जिम्मेवारी

सिउँडी
अनजानमा भए पनि म पार्टी कार्यालयको पिउन बिर्खबहादुर नेपाली यो कांग्रेसी हारको पूराका पूरा जिम्मा लिन्छु ।
विमल निभा

काठमाडौँ — ‘हेलो ।’‘हेलो ।’‘यो अखबार कार्यालय हो ?’‘हो, के भन्नुछ, भन्नोस् ।’‘प्रधान सम्पादकज्यू हुनुहुन्छ ?’‘अहिले हुनुहुन्न, उहाँ ।’‘कहाँ जानु भएको छ प्रधानसम्पादकज्यू ?’‘उहाँ जरुरी कामले बाहिर जानुभएको छ ।’‘कहिले फर्कनु हुन्छ ?’‘यो भन्न सकिंदैन ।’

‘आज फर्किनु हुन्न कि ?’
‘होइन, फर्किनु हुन्छ ।’
‘उहाँसँग काम थियो ।’
‘के काम थियो, मलाई भन्नोस् ।’
‘तपाईं को बोलिरहनु भएको छ ?’
‘म उहाँको पिए ।’


‘ए, पिएसाब †’
‘अनि तपाई को नि ?’
‘हुन त म सानोतिनो मानिस हुँ, तर एउटा ठूलो खबर दिनु थियो ।’
‘कस्तो ठूलो खबर ?’
‘एकदमै महत्वपूर्ण खबर हो पिएसाब ।’

Yamaha


‘त्यही त, के महत्वपूर्ण खबर ?’
‘नेपाली कांग्रेसको खबर हो ।’
‘नेपाली कांग्रेस पार्टीको खबर ?’
‘नेपाली कांग्रेस पार्टीको हारको खबर ।’
‘ए, कांग्रेसी हारको खबर ?’
‘हजुर, कांग्रेसी हारको खबर हो ।’
‘त्यसो भए, तपाईं हाम्रो अर्काे सम्पादकसँग कुरा गर्नोस् ।’
‘कुन चाहिँ सम्पादकसँग पिएसाब ?’
‘सहायक सम्पादकसँग, उहाँ नै अखबारको खबर प्रमुख हुनुहुन्छ ।’
‘अहिले म सहायक सम्पादकज्यूसँग कुरा गर्न सक्छु पिएसाब ?’
‘हुन्छ, म उहाँलाई बोलाइदिन्छु ।’
(अलिक बेरपछि)


‘के भन्नु छ मसँग, भन्नोस् ।’
‘सहायक सम्पादकज्यू बोलिरहनु भएको हो ?’
‘म बोलिरहेको छु, के काम छ ?’
‘एउटा महत्वपूर्ण खबर थियो ।’
‘के महत्वपूर्ण खबर ?’
‘नेपाली कांग्रेसको खबर हो सहायक सम्पादकज्यू ।’
‘तपाईं मलाई खबर भन्नोस् महाशय ।’
‘अहिलेको चुनावमा भएको हारको जिम्मेवारी लिने कुरा हो सहायक सम्पादकज्यू ।’


‘यसको जिम्मा पार्टीको केन्द्रिय कार्य समितिले लिएको होइन र ?’
‘हुन त हो, तर असली कुरो यो होइन सहायक सम्पादकज्यू ।’
‘तपाईं प्रष्टाप्रष्टी भन्नोस्, कुरो के हो ?’
‘असलमा हारको जिम्मेवारी न ता हाम्रो सभापतिज्यू शेरबहादुर देउवा हो न वरिष्ठ नेता रामचन्द्र पौडेलजी नै र अहिले पुरै जिम्मेवार भनिएको केन्द्रिय कार्य समिति त विलकुलै हुँदै होइन ।’
‘यो सबै तपाईंलाई कसरी थाहा भयो ?’


‘म यसको पूरा जानकारी राख्ने व्यक्ति हुँ सहायक सम्पादकज्यू ।’
‘तपाईं सबै कुरो खोलेर भन्नोस् महाशय, कुरो के हो ?’
‘सुन्नोस्, म कांग्रेसको केन्द्रिय कार्यालयकै मानिस हुँ सहायक सम्पादकज्यू, मलाई सबथोक राम्ररी नै थाह छ ।’
‘ठीक छ, अब भन्नोस् ।’
‘म सधैं पार्टी कार्यालयको सफाइ गर्ने गर्छु, एक विहान सफा गर्दागर्दै के थाहा पाएँ भने मैले सफाको साटो साफ पो गरेको रहेछु त †’
‘के साफ ?’


‘सहायक सम्पादकज्यू, कुरो के हो भने
पार्टी कार्यालयको धूलो र फोहोर सँगसँगै
त्यहाँको जम्मै विचार, चरित्र, इमानदारी,
निष्ठा, नीति, सिद्धान्तहरू पनि स्वाट्टै साफ
भएको रहेछ ।’
‘कस्तो साफ ?’


‘साफ भनेको तपाईलाई थाहै होला
सहायक सम्पादकज्यू, खाली, रित्तो, समाप्त, शून्य, खोक्रो, खत्तम ।’
‘होइन, तपाईंको महाशय ?’
‘म, म नेपाली कांग्रेस पार्टी कार्यालयको पुरानो पिउन बिर्खबहादुर, हजुर ।’
‘हँ, पिउन बिर्खबहादुर ?’
‘हजुर, मेरो जिम्मा दिनदिनै पार्टी कार्यालयको सफाइ गर्नु हो, तर मैले यो सफाइ
गर्दागर्दै पार्टीको विचार आदि पनि आफ्नो
कुचोले बढारेर साफ गरिदिएछु सहायक सम्पादकज्यू ।’
‘कुचोले बढारेर ?’


‘तर यो मसँग जानाजानी भएको होइन सहायक सम्पादकज्यू, मैले थाहै नपाई अनजानमा सबै साफ गरेको हुँ ।’
‘अनजानमा.......!’
‘हजुर, तर अनजानमा भए पनि म पार्टी कार्यालयको पिउन बिर्खबहादुर नेपाली यो कांग्रेसी हारको पूराका पूरा जिम्मा लिन्छु ।’
‘होइन, तपाई के भनिरहनु भएको छ महाशय ?’


‘म जे भनिरहेको छु, एकदमै सत्य भनिरहेको छु, त्यसैले मेरो यो जिम्मेवारीको खबर अखबारमा छापिदिनुपर्‍यो सहायक सम्पादकज्यू ।

प्रकाशित : वैशाख २२, २०७५ ०८:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दर्शकका आँखा

शारीरिक बनावट र सौन्दर्यसँग मात्रै टेलिभिजन प्रस्तोतालाई जोडेर हेर्नु हाम्रो पेसाप्रतिको सम्मान होइन ।
रचना रायमाझी

काठमाडौँ — एक दिन क्याफेमा बसेर साथीसँग कफी पिउँदै थिएँ । संयोग मान्नुपर्छ, टेलिभिजनमा मेरो आफ्नै कार्यक्रम पुन: प्रसारण भइरहेको थियो । क्याफेमा आगन्तुक कतिपय आफ्नै गफमा व्यस्त थिए । कोही बेला–बेला टेलिभिजनतिर आँखा लगाउँदै थिए ।

म केही पछाडि कर्नरमा थिएँ । मेरो छेउको टेबलमा बसेका अधबैंसे दुईमध्ये एकजना महोदय बोले, ‘टिभीहरूले पनि राम्रा–राम्रा केटी राख्छन् यार †’ उनले बोलिनसक्दै अर्काले प्रतिक्रिया दिए, ‘गाला पोटिला हुन्जेल हो, चाउरिन थालेपछि फुरफुर सकिन्छ ।’

काउन्टरमा बस्नेले च्यानल परिवर्तन गर्दै गएर समाचार आउँदै गरेको अर्को टेलिभिजन च्यानलमा अडिए । टेलिभिजन पर्दामा मैले चिनेकै वाचिका थिइन् । म उनको आवाज, प्रस्तुति र बौद्धिकताको फ्यान हुँ । केही बेर हेरेपछि ती अधबैंसे फेरि बोले, ‘बोल्न त राम्रै बोल्दिरछे, आँखाचाहिँ बांगा–बांगा परेका रछन् ।’

खुसी भनौं या दु:ख † म त्यहीँ अगाडि हँुदा पनि उनीहरूले मलाई चिनेनन् । स्क्रिन र बाहिरी आवरण फरक हुन्छ । म त्यहाँबाट निस्किएँ । मेरो मनमा भने आफ्नो पेसाप्रति अरुले के र कस्तो धारणा राख्छन् भन्ने कुराले भन्दा नारीको रूप र सौन्दर्यमा धारणा बनाउनेप्रति दया लागेर आयो । हुन त म क्यामेरामा हेरेर बोलिरहँदा दर्शकले कुन अवस्थामा कसरी मलाई हेर्छन् ? मूल्यांकन गर्छन् ? त्यो मेरो ख्याल हुँदैन । सबैभन्दा धेरै खड्किएको र मनमा चोट परेको वाक्यांश ‘गाला पोटिला हुन्जेल हो’ भन्ने थियो । यसले मलाई निकै चिमोट्यो । भित्रैसम्म घोचिरह्यो । किनभने म यो क्षेत्रमा शारीरिक र मानसिक रूपले सक्षम रहुन्जेल काम गर्ने योजनामा पनि छु ।

टेलिभिजनमा काम गर्ने पुरुष पत्रकारहरूको हकमा बाहिरी सौन्दर्य उति ख्याल गरिँदैन । तर महिलाका हकमा फरक पाइन्छ । दर्शकका रूपमा म धेरैपटक अरुले टेलिभिजन हेर्दै गरेको स्थानमा पुगेकी छु । अधिकांशका आँखाले कहीं न कहीं सौन्दर्य नै खोज्दा रहेछन्, त्यसपछि मात्र बाँकी कुरा आउने रहेछन् । म जसलाई दर्शक भन्छु, उनीहरू हाम्रै
समाजका प्राणी हुन् ।

टेलिभिजनको पर्दामा देखिने व्यक्ति बौद्धिकसँगै स्मार्ट र सुन्दर हुनुपर्छ भन्ने सोचाइ ममा पनि छ । तर सोचभन्दा बढी बाध्यता पनि । किनकि मेरो पेसामा अनुहार, नाक, आँखाको परेला, ओँठ, कपाल, पहिरन सबै मिलेको र सुन्दर देखिनैपर्छ भनेर तालिमकै अवधिदेखि प्रशिक्षित गरिन्छ । स्टुडियो प्रवेशअघि मेकअप अनिवार्य हुन्छ । यहाँ विज्ञता, दक्षता र सीपसँंगै बाहिरी सैन्दर्य र आवाजलाई महत्त्वका साथ हेरिन्छ । हातमा टेलिभिजन तालिमको प्रमाणपत्र मात्रै हँुदादेखि आज यही क्षेत्रमा १० वर्षे अनुभव बटुल्दा पनि अपवाद बाहेकका धेरै स्थानमा बाहिरी सौन्दर्य ननियाल्ने मानिस र स्थान मेरालागि कमै भेटिए । बौद्धिकतासँंगै स्मार्ट देखिनुपर्छ भन्ने म आफै पनि सोच्छु । तर कोही र केहीले आवश्यकताभन्दा बढी सुन्दरता खोजेको देख्दा दु:ख पनि लाग्छ ।

एक दशकको टेलिभिजन पत्रकारितामा धेरै कुरा यही क्षेत्रले पढाउँदैछ, सिकाउँदैछ । धेरै विषयमा बोल्नु अघि गर्नुपर्ने अध्ययनले दिन–प्रतिदिन परिपक्व बनाउँदै लगेको महसुस हुन्छ । स्थानीय स्तरका टेलिभिजनबाट राष्ट्रिय टेलिभिजनसम्म आइपुग्दा समाचार रिपोर्टिङ, लेखन, समाचार वाचन, अन्तर्वार्ता गर्ने अवसर पाएकी छु । पछिल्लो समयमा अनुसन्धनात्मक रिपोर्टिङ र प्रस्तुति पनि गरेकी छु । अरुलाई सुरक्षित स्थानमा रहनुस् भन्दै आफ्नो ज्यानको प्रवाह नगरी भूकम्पमा हल्लिँदै स्टुडियोबाट दर्शकलाई सुसूचित गर्नु, दसैं–तिहारजस्ता चाडपर्वमा घरपरिवार छाडेर काममै रमाउनुका साथै मन्त्री, नेता, उद्योगी, समाजसेवी, कलाकार लगायतका धेरै मानिससँग अन्तर्वार्ता लिने अवसरले आफ्नो पेसाप्रतिको आस्था र सम्मान सगरमाथा बन्दैछ ।

पाँच वर्षअघि एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा लेखक खगेन्द्र संग्रौलासँग अन्तर्वार्ता लिएँ । अन्तर्वार्ता सकेपछि लेखक संग्रौलाले उल्टै मेरो अन्तर्वार्ता लिए, ‘हौ नानी, एसो हेर्दा सानै देख्छु, टिभीमा पनि देखिरहन्छु, कहिले कोसँंग कहिले कोसँंग अन्तर्वार्ता लिइरहन्छौ, कन्फिडेन्ड भएर आँखामा आँखा जुधाएर प्रश्न सोध्दा कस्तो लाग्छ ?’ मैले मुसुक्क हाँसेर भनेकी थिएँ, ‘खुसी लाग्छ ।’ उनले भनेका थिए, ‘यो क्षेत्र नछाड्नु तिम्रो भविष्य उज्ज्वल देख्छु म ।’

आफ्नो इच्छा अनुसार कहाँ कसरी टेलिभिजन हेर्ने भन्ने अधिकार दर्शकमा निहित छ । त्यसैले दर्शकका आँखाले मलाई आफ्नो इच्छा अनुसार हेर्न सक्लान् । मलाई लाग्छ, शारीरिक बनावट र सौन्दर्यसँग मात्रै टेलिभिजन प्रस्तोतालाई जोडेर हेर्नु हाम्रो पेसाप्रतिको सम्मान होइन । हाम्रो काममा हुने चुनौती, दु:ख र मिहेनतभन्दा बाहिरी आवरणलाई अपव्याख्या गर्नु उचित लाग्दैन । जस्तो परिस्थितिमा पनि जनतालाई सुसूचित गर्ने, चाडवाडमा परिवारका सदस्यसँगै रहने इच्छालाई मनको रंगशालाको एक कुनामा सीमित पार्दाको पीडा परिवारसँगै रम्दै टेलिभिजन हेर्ने दर्शकले कतिसम्म कल्पना गर्न सक्लान् ? हुन त यो त्यागलाई रोजीरोटीसँंग जोडिएला, तर हरेक कर्मको फल मूल्यमा मात्रै तौलन मिल्दैन । राष्ट्राध्यक्ष महिला भएको देश, जहाँ व्यवस्थापिकादेखि न्यायपालिकाको नेतृत्व तहसम्म महिला पुगिसके । समाजले महिलालाई कहिलेसम्म सौन्दर्यका सामग्रीका रूपमा मात्रै हेरिरहने ?

प्रकाशित : वैशाख २२, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT