कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कृतलाई सामाजिक न्याय

नारायणी देवकोटा

काठमाडौँ — सधैं एउटै बाटोमा हिँडिरहनु कसैका लागि पनि सुखद हुँदैन । त्यसैले मानिस नयाँ–नयाँ बाटोमा हिँडिरहन चाहन्छ । पढ्ने, बोल्ने वा लेख्ने कुरा पनि त्यही हो । तर हामी बाँचिरहेको समाजले हामीमध्ये धेरैलाई त्यही विषय सयौंपटक दोहोर्‍याएर लेख्न, बोल्न बाध्य पारिरहन्छ ।

बलात्कृतलाई सामाजिक न्याय

पत्रिकाका सम्पादकहरू आफ्नो पहिलो पेजमा महिला वा सिमान्तकृत समुदायमाथि हुने हिंसाको समाचार प्रकाशन गर्नैपर्ने, रेडियोका समाचार वाचकहरू महिला लगायत सिमान्तकृत समुदायका मानिसमाथि भएका हिंसाका समाचार वाचन गरेर कामको सुरुवात गरिहनुपर्ने बाध्यतामा परिरहन्छन् । अनि महिलाको क्षेत्रमा काम गरिरहेका संघ–संस्थाका कर्मचारी आफ्नो योजनाबद्ध काम बाहेक यस्ता घटनामा के गर्ने भनेर तत्काल योजना बनाउने, विज्ञप्ति निकाल्ने, प्रहरी प्रशासनमा धाउने वा जुलुस निकाल्ने जस्ता काम गर्नुपर्ने बाध्यतामा परिरहन्छन् । महिलामाथि भएका हिंसा (विशेषगरी बलात्कार) का घटना सार्वजनिक भइरहँदा बलात्कारीलाई फाँसी दिनुपर्ने विषय चर्कोगरी उठ्न थालेको छ । यो लेख वर्तमान नेपाली समाजमा बनेको बलात्कारीको छवि र त्यसले उब्जाएका प्रश्न, मृत्युदण्डको माग, दण्ड र वास्तविक न्यायको विषयमा केन्द्रित गरेकी छु ।

बलात्कारीको छवि
एउटा अनलाइनमा राखिएको बलात्कारको ‘सिम्बोलिक’ फोटोबाट विषय उठाउन चाहन्छु । त्यस फोटोमा एउटी गोरी किशोरीको मुख मजदुरका जस्ता जरिएका र धुलोमैलोमा काम गरेका हातहरूले थुनिरहेको छ । फोटो हेरेपछि केही समय अगाडि पत्रकार दुर्गा कार्कीले कान्तिपुरमा नै लेखेको ‘कस्तो पुरुषले बलात्कार गर्छ ?’ शीर्षकको लेख खोजेर पढेंँ । कार्कीले नेपाल प्रहरीको अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीको भनाइ उद्धृत गर्नुभएको रहेछ । जसमा उप्रेतीले भनेका छन्, ‘बलात्कारमा संलग्न पुरुषहरू धेरैजसो गरिब, अनपढ र कानुनबारे ज्ञान नभएका छन्, जसलाई अपराधपछि आउने परिणामबारे थाहा छैन ।’ कार्कीको लेख पढेपछि मैले रक्षा नेपालकी सावित्री सुवेदी (जसले बलात्कृतहरूको पक्षमा काम गर्दै आएकी छन्) लाई ‘तपाईले हेरिरहेका बलात्कारका घटनाका बलात्कारी पुरुष गरिब, अनपढ र कानुन नजान्ने छन् ?’ भनेर सोधेकी थिएँ । सावित्रीले पछिल्ला दुई महिनामा हेरेका १२ घटनामा ११ वटाका बलात्कारी गरिब, अनपढ र कानुन नबुझ्ने रहेछन् ।

अनलाइनमा राखिएको फोटो, नेपाल प्रहरीको अनुसन्धान र सार्वजनिक भएका घटना हेर्दा कम पढेका गरिब मानिसले बलात्कार गर्छन् भन्ने बुझिन्छ । यो तथ्यले दुइटा प्रश्न उब्जाउँछ, पहिलो गरिब, अनपढले नै किन बलात्कार गर्छ ? यो प्रश्नले नेपालको गरिबीको बहसलाई थप गहिरोगरी अध्ययन गर्नुपर्नेमा जोड दिन्छ । दोस्रो प्रश्न धनी, पढेलेखेको मानिसले गरेका बलात्कारका घटना सार्वजनिक नै हँुदैनन् ? यो प्रश्नसँगै नेपाली समाजका अरू थुप्रै बेथिति बलात्कारका घटनामा जोडिएर आउँछन् । के मानिस धनी वा कानुन बुझे बलात्कार गर्दैनन् ? वा धनी मानिसले गरेका बलात्कारको पाप पनि केही हजार वा लाखको प्रलोभनमा गरिबमाथि थुपारिँदैछ ? माथिका यी दुई प्रश्नले गम्भीर अध्ययन माग गर्छन् । हरेक दिन बलात्कारका कुरा पढेर, सुनेर वा ती घटनाका विषयमा संलग्न भएर काम गनुपर्ने बाध्यताबाट मुक्ति पाउन यो विषयलाई गम्भीर समस्याका रूपमा लिँदै सरकारले अनुसन्धानमार्फत निवारणको बाटो खोज्न ढिलो हुँदै गएको छ ।

घटना दर्ता र मृत्युदण्डको सवाल
बलात्कारीलाई फाँसी वा मृत्युदण्डको माग जसरी उठिरहेको छ । यो एउटा मागका लागि माग वा सडकमै झरेर विरोध गर्नुपर्ने अवस्था आउँदा आवेशमा आएर राख्ने मागमात्रै हो, जुन पूरा हुन सक्दैन । नेपालको संविधान, नेपाल सरकारले हस्ताक्षर गरेको मानव अधिकारको विश्वब्यापी घोषणापत्र तथा मानव अधिकारका विभिन्न अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि र देशमा रहेका मानव अधिकारवादी संस्थाहरूको बलियो उपस्थितिका कारण मृत्युदण्ड सडकमा माग गर्ने विषय हो । तर संसदमा पुगेर छलफल हुने विषय होइन । नेपालको कानुन तत्काल भएका बलात्कारका घटनालाई सम्बोधन गर्नका लागि राम्रो छ, पर्याप्त भने छैन । त्योभन्दा पनि महिलाको यौनिकतालाई हेर्ने सामाजिक दृष्किोणका कारण बलात्कारका धेरै घटना अहिले पनि प्रहरीकहाँ पुग्नसकेका छैनन् । यसरी प्रहरीसम्म पुग्न नसकेका दुइटा घटना यहाँ राख्न चाहन्छु ।

घटना– १, १४ वर्षकी बालिकालाई आफ्नै बाले विगत तीन वर्षदेखि बलात्कार गर्दै आएका छन् । ती बालिकालाई जन्मदिने आमा पनि त्यस दुर्दशाको साक्षी रहँदै आएकी छन् । सूचना आएपछि हाम्री एकजना साथीले बालिका र उनकी आमालाई भेटेर श्रीमान विरुद्ध प्रहरीमा उजुरी गर्न अनुरोध गरेकी थिइन् । जवाफमा ती महिलाले भनिछन्, ‘उजुरी गरेपछि प्रहरीले उनलाई पक्रेर लग्छ, अनि हामी कसरी बाँच्छौं ?’ ती महिलाको प्रश्नले ती साथी अझै रन्थनिरहेकी छन् ।

घटना– २, अस्पतालमा आफ्नै बाआमाले उपचार गराउन ल्याएकी ११ वर्षकी किशोरीको योनिमा घाउ भएर किरा परेको देखेकी एउटी नर्सले रुँदै सुनाएकी थिइन्, ‘कसले गर्‍यो भनेर हरेक दिन सोध्दा पनि केही भनिनन् । सायद घरभित्रकै कोही मानिसले बलात्कार गरेको हुनुपर्छ ।’ महिला अधिकारका लागि खुलेका संघ–संस्थाका साथीहरू बीचमा गफ गर्दा यस्ता घटनाको फेहरिस्त सुन्न सकिन्छ । ती सार्वजनिक हुँदा बलात्कारको एउटा लहरोसँगै जीवनका कैयौं पहरो आफूमाथि खस्ने डरले मानिसले भन्दैनन् । त्यसैले बलात्कारका घटनालाई कम गर्न, बलात्कारीलाई कानुनी सजाय दिन पनि महिलालाई सक्षम बनाउन जरुरी छ ।

प्रभावितलाई वास्तविक न्याय
हामी प्राय: कुनै पनि अपराधमा संलग्न अपराधीलाई दण्ड के दिने भन्ने विषयमा धेरै केन्द्रित हुने गरेका छौं । तर प्रभावितले पाउनुपर्ने सुविधाको विषयमा बिरलै सार्वजनिक छलफल हुने गरेको छ । कानुनले बलात्कारका प्रभावितका लागि नि:शुल्क स्वास्थ्य उपचार, कानुनी सहायता, मुद्दा लड्ने क्रममा लाग्ने सम्पूर्ण खर्च, नि:शुल्क मनोपरामर्श र सेवाकेन्द्रमा ४५ दिनसम्म बस्न, खान पाउने व्यवस्था गरेको छ ।

गैरसरकारी संस्थाहरूका सुरक्षित आवास गृहमा प्रभावितलाई ४५ वा आवश्यकता हेरेर बढी दिनसम्म राख्ने गरिएको छ । के त्यति काफी हुन्छ त बलात्कारमा परेका महिलाले पाउने न्याय ? यो प्रश्न सधैं उठ्ने गरेको छ । बलात्कारलाई गरिने अति घृणाका कारण यस्ता घटनापछि हुनसक्ने अन्य घटनामा नपर्न धेरै त मौन नै बस्ने गरेका छन् । त्यसमाथि बलात्कारका घटनामा दोषीले कानुनी सजाय पाएपछि प्रभावित महिलालाई समाजमा बाँच्न सहज हुनसकेको छैन ।

समग्रमा, नेपालमा जुन मात्रामा महिला वा बालिकामाथि बलात्कारका घटनामा संलग्न भएका पुरुषको जुन छवि समाजमा स्थापित हँुदै गएको छ, त्यो शंकास्पद छ । साँच्चीकै कुनै वर्गको मानिसको बढी संलग्नता छ भने त्यस विषयमा सरकारले नै गम्भीर भएर अनुसन्धान गर्न जरुरी छ । नेपालमा गरिने मृत्युदण्डको माग अनावश्यक छ र अपराधीले कानुनी दण्ड पाए पनि समाजमा महिलाको भन्दा पुरुषको मूल्य बढी हुँदासम्म प्रभावितले सामाजिक न्याय पाउन सहज छैन ।

प्रकाशित : वैशाख ३१, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?