२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

लोकतन्त्र, हिन्दुत्व र स्वराजको मोह

‘हिन्द स्वराज’, ‘ग्राम स्वराज’, ‘सर्वाेदय’ र ‘रामराज्य’ को नारामा उदाएको गान्धीवादले लोकतन्त्रको जगमा हिन्दुत्वको नाममा फैलिएको सांस्कृतिक राष्ट्रवाद वा भाजपाको फासीवादलाई ब्याडको काम गरेको त थिएन ?
राजेन्द्र महर्जन

काठमाडौँ — ‘लोकतन्त्रको कुनै पनि प्रयोगले गान्धीको स्वराजलाई आत्मसात गर्नुपर्छ ।’ ‘लोकतन्त्रबारे विमर्श’ गर्ने क्रममा चिन्तक प्रदीप गिरीले गान्धीको स्वराजलाई आत्मसात गर्नुपर्ने मत राखेको देखेर मनमा केही प्रश्न उठेका छन् ।

लोकतन्त्र, हिन्दुत्व र स्वराजको मोह

राजनीतिक लोकतन्त्रबारे छलफल गर्दा धेरैजसो माक्र्सवादी पारामा विश्लेषण गर्न रुचाउने गिरीको पछिल्लो भनाइले भने लोकतन्त्रबारे उठेका प्रश्नको उत्तरभन्दा बेसी सवाल उठाएको छ । विश्वमै लोकतन्त्रको आवरणमा एक नश्ल, एक धर्म, एक वर्ण, एक वर्ग, एक संस्कृति, एक समुदायको एकाधिकारले राष्ट्रवाद र फासीवादको अभ्यास गर्नथालेको बेला गान्धीको ‘हिन्द स्वराज’ कसरी लोकतान्त्रिक र मानवीय उत्तर हुनसक्छ, प्रश्न गहन र व्यापक देखिन्छ । ‘हिन्द स्वराज’, ‘ग्राम स्वराज’, ‘सर्वाेदय’ र ‘रामराज्य’को नारामा उदाएको गान्धीवादले लोकतन्त्रको जगमा हिन्दुत्वको नाममा फैलिएको सांस्कृतिक राष्ट्रवाद वा भाजपाको फासीवादलाई ब्याडको काम गरेको त थिएन ? अध्ययनयोग्य छ ।

गान्धीवाद र त्यसको हिन्द स्वराजबाट प्रभावित भएर भारतमै नेपाली कांग्रेस पार्टी निर्माण भएको कारणले त्यसको वैचारिक प्रभाव अझै हुनु अनौठो होइन । कांग्रेसका एक संस्थापक नेता बीपी कोइरालाले ‘गान्धीवाद : चिन्तन र चर्चा’मा गान्धीवादलाई अहिंसा र विकेन्द्रीकरणसँगै अध्यात्मवादका रूपमा सैद्धान्तीकरण पनि गर्न भ्याएका थिए । त्यही वादबाट प्रभावित विश्लेषक सीके लालले पनि एक्काइसौं शताब्दीको नेपाली राजनीतिलाई हाँक्न बुद्धसँगै गान्धी पनि चाहिएको तर्कका साथ लेखेका थिए, ‘गान्धीको अहिंसा, सत्याग्रह र ग्राम स्वराजमा आधारित ‘रामराज्य’ नौलो नेपालको परिकल्पनाका लागि दरिलो आधार बन्न सक्छ ।’ सवाल के हो भने भारतमा सामाजिक रूपमा ‘वर्ण–व्यवस्था’, राजनीतिक रूपमा ‘रामराज्य’ र आर्थिक रूपमा ‘ट्रस्टिसिप’को गान्धीवादी दर्शनले भाजपाको सांस्कृतिक राष्ट्रवाद वा फासीवादको सिद्धान्तको भूमिका त खेलेको होइन ? खेलेको भए त्यस्तो वाद र त्यसको राजनीतिक तन्त्र कसरी एक्काइसौं शताब्दीको नेपालको लोकतान्त्रिक राजनीतिक प्रयोगका लागि विचारणीय हुनसक्छ ?

