पुराना नेताको नयाँ वाचा

न्युयोर्क टाइम्स

काठमाडौँ — मलेसियाको राजनीतिमा भइरहेको हलचल निकै रोचक र अपत्यारिलो छ । राजनीतिबाट अवकाश लिइसकेका एक ९२ वर्षीय निरंकुश राजनेताले पुन: चुनावी मैदानमा प्रवेश गरी, आफैंले बनाएको भ्रष्ट उत्तराधिकारीलाई हराएर फेरि सत्तासिन भएका छन् ।

पुराना नेताको नयाँ वाचा

यदि राजनीतिक घटनाक्रम महाथिर मोहमदको सोच अनुसार नै अगाडि बढ्ने हो भने निरंकुशता समाप्त भई त्यहाँको राजनीति प्रजातन्त्रतर्फ अग्रसर हुने देखिएको छ ।

नब्बे नाघेका अगुवा डा. महाथिरले सन् १९८१ देखि २००३ सम्म मलेसियाको राजनीतिमा आफ्नो प्रभुत्व जमाए । उनकै कार्यकालमा देशमा तीव्र औद्योगीकरण र आर्थिक विकास भयो । उनले ‘फलामको मुठ्ठी’झैं कसिलो गरेर राज्य सञ्चालन गरे । महाथिरको कठोरता यस्तो थियो कि उनले आफैंले संरक्षण गरेर बनाएको आफ्नो सहायक तथा उत्तराधिकारी अनवर इब्राहिमलाई नै अनैतिक क्रियाकलाप तथा भ्रष्टाचारको गलत आरोप लगाएर जेल हालेका थिए । त्यसपछि उनले दुईजनालाई आफ्नो सहायकका रूपमा नियुक्त गरेका थिए ।

तिनै मध्येका दोस्रा हुन्, नाजिव रजाक, जसलाई अहिले चरम भ्रष्टाचारको आरोप लागेको छ । मलेसियाको सार्वजनिक कोष दुरुपयोग गरेर उक्त रकम अमेरिका पुर्‍याएको विषयमा अमेरिकाको न्याय विभागले अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धानमा नाजिवको नेतृत्वमा साढे तीन अर्ब डलर अपचलन भएको र जसमध्ये ७३ करोड १० लाख डलर उनको व्यक्तिगत खातामै जम्मा भएको देखिएको थियो ।

महाथिरले नाजिवलाई उत्तराधिकारी बनाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो भुल भएको बताउँदै उनी विरुद्ध उम्मेदवारी दिने घोषणा गरेका थिए । अनवर इब्राहिमलाई २०१५ मा राजनीतिक प्रतिशोध लिन दोस्रोपटक जेल हाल्नु अघि उनले नेतृत्व गरिरहेको विपक्षी गठबन्धनका नेताका रूपमा उनी चुनावमा होमिएका थिए । शास्त्रमा उल्लेख भएका सम्पूर्ण फोहोरी राजनीतिक चाल चले पनि नाजिवले अन्त्यमा हार बेहोर्नुपर्‍यो । गत बिहीबार महाथिरले विश्वकै सबैभन्दा पाका प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरे । अनवरलाई लगाइएको गलत आरोपहरूबाट मुक्त गर्दै उनलाई आफ्नो उत्तराधिकारी बनाउने घोषणा गरेका छन्, महाथिरले ।

उनी राजनीतिमा फिर्ता हुनुले केही प्रश्न उठाएको भने छ । उनले आफ्नो पहिलो शासनकालमा भए–गरेका गल्तीहरूको माफी मागेका छैनन् । तर अनवरलाई भने कुनै बेला आफैंलाई जेल हाल्ने नेतालाई साथ दिएकोमा कुनै पश्चाताप छैन । किनभने उनको बुझाइमा नाजिवलाई सत्ताच्युत गरेर मलेसियालाई पुन: सही बाटोमा ल्याउन सक्ने क्षमता भएका एकमात्र नेता महाथिर मात्रै थिए । अदालती सुनुवाइका लागि पछिल्लोपटक अदालतमा पेस गर्न ल्याउँदा छोटो प्रतिक्रिया दिँदै नाजिवले विपक्षी गठबन्धनले महाथिरलाई व्यक्तिका रूपमा नभई उनले वाचा गरेका ‘परिवर्तन नीति’का कारण समर्थन गरेको बताएका थिए ।

मलेसियाको नयाँ सरकारको आगामी बाटो त्यति सहज भने छैन । सरकारलाई हराएको सार्वजनिक कोषको सत्यता अनुुसन्धान गर्ने दायित्व छ । यसमा झारा तिर्ने काम गर्ने छुट उसलाई छैन । यद्यपि महाथिरको पुनरागमनले प्रजातान्त्रिक पद्धतिले भने काम गरिरहेको देखिएको छ । अब महाथिरले गर्न बाँकी काम भनेको आफ्नो वाचामा कायम रहँदै अनवर जेलमुक्त भए लगत्तै उनलाई सत्ता सुम्पिएर बिदा हुनु हो ।

न्युयोर्क टाइम्स सम्पादकीय बोर्ड
(द न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : जेष्ठ १, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?