कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरभन्दा पर कोरियाली नेता

ट्रम्प पानमुन्जोमको भन्दा पनि सम्झनयोग्य तस्बिर दिन चाहन्छन्, जसमा आफैंले कुनै समय ‘लिटिल रकेट म्यान’ उपनाम दिएका नेतासँग उनी हात मिलाइरहेका हुनेछन् ।

काठमाडौँ — तस्बिरको महत्त्व हुन्छ । सन् १९३८ मा विश्वले तत्कालीन बेलायती प्रधानमन्त्री निभाइल च्याम्बरलेनले जर्मनका तानाशाह हिट्लरसँग हात मिलाएको, १९८५ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रूसी राष्ट्रपति मिखाइल गोर्भाचोव सँगै आगो तापिरहेको, २००३ मा इराकी राष्ट्रपति सद्दाम हुसेनको बगदादमा लडाइएको मूर्तिका तस्बिरहरू यसका उदाहरण हुन् ।

तस्बिरभन्दा पर कोरियाली नेता

गत शुक्रबार उत्तर र दक्षिण कोरियाको सीमामा पर्ने गाउँ पानमुन्जोमबाट दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका प्रमुख नेता किम जोङ उनले हात मिलाउँदै सीमा पार गरेको तस्बिर सार्वजनिक भयो । दुई कोरियालाई विभाजित गर्ने खुट्टाको गोलीगाँठा जतिको उचाइको ‘पर्खाल’ नाघेर दक्षिणमा छिर्न उत्तरका नेता किमलाई ६५ वर्ष लाग्यो । त्यसपछि किमले थोरै समयकै लागि भए पनि हात मिलाउँदै दक्षिणका राष्ट्रपति मुनलाई उत्तरको भूमिमा पाइला टेकाए । त्यसपछि दुई नेताहरू अद्वितीय वार्ताका लागि १९८९ मा बनेको तीनतले शान्ति भवनमा प्रवेश गरे ।


‘यो भवनसम्म हिँडेर आइपुगेपछि मलाई लाग्यो, यहाँसम्म आउने किन यति गाह्रो भयो ? अखिर हामी दुईलाई विभाजित गर्ने पर्खालको उचाइ त ठूलो रहेनछ,’ उनले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘यहाँबाट अब नयाँ इतिहासको सुरुआत हुन्छ । त्यो इतिहास शान्तिको युगको हो ।’


द्विपक्षीय वार्तापछि शान्ति भवन बाहिर बोल्दै दुवै नेताले आफूहरूबीच कोरियाली युद्धको औपचारिक समाप्ति गर्ने सम्झौताबारे छलफल भएको बताएका थिए । त्यसपछि दुई देशले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘अब कोरियाली प्रायद्वीपमा युद्ध हुँदैन । हाम्रो साझा प्रतिबद्धता कोरियाली प्रायद्वीपलाई आणविक शस्त्रमुक्त क्षेत्र बनाउनु हुनेछ ।’


आगामी केही महिना तथा वर्षमा हुने घटनाले पानमुन्जोमका तस्बिरहरू इतिहासमा कुन हिसाबमा उल्लेख हुन्छन् भन्ने निक्र्योल गर्ने छन् । यी दुई राष्ट्रबीच १९९० को सुरुआततिर पनि शान्ति सम्झौताको प्रयास भएको थियो । तर किमका हजुरबुबा किम इल सुङले आणविक निशस्त्रीकरणमा नजाने अडान लिएपछि वार्ता भंग भएको थियो ।

हाल उत्तरका नेता किमको यति सहज रूप देख्दा उनको केही समय अघिसम्मको तानाशाही छवि बिर्सन सहयोग पुग्छ । जसले जे भने पनि होचो कदको मोटो ज्यान भएका ३५ वर्षे तानाशाह किम नै अहिले सिर्जना भएको परिस्थितिको प्रमुख पात्र हुन्, नकि दक्षिणका राष्ट्रपति मुन, अमेरिकी राष्ट्रपति ट्रम्प वा चिनियाँ राष्ट्रपति सी । तर त्यो तस्बिरले बयान गर्न नसक्ने विषय भनेको किमको मनमा के छ भन्ने नै हो ।


वासिङटनमा बसेर कोरियालाई नियाल्ने कूटनीतिज्ञहरू किमको दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिकमा भाग लिने निर्णयदेखि अहिलेसम्मको कदमलाई आणविक हतियार जोगाउने, विश्वले उत्तरमाथि लगाएका आर्थिक प्रतिबन्धहरू खुकुलो पार्ने र दक्षिण कोरिया र अमेरिका बीचको सम्बन्धमा विभाजन गराउने तिकडमबाजी भएको विश्लेषण गर्छन् । केही सैनिक प्रमुख तथा ट्रम्प प्रशासनका अधिकारीहरू भने किमको अन्तिम लक्ष्य भनेको कोरियाली प्रायद्वीपमाथि नै कब्जा गर्नु हो भन्ने विश्वास राख्छन् ।


गत डिसेम्बरमा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले फक्स न्युजसँगको अन्तर्वार्तामा उत्तरले आफूसँग भएको आणविक हतियारको आडमा ‘ब्ल्याकमेल’ गरेर दुई कोरियालाई आफ्नो अधीनमा एकता गराउन खोजेको बताएका थिए । जनवरीमा तत्कालीन सीआईएका प्रमुख तथा हालका गृहमन्त्री माइक पोप्पेओले पनि उस्तै खाले प्रतिक्रिया दिएका थिए । यस्तै अमेरिकी सेनाको प्रशान्त कमाण्डका प्रमुख एडमिरल ह्यारी ह्यारिसले ‘हाउस आम्र्ड सर्भिस कमिटी’लाई किमले कोरियालाई कम्युनिस्ट प्रणाली अन्तर्गत रहेर एक गर्न खोजेको बताएका थिए ।


अहिले परिस्थितिमा परिवर्तन आएको छ । ट्रम्प किमलाई भेट्न तयार भएका छन् । पोप्पेओले किमसँग प्योङयाङमै गएर भेट गरिसकेका छन् । त्यसयता अमेरिकी अधिकारीहरूले उत्तर कोरियाबारे सार्वजनिक रूपमा मनलाग्दी टिप्पणी गर्न छाडेका छन् । ट्रम्पको पनि किमप्रतिको बोलीमा परिवर्तन आएको छ । जबकि केही समय पहिला ट्रम्पले किमका कारण उत्तर कोरियालाई पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए । अहिले तिनै किम ट्रम्पका लागि ‘खुला’ र ‘सम्मननीय’ भएका छन् ।


गत शुक्रबार पुरै विश्वले हेरेको पानमुन्जोमको फुटेज टिभी हेर्न औधी रुचाउने ट्रम्पले पनि हेरेको हुनुपर्छ । त्यस भेटवार्ता र पछिल्लो घटनाक्रमबारे ट्रम्पले निकै संयमित भएर ट्विट गरेका छन्, ‘गतवर्ष गरिएको मिसाइल प्रक्षेपण र आणविक परीक्षणपछि उत्तर र दक्षिणबीच ऐतिहासिक वार्ता भइरहेको छ । राम्रा कार्यहरू भइरहेका छन्, तर अरू कुरा समयले बताउनेछ ।’ यो ट्विट गरेको दस मिनेटमै उनले पुन: ट्विट गरे र वार्ताको श्रेय आफूलाई दिए, ‘कोरियन युद्ध समाप्त हुँदैछ । अमेरिका र अमेरिकी नागरिकले कोरियामा भइरहेको प्रगतिमा गर्व गर्नुपर्छ ।’


अमेरिका र चीनलाई पृष्ठभूमिमा राखेर दुई कोरियाबीच शान्ति सम्झौता हुनेमा आश्वस्त हुन कठिन छ । पानमुन्जोमबाट आएको संयुक्त विज्ञप्तिले पूर्ण उद्देश्य नभई उनीहरूको सोचमात्रै उजागर गर्छ । तर ट्रम्प र ह्वाइट हाउस भने यसैमा विजयभाव देखाउन उद्यत छन् । कसैले यो सन्देश प्राप्त गरेका छैनन् भने ट्रम्पको सल्लाहकार केलिआना कनवेले राष्ट्रपतिलाई मनपर्ने कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’मा यस्तो भनेकी छन्, ‘निकै छोटो समयमै अहिले विकास भएको अवस्था र त्यसको महत्त्वबारे केही प्रतिक्रिया दिन चाँडो हुन्छ । तर यो वातावरण राष्ट्रपतिले नै बनाएका हुन् ।’


यद्यपि औपचारिक रूपमा युद्धको अन्त्य गर्दै एकतालाई प्रमुख एजेन्डा बनाउने कामको पहल दक्षिण कोरियाले गरेको हो । यसको सुरुआत २०१३–२०१७ सम्म राष्ट्रपति रहेकी पार्क गेउन हेको नेतृत्वमा भएको थियो । हालका राष्ट्रपति मुनले मे, २०१७ मा नेतृत्व लिएपछि यसलाई निरन्तरता दिँदै उत्तरको आणविक निशस्त्रीकरण पनि शान्ति सम्झौताको अभिन्न अंग हुनुपर्नेमा जोड दिएका थिए ।

ट्रम्पको लगातारको धम्की र कडा बोलीले किमलाई वार्ताको टेबुलमा ल्याउन मद्दत गर्‍यो भन्ने विषयमा कतिको सत्यता छ भन्नेबारे उत्तर कोरियाकै नेताले बाहेक अरूले केही भन्न सक्ने ठाउँ छैन । केही विज्ञका अनुसार भने किमको पहिलेदेखिकै सोच भनेको सुरुमा यथेष्ट आणविक हतियार निर्माण गरेर आफ्नो स्थिति मजबुत पार्ने अनिमात्रै विरोधीहरूसँग वार्ता गर्ने थियो ।


जे भए पनि अहिलेको अवस्थामा अमेरिका–उत्तर कोरिया वार्ता हुन्छ भन्ने देखिएको छ । सल्लाहकारहरूले जे भने पनि ट्रम्प वार्ता गर्ने पक्षमा छन् । पर्दा पछाडिभन्दा पर्दा अगाडि देखिन रमाउने ट्रम्प विश्वलाई पानमुन्जोमको भन्दा पनि सम्झनयोग्य तस्बिर दिन चाहन्छन्, जुन तस्बिरमा आफैंले कुनै समय ‘लिटिल रकेट म्यान’ उपनाम दिएका नेतासँग उनी हात मिलाइरहेका हुनेछन् ।
(न्युयोर्करबाट अनुदित)

प्रकाशित : वैशाख १९, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?