१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

गान्धी–विरोधको सन्दर्भ

प्रदीप गिरि

काठमाडौँ — ‘मेरा विचार फेरिइरहन्छन् । हिजोका र आजका मेरा भनाइ फरक पनि हुन सक्छन् । त्यस्तो फरकमा मेरा पछिल्लो कुरालाई मान्यता दिनुहोला !’गान्धी यस्तो कुरा भनिरहनु हुन्थ्यो । आफ्नै कथनी र कथनीमा फरक छ भन्ने उहाँलाई थाहा थियो, अनुभूति थियो उहाँमा ।

गान्धी–विरोधको सन्दर्भ

राल्फ वाल्डो इमर्सन गान्धीका एक प्रिय लेखक थिए । इमर्सनको ‘अ फुलिस कन्सिस्टेन्स इज द हवगोब्लिन अफ लिटल माइन्ड्स’ उनको प्रिय उद्धरण थियो । नेपालीमा भन्नुपर्दा ‘आफ्ना मुर्खतापूर्ण निरन्तरतामा क्षूद्रमात्र अडिग रहन्छन् भन्न सकिएला ।’

वैशाख २५ गते राजेन्द्र महर्जनको गान्धी र लोकतन्त्रका विषयमा एक महत्त्वपूर्ण टिप्पणी छापिएको छ । कान्तिपुर दैनिकमा छापिएको मेरो ‘लोकतन्त्रको विमर्श’को उल्लेख गरेर उहाँले आफ्ना कुरा राख्नुभएको छ । यताका दशकहरूमा भएका प्रत्येक जनआन्दोलनमा नेपाली कम्युनिस्टहरूको अमूल्य योगदान छ । समकालीन बौद्धिक जगतमा माक्र्सवादको उल्लेख्य उपस्थिति छ । क. घनश्याम भुसाल र क. राम कार्कीको अभिक्रममा कार्ल माक्र्सको द्वितीय जन्मशताब्दीको राष्ट्रिय आयोजना जारी छ । तद्नुरुप माक्र्स र माक्र्सवाद विषयमा नेपालको शिक्षित जमात अनभिज्ञ छैनन् । विपरीतत: गान्धीका बारे गलतफहमीको डङ्गुर छ । क्रान्तिको सपना बोकेर हिँडेका युवा जमातका निम्ति माक्र्स–एंगेल्स श्रद्धास्पद छन् । यहाँसम्म ठिकै छ । तर यस जमातले गान्धीलाई बुझ्दा उनीहरूको क्रान्ति चेतना झन् गहन र शुद्धमात्र हुने हो । क्रान्तिकारीले सिकेर थाक्दैन, सिकाएर थाक्नु हुँदैन— माओत्सेतुङले बारम्बार लेखेका छन् ।

समाजवादी क्रान्तिको परम्परामा सिद्धान्तको केन्द्रीय महत्त्व रहेको छ । क्रान्तिकारी सिद्धान्त नहुँदासम्म क्रान्तिकारी व्यवहार हुनै सक्दैन भनी लेनिनले बारम्बार भनेका छन् । नभन्दै लेनिन, माओ, जयप्रकाश नारायण, लोहिया सबैले समाजवादी राजनीतिको पूर्वाधारका रूपमा आफ्नो समाज–बोधको रूपरेखा पहिले अगाडि सारेका छन् । त्यसमा आधारित भएर राजनीति गरेका छन् । गान्धी केही पृथक छन् । गान्धीले राजनीतिक गतिविधि थाल्दा उनीसँग व्यवस्थित विचारधारा थिएन । विशुद्ध व्यावसायिक उद्देश्यले उनी दक्षिण अफ्रिका पुगेका थिए । त्यहाँ पुग्नासाथ एक रेल यात्रामा उनी उचित टिकट हुँदाहुँदै पनि आफ्ना डिब्बाबाट घोक्र्याइए । दक्षिण अफ्रिकाको त्यस मारिन वर्गको रेलवे स्टेसनमा त्यस रात घोक्र्याइँदाका दिन उनी ब्रिटिस साम्राज्यको न्यायप्रियताप्रति विश्वस्त थिए । तर त्यही नै उनको तत्कालीन सत्य थियो । लगत्तैपछि स्वाभिमानी गान्धीले सत्याग्रहको प्रयोग प्रारम्भ गरे । गान्धीको राजनीति मुख्यत: सत्यप्रति आग्रह थियो ।

गान्धीको जीवनी उनकै शब्दमा सत्यको प्रयोग थियो । गान्धीलाई अनेकनले धर्मान्ध–हिन्दु भनेका छन् । गान्धी आफ्ना कुराकानीमा ईश्वर–अल्लाह–राम आदि नाम लिइरहन्थे । तर ईश्वर के हो ? अथवा राम को हुन् भन्ने कुरामा उनको ठोस उत्तर थियो । अयोध्याका राजा दसरथका छोरा राम उनको राम होइनन् । उनले स्पष्ट भनेका छन्— सत्य नै ईश्वर हो । तद्नुरुप उनको राम सत्य हो । सनातन परम्परामा राम को हुन् ? भन्ने विषयमा गान्धी अघि पनि यस्तो विमर्श भने पहिले पनि भएको थियो । महाकवि तुलसीदासले यसै प्रश्नबाट रामचरित मानस सुरु गरेका छन् । तर त्यो प्रसंग अहिले रहोस् ।

गान्धी झन्डै ६० वर्ष सार्वजनिक जीवनमा सक्रिय रहे । यस कालावधिमा विश्वमा कल्पनातीत परिवर्तन भइरह्यो । गान्धी स्वयम् विशाल उथल–पुथलका सूत्रधार भए । तद्नुरुप गान्धीका विचार र व्यवहारमा परिवर्तन आउँदै गयो । माथि भनिएझैं प्रारम्भमा गान्धीलाई अंग्रेजी शासनको न्यायप्रियतामा पूर्ण विश्वास थियो । सुरु–सुरुमा महारानी भिक्टोरियाको १८५८ को शाही घोषणाको उनले ठूलो प्रशंसा गरेका छन् । पछि गएर उनी अंग्रेजी साम्राज्यवादको भयंकर विरोधी भए । यो विरोध अंग्रेजी सभ्यता र साम्राज्यवादसँग थियो । अंग्रेजसँग थिएन ।

अफ्रिका प्रवासका प्रारम्भिक वर्षमा गान्धीमा नश्लवाद पनि देखिन्छ । अफ्रिकन जेलमा कालासँग बस्नुपर्दा उनी क्षुव्ध थिए । जेलबाट लेखिएका उनको चिठीमा नश्लवादी टिप्पणी छ । कस्तुरबासँगको उनको प्रारम्भिक व्यवहार सर्वथा निन्दनीय थियो । छोरा हरिलालको विद्रोहको कथा उपन्यास र सिनेमाको विषय बनेको छ । हरमन कालिनबाच (१८७१–१९४५) उनका प्रियतम मित्र थिए । गान्धी र कालिनबाचका बीचमा समलैंगिक सम्बन्ध थियो भन्ने कुरो यताका वर्षमा शोधकर्ताहरूको विषय भएको छ । जीवनको आखिरी दशकताकाका गान्धीका यौनाचार उत्तिकै आपत्तिजनक थिए, त्यो पनि सर्वविदित छ ।

संक्षेपमा भन्दा गान्धीको निजी जीवनको महाभारतमा एउटा निन्दा–पर्व लेख्न सकिन्छ । तर कुरो उनको सार्वजनिक जीवनको हो । त्यसमा पनि हिन्दुत्व, वर्णाश्रम र पुँजीवादको हो ।प्रथमत: वर्णाश्रमको कुरा † डा. अम्बेडकरले गान्धीलाई यस्तै प्रश्नमा घेराबन्दी गरेका थिए । विलकुलै ठिक गरेका थिए । यतिले नपुगेर अम्बेडकरवादी नेताहरू तथा युपीको पूर्व मुख्यमन्त्री मायावतीले गान्धीको मूर्ति तोड्ने आह्वान गरेकी थिइन् । यत्रतत्र तोडफोड पनि भयो । गान्धीको मूर्ति बन्नु नै गलत थियो । बनेपछि तोडिन्छ । नेपालमा द्वितीय जनआन्दोलनमा यस्तै परिदृश्य देखिएको थियो । यो पनि स्वाभाविक नै हो ।

