एब्सट्रेक्ट सोसियोलिजम

सिउँडी
‘समाजवादलाई अमूर्त शैलीमा अभिव्यक्त गर्न खोजेको हुँ मैले ।’ यो पेन्टिङको मूल शीर्षक नै ‘समाजवाद’ हो । एब्सट्रेक्ट सोसियोलिजम ।
विमल निभा

काठमाडौँ — अमूर्त कला प्रदर्शन कक्षमा एक मन्त्री, दुई पुलिस म्यान र केही दर्शकहरूका मूर्त उपस्थिति थियो । सबै कला अवलोकन कार्यमा व्यस्त थिए । सम्पूर्ण वातावरण नै एउटा गहकिलो ह्यान्डस्केपमा परिणत भएको थियो ।

रातो, निलो, कालो, हरियो, सेतो इत्यादि (र कलाकार जस्तै सबै) । एकाएक मन्त्रीज्यू एउटा ठूलो साइजको पेन्टिङनेर टक्क अडिए । र अत्यन्त भावगम्भीर मुद्रामा नियाल्न थाले । त्यसकारण अरुहरूका ध्यान पनि त्यस दिशातर्फ एकत्रित भयो ।

‘यो के हो ?’ मन्त्री उवाच् ।
‘यो मेरो पेन्टिङ हो, हजुर ।’ एक फ्रेन्चकट दाह्री अघि बढेर मन्त्रीसमिप उभियो ।
‘ए, पेन्टिङ..... ।’
‘हो, मेरो नयाँ पेन्टिङ हो, हजुर ।’
‘केही बुझिएन त, रेखाहरू केरमेर–केरमेर र रंग जथाभावी पोतिएको ।’ मन्त्रीले आफ्नो चिउँडोमा हात लगे, ‘कस्तो पेन्टिङ हो यो ?’
‘हजुर, यो एब्सट्रेक्ट आर्ट हो । यसलाई अनुभूत गर्न कलर, लाइन, फर्म र पर्सपेक्टिभमा समग्र दृष्टि दिनुपर्छ । अन्यथा बुझ्न सम्भव छैन ।’ अमूर्त कलाकार विन्ती भावमा निहँुरिएर बुझाउन थाले, ‘एब्सट्रेक्ट आर्ट यस्तै
हुन्छ, हजुर ।’

Yamaha

‘हुँ, एब्सट्रेक्ट आर्ट ।’
‘हजुर, एब्सट्रेक्ट आर्ट ।’
‘के बनाउन खोज्नुभएको हो, तपाईले ?’ मन्त्रीको आँखा कलाकारको अनुहारमा खोपियो, ‘के हो यो ?’
यो सुनेर कलाकारको अनुहार खुम्चियो । केही बेरको मौनता । त्यसपछि आफ्नो व्याख्या प्रस्तुत गर्न उनले मुख खोले । र दाह्री हल्लाएर भने, ‘हजुर, समाजवादलाई अमूर्त शैलीमा अभिव्यक्त गर्न खोजेको हुँ मैले । यो पेन्टिङको मूल शीर्षक नै ‘समाजवाद’ हो । एब्सट्ेरक्ट सोसियोलिजम । यसको थिम अलिकति पोलिटिकल छ । समाजवाद कलाको माध्यम हुनसक्छ । अमूर्त कलाको माध्यम । यो मैले प्रमाणित गर्न खोजेको हुँ हजुर ।’

‘हु, एब्सट्रेक्ट सोसियोलिजम....।’
‘हजुर, एब्सट्रेक्ट सोसियोलिजम ।’
‘यो खतरा सूचक खप्पर र असन बजारको हुलजस्तो के हो नि ?’ मन्त्रीज्यू गहिरिएर पेन्टिङ हेर्न थाले, ‘यताबाट चारखुट्टे कुर्सी देखिन्छ र अर्काे कोणबाट कुनै किङ कोबराको उत्तेजित फणा । कस्तो समाजवाद बनाउनुभएको हो, तपाईले हँ ?’
‘हजुर....।’
‘मलाई त एकदमै मेरो चित्रझैं लाग्यो हजुर ।’ मन्त्रीसँगै एटेन्सन मुद्रामा उभिएको पुलिस म्यानले कलाकारको कुरा काटेर भने, ‘के हतियार बोकेको हवल्दार होइन र ?’
‘होइन, होइन ।’

‘अहिले यो कुनै नयाँ दरबारजस्तो पो देखियो त, तर गहिरिएर हेर्दा हाम्रो छिमेकी भारतको नक्साजस्तो पनि लागिरहेछ मलाई, के हो यो ?’ मन्त्रीज्यूको प्रश्नमाथि प्रश्न जारी थियो, ‘कहिले बगिरहेका कोशी, गण्डकी र महाकाली पनि देखापर्छ भने कहिले अमेरिकी नासाबाट प्रक्षेपित कुनै उपग्रह, हँ, कस्तो खाले समाजवाद हो यो ?’
‘यो समाजवाद होइन ।’ पुलिस म्यानले फेरि मुख खोलेर टिप्पणी गरे, ‘यो कुनै अर्कै चीन हो, हजुर ।’

‘अब भने कलाकार गम्भीर बने । र निधारमा तीन धर्साे पारेर पुलिस म्यानतिर हेर्न थाले । त्यसपछि तुरुन्तै मन्त्रीतर्फ फर्केर भने, ‘हजुर, यो समाजवादको विलकुलै एब्सट्रेक्ट रूप हो । हाम्रो समाजवादको जुन मोडल अस्तित्वमा छ, त्यसलाई क्यानभासमा उतार्ने भरसक्य प्रयत्न हो मेरो । यसलाई टेक्निकल टर्ममा एब्सट्रेक्ट एक्सप्रेसिनिजम भनिन्छ । अर्थात् अमूर्त अभिव्यञ्जनावाद । हामीकहाँ समाजवाद जुन स्टेजमा छ, त्यसको प्रतिनिधित्व गर्न चाहेको हो, पेन्टिङले ।’

‘यसको प्रदर्शन विदेशमा पनि भइसकेको छ, हजुर । बेलायत, अमेरिका, जर्मन, जापान, इजरायल, भारत । विदेशीहरूले मेरो यो पेन्टिङलाई अति नै मनपराए । सबैले यसलाई खरिद गर्न चाहेका छन् । विशेष गरेर संयुक्त राज्य अमेरिकाको रुचि रहेको छ । एब्सट्ेरक्ट सोसियोलिजमका लागि जति पनि डलर तिर्न अमेरिकीहरू तयार छन् । ह्वाइट हाउसमा यो पेन्टिङ झुन्ड्याउँदा खुब सुहाउँछ रे †’ मन्त्रीज्यूलाई मौन मुद्रामा पाएर अमूर्त कलाकारले जोशका साथ थपे, ‘सबै यो पेन्टिङ किन्न चाहन्छन् हजुर ।’

‘अनि किन बिक्री गर्नुभएन त पेन्टिङ ?’ मन्त्रीज्यूले आश्चर्यका साथ प्रश्न गरे, ‘कति मूल्य हो, यसको ?’

‘प्राविधिक कठिनाइ आइपर्‍यो हजुर ।’
‘कस्तो प्राविधिक कठिनाइ ?’

‘हजुर, अमेरिकीहरू भन्छन्, यो पोलिटिकल पेन्टिङ भएकोले तिमीहरूका वर्तमान सरकारको पनि पूराका पूरा स्वीकृति चाहिन्छ । त्यसै खरिद गर्न मिल्दैन । (एकछिनपछि) तिमीहरूका सरकारले स्वीकार गरे हाम्रो राजदूतावास मार्फत पठाइदिनु । र पेमेन्ट चाहिंँ त्यहींबाट लिए पनि हुन्छ । पहिले नै एडभान्स लिन सकिन्छ । तर मुख्य कुरा सरकारी स्वीकृति नै हो । यही समस्याले गर्दा हजुरलाई यहाँ आमन्त्रित गरेको हुँ । यसमा सक्दो सहयोग गरिदिनुपर्‍यो, हजुर । मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि सादर विन्ती चढाएको थिएँ । कुन्नि, किन पाल्नुभएन † ‘फ्रेन्चकट दाह्रीवाल अमूर्त कलाकार नब्बे डिग्री कोणमा निहुरिए । यो लचिलो मेरुदण्डको प्रत्यक्ष प्रमाण थियो । अर्थात् कलाकार अमूर्त कलाका साथै व्यायम कलामा पनि पारंगत भएकोमा कुनै शंका थिएन ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०७:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘टुपी माहात्म्य’ माथि प्रश्न

कुनै खास जाति र वर्गले राख्ने केशको ऐतिहासिक सामाजिक अर्थ फरक–फरक छ । बरु आफूलाई विशिष्ट देखाउने मामिलामा भने समानता देखिएको छ । यस्ता पुरुष केश राख्नेहरूको उद्देश्य हो : आफूलाई आम समुदायभन्दा फरक वा विशिष्ट छु भन्ने देखाउने र अन्तत: दमन गर्ने ।
प्रकाश विक

काठमाडौँ — ज्ञान उत्पादनमा सीमित वर्ग, वर्ण र लिंगको प्रभुत्व रहेको खण्डमा वास्तविकतालाई उपेक्षा वा तोडमरोड गरिनु अनौठो होइन । २०७४ माघ २० मा सौरभले ‘कान्तिपुर’मा ‘नलेखी नभएकाले मात्र’ (टुपी महात्म्य) मा पनि वास्तविकतालाई उपेक्षा गर्दै लेखेका छन्, ‘टुपी ब्राह्मण पर्यायवाची होइन’ र ‘टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो ।’

उनले नेपाल र भारतमा यो कसरी निश्चित वर्ण/जात/लिंगको मात्र प्रतीक थियो, अन्यलाई यसबाट कसरी वञ्चित गरिएको थियो भन्ने तथ्यलाई पनि बेवास्ता गरेका छन् । प्राचीन कालमा विश्वमै टुपी राख्ने प्रचलन रहेको आफ्नो दाबीको कुनै आधार र प्रमाण नदिइकन ‘इन्टरनेटलै नै भनेको’ भन्दै उनी पन्छिएका छन् ।

विश्वका अनेक उदाहरण दिँदै सौरभ भन्छन्, टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो । ब्राह्मण–क्षत्रीले पालेको टुपी दक्षिणको भारतबाट आएको हैन, यो ब्राह्मण लगायतका बिभिन्न जातिले नेपालमा ‘कैलाशबाट रूसदेखि मञ्चुरिया, मध्य एसियादेखि इजिप्ट, ग्रीसदेखि अमेरिकासम्म हजारौं वर्षअघि विस्तारित बोन संस्कृतिलाई निरन्तरता दिएको’ मात्र हुन् । उनले कपाल राख्ने (पाल्ने) अन्तर्राष्ट्रिय अभ्यासजति सबैलाई टुपीको रूपान्तरण वा ‘अप्रभंश’ भनेका छन् । कपाल पालेको देख्ने बित्तिकै टुपी भन्ने हो भने ब्राह्मणले अभ्यास गर्दै आएको टुपी र अन्य जातजातिले अभ्यास गरेको टुपीबीच समानता थियो त ? टुपी, ‘चुपत्र्या’, ‘क्यु’, चोन्मागे’ बीचको नाप र लम्बाइ समान थिए त ? ती टुपीको लम्बाइ, यिनले टाउकोमा ओगटेको क्षेत्रफल र यिनको टाउकोमा स्थान र मान–समान थियो त ? सौरभले आग्रह गरे बमोजिम ‘नेट’मा हेर्दा धेरै भिन्नता पो पाएँ ।

नापमा सबै देशका जातिले पाल्ने टुपी समान भए नै भने पनि टुपीको ‘सांकेतिक अर्थ’ फरक हुन सक्दैन ? नेपाली र भारतीय ब्राह्मणले पाल्ने टुपी, जापानीले राख्ने ‘चोन्मागे’ र चिनियाँ हानले राख्ने ‘क्यु’ बीचको सांकेतिक अर्थ फरक छ । जर्ज वाशिङटन विश्वविद्यालयका प्रोफेसरहरू अल्फ हिल्टबेइटेल र बार्बरा डी. मिलरका अनुसार जापानी ‘सामुराइ’ले पाल्ने ‘चोन्मागे’ले समाजमा तिनीहरू को हुन् र उनीहरूको स्थिति वा हैसियत कस्तो छ भन्नेबारे बोल्छ । ‘सामुराइ’ जापानमा शक्तिशाली सैन्य जातिको सदस्यको रूपमा चिनिन्छ । यो योद्धाको सांकेतिक प्रतीक हो र गर्वका साथ राखिन्थ्यो । सामुराइ कालमा ‘चोन्मागे’ राख्नेजति वर्ग पदानुक्रमको सबैभन्दा माथि भन्ने जनाउँथ्यो ।

