अमेरिकामा नेपाली : बर्मा गए पनि कर्म संगै 

नवीन रायमाझी

काठमाडौँ — एउटा चलनचल्तीको उखान छ, "बर्मा गए पनि कर्म सँगै", अर्थात् जता गए पनि मान्छेले आफ्नो संस्कार र बानी छाड्न सक्दैन । अरु देशको बारेमा पंक्तिकारलाई जानकारी भएन तर विभिन्न बाटोबाट अमेरिका आएर बसोबास गरिरहेका ब्यक्तिहरुको बारेमा यो उखान शतप्रतिशत मेल खान्छ । यसैक्रममा पंक्तिकारको बिभिन्न ब्यक्तिहरुसँग भेट हुने क्रममा प्राप्त अनुभवलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ।

एउटा चलनचल्तीको उखान छ, "बर्मा गए पनि कर्म सँगै", अर्थात् जता गए पनि मान्छेले आफ्नो संस्कार र बानी छाड्न सक्दैन। अरु देशको बारेमा पंक्तिकारलाई जानकारी भएन तर विभिन्न बाटोबाट अमेरिका आएर बसोबास गरिरहेका ब्यक्तिहरुको बारेमा यो उखान शतप्रतिशत मेल खान्छ। यसैक्रममा पंक्तिकारको बिभिन्न ब्यक्तिहरुसँग भेट हुने क्रममा प्राप्त अनुभवलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु।

Yamaha

यस आलेखमा उल्लेख भएका प्रवृत्तिहरु बास्तबिक हुन्। तर सार्बजनिक जीवनमा कुनै हैसियत नभएको पात्रहरु भएको कारण नाम उल्लेख नगरिएको हो र त्यस्ता व्यक्तिहरुको नाम उल्लेख गर्नुको कुनै औचित्य पनि छैन। सत्य उजागर हुँदा धेरैलाई रमाइलो लाग्छ र कतिपयलाई पाठ पनि बन्ला। कसैलाई लौ मैले गोप्य राखेको कुरा यसले थाहा पाएको रहेछ भनेर सम्बन्धित ब्यक्ति आक्रोशित पनि हुन् सक्छन्।

नेपालबाट र यतै कुनै प्रतिष्ठित विश्वविद्यालयमा उच्च अध्ययन गरेका डाक्टर, इन्जिनियर र आइटीका जानकारहरुको कमाई र जीवनस्तर दुवै उच्च स्तरको हुन्छ। विश्वविद्यालयमा अध्ययन अनुसन्धान गर्नेदेखि बिभिन्न कम्पनीमा तथ्याङ्क सङ्कलन गर्नेसम्मको काम गरे पनि उनीहरु मेचमा बसेरै काम गर्छन्। यस्तो वर्गका नेपालीहरुको आफ्नो बेग्लै समाज छ र उनीहरु त्यो समाज भित्र मात्र सम्पर्कमा रहन चाहन्छन्। नेपालको बारेमा खासै मतलब नगर्ने, नेपालमा बिकास भएन भनेर होहल्ला पनि नगर्ने र कमाएको धन सम्पति यतै उपयोग गर्ने विचार भएका यिनीहरु न त नेपाललाई गाली गर्छन् न त अमेरिकामा बाध्यताले बस्नु परेको भन्छन्। यो वर्गमा आफ्नो सानोठुलो व्यापार गरेर आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिहरु पनि पर्छन्, यिनीहरुलाई अनावश्यक काममा अल्झिरहने न त रुचि छ न त समय नै। भित्रबाट अरुलाई स्वीकार नगरे पनि बाहिर मुसुक्क हाँसेर नजिकको जस्तो देखिनु यिनीहरुको बिशेषता हो।