राजनीतिक जीवनमा गान्धीका तीन प्रमुख सैद्धान्तिक विरोधी थिए । प्रथम, पाकिस्तानका राष्ट्रपिता मोहम्मद अली जिन्ना । द्वितीय, डा. भीमराव अम्बेडकर । तृतीय, विनायक दामोदर सावरकर । विरोधी अरू पनि थिए । सुभाषचन्द्र बोससमेत विरोधी थिए । जवाहरलाल नेहरूलाई पनि विरोधी भन्न मिल्छ भन्ने भाजपाका बुद्धिजीवीहरूको तर्क छ । तर आधारभूत कुरामा जिन्ना, अम्बेडकर र सावरकरले गान्धीलाई चुनौती दिए । नेहरू र सुभाषले जस्तै होहल्ला गरे पनि उनीहरू गान्धीसँग सँंगसँंगै हिँड्न चाहन्थे र सकेसम्म हिँडेका पनि थिए ।

अम्बेडकरले गान्धीको हरिजनप्रतिको प्रेमलाई पाखण्ड र धुत्र्याइँ भन्थे । बालक अम्बेडकरले आफ्ना जीवन संघर्षमा पाइला–पाइलामा उच्च जातिको अपमान खप्नुपरेको थियो । उनले वर्ग र वर्णको अन्तरसम्बन्धका बारे गहन र वैज्ञानिक अध्ययन गरेका थिए । गान्धीलाई त्यस विषयको विशेष जानकारी थिएन । राजनीतिक क्षेत्रमा अम्बेडकर दलित समुदायलाई संरक्षणको बाटोमा लैजाने क्रममा अंग्रेज साम्राज्यसँग नजिक भए । लन्डनमा भएको द्वितीय गोलमेच सम्मेलनमा अम्बेडकर र गान्धीको यस विषयमा ठूलो टक्कर परेको थियो । अम्बेडकरले अंग्रेजसित अछूतका निम्ति पृथक–मताधिकार मागेका थिए । अंग्रेज त्यस्तो मताधिकार दिन तयार थिए । यसै विषयमा गान्धी र अम्बेडकरको कटु विवाद भएको थियो ।

मोहम्मद अली जिन्नाको यस्तै कथा थियो । जिन्ना आफ्नो प्रारम्भिक राजनीतिक जीवनमा हिन्दु–मुस्लिम एकताका प्रखर हिमायती थिए । सरोजनी नायडुले हिन्दु–मुस्लिम एकताको राजदूत भन्थिन् । गान्धीले कांग्रेसको हिन्दुकरण गरे भन्ने जिन्नालाई पछि लाग्न थाल्यो । गान्धी र उनको नेतृत्वको पार्टीले मुसलमानलाई न्याय दिन सक्दैन भन्ने सोचेर उनी कांग्रेस राजनीतिबाट विमुख भए । यसै विश्वासमा आधारित भएर पाकिस्तान लडेर लिए । जिन्ना गान्धीलाई हिन्दुहरूको नेता मान्थे । मोहम्मद अली जिन्ना गान्धीको ईश्वर अल्लाह तेरा नाम भन्ने भजनप्रति शंकालु थिए । गान्धी हृदयबाट हिन्दुवादी हुन् । उनले हिन्दुत्वका हितका निम्ति कांग्रेसलाई सञ्चालन गरिरहेका छन् भन्ने उनको मान्यता थियो ।

विनायक दामोदर सावरकर गान्धीलाई हिन्दु मान्न तयार थिएनन् । सावरकर हिन्दु–राष्ट्रवादको प्रथम प्रवक्ता थिए । सावरकर विद्वान, हिम्मती एवं ‘राष्ट्रभक्त’ राजनीतिज्ञ थिए । गान्धी र उनका चेलाहरू राजनीतिक स्वार्थका कारणले गर्दा मुसलमानको तुष्टीकरण गर्दैछन् । गान्धी भारत माताका कुपुत्र हुन् । गान्धीका कारणले भारत विभाजित भयो भन्ने उनको मान्यता थियो । उनी नाथुराम गोड्सेका प्रत्यक्ष गुरु थिए । गान्धीको हत्याको मुकदमा अभियुक्त थिए । सावरकरद्वारा प्रवर्तित यो धारा समसामयिक भारतमा आज पनि सशक्त छ । तर गान्धीको अल्लाह–ईश्वरले यस धारालाई अगाडि बढायो भन्नु कुतर्क नभए पनि अतिशयोक्ति अवश्य हुनेछ ।

आजको भारतमा गान्धी विरोधी साहित्य प्रचुर मात्रामा उपलब्ध छ । बहुरूपी र बहुविवादी गान्धीबारे यस्तो हुनु खुसीको विषय हो । उनको विरोध र निन्दा हुनैपर्छ । अनि मात्र भुस र चामल निफनिन्छ । ‘निन्दक नियरे राखिए ...’ भन्ने कवीर–वाणी गान्धीको भजनावलीको अंग थियो । गोराका नामले जानिने जी. रामचन्द्र राव भारतका एक प्रसिद्ध नास्तिक हुन् । उनी गान्धीका परम मित्र भए । गान्धीले गोराका निम्ति आफ्नै आश्रममा समेत मांसाहारको छुट दिएका थिए । तर गान्धीको आलोचना गर्दा यो सबभन्दा महत्त्वपूर्ण अर्को कुरो छ । गान्धी राजनीतिमा अटाएका मानिस थिएनन् । उनको केन्द्रीय चासोको विषय पाश्चात्य सभ्यता थियो । गान्धीका नजरमा जिन्ना, अम्बेडकर र सावरकर पश्चिमी सभ्यताका सन्तान थिए । उनीहरू आफैंमा विभाजन र विग्रहका हेतु थिएनन् । पश्चिमी सभ्यताले विभाजन, विग्रह र विभेदको विजारोपण गरेको हो । जिन्ना, अम्बेडकर र सावरकर परिणाम मात्र हुन्, कारण होइनन् ।कारण के हो त ?

कारण हो– पश्चिमी सभ्यता । गान्धीले यसलाई शैतानी सभ्यता भनेका छन्, राजेन्द्र महर्जनले ठिक सम्झाउनुभएको छ । यस शैतानी सभ्यतालाई गान्धीले आधुनिक सभ्यता पनि भन्थे । औद्योगीकरणमा आधारित जीवनशैली पनि भन्थे । यसै सभ्यताले साम्राज्यवादलाई जन्म दिएको हो भन्ने उनको ठहर थियो । लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम अभिव्यक्तिका रूपमा लिएका छन् । गान्धीले सभ्यता–विमर्शमा साम्राज्यवादको जरो भेटेका छन् । भूमण्डलीकरणको यस युगमा गान्धीलाई यस कसीमा राखेर हेर्नुपर्छ । अनि मात्र गान्धीलाई खारेज गर्न सकिन्छ ।राल्फ वाल्डो इमर्सनको एक उद्धरणबाट यो टिप्पणी थालिएको छ । इमर्सनले त्यस टिप्पणीको पुछारमा थपेका छन्, ‘महान मानिस अनिवार्य रूपमा गलतफहमीको पात्र हुन्छन् । गान्धी यसको अपवाद छैनन् ।’
त्यस दृष्टिले राजेन्द्र महर्जनको हस्तक्षेपको सर्वथा स्वागत छ ।

प्रकाशित : वैशाख २९, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?