त्यस्तै ‘क्यु’ मध्यवर्ती मञ्चुरिया क्षेत्रबाट आएका ‘मञ्चु’हरूद्वारा पहिरिने एक विशेष पुरुष केश थियो । सत्रौं शताब्दीमा मञ्चुहरूले दक्षिण मञ्चुरियामा रहेको मिङ राजवंशलाई हराए र छिङ राजवंश स्थापना गरे । मिङ राजवंशमा रहेका हान पुरुषलाई उनीहरूले ‘क्यु’ राख्न बाध्य पारे । ‘क्यु’ नराख्ने हानहरूलाई छिङ राजवंश अस्वीकार गरेको बुझ्ने गरिन्थ्यो र देशद्रोहको आरोपमा फाँसी दिइन्थ्यो । यसरी कुनै खास जाति र वर्गले राख्ने केशको ऐतिहासिक सामाजिक अर्थ फरक–फरक छ । बरु आफूलाई विशिष्ट देखाउने मामिलामा भने समानता देखिएको छ । यस्ता पुरुष केश राख्नेहरूको उद्देश्य हो : आफूलाई आम समुदायभन्दा फरक वा विशिष्ट छु भन्ने देखाउने र अन्तत: दमन गर्ने ।

टुपी र ब्राह्मण पर्यायवाची
नेपाल र भारतको इतिहासमा टुपीको अभ्यास हेर्दा यो एक वर्ण वा जातको विशिष्ट प्रतीक र चिन्हको रूपमा प्रयोग हुँदै आएको देखिन्छ । हिन्दु धर्मशास्त्रका अनुवादक प्रोफेसर प्याट्रिक ओलिभेका अनुसार वशिष्ठ धर्मसूत्रमा मानिसहरूले जातको प्रचलन अनुसार कपाल राख्नुपर्छ भनिएको छ । द्विजाति हिन्दुले टुपी र जनैलाई आफ्नो मुख्य धार्मिक चिन्ह मान्दै आएका छन् ।

वर्णव्यवस्थामा तीन वर्ण : ब्राह्मण, क्षत्रीय र वैश्यसँग मात्रै दुईपटक जन्म लिने अधिकार थियो, एकपटक आमाको कोखबाट, अर्कोपटक उपनयन वा व्रतबन्धबाट । दुई पटकसम्म जन्म लिन पाउने अधिकार पाएका जातिलाई ‘द्विजाति’ वा ‘द्विज वर्ण’ भनिन्छ । उपनयन गर्दा जनै लगाउनुपर्ने र कपाल पुरै खौरिनुपर्ने तर टाउकोको टुप्पोमा अलिकति कपाल वा शिखा (टुपी) राख्नैपर्ने अभ्यास छ ।

उपनयन शब्दको अर्थ हुन्छ, कुनै खास व्यक्तिलाई ज्ञानको नजिक राख्नु । उपनयन गरेपछि बालकहरू ब्राह्मणको अवधारणासँग परिचित हुन्छन्, क्षत्री र वैश्य बालकले द्विजत्व प्राप्त गर्छन् र ब्राह्मण बालकले द्विजत्वसहित ब्रह्मचारीको जीवन हाँक्न सक्षम हुन्छन् भन्ने विश्वास छ । प्राचीन कालमा उपनयन गरेपश्चात बालकलाई ज्ञान प्राप्तिका लागि ब्राह्मण गुरुको आश्रममा पठाइने गरिन्थ्यो । भारतका कतिपय स्थानमा अझैसम्म यस्तो प्रथाको अभ्यास रहेको जानकारी दिँदै प्रोफेसर ओलिभे ब्रह्म उपनिषद्को ८७ उपनिषद्लाई उद्धृत गर्दै भन्छन्, ‘एक ब्राह्मणले ब्राह्मणत्व तब प्राप्त गर्छ, जब उसको टुपी र जनैमा ‘ज्ञान’ रहन्छ । यसको अर्थ ब्राह्मण, टुपी र जनै ज्ञानका प्रतीक र चिन्ह हुन् । सांकेतिक अर्थमा, ब्राह्मण ज्ञान रहेछ । ज्ञान भन्नु नै टुपी र जनै रहेछ । त्यसो हो भने टुपी ब्राह्मण हो । टुपी ब्राह्मणको हो । टुपी र ब्राह्मण पर्यायवाची हुन् ।

मानवशास्त्री एक्सेल माइकल्सको भनाइमा हिन्दु समाजमा टुपीलाई ब्राह्मणकै पहिचानका रूपमा चिनिएको छ । उनी भन्छन्, ‘ब्राह्मणले टुपी राख्नु भनेको हिन्दु धार्मिक संस्कृति जस्तै– होम, तपस्या, पूजापाठ गर्न पाउने अधिकार आफूसँग मात्र छ भनेर देखाउनु हो ।’ हिन्दुशास्त्र ब्रह्म–उपनिषद्लाई उद्धृत गर्दै उनी भन्छन्, ‘टुपी बिनाको ब्राह्मणको टाउको अशुद्ध हुन्छ । टुपी नराखेको ब्राह्मणले हिन्दु धार्मिक संस्कार गरेमा त्यो अपूर्ण हुन्छ । जसरी जनै लगाउने ब्राह्मणलाई हिन्दु धार्मिक क्रियाकलाप गर्ने अधिकार छ, त्यसैगरी टुपी राख्ने ब्राह्मणलाई पनि यस्ता संस्कार गर्न पाउने अधिकार छ’ । प्याट्रिक ओलिभे भन्छन्, जनै नपहिरने र टुपी नराख्नेहरू ब्राह्मण हुनै सक्दैन ।

यसबाट के बुझिन्छ भने ब्राह्मण हुन टुपी राख्नैपर्ने र जनै लगाउनैपर्ने रहेछ । कतिसम्म भने ब्राह्मण लगायतका द्विजातिले झुक्किएर टुपी काटियो भने उनीहरूको जात खस्ने प्रचलन रहेछ, आफ्नो जात पुन: प्राप्तिका लागि धार्मिक संस्कार गर्नुपर्छ । यसबाट बुझ्न सकिन्छ, टुपी ब्राह्मणको हो र यो शुद्ध–अशुद्ध र जातपातसँग पनि जोडिएको छ ।

टुपी दमनको प्रतीक
मार्शल मौस, भिक्टोर टर्नर, म्यारी डग्लसजस्ता मानवशास्त्री र समाजशास्त्रीले मानव शरीरलाई सामाजिक शरीरको संज्ञा दिई अध्ययन गरेका छन् । उनीहरूको विचारमा मानव शरीर सामाजिक शरीरको संकेत हो । मानव शरीरले जैविक वा भौतिक वास्तविकता मात्र बोकेको हँुदैन, यसले सामाजिक–सांस्कृतिक अर्थ र सन्देश पनि बोकेको हुन्छ । कपाल पनि मानव शरीरको एक जैविक अंगमात्रै होइन, सांस्कृतिक सिर्जना पनि हो । कुनै एक व्यक्तिको कपालले उसको व्यक्तिगत र सामाजिक अस्तित्वबारे वर्णन गर्ने हुँदा यो मानव शरीरको सांस्कृतिक सिर्जना हो । त्यसैले कपाललाई मानव संस्कृतिसँग जोडेर हेर्नुपर्ने हुन्छ ।

हिन्दु समाजले महिलाले कपाल कसरी कोर्नुपर्छ भन्ने अनौपचारिक नियमै बनाएको छ । कपाल नबाटिकन हिँड्ने महिलालाई उत्ताउलीको ट्याग भिराइन्छ । उनीहरूलाई कपाल काट्नसमेत बन्देज लगाएको छ । उनीहरूको कपाल लामो हुनुपर्ने र कपाल काट्न नहुने विश्वास प्रचारित छ । विवाहित महिलाले सार्वजनिक स्थानमा कपाल छोपेर हिँड्नुपर्छ । पुरुषले कपाल र दाह्री छोटो काट्नुपर्ने हुन्छ । यस्तो मान्यताले समाजमा महिला–पुरुषको लैंगिक भूमिकालाई दर्शाउँछ । ‘उच्च जात’का पुरुषले कपाल प्रचलित अभ्यासभन्दा फरक तरिकाले काटेमा ‘कस्तो दमै–कामीले जस्तो कपाल काटेको’ भन्ने गरिन्छ । जसरी कपालमाथिको सामाजिक नियन्त्रणले महिला र पुरुष बीचको सामाजिक सम्बन्धबारे बुझ्न सजिलो बनाएको छ, त्यसरी नै टुपीमाथिको नियन्त्रणले पनि टुपी राख्ने र नराख्ने जात बीचको सामाजिक–सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ ।

नेपाल र भारतको इतिहासमा टुपीको अभ्यास हेर्दा ब्राह्मण वर्णले टुपीलाई आफ्नो जातको विशिष्ट प्रतीक र चिन्हको रूपमा लिँदै आएको देखिन्छ । यिनले टुपीलाई आफ्नै जातीय पेवाको रूपमै लिँदै अन्य जातलाई टुपी राख्न छुट दिएको छैन । शूद्रहरूलाई कानुन बनाएरै टुपी र अन्य हिन्दु धार्मिक प्रतीक लाउन बन्देज गरेको छ । मनुस्मृतिको अध्याय ९ श्लोक २२४ मा भनिएको छ, ‘ब्राह्मणको चिन्ह धारण गर्ने शूद्रलाई दण्डित गर्नुपर्छ ।’ ब्राह्मणले टुपीलाई जातगत पेवाको रूपमा नलिएको भए ब्राह्मणको चिन्ह धारण गर्ने शूद्रलाई किन दण्डित गरिन्थ्यो र ?

पक्कै पनि नेपालका दलित हिन्दु समुदायले टुपी राख्ने प्रचलन छ । यसको मतलब हिन्दु धर्मले दलितलाई टुपीको अभ्यास गर्न अनुमति दिन्छ भन्ने होइन । ब्राह्मणसँग समान छौं भन्ने देखाउन धेरै पछिमात्रै यस्तो अभ्यास गर्न थालेको देखिन्छ । दलितलाई मन्दिर प्रवेशमा समेत रोक लगाइने हिन्दु समाजमा टुपी र जनैजस्ता धार्मिक चिन्ह प्रयोग गर्न छुट दिइनुले खासै अर्थ राख्दैन । यस्ता धार्मिक संकेतको प्रयोग गर्न छुट दिइनाले हिन्दुवादी विचारधारा बलियो हुँदै जान्छ । र हिन्दु वर्णव्यवस्था टिकाउन र दलितमाथि पुन: वर्चस्व कायम राख्न सघाउँछ ।

सांस्कृतिक हिंसाको निरन्तरता
हिन्दु धर्मको विशेषता हो : वर्णव्यवस्था र जातप्रथा । वर्ण/जात बिनाको हिन्दु समाज अकल्पनीय छ । यही समाज र व्यवस्था टिकाउन प्रशस्त मात्रामा हिन्दु धार्मिक मिथक र प्रतीक प्रचारित छ । वर्ण/जात व्यवस्थाले सामाजिक स्तरीकरण र सामाजिक प्रतिबन्ध कायम राख्दै आएजस्तै यस्ता हिन्दु मिथक र प्रतीकले पनि त्यत्तिकै ठूलो भूमिका खेलेका छन् ।

वर्ण/जात व्यवस्था टिकाउँदै असमानता, विभेद र दमन जारी राख्न टुपीले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । अझै पनि गाउँघरमा टुपीवालासँग कैयौं दलित डराउँछन् । किनभने टुपी वर्ण/जात व्यवस्थाले गर्ने दमनको प्रतीक हो । यो अन्य वर्ग/वर्ण/जातमाथि सत्ता लाद्न शास्त्रका आधारमा प्रचलनमा ल्याइएको जुक्ति हो, जातीय उच–नीचको प्रतीक हो, शुद्ध–अशुद्धको मान्यतासँग जोडिएको चिन्ह हो । त्यसैले हिन्दु धर्मशास्त्रले भनेझैं ब्राह्मणको टुपीले पुर्खासँग सम्पर्क राख्ने ‘एन्टेना’को मात्र काम गर्दैन । यो त एउटा त्यस्तो सार्वजनिक चिन्ह हो, जसले आफ्नो वर्ण/जातको अधिकार सुरक्षित गर्दै अन्य वर्ण/जात र लिंगसँग सामाजिक सम्बन्धलाई निर्धारण गर्छ ।

खास जातको सांस्कृतिक चिन्हले कसरी सामाजिक वर्गीकरण र असमानतालाई बढावा दिन्छ भन्ने कुरा फ्रान्सेली समाजशास्त्री पियरे बोर्दयुले ‘कल्चरल क्यापिटल’मार्फत बताएका छन् । उनका अनुसार, सांस्कृतिक चिन्ह हेर्दा सामान्य लाग्छन्, तर तिनले समाजमा प्रतीकात्मक प्रभुत्व र सामाजिक असमानता सिर्जना गर्नमा अकल्पनीय भूमिका खेलेका हुन्छन् । यसरी सिर्जना भएको सामाजिक असमानता कुनै खास जातजातिको आधिपत्यको मुख्य स्रोत बन्न जान्छ र अन्तत: ‘सांकेतिक हिंसा’ निम्त्याउँछ, जुन भौतिक हिंसाभन्दा कैयौं गुना खतरनाक हुन्छ ।

यो हिंसा हेर्दा सामान्य लाग्छ, किनभने यसमा पीडक र पीडित दुवैको स्वीकार्यता र सहमति हुन्छ । पीडितलाई त हिंसा गरिएको नै थाहा हुँदैन । टुपी लगायतका धार्मिक संकेतको अभ्यासले पनि बोर्दयुले भनेझैं ‘सांकेतिक हिंसा’ निम्त्याएको छ । यस्ता धार्मिक संकेतमा आफ्नो जातीय गुण रहेको देखाउने र अन्यलाई यस्ता संकेत प्रयोगबाट वञ्चित गर्ने तथा अन्त्यमा यिनै संकेतद्वारा शोषण–दमन गर्ने कामले ‘सांकेतिक हिंसा’ निम्त्याएको हो ।

अब प्रश्न उठ्छ, केश राख्ने अन्तर्राष्ट्रिय प्रसंग जोड्ने र यस्तो प्रचलनमा जातीय गुण रहेको वा विश्वव्यापी माने रहेको बताउने प्रवृत्तिले पनि कतै जातिवाद र हिन्दुवादलाई नै प्रश्रय दिइरहेको छैन ? व्यक्तिको कपालले पनि ऊ को हो, को होइन भन्ने कुरा परिभाषित गर्ने हुनाले हिन्दु वर्णव्यवस्थामा आधारित समाजमा टुपी राख्नु सामान्य फेसनमात्रै होइन । यो ब्राह्मण र गैरब्राह्मण वा सवर्ण र अवर्ण छुट्याउने स्थापित हिन्दु धार्मिक र सांस्कृतिक पहिचानको चिन्ह हो । यो व्यक्तिको सामाजिक हैसियत र अवस्था चित्रण गर्ने सूचक हो । यस्तो समाजमा टुपीको परिकल्पनाले व्यक्तिहरूको सम्बन्ध र स्वीकार्यता अभिव्यक्त गर्छ ।

यसको अर्थ नेपाल र भारतमा टुपी खास जातजातिको धार्मिक सांस्कृतिक चिन्हमात्र होइन । त्योभन्दा बढी दमन, असमानता, शुद्धता, जातीय उच–नीचको प्रतीक हो । त्यसैले उक्त लेखले सवर्ण पुरुषको पुरातन विचार बोकेको छ, जसले हिन्दु ब्राह्मण संस्कृतिको प्रतीक टुपीलाई वैधता दिन्छ, वर्ण/जात व्यवस्था, ब्राह्मणवाद, हिन्दुवादलाई मलजल गर्छ । यस्तो विचारले सामाजिक वर्गीकरण र असमानताको पुनरुत्पादन गर्न सघाउने र अन्तत: सांकेतिक हिंसा निम्त्याउँछ ।

विक दलित रिडरका सहकर्मी र समाजशास्त्रका अनुसन्धाता हुन् ।
bbk.prakash@gmail.com

प्रकाशित : जेष्ठ ५, २०७५ ०७:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT