कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेस, कमिनिस्ट र केमिस्ट्री

समय रेखा
अहिले कांग्रेस–कमिनिस्ट केमिस्ट्री देशको राजनीतिकमात्र होइन, जगत हेर्ने दृष्टि भएको छ । चीन र भारतसँग गरिने सम्बन्धमा कांग्रेस–कमिनिस्ट केमिस्ट्रीले काम गर्छ । यो केमिस्ट्री केही साझा शब्दावलीमा भेटिन्छ । ती हुन्, समाजवाद र लोकतन्त्र ।
अभि सुवेदी

काठमाडौँ — एउटा छलफलमा भाग लिएको थिएँ, केही समय पहिले । दुई दलले ढपक्कै ढाकेको नेपाली राजनीतिलाई म एक साहित्यकार, साहित्य सिद्धान्तमा चाख राख्ने अनि यी कुनै दलमा नजोडिएको मानिसले कसरी हेर्छु भन्ने प्रश्न आउँदा म राम्ररी झस्केंँ ।

कांग्रेस, कमिनिस्ट र केमिस्ट्री

मलाई मनपर्ने दुईजना विश्व प्रसिद्ध पश्चिमी वाम विचारका सिद्धान्तवादी र व्याख्याता केम्ब्रिजका रेमन्ड विलियम्स र अमेरिकाका फ्रेडरिक जेमिसनलाई जोडेंँ मैले, अनि यताका मानिसका पनि कुरा राखेर इतिहासको चित्र खिच्ने प्रयत्न गरेंँ । मलाई थाहा छ, नेपालमा जनताका इतिहास ज्यादै थोरै छन् । त्यो इतिहास साधारण गाउँले वा बजारमा बस्ने कविहरूले रचेका साधारण कविता, सवाइ अथवा गीत र लोकवार्ताबाट खोज्नुपर्छ । म सानै छँदा कांग्रेस र कमिनिस्टको कविता मेरा एक दाइ कवि पहलमान सुवेदीले रचेर सुनाएको अहिले पनि कण्ठै आउने हुनाले त्यसलाई लिएँ, अनि विचार प्रस्तुत गरेंँ । यो छोटो आलेख लगभग त्यही प्रस्तुति हो । मलाई थाहा भयो, कांग्रेस र कमिनिस्टले बनिएको नेपालको आधुनिक इतिहासबारे हामीले खासै यताबाट सोचेका रहेनछौं । अहिले खोज्दा धेरै कुरा भेटिन्छन् ।

नेपालको राजनीतिकमात्र होइन, झन्डै चेतनाकै कलेवर कांग्रेस र कमिनिस्ट अनि तिनको केमिस्ट्रीले बनिएको रहेछ भनेर थाहा पाउनु कुनै ठूलो कुरा होइन रहेछ, बुझ्दैछौं । तर त्यसको इतिहासभित्रको सन्दर्भले आधुनिक नेपालको इतिहासमा के अर्थ राख्छ, खुट्याएका रहेनछौं । आश्चर्य के छ भने यो केमिस्ट्री अनुभव गरिआएको अनि यो केमिस्ट्रीलाई जीवन र जगत हेर्ने दृष्टि बनाएको कुरा लिएर लेखिएका ग्रन्थ र आलेखहरू त्यति पढ्न पाइंँदैनन् । यही क्रममा खोजी गर्दा मैले अनुभव गरेको हुँ । यो केमिस्ट्री भनेको मेरोनिम्ति रेमन्ड विलियम्सले वर्गीकरण गरेको प्रतीकात्मक संस्कृति हो, अनि उनले नै भनेको भौतिक संस्कृति पनि हो ।

अहिले सिधै धन र पुँजीले अमूक सिद्धान्त र आचरणलाई सिधै खाइदिएको अवस्था हो । अथवा नेपालको कांग्रेस र कमिनिस्टसँग जोडिएको संस्कृति भौतिक हो र प्रतीकात्मक पनि हो । अर्का विचारक जेमिसन इतिहासलाई पनि मानिसको मनसँग जोड्छन् । इतिहासको राजनीतिक अवचेतन मन हुन्छ । नेपालको इतिहासमा कांग्रेस र कमिनिस्टको केमिस्ट्रीले बनेको अवचेतन सबैभन्दा बलियो भएर बसेको छ । जेमिसन इतिहासलाई हेर्दा पाठहरू, वर्णनहरू अनि तिनका कथालाई हेर्नुपर्छ भन्ने मान्छन् । इतिहासको राजनीतिक अवचेतना त्यसैमा देखिन्छ, ती भन्छन् । जटिल जस्तो लागे पनि कुरा सजिलो छ । आधुनिक नेपालको इतिहास हेर्ने कोणहरू अनेकौं हुन्छन्, तर कांग्रेस र कमिनिस्टको केमिस्ट्रीलाई हेर्दा अर्को कोण खुल्छ । साधारण उदाहरण छन् ।

बालक वयदेखि मैले कांग्रेस र कमिनिस्टको सहउच्चारण सुनेर आएको हुँ । म सानै छँदा कवि पहलमान सुवेदीले रचेको कवितामा कांग्रेस र कमिनिस्टकै नाम थियो । तिनले भनेको कुरा गाउँका शिक्षा प्राप्त नगरेका मानिसको बोली र विश्लेषण थियो । तर अहिले तिनले रचेको कविता एउटा महत्त्वपूर्ण शव्दको ‘आर्काइभ’ भएको छ । मैले दाजुले र अरूले भनेका श्लोकहरू टिपेर बँचाएका केही पाठहरू सम्झेको हुँ । यस्ता गाउँले कविहरूका रचना र अरू केही पाठ भए संकलन गरेर राख्नु अति आवश्यक छ ।

म लेख छोटो भएकोले कवि पहलमानले म बालकै हुँदा रचेर सुनाउँदै हिंँडेका केही श्लोकहरू यहाँ राख्छु । यी श्लोकबाट नेपालको आधुनिक वा सात सालदेखि यताको इतिहासमा कांग्रेस र कमिनिस्टको केमिस्ट्री कसरी गाउँ–गाउँसम्म पुगेको रहेछ भन्ने थाहा हुन्छ । यो सात वा आठ सालतिर रचेको पहलमानको कवितामा उनले विश्वेश्वर र मातृकाको रूपकजन्य चित्रण गरेका छन् । राणा ‘नृप’हरूका विशाल तोप पनि तोडेर कसरी विश्वेश्वर कोइराला निस्के अनि पछि कांग्रेस कसरी फँस्यो भन्ने वर्णन गरेका छन्, पहलमानले । ती भन्छन्, कमिनिस्ट भनेको मोहिनी रूप हो, जसको आकर्षणमा भुङ्ग्रिएर कांग्रेस युवा सकिन्छ । उनले भनेको यो साधारण बुझाइको कुरा आज आएर पाठ गर्दा त्यसमा हास्य रस निस्किन्छ, तर त्यो कविताले दुई कुरा देखाउँछ । पहिलो, नेपालमा कांग्रेस र कमिनिस्ट केमिस्ट्री पुरानो हो र दोस्रो, यो केमिस्ट्री नेपाली साधारण ग्रामीण समाजसम्म व्याप्त थियो । कविताका केही हरफ यस्ता छन् :

‘विश्वेश्वररूपी साउँ अक्षर भयो, मात्रारूपी मात्रिका/ पार्छन् खलबल राजधानी नृपको ब्राह्मण यी हुन् पात्रिका/.....पहिले जन्म हुँदै ठूला नृपकुमार मोहन शमशेरजी ता/ जसको जन्म दिने अगम् नृप ठूला श्री चन्द्र शमशेर पिता/ बन्दुक पर्वत, तोप पर्वत, ठूला संगीन पर्वत भए/ यी पर्वतहरू तोडी एक शूरमुनि विश्वेश्वरै वीर गए/ बन्दुक पर्वत, तोप पर्वत ठूला थिए हुकुम पर्वत/ यो पर्वतकन तोड्नलाई सजिलै कसको थियो वर्गत/ कांग्रेसमतकन हुर्कियो यदि भने यो बांँध्छ भारी अइन्/ हाने तापनि बज्रले समयमा पार्दिन्छ बज्रै मइन्/ आयु छैन परन्तुसम्म यसको देखिन्छ मृत्यु छिटो/... प्राक्तन् फेर सुरु गर्छ कर्म अघिको खुप् लाग्छ, त्यो काममा/ हाँस्तै मोहिनी आउंँछिन् युवकका सामु अंगाडिमहां/ कांग्रेसै रूपी हो, अनि पछि तहांँ कम्निष्ट रूप मोहिनी/ एकदिन मोहिनीका परेर बसमा भुङ्ग्रिन्छ कांग्रेस पनि ।’

यो एक नेपालका किसान सवाल्टर्न कविको सात–आठ सालतिरको कांग्रेस–कमिनिस्टको सहयात्रा, सहइतिहास र सहकर्मको वर्णनमा आजको इतिहास पनि प्रतिध्वनित हुन्छ । कांग्रेस नेताहरूले अहिले मिटिङहरूमा तीन घन्टा लामा ‘फिलिबस्टर’ वा केही कुरा नभनेका भाषणले इतिहासले दिएको एउटा बलियो चुनौती बुझाउंँछ ।

तर त्यो दलको सामथ्र्य विश्वेश्वरप्रसाद कोइरालाको विचार र दर्शन हो, जसलाई बुझ्नुपर्ने कांग्रेसको निम्ति ठूलै चुनौती हो । विश्वेश्वरको साहित्यका पात्रहरूले सूक्ष्म रूपले खोजेको मुक्ति वा स्वतन्त्रताको अर्थ नखुट्याई, उनले भनेको मेलमिलापको अर्थ केवल राजासँग वार्ता गर्नेमात्र बुझेर पछि कांग्रेसका गिरिजाप्रसाद कोइरालाले माओवादी छापामारसंँग गरेका सम्झौता र कांग्रेसले कोल्टो फेरेको राजनीतिलाई त्यही दर्शनको रूपान्तरण हो भन्ने नखुट्याई, सहज कुरा गरिबस्नु कांग्रेसको अस्तित्ववादी समस्या हो । अर्कोतिर कमिनिस्टले नेपालको इतिहासलाई अत्यन्तै उथल–पुथल गरेर खेलेका हुन् । ती क्रान्तिकारी भए, संसदवादी भए, कति राजावादी भए, कति संसारमै नाम कमाएका बलिया छापामार भए, हतियार लिए, बिसाए अनि भने, तरेको पुल भत्कियो, जाने ठाउँ छैन । फेरि भने, अब मिल्ने बेला भयो । यसरी नेपाल कमिनिस्ट पार्टी नाम फेरि इतिहासबाट झिकेर एमाले र माओवादी नामधारी ठूला कमिनिस्ट दलहरू एक भए । चिन्हहरू, वा ‘आइकनोग्राफी’का आकारमा सम्झौता भए ।

यो पाठ पढ्ने जसले पनि भोगेको र जानेको कुरा हो, यो केमिस्ट्री । उमेर फरक हुन्छन्, झन् राम्रो । हामीले राजनीतिमा कांग्रेस र कमिनिस्ट भनेर चिनिन चाह्यौं । हामी साहित्यकार कि कांग्रेस कि कमिनिस्ट भनेर लेख्न मनपराउने धेरै भयौं । पञ्चायतको ३० वर्षे एकतन्त्री शासन पद्धतिमा कांग्रेस र कमिनिस्टको कुरा नै उच्चारण भइरह्यो । विद्यार्थी संघहरू कांग्रेस र कमिनिस्टकै नाममा खुले र चुनाव लडे । हामी सत्र सालपछि कलेजतिर पसेका विद्यार्थी कांग्रेस र कमिनिस्ट नै भयौं । झन्डै ज्यानै गुमाउनुपरेका कथा छन् । अन्त लेखेकै छौं । गायकहरू कांग्रेस र कमिनिस्ट भए ।

चित्रकारहरू कांग्रेस र कमिनिस्ट भए । साहित्यिक पत्रिका चलाउनेहरू कांग्रेस र कमिनिस्ट भए । डाक्टरहरू कांग्रेस र कमिनिस्ट भए । पछि पञ्चायतको दबदबा भएको बेला प्राध्यापकहरू कांग्रेस र कमिनिस्ट हुन छोडेनन् । बत्तीस सालमा बीसी मल्ल कांग्रेस पक्षका प्राध्यापक संघका अध्यक्ष भए । बीचमा पञ्चायतले बोली दबाइदियो । सम्वत् २०४३ सालमा डीपी भण्डारी साहसपूर्वक प्रजातान्त्रिक समूहका प्राध्यापक समूहबाट अध्यक्ष भए ।

पटक–पटक कमिनिस्ट समूहका पनि प्राध्यापक संघ भए । छ्यालीस सालपछि यो द्वैत धर्म, यो कांग्रेस र कमिनिस्ट हुने चलन सहज रूपले यान्त्रिक भयो । कर्मचारी, प्राध्यापक, शिक्षक, अनि अदालतका मानिस कांग्रेस र कमिनिस्ट दलका भए । वलिकलहरूको बार एसोसियसन कांग्रेस र कमिनिस्ट भयो । पत्रकारहरू कांग्रेस र कमिनिस्ट भए । पछि गएर, अहिले पनि हालत त्यही छ, कांग्रेस र कमिनिस्ट हुने होड भयानक चलेको अवस्था हो । साना दलका पनि केही संगठन भए, तर कांग्रेस र कमिनिस्टको द्वैतशक्ति यति बलियो भयो र छ कि साना दलहरू त्यो हिसाब–किताब, त्यो इतिहासको ‘एल्गोरिद्म’भित्र पस्नै सकेनन् । अहिले पनि समस्या छ, तिनलाई ।

अहिले कांग्रेस–कमिनिस्ट केमिस्ट्री देशको राजनीतिकमात्र होइन, जगत हेर्ने दृष्टि भएको छ । चीन र भारतसँग गरिने सम्बन्धमा कांग्रेस–कमिनिस्ट केमिस्ट्रीले काम गर्छ । यो केमिस्ट्री केही साझा शब्दावलीमा भेटिन्छ । ती हुन्, समाजवाद र लोकतन्त्र । आचरणमा, धन र भागबन्डा मोहमा साम्य देखिनुमा पुंँजीको युग देखिन्छ । अहिले एकअर्कालाई यी दुई राजनीतिक शक्तिले जेजसरी प्रस्तुत गरे पनि नेपाली आधुनिक इतिहासको यो केमिस्ट्री नबुझी अर्थ लाग्दैन । भविष्य हेर्नुछ ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?