‘रामराज्य‘ या हिंस्रक राज्य ?
गान्धीले प्रस्तुत गरेको ‘ट्रस्टिसिप’को आर्थिक नीति र मोदीले लागु गरिरहेको ‘क्रोनी क्यापिटालिजम’ (चाकर पुँजीवाद) को अर्थनीतिबीच तुलना गर्दा गान्धीवादी आर्थिक दर्शनको धोती खुस्किन्छ । अध्येता ब्रजरंजन मणिका अनुसार, ट्रस्टिसिपको मतलब हो : सम्पत्तिशाली वर्ग (ह्याब्स) ले समाजका सबै सम्पत्तिलाई कब्जामा लिँदै सिंगो समाजको हितमा काम गर्नेछ भन्ने अर्थनीति । चाहे नेहरूको ‘समाजवादी अर्थनीति’ होस् या मोदीको क्रोनी क्यापिटालिजम, तिनले पनि सम्पत्तिशाली वर्गलाई नै पोस्दै सम्पत्तिहीनलाई आश्वासनको पोकोमात्रै बाँडेको तथ्य जगजाहेर छ । यस्तो अवस्थामा नेपालमा पनि ‘ट्रस्टिसिप’ वा समाजवादी अर्थनीति वा क्रोनी क्यापिटालिजमले कुन वर्ग/वर्ण/लिंगको आर्थिक समृद्धि प्रत्याभूत गर्छ, जोकोहीले पनि अनुमान गर्न सक्छ ।

गान्धीले उठाएको ‘रामराज्य’को राजनीतिक दर्शनले पनि उच्चवर्गीय प्रभुत्व (अथोरिटोरियनिजम) को अभ्यास गर्छ । रामराज्यमा शासकले स्थायी भावका साथ सँगै वर्ण–व्यवस्था र पितृसत्तालाई एकसाथ रक्षा गर्छ । त्यस्तो राज्यमा लोकतान्त्रिक समाजमा जस्तो शंबुकको हत्या गर्ने वा सीतालाई घरबाट निकाल्ने व्यक्ति वा शासकलाई सजाय दिन सकिँदैन, नत त्यस्ता जनविरोधी काम गर्ने सरकारलाई नै हटाउन सकिन्छ । उच्चवर्गीय प्रभुत्वको अभ्याससँगै वर्ण–व्यवस्था र पितृसत्ताको रक्षा हुने राज्यमा हिंसा र अहिंसाबीच कुनै ‘लक्ष्मणरेखा’ नै हुँदैन । अछूत शंबुकको हत्या सनातनी अहिंसा हुन्छ भने घरबाट सीताको निष्काशन वैदिक धर्मको पालना हुन्छ ।

गान्धीको सामाजिक दर्शन हिन्दुवाद (हिन्दुइजम) र त्यसको वर्ण–व्यवस्थामा डुबेको छ । आफ्नो सम्पादनमा निस्कने ‘योङ इन्डिया’ साप्ताहिकमा उनले स्मृति–पुराण, अवतारवाद, पुनर्जन्म, मूर्तिपूजा, गोरक्षासँगै वर्ण–व्यवस्था र वर्णाश्रमप्रति अटल निष्ठाबारे खुलेआम घोषणा गरेका थिए । ‘मोहनदास करमचन्द गान्धी’बाट ‘महात्मा गान्धी’ बनाइएपछि लेखेको लेखमाला पनि उनले स्पष्ट शब्दमा दाबी गरेका थिए, ‘वर्णको अर्थ हो : मानिसको जन्म हुनुभन्दा अगावै उसको पेसाको निर्धारण । वर्ण–धर्मको अर्थ हो : प्रत्येक व्यक्तिले आफ्नो पुर्खाको वंशानुगत व्यवसाय र पेसाको धर्म वा कर्तव्य पालना गर्नु । पैतृक व्यवसाय र पेसा अँगालेर व्यक्तिले आफ्नो जीविका चलाउनु ।’ उनले थप लेखका थिए, ‘वर्ण–व्यवस्थाको उद्देश्य हो : प्रतिस्पर्धा र बराबरी गर्ने प्रवृत्तिलाई रोक्नु तथा वर्ग–संघर्षलाई रोक्नु । म वर्ण–व्यवस्थामाथि विश्वास गर्छु, किनभने यसबाट मानिसहरूका कर्तव्य र व्यवसाय निर्धारण हुन्छ ।’

गान्धी र जन्मजात श्रम विभाजन
गान्धीवादले वर्ण–व्यवस्था र जन्मजात श्रम विभाजनमा कुनै शोषण, असमानता तथा व्यक्तिगत–सामाजिक विकासमा बाधा देख्दैन, बरु जतिसुकै अमानवीय र दासतापूर्ण भए पनि मज्जासँग निष्ठापूर्वक पूर्वजका पेसा अँगालेर बस्नुपर्ने मान्यता राख्छ । गान्धी त सबै उन्नतिको मूल र स्वराजको बीउसमेत जात–व्यवस्थामै रहेको दाबी गर्थे । जात–व्यवस्थालाई समाजको प्राकृतिक व्यवस्था मान्ने गान्धीका लागि त्यसमा विशिष्ट खालको सत्ता–शक्तिको ढाँचा रहेको जिकिर गर्थे । उनी धार्मिक आवरण दिइए तापनि उन्नति र स्वराजका लागि उपयोग गर्न सकिने दाबी गर्थे । कतिसम्म भने जात–व्यवस्थालाई नष्ट गर्नु र पश्चिम युरोपेली सामाजिक व्यवस्था अँगाल्नु भनेको हिन्दुहरूले वंशानुगत पेसाको सिद्धान्त त्याग्नु हो, जुन जात–व्यवस्थाको मुटु हो । यस्तो वंशानुगत सिद्धान्त त्यागियो भने समाजमा अव्यवस्था फैलिन्छ, ब्राह्मण शूद्रमा फेरिन्छ भने शूद्रचाहिँ ब्राह्मणमा † यसरी उनले सामाजिक लोकतन्त्र र शोषणविहीन समाजका लागि जात–व्यवस्था समाप्तिको पक्षमा आवाज उठाउनेहरूलाई पनि ठाडै विरोध गरेका थिए ।

एकाध विचार र उदाहरणका आधारमा गान्धीलाई हरिजन वा अछूत वा दलितका मसिहाका रूपमा पेस गर्ने काम नभएको होइन । पक्कै पनि उनले हिन्दु धर्म र समुदायको नाममा राममोहन रायदेखि दयानन्द सरस्वती र विनायक दामोदर सावरकर जस्ता सांस्कृतिक राष्ट्रवादीहरूले वकालत गरेको हिंसक हिन्दुत्व र साम्प्रदायिकताको विरोध पनि गरेका थिए । तर गान्धीवादको मुख्य आधार हो, वर्ण र जात व्यवस्थासँग जोडिएको धर्म संस्कृतिको पोषण । त्यसको पक्षमा जन्मजात श्रम विभाजनको गौरवगान । समाजमा अछूत र महिलामाथि जारी विभेद, हिंसा, क्रूरताको बेवास्ता तथा सार्वजनिक र शाब्दिक रूपमा अहिंसाको वकालत । काल्पनिक उदारता, मानवीयता र सामाजिक सद्भाव, वर्णाश्रमी भारतमाता र आध्यात्मिकताको गुणगान ।

त्यसको विपरीत ध्रुव हो : पश्चिमी सभ्यता, आधुनिकता, संसदीय लोकतन्त्र, विज्ञान–प्रविधि र भौतिकतालाई ‘शैतानी शक्ति’को रूपमा अर्थ्याउँदै विरोध ।

गान्धीका विचारको प्रवाह र जीवन–दर्शनसँगै हिन्द स्वराजको दर्शनको सार खिच्दै अध्येता मणि लेख्छन्, ‘उनको सबैभन्दा ठूलो महत्त्वाकांक्षा थियो : वर्ण–व्यवस्थालाई त्यसको शुद्ध प्राचीन रूपमा भारतमा पुन:स्थापित गर्नु तथा फेरि एकपटक संसारमा शान्तिपूर्ण तरिकाले आफूलाई लागेको अद्भुत, सार्वकालिक र सार्वभौमिक व्यवस्थाको झण्डा गाड्नु । विज्ञान, विवेकवाद, लोकतान्त्रिक समाजवाद विचारधारा, वैज्ञानिक इतिहास र आधुनिकताका सबै पक्षको प्रभाववश उभारमा आएका सामाजिक उथलपुथल, अराजकता र प्रतियोगिताबाट जतिसक्दो त्यति वर्णाश्रमी भारतमाताको रक्षा गर्नु गान्धीको मिसन थियो । उनको देशभक्ति र आजादीको आन्दोलन त्यही महाअभियानको हिस्सामात्रै थियो ।’

गान्धीवादको कोखबाट गोड्सेको जन्म
यही मिसन र महत्त्वाकांक्षालाई बुझियो भने हिन्द स्वराजको नाममा उठाएका आत्मनिर्भर गाउँ, कुटिर उद्योग, ग्राम पञ्चायत, ग्राम स्वराजजस्ता गान्धीवादी नाराको असलियत खुल्छ । त्यस नाराले परिकल्पना गरेको सांस्कृतिक–आर्थिक–राजनीतिक व्यवस्था र दर्शनलाई क्रान्तिकारी ठान्नुअघि गरिब, दलित र महिलाको नजरले त्यसको चिरफार गर्ने जमर्काे गरियो भने ‘महात्मा’को ‘आत्मा’ केमा बसेको रहेछ, त्यसको पनि रहस्य उद्घाटन हुन्छ । गान्धीवादी आर्थिक प्रशासनिक विकेन्द्रीकरणको नाममा उभ्याउन खोजिएको हिन्द स्वराजको भव्य संरचनाको ‘स्व’भित्र अछूत वा नीच (हरिजन) जात र महिलासँगै गरिब पर्छन् कि पर्दैनन्, हिन्दुत्ववादीहरूले पराया र विदेशी आक्रान्ता ठान्ने गरेका इस्लाम धर्मावलम्बी मुसलमान पर्छन् कि पर्दैनन्, यस्ता प्रश्नले स्वराजको नाममा हुने ब्राह्मण र वैश्यहरूको लामो शासनको राज पनि खोल्छ । र नेपाल र भारतको सन्दर्भमा शासनमा आरुढ चाकर पुँजीवादमा गान्धीले वकालत गरेजस्तै आत्मसंयमी हुनुपर्ने चाहिँ सवर्ण र सम्भ्रान्त पुरुषहरूले हो कि तन्नम अवर्ण पुरुष र महिलाहरूले हो ? यस्तो प्रश्नले पनि गान्धीवादी आत्मसंयम र सदाचारको पोल पनि खोल्छ ।

यसको अर्थ हो, गान्धीवादी हिन्द स्वराजले उत्तरभन्दा बेसी प्रश्न उठाएको छ । जम्माजम्मीमा गान्धीको सांस्कृतिक–आर्थिक–राजनीतिक दर्शन, त्यसको प्रचारले हिन्दुत्वलाई प्रश्रय दिएको तथ्य हेक्का राख्नलायक छ । कुनै शंका छैन, भारतमा भाजपा र त्यसको नेतृत्व गर्ने मोदीको अगुवाइमा जारी हिन्दुत्व नै भारतीय फासीवाद हो, जसले दलित, महिला र मुसलमानलाई परायाकरण मात्रै गर्ने होइन, ठूलो शत्रु नै ठान्छ र उनीहरू विरुद्ध हिंसाचार गर्छ । हिन्दी, हिन्दुत्व र हिन्दुस्थानसँगै भारतमाताको नाममा उनीहरूबाट जारी हिंसक हिन्दुत्वको अभ्यास हेर्दा एक होइन, सयौं नाथुराम गोडसेहरू निर्माणमा गान्धीवाद स्वयम् कम दोषी नभएको निष्कर्षमा पुगिन्छ । हिन्दु धर्ममा कुनै हिंसा, शोषण र अनाचार नभएको झुठो दाबी गर्ने र आम मानिसमा सहमति (कन्सेन्ट) निर्माण गर्ने गान्धी आफै हिन्दुत्ववादी गोड्सेको हिंसाको सिकार हुनु कुनै संयोगमात्रै पक्कै होइन । गान्धीले जिन्दगीभर वर्णाश्रम–वर्ण–व्यवस्था र जात–व्यवस्थासँगै अहिंस्रक हिन्दुवादसँग सालनाल गाँसिएको हिन्द स्वराजको जुन सारका साथ वकालत गरे, त्यो लोकतान्त्रिक छैन, मानवीय त पटक्कै छैन । त्यही अलोकतान्त्रिक र अमानवीय हिन्द स्वराजको सार र रूप नेपालका लागि कसरी वामपन्थी र माक्र्सवादी हुन सक्छन् ?

प्रकाशित : वैशाख २५, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?