यथास्थितिकै खतरा

उही मुटु उही भावना
प्रदेश २ का मुख्यमन्त्रीले मोदीका चरणमा जे निवेदन गरे, त्यसले भद्दा चाकडी र हस्तक्षेपको निम्तोबाहेक अरू के देखाउँछ ?
डा. कमल लामिछाने

काठमाडौँ — नेपालमा कुनै विषयमा छलफल या बहस हुँदा मूलत: दुइटा धारहरूको प्रधानता देखिन्छ । पहिलो, कुनै व्यक्ति र विषयलाई अति राम्रो भनेर हाँमाहाँ मिलाउने अनि अर्को पक्षलाई निषेध गर्ने । दोस्रो चाहिँ राम्रै हुनुका बाबजुद विरोधै गर्ने । अर्थात् अति राम्रो भनेर देवत्वकरण र नराम्रो भनेर दानवीकरण गर्ने ।

तर आवश्यक पर्नेचाहिँ कुनै पनि विषयप्रतिको तथ्यमा आधारित क्रिटिकल थिङ्किङ हो, जसको अभावमा खास विषय माथिको बहस बहकिन पुग्छ । जसलाई कसैसँग केही लेनदेन छैन र त्यो विषयसँग मात्रै सरोकार छ, त्यस्ता व्यक्तिहरू मात्रै यो ‘क्रिटिकल ओपिनियन’ निर्माण र ‘क्रिटिसिजम’ गर्नसक्ने अवस्थामा रहन्छन् । यो यथार्थ चित्रणका लागि धेरै पर जानै पर्दैन, ३ वर्ष पहिलेको भारतीय नाकाबन्दीलाई नै हेरे पुग्छ । भूकम्पले थिलथिलो भएको नेपालमा मोदी नेतृत्वको सरकारले अमानवीय नाकाबन्दी गर्‍यो । सत्तामा रहेको अहिलेको कमजोर विपक्षी दल नेपाली कांग्रेसले त्यसको उच्चारणसम्म गर्न सकेन । त्यस विरुद्ध बोल्दा केही स्वार्थ समूहलाई भारतको चाकडी नगरेकोमा ठूलै असर पर्ने भय थियो । तर कुनै बेला भारतको निकट भनी विशेषण लागेका र महाकाली सन्धिमा निकै मिहेनत गरेका केपी ओलीले जनताको आकांक्षा अनुसार नै नाकाबन्दीको खुलेरै विरोध गरे र जनसमर्थन ह्वात्तै आफ्नो दलतिर आकर्षण गर्न सफल भए । अहिले उनी सत्तामा रहनुको एउटा मुख्य कारण नै त्यही हो ।

हिजो नाकाबन्दी गर्दा चुँसम्म गर्न नसकेकाहरू आज मोदीको भ्रमणमा सरकारको विरोधमा उत्रनुलाई उनीहरूको चेत खुलेको रूपमा बुझ्न पाए त निकै राम्रो हुने थियो । तर तितो लागे पनि भन्नैपर्छ, त्यो चेत खुल्नुको सट्टा विपक्षीमै रहनुको छट्पटाहट सिवाय अरू केही होइन । सत्तापक्ष अति उत्साही भएर मोदीको स्वागतमा लाग्नु र विरोधका लागि नैतिक धरातलसमेत बाँकी नराखेको नेपाली कांग्रेससमेत यसपटक विरोधमा उत्रनुले के स्पष्ट पार्छ भने यिनीहरू अझै पनि नेपाल–भारत सम्बन्धलाई आफ्नो हित अनुसार गिलथिल्याउने दुष्प्रयत्नद्वारा निर्देशित छन् । नेपालको संविधानले शान्तिपूर्ण विरोध र वाक् स्वतन्त्रता सुनिश्चित गर्नुका बाबजुद जनकपुरमा स्वतन्त्र मधेसका ब्यानरहरू नदेख्ने सरकारले चाहिँ काठमाडौंमा ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’ भनी लेखिएको ब्यानरलाई समेत सहन सकेन ।

Yamaha

नाकाबन्दी हटेपछि यसै पत्रिकामा मैले २०७२ फागुनमा ‘खुलेको नाका र नखुलेको होश’ भन्ने स्तम्भ लेखेको थिएँ । उक्त स्तम्भमा यदि २०७२ सालको नाकाबन्दीबाट पनि पाठ सिकिएन अनि चीन र भारत दुवैसँग पारस्परिक लाभका आधारमा सम्बन्ध निर्माण गर्न सकिएन भने त्यसले भारतलाई आफ्नो इतिहास दोहोर्‍याउन प्रेरणा मिल्दा नेपाललाई भने अनुभवबाट नसिकेकोमा केवल अहिलेजस्तै पश्चाताप मात्रै हुनेछ भनी उल्लेख गरेको थिएँ । आज त्यसको २ वर्ष बितिसक्दा नेपाल र विश्वकै राजनीतिमा उल्लेख्य बदलाब आइसकेको छ । हामी ३ चरणको निर्वाचन सम्पन्न गरी स्थिर सरकारसहित विकासमा अर्जुनदृष्टि लगाउन सक्ने अवस्थामा पुगेका छौं । यस बीचमा पटक–पटक भारत र हाम्रा बीचमा भ्रमणहरू आदान–प्रदान भएका छन् । तैपनि उनीहरूले नत नाकाबन्दी भुल थियो भनी बुझिनेगरी स्वीकार गरेका छन्, न भविष्यमा पुन: नाकाबन्दी नहुने सुनिश्चित नै गरेका छन् ।

मैले उक्त स्तम्भमा लेखेझैं कुनै पनि घटना बिर्सनुका पछाडि निरन्तर नयाँ जानकारीले दिमागमा ठाउँ लिएको र अतितको पुनरावृत्ति नभएको हुनुपर्छ । तर विगतमा घटेका जस्तै घटनाहरू वर्तमानमा पनि बारम्बार घटिरहने अनि तिनलाई विस्थापित गर्ने सकारात्मक, फरक खालका घटना तथा जानकारी देखानपर्दा हामीले नाकाबन्दी बिर्सेका छैनौं भन्नुमा कुन त्यत्रो अपराध थियो र सरकारले खास दलको कार्यालयबाटै ब्यानर हटाउनुपर्‍यो ? भारत नेपालको सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने आधारहरू तयार भए भनिँदैछ । तर त्यो मापन केले गर्ने त ? दुई राष्ट्रका नेतृत्वको बोलीलाई मात्रै हेर्ने हो भने त हाम्रा बीचमा असमझदारी नै थिएनन् र छैनन् भनिदिए हुन्छ ।

व्यावहारिक रूपमा चाहिँ हाम्रा बीचमा यथेष्टै सानादेखि ठूला समस्या छन् । उनीहरू नेपालका सबैजसो परियोजना ओगटेर राख्ने रणनीति अनुसार सहमति र सम्झौता गर्न हतारिने तर कार्यान्वयनमा विलम्ब गर्ने मानसिकताबाट माथि उठ्नै चाहेका छैनन् । हरेक भ्रमणमा महाकालीको चर्चा हुन्छ, तर पूरा हुँदैन । एकातिर सबैजसो परियोजनालाई अलमल्याउने र अर्कातिर उनीहरूसँग सम्झौता भएका परियोजना बाहेकबाट उत्पादित बिजुली खरिद नगर्ने अभिप्रायले ‘छिमेकी पहिला’ नीतिमा नेपाल उच्च प्राथमिकतामा रहेको भट्याउँदा लज्जाबोध बाहेक अरू केही हुँदैन । हाम्रो बढ्दो व्यापार घाटा, डुबान र सीमा समस्याका अलावा किसानले दु:ख गरेर उब्जाएको अदुवा, अलैंची कुहिने अवस्था यथावतै छ । कतिसम्म भने भूकम्पबाट थलिँदा उनीहरूले घोषणा गरेको सहयोगसमेत पाउनसकेका छैनौं ।

यस्तै फेहरिस्तहरू प्रस्तुत गर्दैगर्दा छिमेकीप्रति म अलि बढी पूर्वाग्रही भएझैं पनि लाग्ला । तर खोइ किन हो, नेपालमा यसपटक मोदीले दिएका मन्तव्यहरू मिठा शब्द बाहेक मनैबाट आएको भावना हो भनी विश्वास गर्न सकिहाल्ने स्थिति छैन । मिठो बोल्न तर राम्रो नर्गन उनी कति माहिर रहेछन् भन्ने बुझ्न उनले हाम्रो संसद्मा दिएको ओजनदार मन्तव्य र त्यसपछिका क्रियाकलाप तथा यस पटकको उनको लवजलाई हेरे पुग्छ ।

एकातिर नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ भन्ने र अर्कातिर त्यही स्वाभिमान गिराउने दुष्प्रयासको रूपमा नाकाबन्दी गर्ने उनीहरूको बोली र व्यवहारमा तादत्म्यता कतै भेटिँदैन । यस्ता समस्या यथावतै रहँदा भारतले नेपाल सम्बन्धमा कोर्स करेक्सन गर्दैछ भनी स्वयं नेपालबाटै एकपक्षीय हौवा जसरी पिट्न खोजिँदैछ, त्यहाँ अपरिपक्वता त झल्कन्छ नै, उनीहरूको ‘छिमेकी पहिला’ नीतिमा नेपाल पहिलो प्राथमिकतामा छ भन्ने आभास गरिहाल्ने स्थितिसमेत छैन । यसको आशय के नलागोस् भने भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नै हुन्थेन ।

छिमेकीहरूका बीचमा भ्रमण आदान–प्रदान त हुन्छन् नै, तर यसपटक जुन रूपमा तयारी र तामझाम गरियो, त्यो अलिकता भद्दा र मजाकजस्तो महसुस भएको मात्रै हो । हामी उनीहरूबाट पीडित थियौं । पीडितका प्रधानमन्त्रीलाई फकाउन र पीडा बिर्साउन उनीहरूले दिएको सम्मानको बदलामा पीडकलाई पनि खास योगदानबिनै २/२ पटक नागरिक अभिनन्दन गर्नुपर्छ भन्ने मान्न धेरै नेपाली अनिच्छुक रहेको सामाजिक सञ्जाल र काठमाडौंको ब्ल्याक आउटबाटै अनुमान गर्न सकिन्थ्यो । उनको भ्रमणमा प्रदेश २ मा ५० हजार मान्छे उतार्नेगरी भएको उर्दी र सार्वजनिक बिदाको आवश्यकतालाई कसरी बुझ्ने ? साथै प्रदेश २ का मुख्यमन्त्रीले मोदीका चरणमा जे निवेदन गरे, त्यसले भद्दा चाकडी र हस्तक्षेपको निम्तो बाहेक अरू के देखाउँछ ? त्यसैगरी यसपटक भारतीय प्रधानमन्त्रीको भ्रमणमा विगतमा कहिल्यै महसुस नगरिएको उनीहरूकै सुरक्षाबलको खुल्ला उपस्थिति देखियो । विश्वमा शान्ति सुरक्षाका लागि क्रियाशील र नेपालको अखण्डताको रक्षा गर्न सफल नेपाली सेना के एउटा छिमेकी राष्ट्रको प्रधानमन्त्रीको सुरक्षा गर्न अक्षम थियो त ?

अन्त्यमा, थुप्रै यस्ता सवाल अनुत्तरितै रहेको सन्दर्भमा के भुल्नु हुँदैन भने बलिया छिमेकीहरू कूटनीतिका अनेक अभ्यास गर्छन् र त्यो अनेक चरणबाट गुज्रन्छ । उनीहरू पहिले फकाउँछन्, नभए धम्क्याउँछन् र त्यतिले पनि नभए फेरि एकपटक पहिलेकै फकाउने प्रयासमा फर्कन्छन् । पहिलो चरणको फकाइमा नफकिएर धम्क्याइमा पनि खुट्टा नकमाएकाहरूले फकाउने तेस्रो पटकको प्रयासलाई नबुझेर कोर्स करेक्सनका रूपमा अथ्र्याए भने ठान्नुपर्छ, उनीहरू हामीमाथि पुरानै रवैया लागू गर्न सफल हुँदैछन् । अहिले नेपाल–भारत बीचको सम्बन्धमा उनीहरू त्यही तेस्रो चरणबाट गुज्रेझैं लाग्छ । यो कूटनीतिलाई नेपालले बुझेर उनीहरूसँग खुला रूपले कुराकानी गर्ने अनि अवाञ्छित क्रियाकलाप तथा सूक्ष्म व्यवस्थापनलाई अस्वीकार गर्‍यो भनेमात्रै उनीहरू नचाहेरै चौथो चरणमा पुग्छन् र त्यो नै हामीले चाहेको ‘कोर्स करेक्सन’ हुनेछ ।

प्रकाशित : जेष्ठ १, २०७५ ०७:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पुराना नेताको नयाँ वाचा

न्युयोर्क टाइम्स

काठमाडौँ — मलेसियाको राजनीतिमा भइरहेको हलचल निकै रोचक र अपत्यारिलो छ । राजनीतिबाट अवकाश लिइसकेका एक ९२ वर्षीय निरंकुश राजनेताले पुन: चुनावी मैदानमा प्रवेश गरी, आफैंले बनाएको भ्रष्ट उत्तराधिकारीलाई हराएर फेरि सत्तासिन भएका छन् ।

यदि राजनीतिक घटनाक्रम महाथिर मोहमदको सोच अनुसार नै अगाडि बढ्ने हो भने निरंकुशता समाप्त भई त्यहाँको राजनीति प्रजातन्त्रतर्फ अग्रसर हुने देखिएको छ ।

नब्बे नाघेका अगुवा डा. महाथिरले सन् १९८१ देखि २००३ सम्म मलेसियाको राजनीतिमा आफ्नो प्रभुत्व जमाए । उनकै कार्यकालमा देशमा तीव्र औद्योगीकरण र आर्थिक विकास भयो । उनले ‘फलामको मुठ्ठी’झैं कसिलो गरेर राज्य सञ्चालन गरे । महाथिरको कठोरता यस्तो थियो कि उनले आफैंले संरक्षण गरेर बनाएको आफ्नो सहायक तथा उत्तराधिकारी अनवर इब्राहिमलाई नै अनैतिक क्रियाकलाप तथा भ्रष्टाचारको गलत आरोप लगाएर जेल हालेका थिए । त्यसपछि उनले दुईजनालाई आफ्नो सहायकका रूपमा नियुक्त गरेका थिए ।

तिनै मध्येका दोस्रा हुन्, नाजिव रजाक, जसलाई अहिले चरम भ्रष्टाचारको आरोप लागेको छ । मलेसियाको सार्वजनिक कोष दुरुपयोग गरेर उक्त रकम अमेरिका पुर्‍याएको विषयमा अमेरिकाको न्याय विभागले अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धानमा नाजिवको नेतृत्वमा साढे तीन अर्ब डलर अपचलन भएको र जसमध्ये ७३ करोड १० लाख डलर उनको व्यक्तिगत खातामै जम्मा भएको देखिएको थियो ।

महाथिरले नाजिवलाई उत्तराधिकारी बनाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो भुल भएको बताउँदै उनी विरुद्ध उम्मेदवारी दिने घोषणा गरेका थिए । अनवर इब्राहिमलाई २०१५ मा राजनीतिक प्रतिशोध लिन दोस्रोपटक जेल हाल्नु अघि उनले नेतृत्व गरिरहेको विपक्षी गठबन्धनका नेताका रूपमा उनी चुनावमा होमिएका थिए । शास्त्रमा उल्लेख भएका सम्पूर्ण फोहोरी राजनीतिक चाल चले पनि नाजिवले अन्त्यमा हार बेहोर्नुपर्‍यो । गत बिहीबार महाथिरले विश्वकै सबैभन्दा पाका प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरे । अनवरलाई लगाइएको गलत आरोपहरूबाट मुक्त गर्दै उनलाई आफ्नो उत्तराधिकारी बनाउने घोषणा गरेका छन्, महाथिरले ।

उनी राजनीतिमा फिर्ता हुनुले केही प्रश्न उठाएको भने छ । उनले आफ्नो पहिलो शासनकालमा भए–गरेका गल्तीहरूको माफी मागेका छैनन् । तर अनवरलाई भने कुनै बेला आफैंलाई जेल हाल्ने नेतालाई साथ दिएकोमा कुनै पश्चाताप छैन । किनभने उनको बुझाइमा नाजिवलाई सत्ताच्युत गरेर मलेसियालाई पुन: सही बाटोमा ल्याउन सक्ने क्षमता भएका एकमात्र नेता महाथिर मात्रै थिए । अदालती सुनुवाइका लागि पछिल्लोपटक अदालतमा पेस गर्न ल्याउँदा छोटो प्रतिक्रिया दिँदै नाजिवले विपक्षी गठबन्धनले महाथिरलाई व्यक्तिका रूपमा नभई उनले वाचा गरेका ‘परिवर्तन नीति’का कारण समर्थन गरेको बताएका थिए ।

मलेसियाको नयाँ सरकारको आगामी बाटो त्यति सहज भने छैन । सरकारलाई हराएको सार्वजनिक कोषको सत्यता अनुुसन्धान गर्ने दायित्व छ । यसमा झारा तिर्ने काम गर्ने छुट उसलाई छैन । यद्यपि महाथिरको पुनरागमनले प्रजातान्त्रिक पद्धतिले भने काम गरिरहेको देखिएको छ । अब महाथिरले गर्न बाँकी काम भनेको आफ्नो वाचामा कायम रहँदै अनवर जेलमुक्त भए लगत्तै उनलाई सत्ता सुम्पिएर बिदा हुनु हो ।

न्युयोर्क टाइम्स सम्पादकीय बोर्ड
(द न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : जेष्ठ १, २०७५ ०७:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT