्गीय भिक्षुहरूलाई सर्वप्रथम ज्ञानको देशना गरिएको घटनालाई धर्मचक्रप्रवर्तन भनिन्छ । आफ्नो देशनामा भगवान् बुद्धले मानिसले जन्मसँगै अपरिहार्य लिएर आउने विभिन्न प्रकारका दु:ख जस्तै– वृद्धावस्था, मृत्यु, शारीरिक–मानसिक पीडा, शोक, दौर्मनस्यता, प्रियसँगको विछोड, अप्रियसँगको संयोगजस्ता दु:खको वैज्ञानिक विश्लेषण गरे । उनले यस्ता दु:खहरूको पछाडिको मूलकारण तृष्णा र यसप्रतिको अविच्छिन्न आशक्तिभाव भएको तथ्य उजागर गरे । अविद्या वा बेहोसीको कारण तृष्णा उत्पन्न हुने भन्दै उक्त तृष्णाको मूल अविद्या वा बेहोसीलाई नाश गर्नु नै दु:ख मुक्तिको बाटो भएको तथ्य प्रकाश पारे । बुद्धले अति भोगविलास र अति दुष्करचर्याको बाटो त्यागी मध्यमार्ग अँंगाल्नुपर्ने शिक्षा दिए ।

बुद्धको ज्ञान प्राप्ति र प्रसार एवं वृद्धिमा पञ्चवर्गीय भिक्षुहरूको महत्त्वपूर्ण योगदान छ । पञ्चवर्गीय भिक्षुमध्ये कौण्डन्यले सिद्धार्थ जन्मने बित्तिकै शरीर लक्षणको आधारमा उनी सम्यक् सम्बुद्ध बन्ने भविष्यवाणी गरेका थिए । सिद्धार्थले घर त्यागेको खबर पाएसँगै उनी पनि अन्य चार ब्राह्मणसँगै साथ लागेर गएका थिए । कौण्डन्य बुद्धज्ञान हासिल गरी अर्हत् हुने प्रथम भिक्षु हुन् । बुद्धद्वारा देशित धर्मको सही र सटिक व्याख्याकार अस्सजीलाई मानिन्छ । उनले बुद्धका ज्ञानका द्वारपाल भनी भविष्यमा चिनिने सारीपुत्र र महामौदगल्यायनलाई बुद्ध ज्ञानको सार बताएका थिए ।

बुद्धको ज्ञानमा सर्वश्रेष्ठता हासिल गर्न पनि कपिलवस्तु र देवदहका राजकुमारहरूको उल्लेखनीय योगदान रहेको पालि साहित्यमा वर्णित छ । बोधिलाभ भएको एक वर्षपछि कपिलवस्तु आएका बुद्धबाट प्रभावित भई शाक्य एवं कोलिय वंशका राजकुमारहरू भद्दिय, अनुरुद्ध, आनन्द, भृगु, किम्मिल एवं देवदत्त तथा तिनै राजकुमारहरूको केश काटी जीविका चलाउने उपालि बुद्धधर्ममा दीक्षित भएका थिए । धर्म प्रवेशपश्चात् बुद्ध धर्ममा श्रेष्ठता हासिल गरेका उनीहरूले नै बुद्धको महापरिनिर्वाणपछि ३ महिनामा भएको प्रथम संगीतिमा महत्त्वपूर्ण योगदान गरेका थिए । बुद्धका निजी सेवक भएका आनन्दले बुद्धले ४५ वर्षसम्म देशना गरेको धर्मलाई प्रथम संगायनमा वाचन गरेका थिए भने उपालिले भिक्षु तथा भिक्षुणीहरूले पालन गर्नुपर्ने नियमहरू प्रकाश पारेका थिए । यसैगरी बौद्ध संघमा महिला प्रवेशको शुभारम्भ पनि कपिलवस्तुका महिलाबाटै भएको पाइन्छ । बुद्धले महिलालाई पनि पुरुषसरह लोककल्याणकारी धर्मको अभ्यास गर्ने अवसर र प्रेरणा दिएका छन् । यस प्रसंगमा कपिलवस्तुका ५ सय राजकुमारी सहित बुद्धसंघमा बुद्धकी कान्छी आमा महाप्रजापति गौतमी, सिद्धार्थ पत्नी यशोधरा प्रवेश गरेको घटनालाई अनुपम मानिन्छ ।

नेपाल शाक्यमुनी बुद्धको ज्ञानभूमि, उनी अगाडिका कनकमुनी र क्रकुच्छन्द बुद्धको जन्मस्थल एवं ज्ञानभूमि पनि हो । शाक्यमुनी बुद्ध महापरिनिर्वाणको अढाई शताब्दीपछि नेपाल आएका तत्कालीन सम्राट् अशोकले बुद्ध जन्मस्थल लुम्बिनीका साथै कपिलवस्तुको गोटीहवामा क्रकुच्छन्द र निग्लिहवामा कनकमुनी बुद्धको जन्मस्थल भएको भनी शिलास्तम्भ राख्न लगाएबाट यो तथ्यको पुष्टि भएको छ । यसर्थ नेपाललाई बुद्ध जन्मभूमिसँगै ज्ञानभूमिका रूपमा पनि बुझ्न जरूरी छ ।

न्यौपाने लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका प्रमुख हुन् ।

प्रकाशित : वैशाख १७, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?