कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हामी कस्तो ‘समृद्धि’ खोज्दैछौं ?

अब हाम्रो ध्यान वैदेशिक सहायता वा दानमा होइन, वैदेशिक लगानीमा हुनुपर्छ । त्यसका लागि लगानीको वातावरण सुरक्षित गर्न नीतिगत पहल सुरु गर्नु आवश्यक छ ।
मिलन पाण्डे

काठमाडौँ — समृद्धिको आआफ्नै व्याख्या होलान् र त्यो समय र परिस्थितिमा निर्भर गर्छ । बीपी कोइरालाले उनको समयमा समाजवादलाई ‘सबै नेपालीको एउटा घर होस्, घरमा एउटा दुहुनो गाई होस्, सबै नेपालीको एकहल जोतको जमिन होस्, सबैका छोराछोरीले स्कुल पढ्न पाउन्, बिरामी हुँदा सबैले औषधी गर्न सकुन्’ भनेर व्याख्या गरेका थिए ।

हामी कस्तो ‘समृद्धि’ खोज्दैछौं ?

समय फेरिएको छ, तर हाम्रो आवश्यकता खासै फेरिएको छैन । आज आम नेपालीले खोजेको समृद्धि भनेको ‘एउटा नेपालीले दिनभरि काम गरेर आफ्नो परिवारका निम्ति शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाबारे चिन्ता नगरी वर्षमा एकचोटी आफ्नो परिवारलाई घुमाउन लानसक्ने अवस्था’ हो ।

खोक्रो समृद्धिको डर
तर समय यस्तो आएको छ, जहाँ आर्थिक ‘समृद्धि’मात्र होइन, समाजको समष्टिगत ‘संवृद्धि’ हेर्नुपर्ने रहेछ भन्ने अनुभूति विश्वव्यापी रूपमा गरिँदैछ । ‘समृद्धि’ले मोटामोटी रूपमा आर्थिक वृद्धि भन्ने बुझाउँछ भने ‘संवृद्धि’ले आर्थिक तथा सामाजिक विकासलाई बुझाउँछ । ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०१८’ मा १५६ देशको सूचीमा नेपाल १०१ औं स्थानमा छ । भारत १३३ औं स्थानमा छ भने अर्को छिमेकी चीन ८६ औं स्थानमा छ । समृद्धिका हिसाबले तेस्रो अनि पहिलो बन्दै गरेका भारत अनि चीन पनि प्रतिवेदनको पुछारमा छन् । यो तथ्यांकले बताउँछ, आर्थिक रूपले समृद्ध हुनु र समग्रमा संवृद्ध हुनमा अन्तर छ, किनभने धनी हुँदैमा मानिसहरू खुुसी नहुन पनि सक्छन् ।

विगत ४० वर्षमा अमेरिकाले प्रतिव्यक्ति आय दुई गुना बढाएको छ । तर नागरिकको जीवनस्तरलाई तुलनात्मक रूपमा उकास्न सकेको छैन । पिउ रिसर्च सेन्टरका अनुसार, सन् २००० ताका नाइजेरिया, अंगोला, इक्वेटोरियल गिनी लगायत अफ्रिकन मुलुकहरू संसारकै छिटो आर्थिक वृद्धि गर्नेमा पर्थे । तर आर्थिक प्रगति गरे पनि उनीहरूले आफ्ना नागरिकलाई संवृद्ध बनाउन सकेनन् । ती देशहरूको चमत्कारी आर्थिक वृद्धिदर रहँदा–रहँदै पनि गरिबी घटेन ।

संवृद्धिका आधार
विकासका लागि पहिलो सर्त नेतृत्वको दृढता अनि स्पष्ट दूरदृष्टि हो । दूरदृष्टि सहितको दृढ नेतृत्व हुँदाहुँदै नबनेको देश विरलै कुनै छ । त्यो नेतृत्व अनि दृढता एकल पनि हुनसक्छ, सामूहिक पनि । हाम्रो जस्तो देश अनि प्रणालीमा ली क्वान युजस्ता नेता आएर विकास गर्ने सम्भावना एकदमै कम छ । त्यसैले हामीले सामूहिक नेतृत्वद्वारा एउटै दिशा अनि लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ । नेतृत्वलाई साथ दिन अनि कार्यान्वयनको पक्ष प्रभावकारी बनाउन कर्मचारीतन्त्र मजबुत हुन जरुरी छ । नेतृत्वले कर्मचारीतन्त्रमा योग्यता अनि क्षमतालाई स्थान दिने नीति अवलम्बन गरेर बलियो प्रणाली स्थापित गर्न सक्नुपर्छ । नेतृत्वको सफलताको एउटा प्रमुख सूत्र निष्पक्ष, परिणाममुखी अनि इमानदार कर्मचारीतन्त्र हो । हामी अरु हिँडेको बाटो हिँडेर संवृद्ध हुन सक्दैनौं । हामीले आफ्नै मौलिक बाटो पहिल्याउन जरुरी छ । सिद्धान्तमा भन्दा पनि प्रयोग गर्ने अनि व्यवहारमा उतार्ने नीति अनुरूप अघि बढ्नुपर्छ । हामीमा नयाँ प्रयोग गर्ने साहस जरुरी छ ।

हाम्रो भूराजनीति संवृद्धिका निम्ति एकदमै महत्त्वपूर्ण छ । हामी दुई शक्तिराष्ट्रहरूको बीचमा छौं । हामीले आफ्नो आत्मसम्मान उच्च राख्दै, उनीहरूसँग समनिकटताको सम्बन्ध राखेर अघि बढ्नुपर्छ । हामी चीन र भारत बीचको फगतको पुलमात्र बनेर संवृद्ध बन्न सक्दैनौं । हामीले भारत अनि चीनको विशाल बजार अनि विशाल जनसंख्यालाई हाम्रो संवृद्धिनिम्ति कसरी सदुपयोग गर्ने भन्ने रणनीति बनाउन जरुरी छ । साथै अब हाम्रो ध्यान वैदेशिक सहायता वा दानमा होइन, वैदेशिक लगानीमा हुनुपर्छ । त्यसका लागि लगानीको वातावरण सुरक्षित गर्न नीतिगत पहल सुरु गर्नु आवश्यक छ । आर्थिक सहायता प्राय: विकासमा भन्दा पनि व्यवस्थापकीय खर्च, सल्लाहकारको खर्च आदिमा जान्छ र धेरै–थोरै भागमात्र विकासमा खर्च हुन्छ । तसर्थ हामीले ‘उद्यमशील तथा उत्पादनशील’ समाज बनाउन नेतृत्व गर्न जरुरी छ ।

हामीले अपनाउने विकासको कार्यक्रम अनि नीति दूरगामी तथा समय–सापेक्ष हुन जरुरी छ । साथै जनजीविकासंँग सम्बन्धित काम पूरा गर्दै आत्मविश्वास बढाउँदै बढ्नुपर्छ । विकास ‘रिभुलुसन’बाट प्राप्त हुने प्रक्रिया होइन, यो ‘इभोलुसनेरी’ प्रक्रिया हो । त्यसैले हामीले विकासको यात्रा नागरिकसँंग जोडिएको मुद्दाबाट सुरुवात गर्न जरुरी छ । किसानको लागि बेलामै बिउ, विद्यार्थीको निम्ति समयमै पुस्तक, दुर्गमको स्वास्थ्यचौकीमा सिटामोल, खाल्डाखुल्डी पुर्नु, हरियाली फर्काउनु, सफा सहरका निम्ति अग्रसरता लिनु पनि विकास हो । यस्ता विकासका गतिविधिले ठूलो योजनाका निम्ति आत्मविश्वास भर्छ । ठूलठूलो गफमात्र गर्ने तर ससानो कुराबाट सुरुवात नगर्ने हो भने फेरि पनि हामी कहीं पुग्न सक्ने छैनौं ।

दीर्घकालीन संवृद्धिको आधार ‘पपुलिस्ट’ नारा अनि कार्यक्रमले तय गर्न सक्दैन । हामी क्षणिकको लोकप्रियताको निम्ति दीर्घकालीन लाभ गुमाउने गर्छौं । हामी ज्येष्ठ नागरिकको मतका लागि वृद्धभत्ता बढाउँदैछौं, तर हामीले उनीहरूको स्वास्थ्यमा ध्यान दिएका छैनौं । हामीले आरक्षण भनेर विभिन्न जातीय समूहलाई कोटा दिएका छौं, तर पिछडिएको वर्गलाई अगाडि ल्याउनेबारे गहन रूपले सोचेका छैनौं । हामीले महिला नेतृत्वलाई ३३ प्रतिशत छुट्याएका छौं, तर दलहरूले महिला नेतृत्वमा ल्याउन कदम चालेका छैनन् । हामीले विकास भन्दै अन्धाधुन्द सडक खनेका छौं, तर ती सडकका उद्देश्यबारे प्रस्ट छैनौं । हामीले संवृद्धि भनेका त छौं, तर दक्ष जनशक्ति जस्ता संवृद्धिका पूर्वाधारबारे चासो दिएका छैनौं । अब हामीले अल्पकालीन नीति होइन कि दीर्घकालीन योजना बनाउन जरुरी छ ।

स्वास्थ्य, शिक्षा, पूर्वाधार जस्ता विषय संवृद्धिका जग हुन् । अब हामीले यी विषयमा संरचनागत रूपमा नै परिवर्तन गरेर संवृद्धिलाई संस्थागत गर्ने दिशा तय गर्न जरुरी छ । कृषि, पर्यटन अनि बिजुली हाम्रो संवृद्धिका ‘पिल्लर’ हुन् । इजरायलमा करिब ३ प्रतिशतमात्र मानिस कृषिमा संलग्न छन्, तर पनि त्यहाँको ९५ प्रतिशत कृषिको माग धानेका छन् । कृषिप्रधान देश नेपालमा करिब ६५ प्रतिशत नेपाली कृषिमा संलग्न छन्, तर पनि प्रतिवर्ष ३० अर्बको चामल अनि १० अर्बको तरकारी आयात गर्नुपरेको छ । हामीले हाम्रो यो कमजोरी पहिल्याउन जरुरी छ ।

भनिन्छ, एकजना पर्यटक आउनु भनेको ४ जनाले रोजगारी पाउनु हो । ४ जना छाडौं, १ जनाले रोजगारी पाउने माहोल बनाउन सकियो अनि लक्ष्य अनुरुप सन् २०२० मा हामीले १५ लाख पर्यटक भित्र्याउन सक्यौं भने १५ लाख नेपालीले रोजगारी पाउनेछन् । यो हाम्रो चुनौती हो । हाम्रा खोलाहरू ‘सेता सुन’ हुन् । हामीले अब बिजुलीमा लगानी प्राथमिकतासाथ गरी १० वर्षमा थप १० हजार मेगावाट बिजुली निकाल्नुपर्ने अवसर अनि चुनौतीपूर्ण छ ।

कुनै पनि विकास–उन्मुख देशको राष्ट्रिय गौरवको योजना एउटा वा दुइटा हुनुपर्छ । हाम्रोमा प्रत्येक नेताका आफ्नै राष्ट्रिय गौरवको योजना छन्, जसले गर्दा हामी ‘फोकस’ हुन सक्दैनौं, अनि कुनै पनि योजना सफल हुन सक्दैन । अब हामीले एउटा वा दुइटा योजनामा फोकस गर्न जरुरी छ । जुन नेपालको विकासमा कोशेढुंगा सावित होस् । यी सबैका निम्ति स्थिर सरकार आवश्यक पर्छ ।

पाण्डे विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?