२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘टुपी माहात्म्य’ माथि प्रश्न

कुनै खास जाति र वर्गले राख्ने केशको ऐतिहासिक सामाजिक अर्थ फरक–फरक छ । बरु आफूलाई विशिष्ट देखाउने मामिलामा भने समानता देखिएको छ । यस्ता पुरुष केश राख्नेहरूको उद्देश्य हो : आफूलाई आम समुदायभन्दा फरक वा विशिष्ट छु भन्ने देखाउने र अन्तत: दमन गर्ने ।
प्रकाश विक

काठमाडौँ — ज्ञान उत्पादनमा सीमित वर्ग, वर्ण र लिंगको प्रभुत्व रहेको खण्डमा वास्तविकतालाई उपेक्षा वा तोडमरोड गरिनु अनौठो होइन । २०७४ माघ २० मा सौरभले ‘कान्तिपुर’मा ‘नलेखी नभएकाले मात्र’ (टुपी महात्म्य) मा पनि वास्तविकतालाई उपेक्षा गर्दै लेखेका छन्, ‘टुपी ब्राह्मण पर्यायवाची होइन’ र ‘टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो ।’

‘टुपी माहात्म्य’ माथि प्रश्न

उनले नेपाल र भारतमा यो कसरी निश्चित वर्ण/जात/लिंगको मात्र प्रतीक थियो, अन्यलाई यसबाट कसरी वञ्चित गरिएको थियो भन्ने तथ्यलाई पनि बेवास्ता गरेका छन् । प्राचीन कालमा विश्वमै टुपी राख्ने प्रचलन रहेको आफ्नो दाबीको कुनै आधार र प्रमाण नदिइकन ‘इन्टरनेटलै नै भनेको’ भन्दै उनी पन्छिएका छन् ।

विश्वका अनेक उदाहरण दिँदै सौरभ भन्छन्, टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो । ब्राह्मण–क्षत्रीले पालेको टुपी दक्षिणको भारतबाट आएको हैन, यो ब्राह्मण लगायतका बिभिन्न जातिले नेपालमा ‘कैलाशबाट रूसदेखि मञ्चुरिया, मध्य एसियादेखि इजिप्ट, ग्रीसदेखि अमेरिकासम्म हजारौं वर्षअघि विस्तारित बोन संस्कृतिलाई निरन्तरता दिएको’ मात्र हुन् । उनले कपाल राख्ने (पाल्ने) अन्तर्राष्ट्रिय अभ्यासजति सबैलाई टुपीको रूपान्तरण वा ‘अप्रभंश’ भनेका छन् । कपाल पालेको देख्ने बित्तिकै टुपी भन्ने हो भने ब्राह्मणले अभ्यास गर्दै आएको टुपी र अन्य जातजातिले अभ्यास गरेको टुपीबीच समानता थियो त ? टुपी, ‘चुपत्र्या’, ‘क्यु’, चोन्मागे’ बीचको नाप र लम्बाइ समान थिए त ? ती टुपीको लम्बाइ, यिनले टाउकोमा ओगटेको क्षेत्रफल र यिनको टाउकोमा स्थान र मान–समान थियो त ? सौरभले आग्रह गरे बमोजिम ‘नेट’मा हेर्दा धेरै भिन्नता पो पाएँ ।

नापमा सबै देशका जातिले पाल्ने टुपी समान भए नै भने पनि टुपीको ‘सांकेतिक अर्थ’ फरक हुन सक्दैन ? नेपाली र भारतीय ब्राह्मणले पाल्ने टुपी, जापानीले राख्ने ‘चोन्मागे’ र चिनियाँ हानले राख्ने ‘क्यु’ बीचको सांकेतिक अर्थ फरक छ । जर्ज वाशिङटन विश्वविद्यालयका प्रोफेसरहरू अल्फ हिल्टबेइटेल र बार्बरा डी. मिलरका अनुसार जापानी ‘सामुराइ’ले पाल्ने ‘चोन्मागे’ले समाजमा तिनीहरू को हुन् र उनीहरूको स्थिति वा हैसियत कस्तो छ भन्नेबारे बोल्छ । ‘सामुराइ’ जापानमा शक्तिशाली सैन्य जातिको सदस्यको रूपमा चिनिन्छ । यो योद्धाको सांकेतिक प्रतीक हो र गर्वका साथ राखिन्थ्यो । सामुराइ कालमा ‘चोन्मागे’ राख्नेजति वर्ग पदानुक्रमको सबैभन्दा माथि भन्ने जनाउँथ्यो ।

त्यस्तै ‘क्यु’ मध्यवर्ती मञ्चुरिया क्षेत्रबाट आएका ‘मञ्चु’हरूद्वारा पहिरिने एक विशेष पुरुष केश थियो । सत्रौं शताब्दीमा मञ्चुहरूले दक्षिण मञ्चुरियामा रहेको मिङ राजवंशलाई हराए र छिङ राजवंश स्थापना गरे । मिङ राजवंशमा रहेका हान पुरुषलाई उनीहरूले ‘क्यु’ राख्न बाध्य पारे । ‘क्यु’ नराख्ने हानहरूलाई छिङ राजवंश अस्वीकार गरेको बुझ्ने गरिन्थ्यो र देशद्रोहको आरोपमा फाँसी दिइन्थ्यो । यसरी कुनै खास जाति र वर्गले राख्ने केशको ऐतिहासिक सामाजिक अर्थ फरक–फरक छ । बरु आफूलाई विशिष्ट देखाउने मामिलामा भने समानता देखिएको छ । यस्ता पुरुष केश राख्नेहरूको उद्देश्य हो : आफूलाई आम समुदायभन्दा फरक वा विशिष्ट छु भन्ने देखाउने र अन्तत: दमन गर्ने ।

टुपी र ब्राह्मण पर्यायवाची
नेपाल र भारतको इतिहासमा टुपीको अभ्यास हेर्दा यो एक वर्ण वा जातको विशिष्ट प्रतीक र चिन्हको रूपमा प्रयोग हुँदै आएको देखिन्छ । हिन्दु धर्मशास्त्रका अनुवादक प्रोफेसर प्याट्रिक ओलिभेका अनुसार वशिष्ठ धर्मसूत्रमा मानिसहरूले जातको प्रचलन अनुसार कपाल राख्नुपर्छ भनिएको छ । द्विजाति हिन्दुले टुपी र जनैलाई आफ्नो मुख्य धार्मिक चिन्ह मान्दै आएका छन् ।

वर्णव्यवस्थामा तीन वर्ण : ब्राह्मण, क्षत्रीय र वैश्यसँग मात्रै दुईपटक जन्म लिने अधिकार थियो, एकपटक आमाको कोखबाट, अर्कोपटक उपनयन वा व्रतबन्धबाट । दुई पटकसम्म जन्म लिन पाउने अधिकार पाएका जातिलाई ‘द्विजाति’ वा ‘द्विज वर्ण’ भनिन्छ । उपनयन गर्दा जनै लगाउनुपर्ने र कपाल पुरै खौरिनुपर्ने तर टाउकोको टुप्पोमा अलिकति कपाल वा शिखा (टुपी) राख्नैपर्ने अभ्यास छ ।

उपनयन शब्दको अर्थ हुन्छ, कुनै खास व्यक्तिलाई ज्ञानको नजिक राख्नु । उपनयन गरेपछि बालकहरू ब्राह्मणको अवधारणासँग परिचित हुन्छन्, क्षत्री र वैश्य बालकले द्विजत्व प्राप्त गर्छन् र ब्राह्मण बालकले द्विजत्वसहित ब्रह्मचारीको जीवन हाँक्न सक्षम हुन्छन् भन्ने विश्वास छ । प्राचीन कालमा उपनयन गरेपश्चात बालकलाई ज्ञान प्राप्तिका लागि ब्राह्मण गुरुको आश्रममा पठाइने गरिन्थ्यो । भारतका कतिपय स्थानमा अझैसम्म यस्तो प्रथाको अभ्यास रहेको जानकारी दिँदै प्रोफेसर ओलिभे ब्रह्म उपनिषद्को ८७ उपनिषद्लाई उद्धृत गर्दै भन्छन्, ‘एक ब्राह्मणले ब्राह्मणत्व तब प्राप्त गर्छ, जब उसको टुपी र जनैमा ‘ज्ञान’ रहन्छ । यसको अर्थ ब्राह्मण, टुपी र जनै ज्ञानका प्रतीक र चिन्ह हुन् । सांकेतिक अर्थमा, ब्राह्मण ज्ञान रहेछ । ज्ञान भन्नु नै टुपी र जनै रहेछ । त्यसो हो भने टुपी ब्राह्मण हो । टुपी ब्राह्मणको हो । टुपी र ब्राह्मण पर्यायवाची हुन् ।

मानवशास्त्री एक्सेल माइकल्सको भनाइमा हिन्दु समाजमा टुपीलाई ब्राह्मणकै पहिचानका रूपमा चिनिएको छ । उनी भन्छन्, ‘ब्राह्मणले टुपी राख्नु भनेको हिन्दु धार्मिक संस्कृति जस्तै– होम, तपस्या, पूजापाठ गर्न पाउने अधिकार आफूसँग मात्र छ भनेर देखाउनु हो ।’ हिन्दुशास्त्र ब्रह्म–उपनिषद्लाई उद्धृत गर्दै उनी भन्छन्, ‘टुपी बिनाको ब्राह्मणको टाउको अशुद्ध हुन्छ । टुपी नराखेको ब्राह्मणले हिन्दु धार्मिक संस्कार गरेमा त्यो अपूर्ण हुन्छ । जसरी जनै लगाउने ब्राह्मणलाई हिन्दु धार्मिक क्रियाकलाप गर्ने अधिकार छ, त्यसैगरी टुपी राख्ने ब्राह्मणलाई पनि यस्ता संस्कार गर्न पाउने अधिकार छ’ । प्याट्रिक ओलिभे भन्छन्, जनै नपहिरने र टुपी नराख्नेहरू ब्राह्मण हुनै सक्दैन ।

यसबाट के बुझिन्छ भने ब्राह्मण हुन टुपी राख्नैपर्ने र जनै लगाउनैपर्ने रहेछ । कतिसम्म भने ब्राह्मण लगायतका द्विजातिले झुक्किएर टुपी काटियो भने उनीहरूको जात खस्ने प्रचलन रहेछ, आफ्नो जात पुन: प्राप्तिका लागि धार्मिक संस्कार गर्नुपर्छ । यसबाट बुझ्न सकिन्छ, टुपी ब्राह्मणको हो र यो शुद्ध–अशुद्ध र जातपातसँग पनि जोडिएको छ ।

टुपी दमनको प्रतीक
मार्शल मौस, भिक्टोर टर्नर, म्यारी डग्लसजस्ता मानवशास्त्री र समाजशास्त्रीले मानव शरीरलाई सामाजिक शरीरको संज्ञा दिई अध्ययन गरेका छन् । उनीहरूको विचारमा मानव शरीर सामाजिक शरीरको संकेत हो । मानव शरीरले जैविक वा भौतिक वास्तविकता मात्र बोकेको हँुदैन, यसले सामाजिक–सांस्कृतिक अर्थ र सन्देश पनि बोकेको हुन्छ । कपाल पनि मानव शरीरको एक जैविक अंगमात्रै होइन, सांस्कृतिक सिर्जना पनि हो । कुनै एक व्यक्तिको कपालले उसको व्यक्तिगत र सामाजिक अस्तित्वबारे वर्णन गर्ने हुँदा यो मानव शरीरको सांस्कृतिक सिर्जना हो । त्यसैले कपाललाई मानव संस्कृतिसँग जोडेर हेर्नुपर्ने हुन्छ ।

हिन्दु समाजले महिलाले कपाल कसरी कोर्नुपर्छ भन्ने अनौपचारिक नियमै बनाएको छ । कपाल नबाटिकन हिँड्ने महिलालाई उत्ताउलीको ट्याग भिराइन्छ । उनीहरूलाई कपाल काट्नसमेत बन्देज लगाएको छ । उनीहरूको कपाल लामो हुनुपर्ने र कपाल काट्न नहुने विश्वास प्रचारित छ । विवाहित महिलाले सार्वजनिक स्थानमा कपाल छोपेर हिँड्नुपर्छ । पुरुषले कपाल र दाह्री छोटो काट्नुपर्ने हुन्छ । यस्तो मान्यताले समाजमा महिला–पुरुषको लैंगिक भूमिकालाई दर्शाउँछ । ‘उच्च जात’का पुरुषले कपाल प्रचलित अभ्यासभन्दा फरक तरिकाले काटेमा ‘कस्तो दमै–कामीले जस्तो कपाल काटेको’ भन्ने गरिन्छ । जसरी कपालमाथिको सामाजिक नियन्त्रणले महिला र पुरुष बीचको सामाजिक सम्बन्धबारे बुझ्न सजिलो बनाएको छ, त्यसरी नै टुपीमाथिको नियन्त्रणले पनि टुपी राख्ने र नराख्ने जात बीचको सामाजिक–सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ ।

नेपाल र भारतको इतिहासमा टुपीको अभ्यास हेर्दा ब्राह्मण वर्णले टुपीलाई आफ्नो जातको विशिष्ट प्रतीक र चिन्हको रूपमा लिँदै आएको देखिन्छ । यिनले टुपीलाई आफ्नै जातीय पेवाको रूपमै लिँदै अन्य जातलाई टुपी राख्न छुट दिएको छैन । शूद्रहरूलाई कानुन बनाएरै टुपी र अन्य हिन्दु धार्मिक प्रतीक लाउन बन्देज गरेको छ । मनुस्मृतिको अध्याय ९ श्लोक २२४ मा भनिएको छ, ‘ब्राह्मणको चिन्ह धारण गर्ने शूद्रलाई दण्डित गर्नुपर्छ ।’ ब्राह्मणले टुपीलाई जातगत पेवाको रूपमा नलिएको भए ब्राह्मणको चिन्ह धारण गर्ने शूद्रलाई किन दण्डित गरिन्थ्यो र ?

पक्कै पनि नेपालका दलित हिन्दु समुदायले टुपी राख्ने प्रचलन छ । यसको मतलब हिन्दु धर्मले दलितलाई टुपीको अभ्यास गर्न अनुमति दिन्छ भन्ने होइन । ब्राह्मणसँग समान छौं भन्ने देखाउन धेरै पछिमात्रै यस्तो अभ्यास गर्न थालेको देखिन्छ । दलितलाई मन्दिर प्रवेशमा समेत रोक लगाइने हिन्दु समाजमा टुपी र जनैजस्ता धार्मिक चिन्ह प्रयोग गर्न छुट दिइनुले खासै अर्थ राख्दैन । यस्ता धार्मिक संकेतको प्रयोग गर्न छुट दिइनाले हिन्दुवादी विचारधारा बलियो हुँदै जान्छ । र हिन्दु वर्णव्यवस्था टिकाउन र दलितमाथि पुन: वर्चस्व कायम राख्न सघाउँछ ।

सांस्कृतिक हिंसाको निरन्तरता
हिन्दु धर्मको विशेषता हो : वर्णव्यवस्था र जातप्रथा । वर्ण/जात बिनाको हिन्दु समाज अकल्पनीय छ । यही समाज र व्यवस्था टिकाउन प्रशस्त मात्रामा हिन्दु धार्मिक मिथक र प्रतीक प्रचारित छ । वर्ण/जात व्यवस्थाले सामाजिक स्तरीकरण र सामाजिक प्रतिबन्ध कायम राख्दै आएजस्तै यस्ता हिन्दु मिथक र प्रतीकले पनि त्यत्तिकै ठूलो भूमिका खेलेका छन् ।

वर्ण/जात व्यवस्था टिकाउँदै असमानता, विभेद र दमन जारी राख्न टुपीले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । अझै पनि गाउँघरमा टुपीवालासँग कैयौं दलित डराउँछन् । किनभने टुपी वर्ण/जात व्यवस्थाले गर्ने दमनको प्रतीक हो । यो अन्य वर्ग/वर्ण/जातमाथि सत्ता लाद्न शास्त्रका आधारमा प्रचलनमा ल्याइएको जुक्ति हो, जातीय उच–नीचको प्रतीक हो, शुद्ध–अशुद्धको मान्यतासँग जोडिएको चिन्ह हो । त्यसैले हिन्दु धर्मशास्त्रले भनेझैं ब्राह्मणको टुपीले पुर्खासँग सम्पर्क राख्ने ‘एन्टेना’को मात्र काम गर्दैन । यो त एउटा त्यस्तो सार्वजनिक चिन्ह हो, जसले आफ्नो वर्ण/जातको अधिकार सुरक्षित गर्दै अन्य वर्ण/जात र लिंगसँग सामाजिक सम्बन्धलाई निर्धारण गर्छ ।

खास जातको सांस्कृतिक चिन्हले कसरी सामाजिक वर्गीकरण र असमानतालाई बढावा दिन्छ भन्ने कुरा फ्रान्सेली समाजशास्त्री पियरे बोर्दयुले ‘कल्चरल क्यापिटल’मार्फत बताएका छन् । उनका अनुसार, सांस्कृतिक चिन्ह हेर्दा सामान्य लाग्छन्, तर तिनले समाजमा प्रतीकात्मक प्रभुत्व र सामाजिक असमानता सिर्जना गर्नमा अकल्पनीय भूमिका खेलेका हुन्छन् । यसरी सिर्जना भएको सामाजिक असमानता कुनै खास जातजातिको आधिपत्यको मुख्य स्रोत बन्न जान्छ र अन्तत: ‘सांकेतिक हिंसा’ निम्त्याउँछ, जुन भौतिक हिंसाभन्दा कैयौं गुना खतरनाक हुन्छ ।

यो हिंसा हेर्दा सामान्य लाग्छ, किनभने यसमा पीडक र पीडित दुवैको स्वीकार्यता र सहमति हुन्छ । पीडितलाई त हिंसा गरिएको नै थाहा हुँदैन । टुपी लगायतका धार्मिक संकेतको अभ्यासले पनि बोर्दयुले भनेझैं ‘सांकेतिक हिंसा’ निम्त्याएको छ । यस्ता धार्मिक संकेतमा आफ्नो जातीय गुण रहेको देखाउने र अन्यलाई यस्ता संकेत प्रयोगबाट वञ्चित गर्ने तथा अन्त्यमा यिनै संकेतद्वारा शोषण–दमन गर्ने कामले ‘सांकेतिक हिंसा’ निम्त्याएको हो ।

अब प्रश्न उठ्छ, केश राख्ने अन्तर्राष्ट्रिय प्रसंग जोड्ने र यस्तो प्रचलनमा जातीय गुण रहेको वा विश्वव्यापी माने रहेको बताउने प्रवृत्तिले पनि कतै जातिवाद र हिन्दुवादलाई नै प्रश्रय दिइरहेको छैन ? व्यक्तिको कपालले पनि ऊ को हो, को होइन भन्ने कुरा परिभाषित गर्ने हुनाले हिन्दु वर्णव्यवस्थामा आधारित समाजमा टुपी राख्नु सामान्य फेसनमात्रै होइन । यो ब्राह्मण र गैरब्राह्मण वा सवर्ण र अवर्ण छुट्याउने स्थापित हिन्दु धार्मिक र सांस्कृतिक पहिचानको चिन्ह हो । यो व्यक्तिको सामाजिक हैसियत र अवस्था चित्रण गर्ने सूचक हो । यस्तो समाजमा टुपीको परिकल्पनाले व्यक्तिहरूको सम्बन्ध र स्वीकार्यता अभिव्यक्त गर्छ ।

यसको अर्थ नेपाल र भारतमा टुपी खास जातजातिको धार्मिक सांस्कृतिक चिन्हमात्र होइन । त्योभन्दा बढी दमन, असमानता, शुद्धता, जातीय उच–नीचको प्रतीक हो । त्यसैले उक्त लेखले सवर्ण पुरुषको पुरातन विचार बोकेको छ, जसले हिन्दु ब्राह्मण संस्कृतिको प्रतीक टुपीलाई वैधता दिन्छ, वर्ण/जात व्यवस्था, ब्राह्मणवाद, हिन्दुवादलाई मलजल गर्छ । यस्तो विचारले सामाजिक वर्गीकरण र असमानताको पुनरुत्पादन गर्न सघाउने र अन्तत: सांकेतिक हिंसा निम्त्याउँछ ।

विक दलित रिडरका सहकर्मी र समाजशास्त्रका अनुसन्धाता हुन् ।
[email protected]

प्रकाशित : जेष्ठ ५, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?