बैठकको बिरुवा

सिउँडी
विमल निभा

काठमाडौँ — उनको भव्य बैठक कोठामा एउटा बिरुवा स्थापित थियो । म त्यसको ध्यानपूर्वक अवलोकन गरिरहेको थिएँ । र साथै व्यग्र प्रतीक्षा पनि । उनी कोठामा प्रवेश गर्नासाथ म उभिएँ । उनले संकेतले मलाई बस्न भने । म विस्तारै बसेंँ । उनले मुस्कुराएर सोधे, ‘के हालखबर छ पत्रकारज्यू ?’

‘हजुरहरूका कृपाले सञ्चै छु ।’ मैले सोधेंँ, ‘यो के हो हजुर ?’
‘बिरुवा हो ।’ कोचमा बस्दै उनले भने ।

‘केही दिन अघिसम्म त यहाँ थिएन ।’ मैले चारैतिर नियाल्दै भने ।

‘तपाईलाई थाहै छ, म सम्मानीय प्रधानमन्त्रीज्यूको भ्रमण दलमा सम्मिलित थिएँ । एक सानो सहयोगीको हैसियतले । भ्रमणबाट फर्कंदा सबैले केही न केही ल्याउँछन् । कोसेलीको रूपमा । सायद यस्तै चलन छ, क्यारे !’‘हो, सबै सोध्छन् ।’ मैले भनेंँ, के–के ल्याउनुभयो ?’‘मैले यही बिरुवा ल्याएँ ।’‘बिरुवा नै किन हजुर ?’ मैले सहज उत्सुकता देखाएँ ।‘यो कुनै मामुली बिरुवा होइन । मैले त्यहाँको राष्ट्रपति भवनको बगैंचाबाट टिपेर ल्याएको हुँ । यसको विविध महत्त्व छ ।

Yamaha

राजनीतिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, आर्थिक इत्यादि । यो तपाई बुझ्नुहुन्न ।’ उनले मलाई झन्डै चुनौती नै दिए ।‘के यो मैत्री बिरुवा हो ?’ मैले आफ्नो सामान्य ज्ञानको प्रदर्शन गर्न खोजेंँ । ‘भने हुन्छ ।’ उनले संक्षिप्त उत्तर दिए । र केही क्षणको मौनता तोडेर फेरि भने, ‘हेर्नाेस् पत्रकारज्यू, यो कति आकर्षक छ † पातहरू पनि सुन्दर देखिन्छन्, कोमल एवं दृष्टिसुख दिने ।’‘मेरो विचारमा त यो दुई देश बीचको सद्भावनाको प्रतीक हो ।’ मैले तत्कालै थपेंँ ।‘सम्माननीय प्रधानमन्त्रीज्यूको श्रीमतीलाई पनि यो निकै मनपरेको छ ।’ उनी प्रसन्नचित्त देखिए ।

‘अनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई किन ?’‘उहाँले मनपराउनु त स्वाभाविक नै हो ।’ उनी मुस्कुराए ।‘भ्रमण टोलीका अन्य सहयोगीहरूका के मन्तव्य छ, यसबारे ?’

‘मलाई त मन्त्रीज्यूको मौन समर्थन छ जस्तो लाग्छ र सचिवज्यूहरू पनि विरोधमा छैनन् ।’ केही बेर सोचेर उनले भने, हामीसँगैका पत्रकारहरूचाहिंँ पुरै चकित । र अरूहरू भने अहिलेसम्मन पछुतो मानिरहेका छन्– हाम्रो ध्यान यसमा किन नगएको भनेर ! (थोरै मुस्कुराएर) मेरो गयो ।‘त्यसो भए, यसलाई नै यो भ्रमणको उपलब्धि किन नमान्ने ? अखबारहरूमा यसको प्रचार–प्रसार आरम्भ गरिदिउँ हजुर ?’ मैले आफ्नो भनाइको प्रतिक्रियाको लागि उनको अनुहारतिर हेरेंँ ।‘राम्रो सल्लाह हो । तर एकपटक बालुवाटारमा गई विमर्श गर्नुपर्छ । उताबाट स्वीकृति प्राप्त भए मात्र यो सम्भव छ । म पछि तपाईलाई फोनबाट खबर गरुँला । हुन्न ?’मैले समर्थनमा आफ्नो एकथान टाउको हल्लाएँ । र क्यामेराको खोल खोल्दै भनँें, यसको एउटा तस्बिर लिउँ हजुर ?‘हुन्छ । लिनोस् । तर अखबारमा चाहिँं प्रकाशित नगर्नुहोला, पत्रकारज्यू ।’‘किन हजुर ?’ मैले सोधेंँ ।यसको जवाफमा उनी हलुका ढंगले मुस्कुराए मात्र ।‘असलमा यो के बिरुवा हो ?’ मेरो उत्सुकता पुन: जागृत भयो ।

‘बोटानिकल टर्ममा सिनेफस हाइब्रेरी थम्ब्रोकल..., कुन्नि, यस्तै के भन्थे ।’ उनले रहस्यपूर्ण स्वरमा भने, ‘तर हेर्नोस् पत्रकारज्यू, वास्तवमा यो के हो, मलाई राम्ररी थाहा छ ।’‘के हजुर ?’

‘यो साधारण खालको बिरुवा होइन । वनस्पति विज्ञानको विलकुलै नवीन खोज हो यो । सरल शब्दमा भन्ने हो भने यो मनिप्लान्टसँग मिल्न खोज्छ । तपाई यसलाई मनिप्लान्टको सर्वथा विकसित रूप भन्न सक्नुहुन्छ ।’ उनले आफ्नो दायाँ आँखा झिम्क्याउँदै विस्तारै भने, ‘बुझ्नुभयो त पत्रकारज्यू ?’‘मनिप्लान्ट... ।’ मैले विस्तारै आफैसँग भनेंँ । त्यसपछि बैठक कोठामा अवस्थित त्यो अद्भुत बिरुवालाई गहिरिएर नियाल्न थालँे । सम्माननीय प्रधानमन्त्रीज्यूको बहुचर्चित भ्रमणबाट ल्याइएको हरित बिरुवा । आफ्नो सम्पूर्ण पातसहित हावामा हल्लिरहेको थियो । र उनी अर्थात् प्रधानमन्त्रीज्यूको अघोषित सल्लाहकार मलाई एकटक हेरिरहेका थिए ।

Esewa Pasal

प्रकाशित : वैशाख २९, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जिम्मेवारी

सिउँडी
अनजानमा भए पनि म पार्टी कार्यालयको पिउन बिर्खबहादुर नेपाली यो कांग्रेसी हारको पूराका पूरा जिम्मा लिन्छु ।
विमल निभा

काठमाडौँ — ‘हेलो ।’‘हेलो ।’‘यो अखबार कार्यालय हो ?’‘हो, के भन्नुछ, भन्नोस् ।’‘प्रधान सम्पादकज्यू हुनुहुन्छ ?’‘अहिले हुनुहुन्न, उहाँ ।’‘कहाँ जानु भएको छ प्रधानसम्पादकज्यू ?’‘उहाँ जरुरी कामले बाहिर जानुभएको छ ।’‘कहिले फर्कनु हुन्छ ?’‘यो भन्न सकिंदैन ।’

‘आज फर्किनु हुन्न कि ?’
‘होइन, फर्किनु हुन्छ ।’
‘उहाँसँग काम थियो ।’
‘के काम थियो, मलाई भन्नोस् ।’
‘तपाईं को बोलिरहनु भएको छ ?’
‘म उहाँको पिए ।’


‘ए, पिएसाब †’
‘अनि तपाई को नि ?’
‘हुन त म सानोतिनो मानिस हुँ, तर एउटा ठूलो खबर दिनु थियो ।’
‘कस्तो ठूलो खबर ?’
‘एकदमै महत्वपूर्ण खबर हो पिएसाब ।’


‘त्यही त, के महत्वपूर्ण खबर ?’
‘नेपाली कांग्रेसको खबर हो ।’
‘नेपाली कांग्रेस पार्टीको खबर ?’
‘नेपाली कांग्रेस पार्टीको हारको खबर ।’
‘ए, कांग्रेसी हारको खबर ?’
‘हजुर, कांग्रेसी हारको खबर हो ।’
‘त्यसो भए, तपाईं हाम्रो अर्काे सम्पादकसँग कुरा गर्नोस् ।’
‘कुन चाहिँ सम्पादकसँग पिएसाब ?’
‘सहायक सम्पादकसँग, उहाँ नै अखबारको खबर प्रमुख हुनुहुन्छ ।’
‘अहिले म सहायक सम्पादकज्यूसँग कुरा गर्न सक्छु पिएसाब ?’
‘हुन्छ, म उहाँलाई बोलाइदिन्छु ।’
(अलिक बेरपछि)


‘के भन्नु छ मसँग, भन्नोस् ।’
‘सहायक सम्पादकज्यू बोलिरहनु भएको हो ?’
‘म बोलिरहेको छु, के काम छ ?’
‘एउटा महत्वपूर्ण खबर थियो ।’
‘के महत्वपूर्ण खबर ?’
‘नेपाली कांग्रेसको खबर हो सहायक सम्पादकज्यू ।’
‘तपाईं मलाई खबर भन्नोस् महाशय ।’
‘अहिलेको चुनावमा भएको हारको जिम्मेवारी लिने कुरा हो सहायक सम्पादकज्यू ।’


‘यसको जिम्मा पार्टीको केन्द्रिय कार्य समितिले लिएको होइन र ?’
‘हुन त हो, तर असली कुरो यो होइन सहायक सम्पादकज्यू ।’
‘तपाईं प्रष्टाप्रष्टी भन्नोस्, कुरो के हो ?’
‘असलमा हारको जिम्मेवारी न ता हाम्रो सभापतिज्यू शेरबहादुर देउवा हो न वरिष्ठ नेता रामचन्द्र पौडेलजी नै र अहिले पुरै जिम्मेवार भनिएको केन्द्रिय कार्य समिति त विलकुलै हुँदै होइन ।’
‘यो सबै तपाईंलाई कसरी थाहा भयो ?’


‘म यसको पूरा जानकारी राख्ने व्यक्ति हुँ सहायक सम्पादकज्यू ।’
‘तपाईं सबै कुरो खोलेर भन्नोस् महाशय, कुरो के हो ?’
‘सुन्नोस्, म कांग्रेसको केन्द्रिय कार्यालयकै मानिस हुँ सहायक सम्पादकज्यू, मलाई सबथोक राम्ररी नै थाह छ ।’
‘ठीक छ, अब भन्नोस् ।’
‘म सधैं पार्टी कार्यालयको सफाइ गर्ने गर्छु, एक विहान सफा गर्दागर्दै के थाहा पाएँ भने मैले सफाको साटो साफ पो गरेको रहेछु त †’
‘के साफ ?’


‘सहायक सम्पादकज्यू, कुरो के हो भने
पार्टी कार्यालयको धूलो र फोहोर सँगसँगै
त्यहाँको जम्मै विचार, चरित्र, इमानदारी,
निष्ठा, नीति, सिद्धान्तहरू पनि स्वाट्टै साफ
भएको रहेछ ।’
‘कस्तो साफ ?’


‘साफ भनेको तपाईलाई थाहै होला
सहायक सम्पादकज्यू, खाली, रित्तो, समाप्त, शून्य, खोक्रो, खत्तम ।’
‘होइन, तपाईंको महाशय ?’
‘म, म नेपाली कांग्रेस पार्टी कार्यालयको पुरानो पिउन बिर्खबहादुर, हजुर ।’
‘हँ, पिउन बिर्खबहादुर ?’
‘हजुर, मेरो जिम्मा दिनदिनै पार्टी कार्यालयको सफाइ गर्नु हो, तर मैले यो सफाइ
गर्दागर्दै पार्टीको विचार आदि पनि आफ्नो
कुचोले बढारेर साफ गरिदिएछु सहायक सम्पादकज्यू ।’
‘कुचोले बढारेर ?’


‘तर यो मसँग जानाजानी भएको होइन सहायक सम्पादकज्यू, मैले थाहै नपाई अनजानमा सबै साफ गरेको हुँ ।’
‘अनजानमा.......!’
‘हजुर, तर अनजानमा भए पनि म पार्टी कार्यालयको पिउन बिर्खबहादुर नेपाली यो कांग्रेसी हारको पूराका पूरा जिम्मा लिन्छु ।’
‘होइन, तपाई के भनिरहनु भएको छ महाशय ?’


‘म जे भनिरहेको छु, एकदमै सत्य भनिरहेको छु, त्यसैले मेरो यो जिम्मेवारीको खबर अखबारमा छापिदिनुपर्‍यो सहायक सम्पादकज्यू ।

प्रकाशित : वैशाख २२, २०७५ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT