घरेलु उद्योगमा जोड दिऊँ

किन नेपाली बजारमा भारत र चीन, फिलिपिन्स र थाइल्यान्डका ढक्की र कार्पेट आयात गर्ने ? हाम्रै घरेलु सामानले बजार भर्न सकिन्न ?
श्यामवदन श्रेष्ठ

काठमाडौँ — अनुभवीहरूको कथन छ– नेपाल सुनको खानीमा अवस्थित छ । सिर्फ खाँचो छ, देख्न सक्ने आँखा र सुन्न चाहने कान । उदाहरणको रूपमा काठमाडौंका नेवार जातिले प्रयोग गर्दै आएका परालको सुकुललाई लिऊँ । उपत्यकाका किसानहरू धानबाली भित्र्याएपछि बाँकी भएको पराल घरको कोठा, चोटा र बुइंँगलमा ओछ्याउन घरकै महिलाले सुकुल बुन्छन् ।

माटोले लिपेका भुइँ छोप्न र न्यानो पार्न यी सुकुल प्रयोग गर्थे । परालको सुकुल न्यानो र स्वास्थ्यकर हुन्छ भनी भर्खर सुत्केरी भएका महिलालाई सुताउँथे । जन्मदेखि मृत्युपर्यन्त परालबाट बुनेका वस्तु प्रयोग गर्थे ।


पूर्वी भेगका पहाडी जिल्लाका गुरुङहरू वरिपरि जंगलमा पाइने सिस्नोबाट धागो निकाली अल्लोको कपडा बुन्छन् । हिन्दु धार्मिक ग्रन्थ रामायणमा समेत अल्लो कपडाको सुन्दरता, दरिलोपन र टिकाउ हुने भनी प्रशंसा गरिएको पाइन्छ । त्यस्तै पश्चिम तराईका थारुहरूले गुँदबाट आकर्षक मान्द्रो बुनी घर–आँगनमा ओछ्याउँछन् । विवाह गरी दुलही भित्र्याएपछि त्यही मान्द्रो चटाइ पूजाकोठामा ओछ्याएर आफ्नो सांस्कृतिक रिवाज पुरा गर्छन् । अर्कोतिर तराईमा दिदी–बहिनीहरूले ढकिया बुनी विवाहअघि आफ्नो सीपको प्रदर्शन गर्छन् । साथै विशेष सामाजिक पर्वजस्तै पूजापाठ, शिशु जन्म, विवाह वा मर्दापर्दा यी ढकिया अनिवार्य हुन्छन् । सामान ओसार–पसार र भण्डारण गर्न यी ढकिया नभई कामै चल्दैन । बाह्रौ शताब्दीदेखि नेपालको ग्रामीण भेगमा घरेलु उद्योग सुरु भएको इतिहास छ । अत्यन्त महत्त्वपूर्ण अभिलेखहरू नेपाली कागजमा लेखिएका प्रमाणहरू सरकारी अफिसमा ठेलीका ठेली फाइलहरू जताततै भेटिन्छन् । बाँस त नेपाली जनजीवनको अभिन्न अंग नै हो । बाँसको चोयाबाट तयार गरिएका डोका, डाला, नाङ्ला, भकारीदेखि विभिन्न थरीका ढक्कीहरू नभई जीवन चलाउन मुस्किल हुन्छ ।


प्राकृतिक रेशाजन्य अन्य नेपाली वस्तुहरू हुन्– मकैको खोसेलाबाट बनेका चकटी, कपासबाट बुनिएका खेस तथा कोगती कपडा, केतुकेबाट तयार डोरी, दाम्लो आदि पटेरबाट बुनिएका बान्तर । सरदार जातिको चटाइ, सनपाटबाट तयार राजवंशीहरूको डोरी वा झोला वा गुन्द्री आदि अनगिन्ती वस्तुहरू छन् ।


माथि उल्लेखित वस्तुहरू विभिन्न जनजातिका महिला एवं पुरुषहरूको सिपालु हातले निर्माण गरिएका सांस्कृतिक उत्पादनहरू हुन् । हाम्रा पुर्खाहरूले बुद्धिमतापूर्वक अफ्नै थातथलोमा उपलब्ध रेशाजन्य कच्चा पदार्थ जुन बोटबिरुवाका बिभिन्न भागजस्तै पात, फूल वा डाँठ वा जराबाट बनाइएका कलाकृति अत्यन्त फाइदाजनक ढंगले बनाएका हुन्छन् । आफ्नो रीतिरिवाज र धर्म अनुसार घर–घरमा हातबाट बनाइएका सुन्दर वस्तु हुन् । चलनचल्तीमा ल्याइएका यस्ता वस्तु वैज्ञानिक ढंगले तयार गरिएको हुन्छ । स्वास्थ्यकर पनि हुन्छ । किनकि यी वस्तु प्रकृतिसंँग तादात्म्य भाव राख्छन् । सिपालु हातहरू हिमाल, पहाड, कन्दरा र तराई–मधेस जताततै पाइन्छन् । तर यी कलात्मक हस्तसीप विस्तारै लोप हुने स्थितिमा छन् । आधुनिकीकरणको नाममा यी वस्तु प्लास्टिक र मानव निर्मित अप्राकृतिक वस्तुले ओगट्न थालेका छन् भने उचित मूल्यांकन र इज्जत नदिँदा यी सिपालु हातहरू विदेशिन बाध्य छन् । अनि सरकारी/गैरसरकारी एवं अन्तर्राष्ट्रिय संघ/संस्थाहरूमा यस्ता वस्तु सम्बन्धित ज्ञानको कमीले गर्दा पनि यसको विकास हुने क्षेत्र संकुचित भएको छ । यही हो, प्राकृतिक रेशाजन्य सांस्कृतिक उत्पादनको आजको वस्तुस्थिति ।


धार्मिक पर्व एवं संस्कृतिसंँग जोडिएका यी वस्तुको जगेर्ना गर्न भन्नु आफ्नो परम्परा र पुर्खाको चिनारी अनि आफ्नै पहिचानको संरक्षण गर्नु हो । यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ ।


१. कच्चा पदार्थको उपलब्धता : पराल, छ्वाली, लोक्ता, जंगली सिस्नु, पटेर, मोथा, गुँद, भोर्ला, भिमल, बाँस, बेत, निगालो, गाँजा, केतुके आदि नेपालमा प्रशस्त पाइने यी कच्चा पदार्थ हुन् । कतिपय यी वस्तु जंगली अवस्थामा पाइन्छन् भने कति त कृषि उपजको खेर गएको भाग हुन् । अनि कति त औद्योगिक विकासको लागि खेती गर्न पनि सकिन्छ । यी रेशाजन्य विभिन्न वनस्पतीय कच्चा पदार्थ हिमाली भेगदेखि तराईको फाँट जताततै छन् । परन्तु हामी नेपालीले यी वस्तुको महत्त्व बुझ्ने प्रयास गर्नसकेका छैनौं कि ?


२. सीपयुक्त हातहरू : उद्योग फस्टाउन आवश्यक अर्को पाटो हो, सिपालु हातहरूको । परम्परागत रूपमा प्रयोग हुने यी साधारण वस्तु सिपालु हात र सजग दिमागको मिलन भएपछि कलात्मक वस्तुमा परिणत हुन्छन् । भनिन्छ, ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ । ४० प्रतिशत बेरोजगारीको मारमा परेका जनता नेपालमा छन् भन्ने समाचार बेलाबखत प्रकाशित हुन्छ । साथै नेपाली महिला एवं पुरुष कामको खोजीमा विदेशमा भौंतारिएर दिनको १/२ लास देश भित्रिन्छ । अझै सिपालुहरू घर–घरमा काम नपाएर वा बजार नपाएर अल्मलिएका हुन्छन् । काम गर्न इच्छुकहरूको मात्र खोजी गर्ने हो भने लाखौं भेटिन्छन् । अनि कति सामान बनाउने ? किन नेपाली बजारमा भारत र चीन, फिलिपिन्स र थाइल्यान्डका ढक्की र कार्पेट आयात गर्ने ? हाम्रै सामानले बजार भर्न सकिन्न ?


३. लगानी : कच्चा पदार्थ आफ्नै गाउँ–ठाउँमा उपलब्ध छ, सिपालुहरू पनि छन् । यी सांस्कृतिक वस्तु हातबाट बनाइन्छन् । ठूलठूला मेसिनरीको खासै जरुरी हुन्न । थोरै पुंँजीबाट काम थाल्न सकिन्छ । साना घरेलु उद्योगहरू खोल्ने वातावरण मात्र भए पुग्छ ।


४. प्रविधि एवं मेसिनरी : हामीकहाँ अझै पनि कताकति परम्परागत रूपमा बुन्ने विधि विद्यमान छ । विभिन्न प्रकारका बुनाइको लागि आवाश्यक ज्यावल अथवा साधारण मेसिनरी जस्तै– तान आदि स्थानीय बजार वा नेपालमा नै उपलब्ध छ । प्रविधिमा समय सुहाउँदो परिवर्तन गर्न सकियो भने वस्तु उत्पादन छिटो, छरितो र स्तरीय हुन्छ । त्यस्ता प्रविधि एवं मेसिनरीका लागि अनुभवीहरू एवं उद्यमीहरूसँंग सहकार्य गर्नु वेश हुनेछ ।


५. बजार : अत्यन्त महत्त्वपूर्ण विषय हो– बजारको उपलब्धता र खोजी । विदेशी पर्यटकहरूले मनपराउने भूमि हो, नेपाल । अप्राकृतिक, मानव निर्मित अनि वातावरण दूषित बनाउने वस्तु र संसारदेखि वाक्क भएका ती पर्यटक संस्कृतिले ओतप्रोत आफ्नै अस्तित्व बोकेका प्राकृतिक वस्तुहरूदेखि मक्ख पर्छन्, आनन्द प्राप्त गर्छन् र किन्छन् पनि । सिर्फ हामीले ग्राहकको चाहना बमोजिम अचेलको जीवन सुहाउँदो सामान उत्पादन गर्नुपर्छ । अनि वातावरण सजग पढेलेखेका नवजवान नेपालीहरू पनि आफ्नै संस्कृतिसँंग मिल्दोजुल्दो यस्ता प्राकृतिक वस्तु देखेर आल्हादित हुन्छन् र किन्न लालायित हुन्छन् । त्यसैले प्राकृतिक रेशाजन्य वस्तुको भविष्य सुनौलो छ, उज्यालो छ र देश विकासका लागि हरतरहले मद्दतगार पनि ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

रक्तचाप मापनमा स्वयंसेविका

स्वास्थ्य स्वयंसेविकालाई रक्तचाप मापनमा परिचालन गर्न सके मुटुजन्य रोग रोकथाम प्रभावकारी बन्न सक्छ ।
दिनेश न्यौपाने

काठमाडौँ — विश्व प्रसिद्ध स्वास्थ्य अनुसन्धान पत्रिका ‘द ल्यान्सेट ग्लोबल हेल्थ’मा हालसाथै प्रकाशित स्वास्थ्य स्वयंसेविकाले मुटु रोगजन्य रोग रोकथाममा प्रभावकारी भूमिका खेल्न सक्छन् भन्ने अनुसन्धानमूलक लेखले नेपालको स्वास्थ्य क्षेत्रमा तरङ्ग ल्याएको छ ।

अधिकांशले यस्तो कार्यक्रम नेपालका लागि अत्यन्त आवश्यक रहेको बताएका छन् । स्वास्थ्य स्वयंसेविकालाई निशुल्क काममा लगाउनु हुँदैन भन्ने प्रतिक्रिया पनि आएको छ । कतिपयले स्वयंसेविकाले रक्तचाप सही तरिकाले नाप्न सक्दैनन् कि भन्ने शंका गरेका छन् । स्वास्थ्य स्वयंसेविका कार्यक्रमको औचित्य छ कि छैन भन्ने बहस चलिरहेका बेला आएको यो अनुसन्धानको नतिजाले बहसको वातावरण भने सिर्जना गरेको छ । यो अनुसन्धानमा आफैं संलग्न भएकाले म के भन्न सक्छु भने यस्तो कार्यक्रम सञ्चालनबाट रक्तचाप सम्बन्धी मृत्यु धेरै हदसम्म कम हुनसक्छ ।


उच्च रक्तचाप नेपालमा मुख्य स्वास्थ्य समस्या भइसकेको छ । हरेक चारजना वयस्क मान्छेमा कम्तीमा एकजना यो समस्याबाट ग्रसित छन् । तर आधाभन्दा बढी मानिस आफ्नो उच्च रक्तचापको अवस्थाबारे अनभिज्ञ छन् । पश्चिमा जीवनशैली अपनाउने बहानामा हामी अस्वस्थकर खानपानको बानी बढाइरहेका छौं । यसैले रक्तचापको मापन, यसको रोगथाम र उपचारलाई गाउँ–गाउँसम्म पुर्‍याउन जरुरी छ । रक्तचाप नाप्दा केही वैज्ञानिक विधि ख्याल गर्नुपर्छ । तर यसका लागि डाक्टर वा नर्स नै चाहिन्छ भन्ने होइन ।


विश्व स्वास्थ्य संगठनले त व्यक्तिले आफै घरमा रक्तचाप मापन गरिरहनुपर्छ भन्छ । सम्भव भए त त्यो नै गर्ने हो । तर हाम्रोजस्तो अल्पविकसित देशमा तत्कालका लागि सम्भव देखिँदैन । यो काम स्वास्थ्य स्वयंसेविकाले नै किन गर्ने त ? कसले नाप्ने र कसले परामर्श दिनेभन्दा पनि रक्तचापको सही नापन र उचित परामर्श भएको छ कि छैन भन्ने महत्त्वपूर्ण हुन्छ । हरेक वडामा एकजना नर्स राखे पनि योभन्दा तल समुदाय स्तरमा केही न केही जनशक्ति चाहिन्छ । त्यसका लागि स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्न सकिन्छ । उनीहरूको मुख्य भूमिका भनेको स्वस्थ जीवन शैलीबारे नै जनचेतना जगाउनु हो । नेपालले सर्ने रोग तथा मातृ तथा शिशु स्वास्थ्य सुधारमा गरेको प्रगतिलाई हेर्ने हो भने अनुभवका आधारमा स्वयंसेविका प्रयोग गर्दा प्रभावकारी हुने देखिन्छ ।


स्वास्थ्य स्वयंसेविकाको शैक्षिक स्तर देशको शिक्षा क्षेत्रमा भएको प्रगतिसँगै सुध्रिँदै जान्छ । हाललाई पढ्न–लेख्न जान्ने स्वयंसेविकाबाट रक्तचाप नाप्ने कार्यक्रम अगाडि लान सकिन्छ । नेपालीमै पढ्न मिल्ने, रङ अनुसार रक्तचापको अवस्था बताउने तथा बोलेर रक्तचापको अवस्था भन्न सक्ने मेसिनहरू पनि प्रयोग गर्न सकिन्छ । रक्तचाप नाप्न स्वास्थ्य स्वयंसेविकाबाट सम्भव नहुने क्षेत्रमा विद्यालयका शिक्षक, स्थानीय स्तरमा साक्षर युवालाई पनि परिचालन गर्न सकिन्छ । कामको बोझ धेरै हुने अवस्था देखियो भने स्वयंसेविकाको संख्या पनि बढाउन सकिन्छ ।

मूल कुरा स्वयंसेविका भएर काम गर्छु भन्ने व्यक्तिले आफ्नो निजी जीवनबाट केही न केही समय सार्वजनिक जीवनका लागि छुट्याउनैपर्छ । नेपालमा विगत २० वर्षदेखि खस्कँदै गएको विशुद्ध मानवीय स्वयंसेवा हो । धेरैजसो देशमा यस्ता कार्यक्रम सशक्त रूपमा परिचालित छन् । आफ्नो काम नै बिताएर वा शोषित नै भएको अनुभूति गर्नेगरी कार्य गर्ने होइन । तर जीवनको केही समय यस्ता कार्यमा कसैले केही समय दिँदा गौरवान्वित महसुस नै गर्नुपर्छ । राजनीतिक पार्टीका लाखौं कार्यकर्ता पार्टीको काममा आर्थिक लाभबेगर अहोरात्र खट्ने देशमा विशुद्ध समुदायको फाइदाका लागि हुने यस्ता पवित्र काम गर्न इच्छुक हुनेहरूको कमी नहुनुपर्ने हो ।


समुदाय स्तरमा रक्तचाप मापनको पहुँच पुग्दा हाम्रै पाका उमेरका वा आमा नै लाभान्वित हुने हो । यसले स्वास्थ्य कार्यकर्ताको बोझलाई पनि कम गराउँछ र अरु महत्त्वपूर्ण उपचारका लागि समय उपलब्ध हुन्छ । समुदायमा रक्तचापको मापन र स्वस्थ जीवन शैलीबारे परामर्शसँगै स्वास्थ्य संस्थाहरूमा उच्च रक्तचापको निदान र उपचारलाई पनि प्रभावकारी बनाउँदै लानुपर्छ । स्वास्थ्य स्वयंसेविकाले प्रेषण गरेका व्यक्तिहरूलाई छिटो, प्रभावकारी र सर्वसुलभ उपचार पाउने पद्धति पनि विकास गर्नुपर्छ । अनि मात्र उच्च रक्तचापका कारणले अकालमा मृत्यु हुनेहरूको जीवन बचाउन सकिन्छ ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्