१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विकराल बन्दै प्रसूति हिंसा

ग्रामीण भेगका गर्भवती शल्यक्रिया सेवाको पहुँचबाट वञ्चित भई अकालमा आफ्नो र गर्भे शिशुको ज्यान गुमाउन बाध्य छन् भने सहरका शिक्षित र सम्पन्न महिला प्रसूति हिंसाको सिकार भएका छन् ।
डा. लक्ष्मी तामाङ

काठमाडौँ — वैशाख पहिलो साता स्वास्थ्यकर्मी महिलाहरूको एक प्राज्ञिक भेलामा छलफल गर्ने क्रममा थाहा भयो, बच्चा भइसकेका ८ स्वास्थ्यकर्मी महिलामध्ये ५ जनाले शल्यक्रिया गरी सन्तान जन्माएका रहेछन् । शिक्षित, सहरी र सम्पन्न महिला वर्गमा आधुनिकीकरणसँगै महिलाहरू प्राकृतिक रूपमा सन्तान उत्पादन गर्ने कार्यमा अशक्त, असमर्थ र असक्षम हुँदै गएका छन् ।

विकराल बन्दै प्रसूति हिंसा

दिन–प्रतिदिन उनीहरूको जैविक प्राकृतिक शक्तिमा ह्रास आइरहेको छ । हाम्रा आमा र हजुरआमाहरू प्राय:जसो अशिक्षित, ग्रामीण भेगमा बस्ने र विपन्न वा मध्यम वर्ग भएर पनि कति सशक्त र सक्षम थिए, प्राकृतिक रूपमै सन्तान उत्पादन गर्न सक्थे । आधुनिक चिकित्सा सेवाबाट वञ्चित भएकाले गर्दा उनीहरू घरपरिवार, आफन्त र छरछिमेकका महिलाहरूको सहयोगमा घरैमा प्रसूति गराउन बाध्य थिए । जसले गर्दा उनीहरू प्राय: आमा बन्ने क्रममा कि आफू मर्थे कि आफ्नो शिशुलाई यस संसारमा आउनु अघि नै गुमाउँथे । विशेषत: ग्रामीण भेगका विपन्न महिलाहरूमा यस्तो बाध्यात्मक परिस्थिति अझै छ ।

शल्यक्रियाद्वारा सन्तान उत्पादन गर्ने दर बढेको बारे प्राय: प्रसूति रोग विशेषज्ञ चिकित्सक र महिला स्वास्थ्यकर्मीहरू भन्ने गर्छन्, ‘गर्भवती महिला र उनको परिवारजन स्वयंले शल्यक्रियाद्वारा सन्तान उत्पादन गर्न माग गर्ने गर्छन् । प्राकृतिक रूपमा सन्तान जन्माउने जोखिम लिन चिकित्सक र गर्भवती दुवैले चाहँदैनन् ।’ यस्ता तर्कलाई अध्ययन, अनुसन्धानले भने मिथ्यांक र भ्रामिक प्रचारबाजी भन्छ । नेपाल लगायत विभिन्न देशहरूमा गरिएको अनुसन्धान अनुसार गर्भवती महिलाकै अनुरोधमा शल्यक्रियाद्वारा बच्चा जन्माइएका घटना बढीमा बढीमा १, २ प्रतिशतमात्र छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्भवती महिलाले शल्यक्रिया गरी सन्तान जन्माउन माग गरे पनि चिकित्सक टोलीले चिकित्सा कारण बाहेकका हकमा शल्यक्रिया गरी महिला र नवशिशुको ज्यानमा जोखिम मोल्ने कार्य गर्नु हुँदैन ।

अमेरिका, बेलायत, जर्मनी, स्वीडेन र रूसजस्ता विकसित देशका महिला जो विभिन्न कारणले नेपालमा बस्दै आएका छन्, उनीहरूको देखाइ र भोगाइ भने पृथक छ । कतिपय ती महिला घरमै प्राकृतिक रूपमा सन्तान जन्माउनका लागि गर्भावस्थाको समयमा सम्पर्क गर्छन् । अस्पताल गई सन्तान उत्पादन गर्न किन नचाहेको भनी प्रश्न गर्दा प्राय:ले भन्छन्, ‘अस्पतालमा बच्चा जन्माउन गयौं भने चिकित्सक र नर्सहरूले मनोमानी ढङ्गले हाम्रो शरीरमाथि खेलबाड गर्छन्, त्यहाँ हाम्रो कुनै सुनवाइ हुँदैन, नियमित रूपमा जे गर्दै आइरहेका छन्, सोही गर्छन्, जुन म चाहन्न । त्यसैले दक्ष प्रसूतिकर्मी, मिडवाइफहरूको सहयोगमा घरमै सुरक्षित ढङ्गले बच्चा जन्माउन चाहन्छु, जहाँ मेरो इच्छा अनुसार मिडवाइफहरूले सहयोग गर्छन् ।’

महिला अधिकार र हिंसाका कुरा गरेर नथाक्ने कतिपय महिला अधिकारवादीहरू देखेर दया लागेर आउँछ– जबकि उनीहरू स्वयंले आफ्नो शरीर, प्रजनन, यौनिकता र सन्तान उत्पादन गर्ने अधिकार पूर्णरूपमा उपयोग गर्न असमर्थ र असक्षम भई स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनन् । ग्रामीण र पिछडिएका महिला वर्गहरूको अधिकारका लागि भन्दै आवाज उठाइरहेका छन् । जबसम्म शिक्षित, सहरी र सम्पन्न महिलाहरू स्वयंले आफ्नो शरीर, प्रजनन, यौनिकता र सन्तान उत्पादन गर्ने अधिकार पूर्ण उपयोग गर्न सक्दैनन् वा आफूलाई असमर्थ मान्ने/ठान्ने गर्छन्, तबसम्म उनीहरू स्वयं सशक्त भएका मानिन्नन् ।

प्राकृतिक रूपमै महिला वर्ग सन्तान उत्पादन गर्ने सशक्त लिङ्गको रूपमा पहिचानसहितको जिम्मेवारी प्राप्त जाति हुन् । तर आधुनिकीकरणसँगै महिला स्वयंले आफूलाई सन्तान उत्पादन गर्न अशक्त सिद्ध गर्दै आइरहेका छन्, सहरी महिलाहरूले । अर्कोतिर चिकित्सक र स्वास्थ्यकर्मीले समेत उनीहरूकै चाहना अनुसार हामी शल्यक्रिया गर्न बाध्य छौं भन्दै पेसागत नैतिकता बाहिर गई गर्ने कुतर्क पनि उत्तिकै टिठलाग्दो छ ।

अल्पविकसित सामाजिक मानसिकता भएको हाम्रोजस्तो पितृसत्तात्मक सोचबाट ग्रसित राष्ट्रमा जुनसुकै सामाजिक अन्यायको घटनामा दोषजति पीडित पक्षलाई दिने गरेको पाइन्छ । यो शल्यक्रिया गरी बच्चा जन्माउने महिलाका हकमा पनि लागू हुन्छ । प्रसूति हिंसाको सिकार बनेका छन्, यहाँका सहरी महिला । अनेक बहानाबाजीमा उनीहरूलाई अनावश्यक चिरफार गरी भविष्यमा उनीहरूको सन्तानलाई दम, मधुमेह, मोटोपनजस्ता दीर्घरोगको खतरा निम्त्याइन्छ । कृत्रिम र असामान्य परिस्थिति सिर्जना गरी महिलालाई अशक्त बनाइन्छ, अनि त्यसको दोष फेरि उनीहरू स्वयंलाई दिइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० प्रतिशत गर्भवतीलाई बच्चा जन्माउने क्रममा शल्यक्रिया आवश्यकता पर्छ । गर्भवतीको शारीरिक परिस्थितिले ५ प्रतिशत र अर्को ५ प्रतिशत गर्भे शिशुको असामान्य स्थितिले गर्दा यस्तो आवश्यकता पर्छ । कुनै निश्चित भौगोलिक क्षेत्र वा स्वास्थ्य संस्थामा बढीमा १५ प्रतिशतले शल्यक्रिया गरी बच्चा जन्माउने गरेका छन् भने त्यो अधिकतम स्वीकार्य दर हो । ‘यदि त्योभन्दा बढी दरमा चिरफार गरी बच्चा जन्माइन्छ भने अनावश्यक आर्थिक प्रलोभनमा परेर शल्यक्रिया गरेको भन्ने बुझिन्छ,’ सङ्गठनले भनेको छ, ‘कुनै भौगोलिक क्षेत्रमा ५ प्रतिशतभन्दा कमले शल्यक्रियाबाट बच्चा जन्माउने गर्छन् भने त्यहाँ उक्त सेवाबाट बञ्चित भई आमा बन्ने क्रममा गर्भवतीको मृत्यु भइरहेको छ भन्ने बुझिन्छ ।’

शल्यक्रिया गरी सन्तान उत्पादन गर्नु भनेको गर्भवती महिला र नवशिशु दुबैलाई जोखिममा पार्नु हो । तर अज्ञानताले गर्दा शल्यक्रिया सुरक्षित हो भन्ने बुझाइ रहेको पाइन्छ । सन् २०१६ को नेपाल जनसांख्यिकीय तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा जम्मा ९ प्रतिशत महिलाले शल्यक्रिया गरी बच्चा जन्माउने गर्छन् । ग्रामीणमा ६ प्रतिशत र सहरमा १२ प्रतिशत महिलाले शल्यक्रियाको माध्यमबाट बच्चा जन्माउँछन् । सरकारी स्वास्थ्य संस्थामा १२ प्रतिशत र निजीमा ३५ प्रतिशत महिलाले शल्यक्रियाद्वारा सन्तान जन्माउँछन् । त्यसैगरी एसएलसी वा सोभन्दा माथि अध्ययन गरेका २० प्रतिशतले र अशिक्षित ५ प्रतिशतले मात्र शल्यक्रिया गरी बच्चा जन्माएको देखिन्छ । आर्थिक रूपमा सम्पन्न २८ प्रतिशतले र विपन्न दुई प्रतिशतले मात्र त्यसरी शल्यक्रिया गरेको पाइन्छ । एकातिर ग्रामीण भेगका गर्भवती शल्यक्रिया सेवाको पहुँचबाट बञ्चित भई अकालमा आफू र गर्भे शिशुको ज्यान गुमाउन बाध्य छन् भने अर्कोतर्फ सहरमा शिक्षित र सम्पन्न महिला प्रसूति हिंसाको सिकार भएका छन् ।

सहर केन्द्रित विभिन्न निजी तथा अर्ध गैरसरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको तथ्यांक केलाउँदा कहालीलाग्दो परिस्थिति देखिन्छ, जसमा यो दर ४६ देखि ९० प्रतिशत पाइन्छ । कतिपय यस्ता अस्पतालका प्रशासकहरूका अनुसार उनीहरूको प्रसूति वार्ड सबैभन्दा बढी आर्जन गर्ने वार्ड हो । यस्तो कहालीलाग्दो तथ्यांकप्रति सरकारले कुनै पनि रणनीतिक सोच र धारणा व्यक्त गरेको छैन । यसको रोकथाम नगरेमा आगामी दिनमा प्रतिफल पनि भोग्नुपर्ने हुन्छ । अर्कोतर्फ मानव तथा महिला अधिकारकर्मी लगायतका उपभोक्त मञ्च र सुरक्षित मातृत्व सेवा क्षेत्रमा कार्यकरत पेसाकर्मी, प्रजनन तथा मातृत्व स्वास्थ्य अधिकारकर्मी र अभियन्ता पनि यसप्रति मौन छन् । शिक्षित, सहरी र सम्पन्न वर्गका गर्भवती आफैं प्रसूति हिंसाबाट पीडित छन् भने अज्ञानता र अचेतनाले गर्दा चुइँक्क एक शब्द पनि बोल्न नसक्ने दूरदराजका महिलाको हालत के होला ?

प्रकाशित : वैशाख १८, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?