कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एमाले–माओवादी एकीकरणको संयुक्त घोषणा पत्र

दस्तावेज

काठमाडौँ — १) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव सँगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरूको भावना एवं आकांक्षाअनुरूप आवश्यक छलफल र बहसपश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेका छौं ।

एमाले–माओवादी एकीकरणको संयुक्त घोषणा पत्र

यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछौं । यो सुखद ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६ बुँदे सहमति गर्दै नेपालको संविधानअन्तर्गत पहिलोपटक हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा साझा घोषणापत्र र उम्मेदवारहरूका साथ हामी अघि बढेका थियौं । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवादउन्मुख सामाजिक, आर्थिक रूपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोषसहित हामीले गरेका निर्णयहरू जनता तथा पार्टी कार्यकर्ताहरूबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलोपटक हामीले संघीय संसद्मा दुई तिहाइ बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरूमध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्त्वपूर्ण सफलता हासिल भएका छन् । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीका तर्फबाट जारी विशेष निर्देशनलाई पार्टी पंक्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंस्कृत नेपाल निर्माण गरेर हामी दिगो र युगीन महत्त्वको बनाउने छौं ।

२) पार्टी एकीकरणको गहनतम कार्यलाई अघि बढाउनका लागि यस बीचमा बनेका विभिन्न कार्यदलहरू र दुवै पार्टीका तर्फबाट चार–चार नेताहरू सम्मिलित आठ सदस्यीय पार्टी एकता संयोजन समितिले साझा घोषणा, सरकारका सुशासन र विकासका प्राथमिकतासम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार गर्ने जिम्मेवारी पूरा गरेका छन् । दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरूलाई समेत सहज तुल्याउँदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान गर्‍यो । यसरी सहमतिका साथ एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकताबद्ध नेपाल कम्युनिस्ट पार्टी दर्ता गरेका छौं । युगीन महत्त्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समयदेखि राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।

३) पार्टी एकीकरणको कार्य अगाडि बढाइरहँदा हामीले यसअघि जारी सहमतिपत्र, एकताका आधारहरू तथा राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणा एवं मान्यता स्पष्ट गरिसकेका छौं । नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीका जनवादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवादउन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ । यिनै वैचारिक मान्यताहरूअनुरूप प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवादउन्मुख व्यवस्थाको प्राप्तिका दिशामा हामी अग्रसर रहनेछौं । साथै नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दादेखिको समाजवाद स्थापनाको महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामी दृढ रूपले प्रतिबद्ध रहने छौं । उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ । त्यस्तै संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रिय हितको संरक्षण र संवद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानता, सम्मान र हितका आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकीलगायत विश्वका सबै देशहरूसँग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।

४) हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र सञ्चालन हुनेछ । यो पार्टी जनाधारित कार्यकर्ता पार्टी हुनेछ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरिम विधानमा व्यवस्थित संगठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्ने छौं । पार्टी कमिटी र सबै जनसंगठनहरू सोहीअनुरूप परिचालित र क्रियाशील हुनेछन् । यो पार्टी सबै प्रकारका प्रतिक्रियावाद, अवसरवाद र संकीर्णताका विरुद्ध तथा सामाजिक सद्भाव एवं राष्ट्रिय एकताका पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ । उपलब्ध साधन र स्रोतहरूको अधिकतम उपयोग, राष्ट्रिय पुँजीको निर्माण र परिचालन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना हुनेछ । यसअनुरूप सरकारको प्रभावकारी सञ्चालन गरिनेछ । यही लक्ष्य, उद्देश्य र मान्यताअनुरूप पार्टी पंक्ति एकताबद्ध, संगठित र परिचालित हुनेछ ।

५) हाम्रा दुई पार्टीको यो एकीकरणबाट विभाजन र मतभेदको अवस्था झेल्दै आएको नेपाली कम्युनिस्ट आन्दोलन मूलत: एकताबद्ध भएको छ । नेपाल र नेपाली जनताको सर्वाेपरि हितमा केन्द्रित यो एकीकरणको मर्मअनुरूप आवश्यक छलफल एवं बहसको प्रक्रियामा संलग्न हुँदै देशका अन्य कम्युनिस्ट तथा श्रमिक पार्टी वा समूहहरूलाई पनि एकताको यस महान् प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौं ।

६) हाम्रो कष्टसाध्य प्रयत्नबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीनै तहका निर्वाचन गरी देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको समयमा हाम्रो एकीकरणले राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र समृद्धि चाहने सबैमा खुसी र उत्साहको लहर सिर्जना गर्नेमा हामी विश्वस्त छौं । राष्ट्रिय हित र समाजवाद निर्माणमा दीर्घकालीन महत्त्व राख्ने यस एकीकरणलाई पार्टी कमिटी र जनसंगठन तथा पार्टी समर्थक सम्पूर्ण पंक्तिमा कुशलताका साथ आत्मसात् र रूपान्तरण गर्न एकताबद्ध भई सक्रिय रहन हामी सबै पार्टी सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछौं । हाम्रो एकीकरणका लागि विभिन्न किसिमले योगदान पुर्‍याउनु हुने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । पार्टी एकीकरणको निर्णय र मर्मअनुरूप आगामी दिनहरूमा अझ सशक्त पार्टी निर्माण र यसको विकासमा योगदान पुर्‍याउन सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।

केपी शर्मा ओली
अध्यक्ष, केन्द्रीय कमिटी
नेपाल कम्युनिस्ट पार्टी (एमाले)

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, केन्द्रीय समिति
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

मिति : २०७५।२।३।५

प्रकाशित : जेष्ठ ४, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?