आफू संलग्न पेशाको परिचय सदुपयोग वा दुरुपयोग गर्दै अनेकौँ तिकडम गरेर यहाँ पुगेका तर बाहिर भने आउन र बस्न पटक्कै मन नभएको जस्तो अभिनय गर्ने व्यक्तिहरुको चुरीफुरी हेर्न लायक हुन्छ। ठगीको आरोपमा प्रहरीले पक्राउ गर्नु भन्दा पहिले नक्कली नागरिकताको माध्यमले यता आएर सुखको श्वास फेरेकाहरुलाई आफ्नो अपराध कसैले थाहा पाएको छैन भन्ने अभिमान छ, खाएको ऋण तिर्न नसकेर मध्य दिउँसो ट्याक्सीमा हालेर अपहरण गरेको व्यक्तिले यहाँ आएर त्यो कुरा कसैलाई भनेको त छैन होला तर देख्ने अरु पनि छन् भन्ने कुरा अलिकति पनि विचार नगर्नु चाँही तीन छक्क पर्ने खालको प्रवृति हो। पाँच पटकमा बल्लबल्ल एसएलसी उतिर्ण गरेर अनेकौं तिकडम लगाएर क्याम्पसको आँगनसम्म टेक्न पाएकाहरुले पढेर कुनै कामै छैन भन्छन्, यो युगमा शिक्षाको कुनै मतलव हुँदैन भन्ने मान्छे पागल हो वा अब यो जुनीमा शैक्षिक योग्यता प्राप्त गर्न नसक्ने भएर अमिलो अंगुर भनेको हो, त्यो उसैलाई राम्रोसँग थाहा होला तर एउटा सामान्य मान्छेले त्यस्तो ब्यक्तिलाई के भन्ने त्यो पाठक वर्गलाई नै जिम्मा दिन चाहन्छु।

त्यस्तै अँग्रेजी भाषाको खासै ज्ञान नभएकाहरुले डेरा सर्नुलाई मुभ हुनु, चर्पीलाई रेस्टरुम, रासन किन्नुलाई ग्रोसरी किन्नु भनेर अँग्रेजी भाषाको आनन्द लिएको पाइन्छ, तर लगभग सबैले कुनै अच्चमको बस्तु वा घटना देख्यो वा सुन्यो भने दुवै हातले गाला छोपेर "ओ माइ गड" भनेर कराउन जानेका हुन्छन्, त्यो पनि संगीतको ताल र लयमा। त्यस्तै कुनै पनि खाद्य बस्तुको पाकेटमा "अर्ग्यानिक" लेखेको नदेखेसम्म मुखमा नहाल्नेहरु पनि पाइन्छन्।

त्यस्तै नेपालको राजनीतिक पार्टीहरुको संगठनहरुको सदस्यता लिएर आफुलाई राजनीतिक प्राणी देखाउनेहरुले के गर्न खोजेका हुन् त्यो अर्को अच्चमलाग्दो बिषय छ। कम्युनिष्टको ‘क’ सम्म सुन्न नचाहने यो देशमा आउँदा आजसम्म कुनै पनि कम्युनिष्ट पार्टीमा नलागेको र त्यस्ता पार्टीहरुलाई चन्दा नदिएको भनेर भिषा फाराममा टिक लगाएर आउनेहरुले कम्युनिष्ट पार्टीको विदेश विभाग खोल्नु आश्चर्य मात्र होइन कि यो देशको कानुनको बर्खिलाप पनि हो। अझ अर्को उदेक लाग्दो कुरा नेपालमा हुँदा अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाद मुर्दावाद भनेर कराउने कम्युनिस्टहरु त्यही साम्राज्यबादी देशमा आएर बिस्तारवादी (भारतीय) मुलका मान्छेको चाकरी गरेको हेर्नु अर्को रमाइलो प्रसंग हो। त्यस्तै रातारात कवि र लेखक भएकाहरुले फेसबुकको भित्तामा अर्थ न बर्थको कविता पोष्ट गरेर गरेको "डिजिटल आतंकबाद" बाट छुटकारा पाउने भन्ने कुरा पंक्तिकारले बुझ्न सकेको छैन। नेपालमै कबिता को पुस्तक सायदै कसैले खरिद गर्ला भने यो परदेशमा आएर यस्ता कबिता सुन्ने कसलाई फुर्सद होला?

एउटै कोठामा चार पाँच जनासम्म बस्ने र काम गर्ने स्थान र कोठाबीच जति दुरी छ त्यति मात्रलाई संसार मान्नेहरु पनि अमेरिकामा प्रशस्तै छन्। दिउँसै बत्ति बाल्नु पर्ने छिंडी (बेसमेन्ट) मा सुत्ने तथा संयुक्त भान्छा र शौचालय भएको कारणले कुखुराको अन्डादेखि टवाइलेट पेपरसम्ममा अरुले प्रयोग गरिदेला भन्ने डरले नाम लेखेर राख्नुपर्ने बाध्यता भएकाहरुको सबैभन्दा बढी चहल पहल छ। फुर्सदको समयमा आफु बसेको डेरामा बस्ने बातावरण र अबस्था नभएको कारण नेपालीहरुको जमघटमा वा त्यसै सडक र पार्क तिर हल्लिएर समय बिताउनु पर्ने बाध्यता भएकाहरुको अर्को काम भनेको नयाँ आएका ब्यक्तिहरुलाई गफले आकाश पाताल हाँकेर सकेसम्म ठग्नु हो। भाषाको कारणले यहाँका ब्यक्तिहरुलाई ठग्न अफ्ठ्यारो हुने कारणले नेपालीले नेपालीलाई नै ठग्ने हो, हामीले जति सुकै नेपाली इमान्दार हो भनेर घाँटी सुक्ने गरि कराए पनि।

कसैले अज्ञानताबस नेपाललाई इण्डिया हो? भनेर सोध्यो भने राष्ट्रियता उर्लेर ओतप्रोत हुनेहरुलाई नक्कली कागजपत्र पेश गरेर देश बिहीन शरणार्थी हुने प्रक्रियामा बस्दा भने कुनै अपराधबोध हुँदैन। बिना कुनै प्रसंगमा "बुद्ध वाज बर्न इन नेपाल" र "माउण्ट एभरेस्ट-टप अफ द वर्ल्ड" भनेर ठुलो स्वरले कराउने र यी दुवै प्रकरणमा निकै अभिमान गर्नेहरुलाई दुवै बिषयको ज्ञान भने लगभग सुन्य छ। वास्तबमा बुद्ध भनेको ब्यक्ति हो कि अबस्था हो र सगरमाथा कुन हिम शृंखलामा पर्छ भन्ने सामान्य ज्ञान पनि नहुनेहरुले यी दुई अँग्रेजीका बाक्यलाई कण्ठ पारेका हुन्छन् र अरुलाई कुनै मतलब नहुँदा पनि बोलिरहेका हुन्छन्।

गत वर्ष भएको राष्ट्रपतिको चुनावमा भोट हालेको फोटो फेसबुकलगायत सामाजिक सञ्जालमा पोस्ट गरेर आफुलाई अमेरिकी नागरिक भइसकेको बिज्ञापन गर्नेहरु मध्ये अधिकांशको समर्थन रिपब्लिकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्र्म्पतर्फ छ। राष्ट्रपति ट्रम्प को हरेक बौलठ्ठी कार्यहरुलाई आँखा बन्द गरेर समर्थन गर्नु र ट्रम्पले गरेको हरेक निर्णयलाई राम्रो भन्यो भने खानदानी अमेरिकन भइन्छ भन्ने यिनीहरुलाई लाग्छ र आफु विशिष्ट भएको भान हुन्छ, तर जति आधुनिक भएको अभिनय गरे पनि बौद्धिक अवस्था भने टाट पल्टेको छ। दिनभरी अन्य महिलाको पहिरन र चरित्रको बारेमा कुरा गरेर मन गढ्न्त आरोप लगाउँदा आनन्द मान्ने तर आफ्नो घरको महिलासँग कसैले "हाइ", "हेल्लो" मात्र गर्यो भने पनि निंधार खुम्च्याउने दोहरो मानसिकताका पुरुषहरुको बाहुल्यता पनि बाक्लै छ।

आधुनिक पहिरन लगायो भने छिट्टै आधुनिक हुनेमा विश्वास राख्नेहरुले आफ्नो शरीरमा नसुहाउने पोशाक लगाएर न हाँसको चाल न बकुल्लाको चाल भएको पनि हेर्न लायक हुन्छ। बजारमा बिक्रीको लागि राखिएका सबै पोशाकहरु सबैको लागि होइनन् भन्ने कुरा जानकारी नभएको हो वा भएर पनि बुझ पचाएका हुन् त्यो सम्बन्धित ब्यक्तिलाई नै थाहा होला, तर त्यस्ता जमघटहरुमा लुगा लगाएर आएको हो वा आफ्नो शरीर प्रदर्शन गर्न खोजेको हो त्यो बुझी नसक्नु हुन्छ। यतिसम्म घिन लाग्दो र भद्दा पोशाकहरु लगाएका हुन्छन कि .....लाई भन्दा देख्नेलाई लाज भन्ने उक्तिको सम्झना आउँछ।

यो आलेख पढ़िसकेपछि कोही कसैलाई आफ्नै मर्ममा प्रहार भएको जस्तो लागेमा म आफुलाई सफल भएको सम्झिनेछु, किनकी माथि उल्लेखित सबै पात्र र प्रवृत्तिहरु वास्तबिक हुन्। समग्रमा अमेरिकामा रहेका नेपाली मुलका ब्यक्तिहरु मध्ये अधिकांश, जसको सामाजिक तथा आर्थिक अबस्था सन्तोषजनक छ उसले कुनै फुर्ति गर्दैन तर जसको अबस्था माथि छोपे तल देखिने, तल छोपे माथि देखिने भने जस्तो चिन्ताजनक छ उसले गफले आकाश पाताल जोडिरहेको हुन्छ। अन्त्यमा, यो आलेख प्रकाशन भए पछि जो जति बढि उत्तेजित हुन्छ त्यसको अबस्था त्यतिनै गिर्दो छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ, किनकी जो कालो छ त्यसलाई काले भन्दा हो रीस उठ्ने तर जो गोरो छ त्यसलाई काले भनेर के फरक पर्छ?
@twitter#naviinr​

प्रकाशित : जेष्ठ ४, २०७५ १३:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेता मात्र होइन, हामी जनता पनि दोषी 

नवीन रायमाझी

काठमाडौँ — देशको बारेमा प्रसंग चल्दा "नेताहरुले देश खतम पारे" भन्ने बाक्य हामी सबैले भन्दै र सुन्दै आएका छौं । तर, यस्तै प्रसंगमा नेताहरुले के भन्छन् होला, त्यो पंक्तिकारलाई जानकारी छैन, किनकी पंक्तिकारको नेताहरु सँग कुनै हिमचिम र उठबस छैन ।

नेतासँग दोहरो चिनजान भनेको मेरो स्थायी ठेगाना रहेको काठमाडौँ वडा नम्बर १६ का वडा अध्यक्ष र सदस्यहरुसँग मात्र हो, होइन भने लगभग सबै राजनैतिक पार्टीका नेताहरुसँग मेरो परिचय छैन, केवल "राजा चिनाई" मात्र हो अर्थात् म सबै नेतालाई चिन्छु तर उनीहरुले मलाई चिन्दैनन् ।

अरुहरुले विभिन्न नेताहरुको कुरा निकाल्दा फलानो कमरेड र ढिस्कानो दाजु भनेर कुरा गरेको सुन्दा मलाई एक किसिमको इर्श्या लागेर आउँछ, र कहिले कहिं सोच्छु यो सँसारमा नेताहरूसँग दोहरो परिचय नहुने मान्छे म एउटा मात्र हुँला कि अरु पनि होलान ? दोहरो परिचय नभएपछि कसैसँग अशक्ति र घृणा हुने नै भएन । उनीहरुको समर्थन वा बिरोधमा घाँटी सुक्ने गरि कराउनु पर्ने कारण र बाध्यता पनि भएन, तर देशको बागडोर समातेर बसेकाहरुसंग यो देशको नागरिक भएको कारण साथै थोरै नै भए पनि कर तिर्ने कारणले उनीहरुको कार्य सम्पादनको बारेमा बोल्न पाउनु मेरो अधिकार हो । मेरो बिचारमा यो देश खतम पार्नुमा (यदी खतम छ भने) जति नेताको हात होला त्यति नै योगदान हामी जनताको पनि छ. पाँच वर्षमा एउटा भोट दिएको आधारमा (त्यो पनि हो कि होइन उसैलाई मात्र थाहा हुन्छ) सम्बन्धित नेतासँग पैसा, जागिर र श्रीमती देखि आफुलाई आवश्यक सबै कुराको माग गर्नु कति सान्दर्भिक होला? अवश्य पनि त्यस्ता मागहरु सम्भव हुँदैनन् ।

जुन जस्तो शासन ब्यवस्थाको नाम दिए पनि सामान्य जनताको अधिकार भनेको हरेक पाँच वर्षमा (नियमित भयो भने) लाइन लागेर एउटा व्यक्तिलाई भोट दिने बाहेक अरु अधिकार हुँदैन, जनता मालिक हुन् भन्ने कुरा ब्यर्थ हो । यस्ता कुरा सुनेर केहि क्षणको लागि खुशी हुन सकिन्छ तर यसको कुनै औचित्य छैन । संबिधान निर्माण गर्न नसकेर पहिलो संबिधान सभा बिघटन भयो, त्यसपछि निर्बाचन भएर दोश्रो संबिधान सभा गठन भयो, एकपटक संबिधान बनाउन नसकेर असफल भएकाहरु मध्य नै करिब पचास प्रतिशत भन्दा बढी पुन: निर्बाचित भएर आए । जनताले भोट दिएर बिजयी भएका मान्छेहरुको बारेमा बोल्नुभन्दा त्यस्ता असफल र नालायक ब्यक्तिहरुलाई नै पटक पटक चुनावमा बिजयी गराउने जनताहरु यसमा बढी दोषी देखिन्छन्, अब गलत मान्छेलाई नीति निर्माण गर्ने स्थानमा पुर्‍याएपछि उसले असल नीति निर्माण गर्न सक्ने कुरा भएन ।

दशौं वर्ष राजनीतिको नाममा ब्यक्ति हत्याको ताण्डव गरेको र गुड्दै गरेको बसमा बम बिष्फोटन गरेर निर्दोष मान्छेको ज्यान लिने, बिबादास्पद छविका ब्यक्तिलाई महत्वपूर्ण र संवेदनशील पदमा आसिन गराउनेहरुलाई चुनावमा भोट नदिएर पराजित गराउन सकेको भए, जनता सच्चा छन् भन्ने बुझिथ्यो । तर त्यस्तै ब्यक्तिहरु अत्याधिक मतले चुनाव जितेको देख्दा भोट दिने जनतालाई के भन्ने? अझ आठौं अच्चम त के छ भने राजनैतिक पार्टीहरुले गरेको बिभिन्न घटनाका पीडित हुन पुगेका पीडित कै परिवारका सदस्यहरुले पनि फूलमालासहित त्यस्ता नेताहरुलाई सम्मान गरेको देख्दा यस्ता प्रकरणमा नेता भन्दा जनता खराब हुन् भन्ने मेरो बुझाइ छ ।

अरुबेला ती नेताहरुलाई आमाचकारी गाली गर्नेहरुले चुनावको बेलामा तिनीहरुको समर्थन वा बिरोधमा आफ्नो बहुमुल्य उर्जा खर्च गरेको देख्दा हामीहरुले नेतालाई गाली गर्ने भनेको उनीहरुले हामीलाई वास्ता नगरेको र नबोलेको कारणले मात्र हो जस्तो लाग्छ । चुनावको परिणाम पछि फूलमाला, खादा र अबिरले ढपक्क ढाकिएको बिजयी उम्मेदवारको दायाँबायाँ उभिएका कार्यकर्ताहरुको मुख हेर्नुपर्छ, तिनीहरु किन त्यति प्रफ्फुलित भएका होलान् बुझ्न सकिंदैन, मानौ उनीहरुले नै चुनाव जितेका छन् जसरी उभिएका हुन्छन् । आफुले भोट हाल्ने नेताको पक्ष र अर्को नेताको बिपक्षमा सामाजिक संजालहरुमा कुर्लेको देख्दा अर्को आश्चर्य लाग्छ, त्यस्ता अर्थहीन बिषयमा लागेर समय फाल्नु भन्दा कुनै पुस्तक मात्र पढेर बस्यो भने ज्ञान आर्जन गर्न सकिन्छ । अब त्यस्तो गतिबिधि गर्दा सम्बन्धित ब्यक्तिले केहि रकम दिएका छन् भने त्यो अर्कै कुरा हो ।

यी र यस्तै कारणले देश खत्तम हुनमा अर्थात् ओरालो लाग्नुमा नेताको मात्र होइन जनताको पनि त्यतिकै हात भएको पंक्तिकारलाई लाग्छ । सबै जनताले नेताको गलत कुरामा नभुलेर अर्थात् उनीहरुसँग कुनै अनुचित आशा नगरेर खबरदारी मात्र गर्ने हो भने पनि यस्तो दुरावस्था हुने थिएन । जबसम्म दुई चौटा मासु र एक बटुको रक्सीमा बिक्ने जनता हुन्छन्, त्यति बेलासम्म देश कहिले पनि माथि जान सक्दैन । अरुबेला कुनै वास्ता नगर्ने र चुनावको मुखमा वरिपरि घुम्ने नेता र त्यस्ता नेताहरुको चिल्लो कुरा र दुई चार सय रुपियाँमा लोभिने जनता हुन्जेलसम्म कुनै ठुलो आशा गर्न सकिन्न । देशमा इमान्दार नेता र त्यस्ता नेताबाट कुनै किसिमको आशा नगर्ने जनता पनि नभएको होइनन् । तर यस्तो वर्ग कि त "माइनोरिटी" मा छन् कि त उनीहरु आगडि आउने आँट गरिरहेका छैनन् ।

अन्तमा, नेतालाई मात्र एक नासले गाली नगरेर हामी जनताले पनि आफुले दिएको भोटको मुल्यको आशा नगर्ने हो भने केहि राम्रो परिस्थितिको आशा गर्न सकिन्छ, होइन भने पछाडी नेतालाई गाली गर्ने र अगाडी पर्दा हात मोलेर उसको सबैभन्दा नजिक मै हुँ भन्ने प्रमाणित गर्न खोज्ने दोहरो मानसिकता राख्ने हो भने पुस्तौ पुस्तासम्म यस्तै नाटक भइरहने ठोकुवा गर्न सकिन्छ ।

twitter#naviinr

प्रकाशित : वैशाख २४, २०७५ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT