प्रेस, भ्रमण र लथालिङ्ग

समय रेखा
बीपी यो भूभागकै विख्यात राजनीतिज्ञ र संसद्मा दुई तिहाइको बहुमत ल्याएका नेता भए पनि गणतन्त्र नेपालका बलिया प्रधानमन्त्री खड्गप्रसाद ओलीको जस्तो उनको अवस्था थिएन । उनका पछाडि राजा महेन्द्रका आँखा थिए ।
अभि सुवेदी

काठमाडौँ — यसपालिको प्रेस स्वतन्त्रता दिवस अथवा मे ३ मा मलाई एउटा छलफलमा सोधेको प्रश्न थियो, ‘नेपालमा प्रेस स्वतन्त्रताको कुरा गर्दा के कुरा बढी टडकारोसँग देखिन्छ ?’ मैले भनें, सरकार र राम्रो स्वतन्त्र मिडियाको बीचमा छुुट्टिने रेखाहरू हुन्छन् । तर नेपालमा अहिले केही समयदेखि यता मन्त्रीहरूले खोलेका गुह्य कुरा र प्रेसले खोलेका कुराहरू छुट्याउने रेखा टडकारो छैन ।

प्रेस, भ्रमण र लथालिङ्ग

मन्त्रीहरू सुरक्षादेखि, कालोबजार, कार्टेलतन्त्र, धाँधली, ठेक्कामा निर्माण गर्नेका ज्यादती, शिक्षामा बद्मासी सबै कुरामा मिडियाले जस्तै खोलिरहेका हुन्छन् । अखबार पढ्दा र टेलिभिजन हेर्दा अनि मन्त्रीका भाषण सुन्दा कुरा मिलेपछि शक्ति र मिडिया बीचको रेखा धुमिल हुने कुरा आउँछ । तर त्यहींनेर स्वतन्त्रताको मूल्य बुझ्नुपर्ने हुन्छ । म ओलीको सरकार वामपन्थीहरूको अधिक बहुमतको भएकोले यसले प्रेस स्वतन्त्रतामाथि प्रहार गर्छ भन्ने तर्क मान्दिन । गणतान्त्रिक नेपालका कुनै दलका सरकारले पनि प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्न सक्तैनन् र गर्ने छैनन् । तर त्यसका सूक्ष्म पक्षबारे मिडिया जागरुक हुनुपर्छ । म जोन लोइड नामका ब्रिटेनका विख्यात पत्रकारका तर्क मनपराउने मान्छे । उनले ‘हाम्रो राजनीतिमा मिडियाले के गर्दैछन् ?’ (२००४) भन्ने किताबमा भन्छन्, सरकार र राजनीतिज्ञहरूले अहिलेसम्म गरेभन्दा धेरै छलफल गरिरहनुपर्छ, किनकि तिनले जनताको प्रतिनिधित्व गर्छन् । मिडियाले आफ्नै मूल्यमाथि आस्था राखेर ती सबै कुरा आफ्ना श्रोता वा पाठकसमक्ष पुर्‍याउनुपर्छ ।

तर अहिले यो सानो आलेखमा म अरू एकाध कुराबारे लेख्न चाहन्छु । आजको नेपालमा चिन्तन, मिलन, विभाजन र समीक्षाका छलफल जोडदार चलिरहेको बेला ब्रोडसिट अखबारको पृष्ठभित्र केही अनुच्छेद लेख्ने मैले, कुनै सिद्धान्त, शास्त्र र विचारकहरूका कुरा सम्झेर केही भन्न सकुँला जस्तो लागेन । तर अर्थनीति र राजनीतिका केही तिखा विश्लेषण गर्ने लेखकहरूका आलेख यिनै अखबारहरूमा पढेर अनेकौं कुरा बुझ्ने गरेको मेरो बानी भने लुकाउन चाहन्न । मलाई अमूक सिद्धान्तका कुरा राखेर लेख लेख्न मन लाग्दैन । अहिले नेपालमा राजनीतिक दलहरू सिद्धान्तलाई एकाध चित्र, विम्ब, विदेशी नेताका फोटा र नारामा हेर्न बढी सजिलो मान्न थालेका छन् । खासै विचारका गहकिला कुरा र सिद्धान्तका चर्चा तिनीहरू गर्न मनपराउँदैनन् । मलाई साना घटना र सम्झनाका इतिहासका टुक्राले निकै कुरा भन्छन्, आजकाल । म नेपालमा आउने विदेशी सरकार प्रमुखहरू अनि नेपालबाट पनि बाहिर जानेहरूले उठाउने साना देखिने परिघटना र ‘लजिस्टिकस’का विषयलाई लिएर यो देशको भौगोलिक अवस्थितिबारे केही कुरा निबन्धको शैलीमा लेख्ने जमर्को गर्छु ।

नेपालमा विदेशी राष्ट्रका उच्च पदाधिकारी वा नेता आउँदा ठूलो हलचल हुन्छ । सबभन्दा बढी हलचल देखिने सडकमा हो । गाडीहरूको जाम हो । सिठीका हर्हर्, गाडीका हर्न अनि साइरेनका आवाज हुन् । यस्तो हुन थालेपछि म भागेर अलिक एकान्तमा जान्छु । राष्ट्राध्यक्षहरू आउँदा होस् वा हाम्रै उच्च पदमा रहनेका छोटा बहिर्गमन हुन्, सबैको प्रहार खप्ने सडक हो । सडक एउटा थकित, च्यातिएको र थिल्थिलो पारिएको भूमिको कलेवर हो, काठमाडांैमा । त्यसमाथि क्रेनहरूले नित्य खोतलिएको, भविष्यमा भित्र पानी कुद्ने विशाल पाइप ओछ्याएर आधी पुरपार गरेर के गरौं, के गरौंको मुडमा अलमिलएको सहरको रामकहानी हो, काठमाडांै । मार्च ३, २००९ मा श्रीलंकाका राष्ट्रपति राजपाक्ष यहाँ आउँदाको भुक्तमानको सम्झना ताजै छ । ती बुद्धको जन्मभूमि कपिलवस्तुमा जानु अनि ती नफर्केसम्म हामीले यो कान्तिपुरी नगरीमा सास रोकेर बस्नु एउटा हास्यास्पद संकटको दरिद्र रचना थियो ।

त्यसो त विदेशी राष्ट्राध्यक्षहरू पहिला पनि नआएका होइनन् । जानेका पनि कहानी छन् । ती शक्ति र राजनीतिसँग जोडिएका छन् । बीपी कोइरालालाई जेल हालेपछि राजा महेन्द्रले ब्रिटेनकी महारानी एलिजाबेथलाई २०१८ सालमा निमन्त्रणा गरेको बेला, डेस्मन्ड डोइको वर्णन अनुसार, एकदिन सिंहदरबारमा भव्य भोज गराएको, अनि कांग्रेसहरूले विद्रोह गर्ने सम्भावना भएकोले सिकार खेल्न लगेर बाहिर–बाहिरै पारेर काठमाडांैमा ल्याएर स्वाट्टै उडाएको कुरा मैले दरबारकै त्यो बेलाका एक प्रतिष्ठित कर्मचारीबाट रमाइलो भाष्यमा सुनेको थिएँ । सम्वत् २०३१ सालमा युगोस्लाभियाका राष्ट्रपति जोसेफ ब्रज टिटो काठमाडांैमा आउने तयारी गरेको बेलासम्म काठमाडांैको सक्कली अनुहार देखिन्थ्यो । नैसर्गिक बाटा देखिन्थे । त्यो बेला काठमाडौंका सडक र कुनाकानीमा खुला पिसाब फेर्ने चलन थियो । अहिले पनि छ होला, गाडी र भिडमभिडले गर्दा सायद अहिले देखिँंदैन । टिटो आउँदा तयारी समितिहरूको पहिलो सुरक्षाजस्तै एउटा समस्या थियो ।

सडक र कुनाकानीका यी मूत्र गौंडीहरूलाई के गर्ने ? उनीहरूले एउटा उपाय निकाले । ती ठाउँ पहिला बढारे अनि त्यहाँ सेतै चुना छरिदिए । पिसाब फेर्ने यी ठाउँहरू उस्तै थिए, तर ती चुनाले छोपिएका अनौठा आकारमा घाममा पल्टेर गन्हाउँथे ।

नेपालमा भारत र चीनका नेता आउने विषय दिनदिनै महत्त्वपूर्ण विषय बन्दै गएको छ । नेपालमा भारतका प्रधानमन्त्री मोदी आउँदैछन् । तिनको यात्रा उध्र्वगतिको हुनेछ, ‘भर्टिकल’ । पटनाबाट हेलिकप्टरमा जनकपुर आएर, काठमाडौं प्रवेश गर्दै ती मुक्तिनाथ जानेछन् । यो यात्राको ‘जियोकल्चरल’ अर्थ वाचाल छ । यो यस्तो यात्रा उनले रोजेका छन्, जुन अरू कुनै देशका सरकार प्रमुखले गर्न सक्तैनन् र गरेका पनि छैनन् । चीनका सरकार प्रमुख वा राष्ट्रपतिको यात्राले नाप्ने ‘जियोकल्चरल’ यात्रा खासै एउटा नक्सालाई धर्मले रञ्जित गरेर बनिने छैन । तर कुरा अलिक अर्को पनि छ । अहिले नेपालमा दुई छिमेकी देशका नेता र प्रमुखहरू आउने कुरा भूराजनीति भएको छ, भूसंस्कृति मात्र होइन । नेपालका सरकार प्रमुखले भारत र चीन भ्रमणमा जानु, पहिला कुनमा जानु अनि गएर नेपालको निम्ति के लिएर आउनु, मुख्य कुरा भएका छन् । यी भ्रमणमा नेपालको राजनीतिको मात्र होइन, कूटनीतिको अर्थ पनि गहिरोसँग जोडिएको कुरा साधारण ज्ञानको विषय भैसक्यो ।

नेपालबाट यी दुई छिमेकी देशका भ्रमण गर्ने सरकार प्रमुखले दुवै देशमा सरक्क गएर आउने औपचारिकता मात्र नगरी केही ओज, अनि त्यहाँका राजनेता र सरकार प्रमुखहरूलाई तिनको मिसन र तिनको धारणाबारे केही कुरामा सोच्न लगाउने गरेका उदाहरण धेरै छैनन् । सन् १९६० मा बीपी कोइराला पहिला भारत गए, अनि पछि चीन गए । उनको माओसँग भएको भेटघाटबारे लेखिसकियो । बीपीलाई भारतका नेताहरूले पनि गम्भीरतापूर्वक लिन्थे, सधैं लिए ।

बीपीपछि दुई छिमेकी देशका भ्रमण गरेर उनका कुरालाई ध्यान दिन मनोगत रूपले लगाउने सरकार प्रमुख केपी ओली नै हुन् वा हुन सक्छन् भन्ने देखिएको छ । यो मेरो आफ्नो बुझाइ हो । बीपी यो भूभागकै विख्यात राजनीतिज्ञ र संसदमा दुई तिहाइको बहुमत ल्याएका नेता भए पनि गणतन्त्र नेपालका बलिया प्रधानमन्त्री खड्गप्रसाद ओलीको जस्तो उनको अवस्था थिएन । उनका पछाडि राजा महेन्द्रका आँखा थिए । भारतको भ्रमणमा जानु अघि १९६० को अमूक महिनाको राजा महेन्द्रको सवारी क्याम्पमा उनलाई भेट्न बीपी कोइराला गए । मलाई बीपीका सचिव लेखक केशवराज पिंडालीले भने अनुसार त्यो रात महेन्द्रले एउटा पार्टी दिए, क्याम्पमा । ‘महँंगा पेय पदार्थ’को पनि निकै प्रयोग भएको थियो । बीपीलाई सम्बोधन गरेर राजा महेन्द्रले यस्तो कविता लेखेर सुनाए, त्यो रात । कविताको रूपमा यो केही छैन, तर यसबाट महेन्द्रमा एउटा बीपीप्रति प्रतिद्वन्द्विता र इष्र्याको भावना थियो भन्ने बुझिन्छ ।

कविता यस्तो थियो :

‘बीपी, अब तिमी हामीलाई छोडेर जान्छौ/ तिमी ठूला–ठूला सहरमा विदेशमा घुम्न जान्छौ/ रमाइलो तिमीलाई होला/ हामीहरू त यही नदी, कन्दरा र चौतारीमा सुस्ताउँला/ र तिमीलाई सम्झौंला/ हामीहरूलाई नबिर्सिनु/ र हामीहरू त तिमीलाई बिर्सन सक्तैनौं । जब थाकेर चौतारीमा पसिना पुछौंला/ त्यस बखतमा म तिमीलाई सम्झुँला ।’

कविताको अन्तिम हरफमा उनले ‘म तिमीलाई सम्झुँला’ भनेर राखेको अभिव्यक्ति अनौठो र अर्थपूर्ण छ । नेपालका सरकार प्रमुखहरूले नेपालका यी दुई छिमेकी देशहरूको भ्रमण गर्दा आफ्नो यहाँ शक्तिको पकड र अवस्था कस्तो छ भन्ने कुरा बीपीको घटनाबाट बुझ्न सकिन्छ । त्यो एउटा इतिहासको उच्चारण नगरिएको पातो हो । तर अहिलेको बद्लिंँदो परिस्थितिमा भारत र चीनका सरकार प्रमुखका भ्रमणहरू यहाँको कूटनीतिभन्दा पनि उतै निर्धारण हुने कूटनीतिका कारणले हुँदै जाने कुरा बढ्दै जानेछ । यो नेपालको नयाँ भूराजनीतिको परिस्थिति हो । यस्तो अवस्थामा नेपालको यी देशमा भ्रमण गर्ने सरकार प्रमुखको मिसन, व्यक्तित्व र नेपालको महत्त्व देखाउन सक्ने सामथ्र्यको ठूलो अर्थ हुनेछ ।

अन्त्यमा, एउटा घटनाको स्मरण गर्छु । सन् १९७० को हिउँद महिनामा म टेकु अस्पतालमा बिमारी भएर बसेको बेला राति ल्याएको एक भीमकाय बिमारी भन्दै थियो, ‘यो शरीर सबै लथालिङ्ग छ, डाक्टर हो, मुख्य–मुख्य जाँच ।’ ती मानिस मेरा प्रिय दाइ रूपचन्द विष्ट थिए, यत्ति सम्झिन्छु यहाँ । अहिले यो देश रूपचन्द दाइले भनेको शरीरजस्तो लथालिङ्ग भएको छ । सबैलाई चेतना भया ।

प्रकाशित : वैशाख २२, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?