१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेसको गन्तव्य

नेतृत्वले आन्तरिक रूपबाट सुव्यवस्थित, संगठनात्मक रूपबाट सुदृढ र नीतिगत रूपमा सु–स्पष्ट पार्टी बनाएर सबै चुनौतीलाई कुशलतापूर्वक सामना गर्नसक्ने योग्यता प्रदर्शन गर्न सक्नुपर्छ ।
दीपक गिरी

काठमाडौँ — सन् १९४५ मा दोस्रो विश्वयुद्धको अत्यपछि विश्वविख्यात नेता तथा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिल त्यहाँ सम्पन्न आमचुनावमा पराजित हुनपुगे । त्यत्रो भीषण महायुद्धमा बेलायतलाई विजयी बनाएका नेता निर्वाचनमा पराजित हुनु चानचुने कुरा थिएन ।

कांग्रेसको गन्तव्य

बेलायती मतदाताले चर्चिललाई अनावश्यक रूपमा देशलाई युद्धमा धकेलेको, राष्ट्रिय अर्थतन्त्र धराशायी पारेको र लामो समयसम्म नागरिकलाई युद्धको मनोवैज्ञानिक त्रासदीमा बाँच्न विवश तुल्याएको जस्ता गम्भीर आरोप लगाए । तिनै चर्चिल ५ वर्षपछिको निर्वाचनमा पुन: विजयी भए । यो प्रसंग किन उद्धृत गरिएको हो भने नेपालमा भर्खरै तीनै तहको निर्वाचन सम्पन्न भयो । तर यो ऐतिहासिक निर्वाचन सम्पन्न गराउने पार्टी नेपाली कांग्रेस पराजित भयो । आखिर किन यस्तो भयो ? यतिबेला यो विषय नेपाली कांग्रेसभित्र र बाहिर सर्वत्र बहसको विषय भएको छ । कांग्रेसको जारी बैठकमा समेत यो नै प्रमुख मुद्दा बन्यो ।

१३ आैं महाधिवेशनपछि कांग्रेसको निर्वाचित नेतृत्व अहिले आफ्नो कार्यकालको करिब–करिब मध्यान्तरमा छ । अहिलेको नेतृत्वले २ वर्ष पुरा गरेको छ भने पार्टीको विधान अनुसार अब २ वर्ष बाँकी छ । कारणवश महाधिवेशन गर्ने समय १ वर्ष थप्नसक्ने विधानमा प्रावधान छ । यो प्रावधानलाई प्राय: सबै महाधिवेशनमा उपयोग गर्ने प्रचलन छ ।

बाँकी समयलाई पार्टी नेतृत्वले पार्टीको संगठन सुदृढीकरण र व्यवस्थापनमा सही किसिमबाट प्रयोग गर्ने हो भने कांग्रेस फेरि पहिलेकै अवस्थामा आउनेमा कुनै शंका छैन । अबको संसदीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने सुनिश्चित नै छ । तर त्यसका लागि अरू कमजोर भएमा वा अरू पार्टी फुटेमा हामी बलियो हुन्छौं भनेर च्याँखे थापेर बस्ने होइन । प्रतिपक्षी पार्टी बलियो भए पनि वा दुई प्रतिपक्षी पार्टीको एकता कायमै रहे पनि हामी सबैभन्दा अगाडि हुन्छौं भन्ने दृढ संकल्प र आत्मबल लिएर अघि बढ्नुपर्छ । यो काममा निश्चय नै पार्टी सभापतिको नेतृत्वदायी भूमिका रहन्छ । यसमा पार्टी सभापतिलाई पार्टीका अन्य पंक्तिबाट बलियो सहयोग हुनुपर्छ । र यसमा कांग्रेसका तमाम कार्यकर्ता पनि इमानदार, अनुशासित र मर्यादित हुन आवश्यक छ ।

पार्टीभित्र गुट/उपगुटको प्रवृत्ति कायमै रहने, गुट–उपगुटले पार्टी सभापतिलाई थर्काउने, घुक्र्याउने र पार्टी सभापतिले पनि जसले थर्काउँछ, घुक्र्याउँछ, त्यसको कुरा मान्दै जाने परम्परा देखियो । यस्तो प्रवृत्तिले पार्टीलाई फाइदा पुर्‍याउँदैन । यहाँसम्म कि गुट–उपगुटलाई चित्त बुझाउन पार्टी सभापतिले पार्टीको विधान विपरीत संसदीय समिति र कार्यसम्पादन समिति बनाउनुभयो । विधान विपरीत बनाउनुमा यसको सबै दोष पार्टी सभापतिलाई दिइयो नै, तर संसदीय समिति र कार्यसम्पादन समिति विधान विपरीत बनाउनुमा दुवै पक्षको मिलेमतो छ । यसमा दुवै पक्षको उत्तिकै सहभागिता छ । मिलेमतोबाटै विधान उल्लङ्घन गर्ने काम भएको छ । विधान उल्लङ्घन हुनुमा अर्को पक्ष पनि जिम्मेवार छ । तर पनि विधान मिच्ने काममा नेतृत्वदायी भूमिका पार्टीका शीर्षस्थ नेताहरूकै बढी छ । निर्णयहरू विधानसम्मत हुनुपर्ने र विधानको पालना गर्नुपर्ने कुरामा पार्टी नेतृत्व प्रारम्भदेखि नै सचेत र सजक हुनुपथ्र्यो । तर त्यस्तो सजगता अपनाएको देखिएन । दुभाग्र्य नै भन्नुपर्छ, विधान लत्याउने काम सुरुदेखि नै भएको छ ।

त्यसैले विगतका गल्ती–कमजोरी सच्चाउँदै पार्टीलाई विधान अनुरूप सञ्चालन गर्ने र कार्यशैलीमा सुधार गरी सक्रियता ल्याउने हो भने अझै पनि बाँकी रहेको यो समयमा पार्टीलाई बलियो बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ । यो चुनावमा अपेक्षाकृत पार्टी बलियो हुन नसक्नुमा पार्टी नेतृत्व जिम्मेवार छ नै । यसमा अरू कारणहरूको पनि समीक्षा खोज्नुपर्छ । विगतमा पार्टी नेतृत्वको ढिलासुस्ती भएकै हो । पदाधिकारी मनोयन, विभागहरूको पूर्णता र अन्य पदमा गर्नुपर्ने मनोनय पार्टीको विधान अनुसार समयमै गरिएको भए आज हामी पार्टी हार्नुमा एमाले र माओवादीको गठबन्धनलाई मात्रै दोष दिएर बस्नुपर्ने थिएन । पार्टीको ‘पोजिसन’ निश्चय नै अहिलेको भन्दा बलियो हुन्थ्यो । पार्टी नेतृत्व वाम गठबन्धनसँंग सुरुदेखि नै सतर्क भएन । एमाले र माओवादी केन्द्र मिल्न सक्दैनन् भन्ने भ्रम पार्टी नेतृत्वलाई रहिरह्यो । यही भ्रमबाट कांग्रेस नेतृत्वले गत स्थानीय तहको निर्वाचनमा केही महत्त्वपूर्ण ठाउँमा माओवादी केन्द्रलाई सहयोग गर्‍यो । यसमा पनि पार्टी नेतृत्व चुकेको देखिन्छ । यो इतिहासले मूल्याङ्कन गर्दै जाला ।

यो अवधिमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई चुस्त–दुरुस्त तथा बलियो बनाउन कांग्रेस नेतृत्व चुकेको देखिन्छ । चुनावको बेला पार्टीको पक्षमा जनमत बढाउन तथा पार्टीको लागि माहोल सिर्जना गर्न भ्रातृ संगठन तथा शुभेच्छुक संगठनहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । विपक्षी दलहरूले चुनावको बेला पार्टीको पक्षमा भोट बटुल्न आफ्ना भ्रातृ संगठन र भ्रातृ संगठनका कार्यकर्ताहरू राम्रोसँंग प्रयोग गरे । तर दुर्भाग्यवश नेपाली कांग्रेसका अधिकांश भ्रातृ संगठनहरू यो चुनावको बेला कांग्रेसको लागि राम्रोसंँग परिचालन हुन सकेनन् । भ्रातृ संगठनका अधिकांश पदाधिकारीहरू नै टिकट पाउन दौडधुप गर्नमै समय बिताए । भ्रातृ संगठनहरू केही मान्छेका इसारामा चल्ने संगठन भए ।

शक्तिशाली भ्रातृ संगठन मानिएका नेविसंघ र तरुण दल पनि पार्टीको भावना अनुसार पार्टीलाई बलियो र लोकप्रिय बनाउन पार्टीको हितमा राम्रोसँंग प्रयोग हुन सकेनन् । अहिले पनि यही स्थिति कायमै छ । भ्रातृ तथा शुभेच्छुक संगठनहरूमा राम्रा मान्छेलाई ल्याउनुभन्दा पनि गुटकाहरूलाई ल्याउनुपर्छ भन्ने प्रवृत्ति पार्टीका केन्द्रीय नेताहरूमा रहेकोले यो स्थिति आएको हो । यस्तो मानसिकतालाई परिवर्तन गर्न आवश्यक छ । नेतृत्वले संगठन हेर्नुपर्छ, पार्टी हेर्नुपर्छ, ।

भ्रातृ तथा शुभेच्छुक संगठनहरूमा गुटका मान्छे परे कि परेनन् भन्ने सोचले गुटका मान्छेहरूले अवसर त पाउलान्, तर यसले पार्टीलाई फाइदा पुर्‍याउँदैन । यसबाट भ्रातृ संगठनहरू नाम मात्रका हुन्छन् । नाम मात्रका भ्रातृ संगठनहरूले पार्टीलाई के ऊर्जा दिन सक्छन् ? भ्रातृ संगठनहरूलाई चुस्त–दुरुस्त, क्रियाशील र जिम्मेवार बनाउनु पार्टी नेतृत्वको लागि अवसर पनि हो । अधिवेशन नभएका भ्रातृ तथा शुभेच्छुक संगठनहरूमा अधिवेशन चाँडोभन्दा चाँडो गर्ने, रिक्त रहेका पदहरूमा सक्षम र काम गर्न सक्नेहरूलाई राख्ने, निष्क्रिय र काम गर्न नचाहने, नगर्नेहरूलाई पदमुक्त गर्ने साहस नेतृत्वले देखाउन सक्नुपर्छ ।

विधानत: पार्टी सभापतिले अब गर्नुपर्ने काम धेरै छन् । त्यसमा पनि पार्टीलाई प्रादेशिक संरचनामा लैजान विधान संशोधन गर्नुपर्ने आवश्यकता छ । अहिले पनि नेपाली कांग्रेस पुरानै संरचनामा चलेको छ । प्रादेशिक समितिहरू कांग्रेसले बनाएको छैन । किनभने प्रदेशका संरचना अहिलेको विधानले मानेको छैन । पछिल्लो २ वर्षमा नेपाली कांग्रेसको विधानको बेवास्ता भएको छ । यो बेवास्ता गर्ने काम अहिलेको नेतृत्वबाट पनि भएको छ । निश्चय नै विधानको बेवास्ता गर्ने काम पूर्णरूपमा बन्द हुनुपर्छ । यहाँसम्म कि विधान बेवास्ता गर्ने काममा पार्टीका दुई पक्षबीच गुटबन्दी भएको छ । त्यसैले विधान बाहिर गई गरिएका निर्णयहरू सच्याउन अब पार्टी नेतृत्वले हिम्मत देखाउनैपर्छ । पार्टीभित्र सिर्जिएका यस्ता गुट–उपगुटहरू पार्टी हितका लागि खतरनाक सावित हुने गर्छन् ।

विगतको अनुभवले पनि यस्तै देखाएको छ । गुट–उपगुट मौलाउँदै जानु भनेको पार्टी कमजोर हँुदै जानु हो र पार्टीभित्रको अनुशासनहीनता बढ्दै जानु हो । अनुशासनहीनताले पार्टीमा विकृति ल्याउँछ । अनुशासनहीनतालाई रोक्न पार्टी नेतृत्वले साहस देखाउनुपर्छ । गत संसदीय निर्वाचनमा पार्टीको अनुशासनलाई खुलेआम चुनौती दिँदै पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने काम पार्टीभित्रकै केही नेताबाटै भएका छन् । पार्टी नेतृत्वबाट उल्टै अनुशासन उल्लङ्घन गर्नेहरूलाई संरक्षण गर्ने हो भने यसले पार्टीलाई भोलि कहाँ पुर्‍याउला ? कल्पना गरांै । त्यसैले पार्टीभित्रको अनुशासन र मयार्दालाई कायम राख्न पार्टी नेतृत्वले खुट्टा कमाउनु हँुदैन, साहसिक कदम चाल्नैपर्छ । अनुशासन उल्लङ्घन गर्नेहरू आफ्नै व्यक्ति छन् भने पनि उनीहरू ‘मेरा मान्छे’ होइनन् भन्ने पार्टी नेतृत्वले बुझ्नुपर्छ । यस्तो भावना पार्टीका अन्य नेताहरूमा पनि जाग्नुपर्छ ।

क्रियाशील सदस्यका सम्बन्धमा पार्टी विधानमा गरिएको बन्दोबस्त र मापदण्डलाई मात्र पालना गर्ने हो भने पनि धेरै समस्या स्वत: समाधान हुन्छ । पार्टीको आदर्श, सिद्धान्त, उद्देश्य र लक्ष्यप्रति प्रतिबद्ध पार्टीका लागि निष्ठापूर्वक काम गर्न चाहने व्यक्तिमात्रै पार्टीको क्रियाशील सदस्य हुनसक्ने व्यवस्थालाई अक्षरश: पालना गरिनु पार्टीका लागि दूरगामी हितको विषय हुनसक्छ ।

हामी इतिहासको महत्त्वपूर्ण कालखण्डमा छौं । हाम्रो बैठकले ऐतिहासिक निर्णय लिने नै छ । राजनीतिलाई नयाँ अध्यायमा प्रवेश गराउन सक्ने २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमार्फत संविधानसभाको निर्वाचन सम्पन्न गरी नयाँ संविधान निर्माण गर्नसक्ने र आन्दोलनमार्फत स्थापना गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी तीनै तहको निर्वाचन गराउन सक्ने सामथ्र्य भएको पार्टीले निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसक्दा पार्टीका कार्यकर्ताहरूमा गहिरो निराशा, छट्पटी र तनाव देखिएको छ । यो चिन्तालाई हटाएर पार्टीलाई आन्तरिक रूपबाट सुव्यवस्थित, संगठनात्मक रूपबाट सुदृढ र नीतिगत रूपमा सु–स्पष्ट बनाएर सबै चुनौतीलाई कुशलतापूर्वक सामना गर्नसक्ने योग्यता प्रदर्शन गर्न सक्नुपर्छ । वास्तवमा हाम्रालागि वर्तमान अवस्था एक किसिमको ऐतिहासिक अवसर हो । यो अवस्थालाई सदुपयोग गर्न चुक्नु हुँदैन । यसका लागि पार्टीका कार्यकर्ताहरूमा उत्साहको सञ्चार गरी नयाँ रक्तसञ्चार हुने निर्णय पार्टीले लिन सक्नुपर्छ ।

गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : वैशाख १८, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?