शल्यक्रिया दुर्घटना कम गर्ने उपाय

काठमाडौँ —  केही पहिले नर्भिक अस्पतालमा एउटा घुँडाको शल्यक्रिया हुनुपर्नेमा अर्को घुँडाको शल्यक्रिया गरिएको घटनाले चिकित्सा सेवाका दुर्घटना कसरी कम गर्ने भन्ने प्रश्नलाई अग्रस्थानमा ल्याएको छ ।

शल्यक्रिया दुर्घटना कम गर्ने उपाय

७ वर्षअघि भरतपुर क्यान्सर अस्पतालमा घाँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको पाठेघर निकालिएको घटनापछि पनि शल्यचिकित्सा र सम्पूर्ण स्वास्थ्यसेवाकै दुर्घटना कम गर्नेतर्फ सम्बन्धित निकायहरूको चासो बढ्छ कि भन्ने अपेक्षा गरिएको थियो । यस्ता दुर्घटना खालि व्यक्तिगत लापरबाहीले मात्र हैन, समग्र स्वास्थ्यसेवा प्रदायन प्रणालीमै रहेका अनेकौं त्रुटिको सामूहिक नतिजाको रूपमा आइपर्ने भएकोले व्यक्तिलाई मात्र दोष लगाउने हैन, प्रणालीमै सुधार गर्नुपर्ने र विशेषगरी शल्यचिकित्सा सम्बद्ध दुर्घटना कम गर्न विश्व स्वास्थ्य संगठनको ‘सर्जिकल सेफटी चेकलिस्ट’ (शल्यचिकित्सा सुरक्षा जाँचसूची) लाई सबै अस्पतालमा अवलम्बन गर्नुपर्ने आवाज उठाइएको थियो । तर पनि एकदमै हुनै नहुने खालका यस्ता शल्यचिकित्सा सम्बद्ध दुर्घटना पटक–पटक दोहोरिइरहेकाले सर्जिकल चेकलिस्टको प्रयोग नगरिएको देखिन्छ ।

सम्बन्धित अस्पतालले यसपालि पनि पहिलेका अस्पतालले जस्तै बिरामीका परिवारलाई थामथुम पार्नमात्र खोजेको, दुर्घटना कम गर्ने उपायबारे नयाँ सोच र समाधानतिर ध्यान नदिई बरु गल्ती नै भएको थिएन भन्ने अशोभनीय जिकिरमात्र गरिरहेको देखियो । मेडिकल काउन्सिलले पनि सतही छानबिन गरेर केही स्वास्थ्यकर्मीलाई दण्डित गराएर आफ्नो जिम्मेवारी सकिए जस्तो गर्‍यो । यस्तो जघन्य त्रुटि केही व्यक्तिको कारणले मात्र भएको हैन, समग्र प्रणालीमा विभिन्न तहमा रहेका अनेक खोट वा जोखिमको कारणले भएको थियो भनी बुझाइदिने र स्वास्थ्य प्रदायक संस्थाहरूलाई प्रणालीगत सुधारका कदम चाल्न निर्देशित गर्ने ठूलो अवसर यसपालि पनि स्वास्थ्य मन्त्रालयले गुमाएको देखियो ।

के हो, सर्जिकल चेकलिस्ट ?
अध्ययनहरूले के देखाएका छन् भने शल्यचिकित्साका दौरानमा देखिने आधाजसो दुर्घटना र अवाञ्छित जटिलता हुनुभन्दा पहिल्यै निरोध गर्न सकिन्छ । विकसित मुलुकहरूमा शल्यचिकित्साको दौरानमा हुने मृत्युको दर ०.४ देखि ०.८ प्रतिशतसम्म र अन्य जटिल परिणतिको दर ३ देखि १७ प्रतिशतसम्म रहेको देखिन्छ । अल्पविकसित मुलुकहरूमा शल्यक्रियासँग सम्बन्धित मृत्यु र अन्य जटिलता वा दुर्घटनाको दरको यकिन आँकडा उपलब्ध छैन, तर विकसित देशहरूको भन्दा धेरै बढी रहेको अनुमान गर्न सकिन्छ ।

शल्यक्रियाका दौरान हुने दुर्घटना कम गर्न पश्चिमी देशहरूमा विगत १५/१६ वर्षदेखि शल्यचिकित्सा कक्षमा बिरामी पुग्नु अघिदेखि शल्यक्रिया सकिएपछिसम्म पूर्वतयारी गरिनुपर्ने वा छुटाउन नहुने कुराको फेहरिस्त भएका चेकलिस्ट (जाँचसूची) बनाएर प्रयोग गरिँंदै आएको छ । विश्व स्वास्थ्य संगठनले त्यस्तो चेकलिस्टलाई विकासोन्मुख देशहरूका लागि पनि उपयुक्त हुनेगरी केही परिवर्तन गरेर बनाएको सर्जिकल सेफ्टी चेकलिस्टलाई सन् २००८ देखि नै तेस्रो विश्वमा प्रयोग गर्न सिफारिस गरेको छ ।

यो चेकलिस्टमा शल्यक्रियापूर्व एनेस्थेसिया दिनुअघि (साइन इन), चक्कु प्रयोग गर्नुअघि (टाइम आउट) र शल्यक्रियापश्चात् बिरामीलाई शल्यक्रिया कक्षबाट बाहिर लग्नुभन्दा अघि (साइन आउट) यी तीन चरणमा रुजु गर्नुपर्ने जम्मा १९ वटा बुँदा छन् । सही बिरामी, सही प्रकारको शल्यक्रिया र शल्यक्रिया गरिने सही भाग र दाहिने वा देब्रे पाटोको पहिचान होस्, स्वास्थ्यकर्मीहरूले हेक्का राख्नुपर्ने केही कुरा वा पूरा गर्नुपर्ने केही न्यूनतम सुरक्षात्मक कदमहरू नछुटुन् र शल्यक्रियामा संलग्न सबै तह र भूमिकाका स्वास्थ्यकर्मीहरूबीच बिरामीको हितमा निसंकोच संवादको वातावरण बनोस् भन्ने सुनिश्चित गर्न यी १९ बुँदा समावेश गरिएका हुन् । सरदरमा यो सूची रुजु गर्न २/३ मिनेटभन्दा बढी लाग्दैन ।

यो चेकलिस्टले साँच्चै बिरामीहरूको सेवाको गुणस्तरमा फरक ल्याउँछ कि ल्याउँदैन भनेर खुट्याउन ठूला परीक्षणहरू भएका छन् । १० वर्षअघि गरिएको एउटा त्यस्तो परीक्षण विश्वका ४ महादेशमा छरिएका ४ विकसित देश र ४ अल्पविकसित देशका १/१ वटा गरेर ८ वटा ठूला अस्पतालमा गरिएको थियो । चेकलिस्ट अवलम्बन हुनुअघि ३७३३ र अवलम्बन भएपश्चात् ३९९५ बिरामीमा गरिएका शल्यक्रियाका नतिजाको तुलना गर्दा चेकलिस्टको प्रयोगले शल्यक्रियादेखि एक महिनाभित्र बिरामीको मृत्यु हुने सम्भावना झन्डै आधा (४७ प्रतिशतले) घटेको देखियो । शल्यक्रियाले गर्दा हुनसक्ने थप जटिल परिणति पनि ३६ प्रतिशतले घटेको देखियो ।

हामीले के गर्नुपर्छ ?
चिकित्सकहरूले उनीहरूको ६ देखि १०/१२ वर्षसम्मको तालिमको दौरानमा चिकित्सक भनेका वर्षौंको आफ्नो एकल मिहेनतले ज्ञान र सीप आर्जन गरेर त्यसपछि त्यो ज्ञान र सीप र काम गर्दै जाँदा बटुलिँंदै जाने थप अनुभवलाई उपयोग गर्दै बिरामीका रोग निदान गर्ने र निको पार्ने अति आत्मनिर्भर र आत्मविश्वासी प्राणी हुन् भन्ने आभास परोक्ष रूपमा पाएका हुन्छन् । आम जनताको बुझाइ पनि त्यसभन्दा खासै फरक हुँदैन ।

आफूभन्दा चिकित्साशास्त्रको ज्ञान धेरै कम बटुलेकाहरूको सुझाव लिने वा उनीहरूसँग समूहमा सहकार्य गर्ने, कुनै चेकलिस्ट जस्तो साना केटाकेटीलाई वा अनपढ व्यक्तिलाई सामान्य कुरा सम्झाउने जस्तो लाग्ने साधन पनि कहाँ आफूजस्तो विद्यासम्पन्न र निपुण मान्छेले प्रयोग गर्ने हो र भन्ने धेरै चिकित्सकले ठान्छन् । तर विश्वभरि नै स्वास्थ्यसेवा प्रदायन प्रणाली विगत केही दशकमै द्रुतगतिले अत्यन्तै जटिल भइसकेको छ । अब कुनै चिकित्सक पूर्णरुपेण उत्तम जाँच र उपचार दिलाउँछु र हानि पटक्कै हुन दिन्नँ भन्नु खोक्रो र खतरनाक अहंकार प्रदर्शनमात्र हो ।

स्वास्थ्यसेवा प्रदायन प्रणालीमा हुनसक्ने त्रुटि र जोखिम कसरी कम गर्ने भन्ने विषयमा बाहिरी विश्वमा धेरै अध्ययन र अनुसन्धान भइसकेका छन् । कतिपय अत्यन्त जटिल देखिने समस्याका पनि सामान्य चेकलिस्ट जस्ता अत्यन्तै सरल, सस्ता र सजिलै उपलब्ध हुने समाधान पहिल्याइसकिएका छन् ।

हाम्रो देशमा पनि स्वास्थ्यसेवाका जोखिमलाई न्यूनीकरण गर्न प्रणालीगत रूपमा सम्बोधन गरेर बिरामीलाई बढी सुरक्षित स्वास्थ्यसेवा दिन गर्नुपर्ने कुरा धेरै छन् । पहिलो कदम भनेको व्यक्तिलाई दोष दिन हतार गर्नुभन्दा पहिले कतै समग्र प्रणालीमै पो त्रुटि छ कि ? वा जोखिमको समस्याको उपचार गर्न व्यक्तिलाई दण्ड दिनेभन्दा प्रणालीमै हल्का परिवर्तन गर्दा पो बढी प्रभावकारी हुन्छ कि भनेर सोच्नु बढी महत्त्वपूर्ण छ । विस्तारै यस्ता जोखिमप्रति सचेत र सुसूचित रहन उद्यत, आफ्ना व्यक्तिगत सीमाबारे सजग र सामूहिक उत्तरदायित्व र ऐक्यभाव भएका स्वास्थ्यकर्मी र सेवाग्राहीको जमात तयार हुनु र जोखिम प्रतिरोधी व्यावसायिक संस्कृति नै निर्माण हुनु आवश्यक छ ।

शल्यक्रियाको जोखिम कम गर्न नेपालका सबै अस्पताल वा शल्यक्रिया हुने संस्थामा कम्तीमा पनि विश्व स्वास्थ्य संगठनको सर्जिकल सेफ्टी चेकलिस्ट अवलम्बन गरिएन भने त्यसलाई अक्षम्य ठान्नुपर्छ । त्यसैले अब प्रत्येक शल्यचिकित्सक र उससँग सहकार्य गर्ने एनेस्थेटिस्ट वा अन्य चिकित्सक, नर्स आदिले हरेकपटक शल्यक्रिया हुँदा सर्जिकल चेकलिस्टको प्रयोग गर्नैपर्छ । स्वास्थ्यसेवा उपलब्ध गराउने राजनीतिक र प्रशासनिक निकायहरूले पनि देशभर शल्यक्रिया हुने सबै स्वास्थ्य संस्थालाई अनिवार्य रूपले सर्जिकल सेफ्टी चेकलिस्ट प्रयोग गर्न निर्देशन दिने, आवश्यक परे सम्बन्धित स्वास्थ्यकर्मी र अन्य सरोकारवालाका लागि तालिम वा सचेतना कार्यक्रम सञ्चालन गर्ने र जाँचसूचीको सही रूपमा उपयोग गरे/नगरेको नियमित अनुगमन गर्ने गर्नुपर्छ ।

नेपाल मेडिकल काउन्सिलले शल्यक्रियाका दुर्घटनाबारे छानबिन गर्दा व्यक्तिलाई मात्र सोझै दोष दिनुअघि सर्जिकल चेकलिस्ट जस्ता चिकित्सा क्षेत्रका सामान्य अन्तर्राष्ट्रिय अभ्यास पालना गरे/नगरेको खोतलेर प्रणालीगत समस्या पनि उजागर गर्ने र त्यस्ता प्रणालीगत समस्यालाई सम्बोधन गर्न सम्बन्धित पक्षलाई घचघच्याउने गर्नुपर्छ । अब प्रत्येक सेवाग्राहीले चिकित्सक र शल्यक्रिया हुने अस्पताल वा क्लिनिकलाई आफ्नो शल्यक्रियाको दौरानमा सर्जिकल सेफ्टी चेकलिस्टको प्रयोग हुन्छ कि हुँदैन भनी सोध्ने र प्रयोग हुन्छ भन्ने प्रत्याभूति दिइए मात्र शल्यक्रिया गर्न अनुमति दिनेछु भन्नुपर्छ ।

डा. कोइराला मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टर र डा. सुवेदी ह्याम्स अस्पतालमा कार्यरत छन् ।

प्रकाशित : वैशाख ३१, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?